प्रतिनिधिसभाबाट समानुपातिक हटाउन संविधान संशोधन आवश्यक : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् । प्रत्यक्ष निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने, ‘समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसद्मा दुई तिहाइ चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौँ ।’ कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै उनले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिए । सङ्गठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरु गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने बाध्यता रहेको बताए । गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको उनले उल्लेख गरे ।
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो । भारतबाट सुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि आजकै दिन ३ वर्ष अगाडि सुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ । विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियानाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यस बाहेक सेल्फी विथ डटर अभियानका सुरूवातकर्ता सनिल जगलानको समेत उपस्थिति थियो । यस बाहेक नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे । यस्तै सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए । कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो । सो कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । एचभिसी गुरुग्राम विश्वविद्यालयका प्रोफेसर दिनेश कुमार, एचभिसी आइआइएलएमका प्रोफेसर सुजाता शाही, ईस्ट वेस्ट अटोमेसन टेक्नोलोजीका एमडी अरविन्द कौल, रुप अटोमोटिभका एमडी मोहित ओसवाल, हीरो मोटोकर्पका एचआर हेड धर्मरक्षित, डा। सीके गरियाली, सेवानिवृत्त आईएएस र अम्बा वाटलले छोरीहरूको राम्रो भविष्य सिर्जना गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका थिए । ‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा, नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तिकरणमा सधै जोड दिएको छ । नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएको छ । छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जा गर्न सधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।
‘सफा हिमाल कार्यक्रम २०२३’ मा संलग्न ५२ जनालाई सुर्य नेपालद्वारा सम्मान
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको ‘सफा हिमाल अभियान’ मा संलग्न नेपाली सेनाका सदस्य, शेर्पालगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ । गत चैत्रमा शुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ कार्य भएको थियो । सूर्य नेपाल प्रालि, विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको यस कार्यक्रमको अरु विभिन्न संस्थाहरूसँगै एउटा मुख्य साझेदार संस्था हो । बिहीबार एक सम्मान कार्यक्रम आयोजना गरी सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्याउने ५२ जनालाइ विशेष सम्मान गरेको छ । कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाइ एकरएक लाख नगद राशीसहित सम्मान गरेको छ । कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रूपमा सहयोग पुर्याएकोमा सूर्य नेपाललाई धन्यावाद दिएका थिए । कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि कुमार रायावारमले नेपालको पहिचानका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल सफा गर्नेजस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । त्यसैगरी, कार्यक्रममा सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाइ अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।
स्याङ्जा गल्याङका स्थानीयलाई पानीको जोहो गर्नै दुई घण्टा लाग्ने
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुईरअढाई घण्टा पिउने पानीको खोजीमा बिताउँछन् । ‘बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुक्खा छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ’, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भने, ‘पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्यौँ तर पनि पिउने पानी डोकोमा नबोकी खानै पाइँदैन ।’ उनले हिउँदको समय पानी खोज्न दुईरअढाई घण्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाए । ‘स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्’, गाहाले भने। स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो गरिन् । पानी बोकेरै जीवन बिताउनु पर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला ?’, उनले प्रश्न गरिन, ‘यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नु परेको छ ।’ स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताए। ‘मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, नौ घरको संयुक्त एकमात्र धारा छ, वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ’, उनले भने, ‘मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन, कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन् ।’ उनले कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने बताए । तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लिलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पाली डाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको जानकारी दिए । अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उनले दाबी गरे । गल्याङ नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भएमा कोसेढुङ्गाको पानी लिफ्टिङ गरेर पाल्पाली डाँडामा ल्याउने योजना बनाइएको जानकारी दिए। अब केही महिनाभित्रै गाउँमा खानेपानीको समस्या अन्त्य हुने उनको भनाइ थियो ।
बजेटको तयारी गर्दै कञ्चनपुरका स्थानीय तह
