विकासन्युज

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

पाल्पा । अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो । रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने दिइएको छ । बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताए । शिक्षा शाखाले तातो हावा ९लू०बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोधसमेत गरेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । गर्मीले पठनपाठन, दैनिक कामकाजमा समस्या भएको छ ।

आईएमईको सेयरमा प्रिमियम हुन्न, १०० रुपैयाँमा नै निष्काशन हुनेछ

नेपालको रेमिट्यान्स व्यवसायमा सबैभन्दा पहिला प्रवेश गरेको र अहिलेसम्म यस क्षेत्रको पायोनियर बन्न सफल आईएमई लिमिटेड कम्पनी २३ वर्षमा प्रवेश गरेको छ । २२ वर्षको दौरानमा देशमा धेरै उथलपुथल भए । सशस्त्र द्वन्द्व, २०६३ सालको आन्दोलन, २०७२ सलामा भूकम्प, नाकाबन्दी, कोरोना महामारी, मुलुकको संघीय उपान्तरण आदि इत्यादि । यति ठूलो उथलपुथलको बीचमा पनि नेपालको रेमिट्यान्स व्यवसाय र आईएमईको उच्चस्तरको विकास निरन्तर रह्यो । आईएमई एउटा रेमिट कम्पनी मात्र नभए देशको अग्राणी व्यवसायिक घराना पनि बन्यो । रेमिट्यान्स व्यवसायको लागि आईएमई प्रयाय बन्यो । रेमिट्यान्स कम्पनीहरुको लागि ट्रेन सेटर कम्पनी बन्यो । दुई दशकसम्म आईएमई प्राइभेट लिमिटेड कम्पनीको रुपमा सञ्चालित थियो भने अहिले यो कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण हुँदैछ । उच्च नाफामा रहेको, लिडर ब्राण्ड बनिसकेको यो कम्पनीले सर्बसाधारणलाई सेयर पनि निष्काशन गर्दैछ । प्रस्तुत छ यी र कम्पनीको भावी योजनाका विषयमा केन्द्रीत भएर विकासन्युजका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलसँग गरिएको कुराकानी । आईएमई लिमिटेड २२ पुरा गरी २३ औं वर्षमा प्रवेश गर्दैछ । रेमिट्यान्स कम्पनी मध्ये अग्रणी र ट्रेन सेटरको रुपमा स्थापित यसको वर्तमान अवस्ता कस्तो छ ? भविष्यमा कम्पनीको सेवा विस्तारबारे के कस्ता योजना छन् ? आइएमईले आफ्नो स्थापनाको २२ वर्ष पुरा गरेको छ । यस सुखद अवसरमा सर्वप्रथम त म हाम्रा आदरणीय ग्राहक महानुभावहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विभिन्न नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, एवम् सम्पूणर् शुभचिन्तकहरुमा उहाँहरुले देखाउनु भएको भरोसा एवम् सद्भाव प्रति हार्दिक आभार प्रकट गर्दछु । नेपालको पहिलो रेमिटेन्स कम्पनी हो आइएमई । स्थापनाका हिसावले मात्र हैनकी देशकै सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी पनि हो । पछिल्लो डाटा हेर्ने हो भने पनि नेपाल औपचारिक माध्यमबाट नेपाल भित्रिने कूल रेमिटेन्सको २२/२३ प्रतिशतकोहाराहारीमा रेमिटेन्स आइएमईबाटै आउने गरेको छ । त्यतिमात्र हैन रेमिटेन्स कम्पनीहरु मध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा लगातार सम्मानित हुदैं आएका छौ । यो हाम्रो लागि गौरवको विषय पनि हो । ५० हजार भन्दा धेरै व्यक्तिहरुलाई प्रत्यक्ष र परोक्षरुपमा रोजगारी दिइरहेका छौ भने देशभरका ७६ जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाका शाखाहरु सहित ३५००० बढी एजेण्ट तथा सब-एजेण्टहरुका साथै २२५ भन्दा बढी आइएमई सेन्टरहरु मार्फत सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेका छौं । यसले दूरदराजमा रहेका तथा सहज वित्तिय पहुँचबाट टाढा रहेका प्रत्येक नेपालीलाई वित्तिय व्यवस्थाको मूलप्रवाहमा जोड्न सफल भएका छौ भन्ने हाम्रो विश्वास रहेको छ । त्यसैगरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारको म्थलबmष्अक तथा ग्राहकहरुको आवश्यकता अनुरुपको सेवा प्रवाहमा आइएमई प्रतिबद्ध रहेको छ र सोहि अनुरुप आफुलाई