विकासन्युज

डिप्रोक्स र आदर्श लघुवित्तको कारोबार बन्द हुने

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको कारोबार बन्द हुने भएको छ । दुवै लघुवित्तबीच मर्ज हुने भएकाले एकीकृत कारोबार प्रयोजनका लागि जेठ ३२ गते दुवै लघुवित्तको कारोबार बन्द हुने जनाएको छ । आदर्श लघुवित्तलाई गाभेर डिप्रोक्स लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्न चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको थिए । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता सेयर बराबर आदर्श लघुवित्तको १ कित्ता सेयर कायम हुनेछ । दुवै लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

साढे ३ सय रुपैयाँमा सेयर बेच्दै उन्नति सहकार्य लघुवित्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समहूको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । बोलपत्र पेश गर्दा सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी आवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले आज जेठ २८ गतेदेखि असार ३ गतेसम्म सो सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्म आरएमडीसी लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, कालिका पावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५ हजार ९८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापत ८ लाख ८० हजार १२.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

कालीकोटको गविराममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन, जिपमा सवार ३ जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन,’ प्रहरी प्रमुख रिमालले भने ।

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम बन्द

काठमाडौं । गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्काल कार्यान्वयनको माग गर्दै आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको हो । २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि आन्दोलन सुरु गरिएको हो । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरेको हो । हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ । शैक्षिक संस्था, बजार व्यवसाय पनि बन्द रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सञ्चालन गर्न नसकेको भन्दै बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।

प्रधानमन्त्री दाहालद्वारा पशुपतिनाथ मन्दिर दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका हुन् । उनलाई पशुपतिमा संस्कृतिमन्त्री सुुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले स्वागत गरेका थिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गरे ।

तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

काठमाडौं । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ । तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ । इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन् । यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताउनुभयो । यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिएका छन् । उनका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उनले बताए । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उनले बताए । काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ । हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने बताए । यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो । प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ । लक्षणअनुसारको उपचार हुने भन्दै डा.शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताए । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उनले सुझाव दिए ।

नेकपा एस कुनै पार्टीमा विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँझाउँछ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । ‘कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ तर, हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ,’ अध्यक्ष नेपालले भने । उनले कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए । उनले ४ वटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताए । ‘बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा ४ वटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔँ, सडक, संसद्मा आवाज बुलन्द गरौँ र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो, यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने । नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने प्रयास भइरहेको भन्दै उनले राजावादीले टाउको उठाउने कोसिस गरे पनि त्यसलाई सफल हुन नदिने बताए । कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्री डा.बेदुराम भुसालले सरकारले यस वर्ष मल खरिदका लागि बजेटमार्फत ३० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको बताए । ‘मल खरिदका लागि गत वर्षको जस्तो १५ अर्ब रुपैयाँले पुग्दैन भनेर यस वर्ष बजेटमै ३० अर्ब रुपैयाँको सुनिश्चितता गरेका छौँ, यस वर्ष मल अभाव हुन दिँदैनाँै,’ उनले भने । उनले सरकारमा जम्मा २ वटा मन्त्री लिएर बसेकाले आफ्नो पार्टी निर्णायक नभए पनि समाजवादीको भागमा परेका २ मन्त्रालयको जिम्मेवारी भने पूरा गर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि पहल गरेको, बाँझो जमिन उपयोग गर्ने नीति लिएर बजेट छुट्याएको, कृषिमा यान्त्रिकीकरण, बजारीकरणको समस्याका लागि पहल सुरु गरेको, सिँचाइको योजना ल्याएको बताए ।