अब सिधै किसानको हातमा अनुदान दिन्छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन । ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन, जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो, त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो’, उनले भने, ‘विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको हुँ ।’ उनले नेपालले ४० वर्षअघि खाद्यान्न निर्यात गरेको भन्दै अहिलेसम्म किन गरिब भयौँ भनेर प्रश्न समेत गरेका थिए । प्रधानमन्त्रीले भने, ‘यसपटक विगतभन्दा फरक ढंगले काम गरिरहेको छु, विगतभन्दा फरक, तत्परताका साथ काम गरिरहेको छु, सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ, हामीकहाँ भएको फोहोरको थुप्रै सफा गर्नुछ ,नक्कली भुटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नुछ, हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ ।’
यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’ गर्दै
काठमाडौं । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो । यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ । नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ । अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ । तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो । मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताए । नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव आठ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो । नवलपुरको दुम्क्यौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो । यसअघि त्यहाँ सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो । उनका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ । ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव नौ डिग्री पुगेको छ । धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ ९हिजो बुधबार० ३९ दशमलव तीन डिग्री पुगेको थियो । यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताए । यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो । मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो । अर्का मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन् । उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री तापक्रम छ । यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ । काठमाडौं हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्री रहेको जनाइएको छ । विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए । यस्तो हुनसक्छ असर तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ । तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस, सर्वत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा पवनकुमार शाहले बताए । तालो हावाको लहरका सम्बन्धमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पहिलोपटक छलफल गरेको छ । उक्त छलफलका सहभागीहरुले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्न आजदेखि आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए । रासस
गभर्नर र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भयो । भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराए । सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखे । नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखे । भेटका अवसरमा उनीहरूबीच मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको थियो । भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरू उपस्थित थिए । यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्टेलकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतका अधिकारीको उपस्थिति थियो ।
गर्मीको कारण बन्द भएका विद्यालय बिहान संचालन गर्न निर्देशन
नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी गरेका हुन् । ‘बर्खे बिदामा मिलान हुने गरी जेठ २१ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको थियो,’ उनले भने, ‘जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।’ विद्यालयको भौतिक अवस्था हेरी दिवा सत्र वा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन भएको उनले जानकारी दिए । दिवा सत्रको कक्षा सञ्चालन समय नियमानुसार तथा बिहानी सत्रको कक्षा सञ्चालनको समय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गर्न चापागाईंले आग्रह गरे । आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जेठ २५ गते नवलपुरमा नेपालकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । जिल्लाको दुम्कौलीमा बुधबार ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । देवचुली नगरपालिकामा पर्ने दुम्कौली गैँडाकोट नगरपालिकासँगै जोडिएको छ ।
प्रभु र महालक्ष्मी लाइफको मर्जरले पायो अन्तिम रुप, एकीकृत कारोबार असारभित्रै
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई एक आपसमा मर्जरमा जान बाटो खुलेको छ । जेठ २६ गते सम्पन्न दुबै इन्स्योरेन्सको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्तावलाई पारित गरेसँगै दुबै कम्पनीलाई बाटो खुलेको हो । सभाले पारित गरेसँगै दुई कम्पनी एक बराबर एकको सेयर अनुपात अर्थात स्वाप रेसियोमा मर्ज हुने भएका छन् । मर्जरपछि प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । यससँगै दुबै कम्पनीले आगामी असारभित्र एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब १९ करोड (बोनसपछि) रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । शुक्रबार नै सम्पन्न प्रभु लाइफ इन्स्योरेन्सको सभाले ९.८० प्रतिशत सेयर लाभांस र ०.५१ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । त्यस्तै, दुबै कम्पनीको सभाले वार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ । तेश्रो त्रैमासको रिपोर्ट अनुसार प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
काठमाडौं । ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिप कनटेक्सहरु अब डिशहोमको पे पर भ्यु र एक्सक्लुसिप च्यानलस्हरुमा डिशहोमका ग्राहकले हेर्न पाउने छन् । यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिप कनटेक्सको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग
काठमाडाैं । नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हीत विपरित भएको धारण राखकाे छ । सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्वन गरेको भन्दै विरोध जनाएको छ । उनीहरुले भन्सार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । उनीहरुले राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि कर थोपर्ने नीति लिएकाले त्यसको विरोध गर्ने बताएका छन् । बजेटले सुनचाँदीको आायतमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेकोप्रति महासंघले बिरोध जनाएको छ । उनीहरुले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी डब्ल्युटिओको प्रावधान अनुरुप हुनेगरी खुला आायत नीति लागू गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बौल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मणिकरत्न शाक्यले बजेटमा उल्टो किसिमको नीतिहरु आएको बताए । ‘बजेटमा उल्टो किसिमको नीतिहरु आएको छ, नेपालको सुनको बजारमा, नेपालको अर्थतन्त्रमा सुन बजारले लगभग १ सय अर्ब कारोबार गर्ने गर्छ, इनटरनेशनल मार्केटको हरेक महिनाको १ र १५ गते भन्सार विभागले इन्टरनेशनलको एभ्रेजमा १५ प्रतिशत भन्सार कायम गर्ने भन्नेकुरा बजेट नीतिमा छ, त्यसले गर्दा पहिलाको रेट १० प्रतिशत थियो, अहिले ५ प्रतिशत बढेको छ । विलासिता कर विगतमा लागेको अवस्था थिएन, अहिलेको बजेटले व्यवस्था गरेको छ,’ उनले भने । व्यवसायीहरुले सुनचाँदीका गरगहना जस्तो नगदसरहको सम्पतीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न, भन्सार दरमा ५० प्रतिशत वृद्धि गरिएकोमा त्यसलाई पुनरावलोकन गरी सुनचाँदीको आयात खुला गर्न, नेपालबाट विदेश लिएर गएको गहना समय सीमा नतोकी निर्वाध रुपमा फिर्ता ल्याउन पाउने व्यवस्था गर्न माग गरेका छन् । महासंघले सुनचाँदी गरगहनालाई विगत १३ वर्षदेखि कोटा प्रणालीमार्फत एकाधिकार बजारको रुपमा गरिएको नियन्त्रणमा मात्र राख्न खोजेको आरोप लगाएको छ । उनीहरुले नियन्त्रणमुखी व्यवस्था बन्द गर्न माग गरेका छन् ।
इप्पानका सदस्य ४५० पुगे, ‘क्लिनस्विप’को रणनीतिमा कार्कीको टीम
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ । ३ वर्ष अघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ । इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रतक्ष्यरुपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतादान गर्ने अधिकार भने हुँदैन । पछिल्लो समय जलविद्युत क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ । अध्यक्षमा कार्कीको पल्ला भारी अध्यक्षका उम्मेदवार कार्कीलाई पूर्व अध्यक्षहरु, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् । कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् । महासचिवमा बलराम खतिवडा र उप–महासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दैछन् । यस्तै, ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् । सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांस प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । अध्यक्षका उम्मेदवार गणेश कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । अध्यक्ष बाहेकका अधिकांश पदमा सहमति हुने सम्भावना धेरै रहेको उप–महासचिवका प्रत्यासी प्रकाश दुलालले बताए । सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ । जेठ २५ गतेसम्म नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इप्पानको २१ औं वार्षिक यहि जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।