कञ्चनपुर । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् । ‘वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी योजना बनाउन जुटेका छौँ’, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भने । असार १० गते बस्ने नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए । नगरप्रमुख ओझाले भने, ‘यस पटक हामीले स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ ।’ उनले नगरपालिकाले यस पटक रोजगार केन्द्र स्थापना गर्ने बताए। भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभाबाट बजेट ल्याउने तयारी गरेको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजनाहरु वडा समितिमार्फत नगरसभामा पठाउने काम भइरहेको बताए। ‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’, उनले भने, ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिन्छ ।’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । उनले अहिले सबै वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताए । ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौँ’, उनले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ ।’ बस्ती भेलामा सहभागीहरुले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन् । सामान्यता स्थनीलयले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्का समस्यालगायत विषय उठाउने गरेको जनप्रतिनिधि बताउँछन् । स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेको छ । वैशाखभित्र सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । त्यस्तै, जेठभित्र बस्ती तथा टोल स्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
एजेन्सी । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन । कोलम्बियामा यस्तै चमकत्कार भएको छ । देशको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ । कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जङ्गलबाट तेह्र, नौ, चार र एक वर्षका बालबालिकालाई उद्धार गरेका गएराति उद्धार गरेका हुन् । सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जङ्गलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो । घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए । विमान जङ्गलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो । अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन् । सरकारी अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन् । दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जङ्गल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो जसले विश्व समुदायको ध्यान आकर्षित गरेको थियो । हिंस्रक जङ्गली जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन तर खोजी टोलीले खुट्टाको छाप, एक डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो । उद्धार टोली केटाकेटीहरू भौतारिन सक्ने र भेट्टाउन अझ गाह्रो हुने चिन्ताले ग्रसित थियो । वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जङ्गलमा फ्याँकेको थियो जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो । ती पर्चामा भयावह त्यस जङ्गलमा कसरी बाँच्ने भन्नेबारेमा सुझाव पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए । साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए । अन्ततःती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला पारेका थिए । बेपत्ता ती बालबालिकामध्ये केही शिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए । साथै उनीहरू जङ्गलसँग राम्ररी परिचित पनि थिए । राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरुको जीवितै उद्धार गरिएको घोषणा गर्दै “आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौँ” भन्नुभएको छ । हेलिकप्टरबाट उनीहरूको उद्धार गरिएको हो । बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पु¥याइएको छ । राष्ट्रपतिले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोशाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एक जना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ ।
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति
फाइल तस्बिर एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३-२४ को स्वीकृति दिन बोलाइएको संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरेका छन् । एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई रोकिएको ऋण कार्यक्रमको पुनरुत्थानको आश्वासन दिइएको पनि जनाएका छन् । कोषका प्रमुखसँग एक घण्टा लामो टेलिफोन वार्तामा प्रधानमन्त्री शहबाज सरिफले आईएमएफसँगको नवौं समीक्षा जुलाई महिनामा सम्पन्न हुने कुरा दोहोर्याएका छन् । पाकिस्तानको राजनीतिक अस्थिरताबारे टिप्पणी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य नगरी आर्थिक विकास सम्भव नहुने पनि बताएका छन् । पूर्व सरकारको गलत प्रतिबद्धताका कारण आईएमएफले पाकिस्तानलाई विश्वास नगरेको उनको बुझाइ छ। बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको पीडा थपिएको पनि प्रधानमन्त्रीले स्वीकार गरेका छन्। गठबन्धन सरकारका नीतिहरूका कारण यो आर्थिक समस्या देकिएको भन्दै प्रधानमन्त्री शेहबाज शरीफले आगामी दिनहरूमा स्थितिमा सुधार आउने बताएका छन् ।
दराज नेपाल र एनएमबि बैंक बिच सजिलो कर्जाको साझेदारी
काठमाडौं । नेपालको अग्रणी ई(कमर्स प्लेट्फर्मले दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुबिधाको सुरुवात गरेको छ । दराज एनएमबि सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको जनाइएको छ । उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले मार्च १९, २०२३ मा हस्ताक्षर गरेका थिए । दराज एनएमबी सजिलो कर्जा कार्यक्रम अन्तर्गत बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन्। सम्झौताले दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने उनीहरूको प्रतिबद्धतालाई उजागर गर्दछ । दराज एनएमबी सजिलो कर्जाको मुख्य विशेषताहरू मध्ये एक धितोरहित ऋणको प्रावधान हो। यसको मतलब यो हो कि बिक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो प्रदान नगरी धेरै आवश्यक कोषहरू पहुँच गर्न सक्छन्। यस सुविधाले साना र मझौला उद्यमहरूले वित्तीय सहायता खोज्दा सामना गर्ने परम्परागत अवरोधहरूलाई हटाउँछ, यसरी अनगिन्ती सम्भावनाहरूको ढोका खोल्छ। दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋण रकमले बिक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउँछ। सो ऋण सुविधा प्राप्त गरेर, विक्रेताहरूले आफ्नो पूर्ण क्षमता अनलक गर्न र आफ्नो व्यवसायलाई ठूलो उचाइमा मापन गर्न सक्छन्। दराज एनएमबी सजिलो कर्जा सुविधा प्राप्त गर्न, विक्रेताहरूले दराज सेलर सेन्टरमा गएर अनलाइन ऋणको लागि आवेदन दिन सक्ने जनाइएको छ ।