परिस्कृत तथा डिजिटाइज्ड गर्दै अघि बढिरहेको छौं । नागरिकहरुमा वित्तीय सचेतना बिस्तार गर्दै डिजिटल रेमिटेन्सको माध्यमबाट घरमै बसेर रेमिटेन्स पठाउन तथा प्राप्त गर्न सकिने अवस्थालाई अझ सुदृढ गर्नै कोषिश गरिरहेका छौं । आफ्नो सेवा केन्द्र बिस्तार गर्ने क्रममा नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेका सबै देशहरुमा रेमिटेन्स सेवाको सहज पहुँच पुर्‍याउन प्रयासरत छौं । वित्तीय सचेतना फैलाउने उद्देस्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिरहेका छौं । आईएमई लिमिटेडको सेयर सार्वजनिक निष्काशन प्रक्रिया कहाँ पुग्यो ? कति प्रिमियम मूल्य राखेर सेयर निष्काशन गर्दैछ ? हामी छिट्टै सर्बसाधारणका लागि शेयर जारी गर्दैछौं । आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौं । अब सेवोनबाट अनुमति प्राप्त गर्ने वित्तिकै शेयर निष्काशन गर्नेछौं । अहिलेसम्म प्रिमियममा शेयर निष्काशन गर्ने बारे त्यस्तो कुनै निणर्य भएको छैन । सम्भवतः रु १०० दरमै निष्काशन गर्छौं । सर्वसाधारणको अपनत्व गराउन सके संस्था अझ बलियो हुन्छ भन्ने हाम्रो धारणा हो । अब देश विदेशमा रहेका नेपालीहरुले कम्पनीमा प्रतिनिधित्व गर्न पाउनुहुन्छ । संस्थामा अझ बढी पारदर्शीता बढ्न गई जनमानसमा आइएमई प्रति भरोसा बढ्नेछ । औपचारिक माध्यम प्रतिको भरोसाले समग्र रेमिट्यान्स आप्रवाह बढाउन सघाउ पुग्ने अपेक्षा गरेका छौं । विश्व समूदायसँगै नेपाली समाज पनि भच्र्यूअल कारोबारमा अभ्यस्त हुँदै गएको छ । यस परिवेषमा रेमिट्यान्स कारोबारमा कस्तो परिवर्तन गर्दै हुनुहुन्छ ? आजको युग विज्ञान तथा प्रविधिको युग हो । दैनिक .जनजीवनका हरेक पक्षहरु प्रविधिसँग जोडिएका छन् । यस क्षेत्रमा दिनानु दिन भइरहेका विकासहरुले आम मानिसको आवश्यकता, रोजाइ र समग्रमा जीवनयापनको शैलीमा नै परिवर्तन ल्याइरहेको छ । परम्परागत कार्यशैली परिवर्तन भइरहेको छ । डिजिटल वित्तिय कारोबारतर्फ मानिसहरुको आकर्षण बढ्दो रहेको विभिन्न तथ्याङ्कहरुले पनि देखाएका छन । कोभिड १९ को प्रकोपपछि यस्तो कारोबारमा उल्लेख्य वृद्धि भएको छ । यही कुरालाई आत्मसात गर्दै हामीले पनि आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउदै अघि बढिरहेका छौँ । विज्ञान तथा प्रविधिलाई आफ्ना सेवाहरुमार्फत जनजीवनका विभिन्न क्षेत्रहरुसँग प्रत्यक्षरुपमा जोड्ने प्रयास आइएमईले गरिरहेको छ । डिजटल भुक्तानीका साथै डिजिटल रेमिटेन्सलाई सहज बनाउन आइएमई पे डिजिटल वालेटलाई संचालन गरिरहेका छौं । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई डिजिटलाइजेसनको बारेमा सचेतना दिन हामीले टीम नै बनाएर कार्य गरिरहेका छौं । हाम्रो टिमले मेनपावर कम्पनीहरुको सहकार्यमा ट्रेनिङ्ग एजेन्सीहरु र कन्सल्टेन्सीमार्फत डिजिटल रेमिट्यान्स, डिजिटल भुक्तानी आदिको बारेमा अभ्यस्त गराउन खोजिरहेका छौं । साथै, डिजिटल रेमिटेन्सको प्रर्वद्धन गर्नका लागि हामीले विभिन्न फिनटेक कम्पनीहरू तथा डिजिटल वालेट सेवा प्रदायकहरूसँग रणनीतिक साझेदारी र सहकार्य गरिरहेका छौं । ग्राहकहरुको कारोबार सुरक्षालाई प्राथमिकता राख्दै बढ्दो चुनौती र सेवाग्राहीको आवश्यकता अनुरुपको प्रणालीको प्रयोग गर्दै आइरहेका छौं । वास्तवमा गुणस्तरीय सेवा, डिजिटलाइजेसन, रणनीतिक साझेदारी र सुरक्षाप्रतिको प्रतिबद्धताले नै हामी रेमिटेन्स क्षेत्रमा अग्रणी स्थान कायम राख्न सक्षम बनेका हौं भन्ने लाग्छ । नेपाल राष्ट्र बैंकले देशभित्र हुने रेमिट्यान्स कारोबार बन्द गरेको छ । यसले सर्बसाधारण कस्तो असर गरेको छ ? एजेन्ट व्यवसायी र रेमिट कम्पनीलाई कस्तो असर गरेको छ ? नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटेन्स सेवा प्रवाहमा रोक लगाएको छ । जसको कारण अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारी, विद्यार्थी लगायतलाई सामान्य कारोबार गर्न कठिनाई भइरहेको छ । देश भित्रै पनि रेमिटेन्स कम्पनी मार्फत पैसा पठाउदा अनौपचारिक माध्यमबाट हुने कारोबारमा कमि आउने तथा वित्तीय पहुँच नपुगेका क्षेत्रका नागरिकले समेत सहज सुविधा पाउने हुनाले निश्चित सीमा तोकेर आन्तरिक रेमिटेन्स सेवा प्रवाह खुल्ला गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । नेपालीहरु विश्व बजारमा फैलिने क्रम बढ्दो छ । उनीहरुले नेपाल पठाउने रेमिट्यान्स रकम पनि बढ्दो छ । सँगसँगै हुण्डीमार्फतको कारोबार नियन्त्रण गर्नु सरकारको लागि चुनौतिपूणर् कार्य भैरहेकोछ । सरकारले निरुत्साहित गर्दै आएको हुण्डी कारोबार न्यूनिकरण गर्दै जान र रेमिट्यान्स कारोबारलाई सुरक्षित, सहज र सस्तो बनाउने सरकार र रेमिट्यान्स कम्पनीहरुको भूमिका कस्तो हुनुपर्छ ? वास्तवमा अवैधानिक माध्यमबाट कति रेमिट्यान्स आइरहेको छ एकिन तथ्याँक बाहिर आएको छैन तर कारोबार भइरहेको छ भनिन्छ । यसलाई रोक्न चुनौतीपूणर् बन्दै गइरहेको छ । त्यस्तो कारोबारले व्यवसायमात्र हैन समग्र प्रणालीमा नै असर पुर्‍याउँछ । यस्तो अवस्थामा रेमिटेन्स कम्पनी तथा नेपाल सरकार दुवै जिम्मेवार बन्नुपर्छ जस्तो लाग्छ । वैदेशिक रोजगारीमा गएका व्यक्ति, उनीहरुका परिवार लगायत आमनागरिकमा औपचारिक रेमिटेन्सका बारेमा सचेतना फैलाउन आवश्यक छ । सस्तो शुल्क पर्ने र बढि रेट पाइन्छ भन्ने प्रलोभनमा परि अनौपचारिक माध्यम रोज्ने गरेको भन्ने सुनिन्छ । दुई पैसा सस्तो भन्दा पनि आफूले पठाएको पैसाको सुरक्षा महत्वपूणर् हुनु पर्छ जस्तो लाग्छ मलाई । यहि कुरा आमनागरिकलाई बुझाउन जरुरी छ । त्यसैगरी बैंकिङ्ग पहुँचको अभाव, कतिपय देशहरुमा पैसा पठाउने औपचारिक माध्यमको अभाव आदि कारणले पनि अनौपचारिक माध्यममा भर पर्नु पर्ने अवस्था छ । त्यसैले सरकारकै तहबाट औपचारिक माध्यमबाट पैसा पठाउदा थप सुविधाहरु उपलब्ध गराउने, वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएका देशहरुमा रेमिट्यान्स सेवा प्रदायक संस्थाहरुको सहज पहुँच स्थापना गर्न सके अवैधानिक रुपमा हुने रेमिट्यान्स कारोवारमा कमी आउन सक्ने थियो भन्ने लाग्छ । वैधानिक रुपमा पैसा पठाउनेको पासपोर्ट नविकरण शुल्क पूणर् निःशुल्क गर्ने, श्रम नविकरण गरिदिने र करमा छुट उपलब्ध गराउने, विभिन्न खाले इन्सेन्टिभ तथा क्यासव्याक दिएर वा डलर रेट बढी दिएर लगानी तथा बचतमा उच्च ब्याजदर, सम्पत्तिको खरिद-बिक्रीमा कर छुट, विदेशबाट फर्किएर नेपालमा व्यापार व्यवसाय गर्नेलाई सहज रुपमा न्यूनतम ब्याजदरमा ऋण उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । यसरी प्रोत्साहन गरे वैधानिक रुपमा रेमिट्यान्स आउछ ।

पाकिस्तानमा हावाहुरी र भारी वर्षाका कारण कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण ८ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका ४ जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका ५जना दाजुभाइको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता तैमुर अली खानले एएफपीसँग घरको छाना र पर्खाल भत्किँदा कम्तीमा १२ जना एकै स्थानमा पुरिएको बताए । उनका अनुसार १४० भन्दा बढी मानिस घाइते भएका छन् भने २०० भन्दा बढी पशुचौपाया मरेका छन् । प्रशासनले चारवटै जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ । यसैबीच, अरब सागर पार गर्दै पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ एक चक्रवात प्रवेश गरिरहेको छ । यो आँधीका कारण हप्ताको अन्त्यमा विभिन्न क्षेत्रमा बाढी तथा भूस्खलन हुने अनुमान गरिएको छ । पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तको तटीय क्षेत्रका आठ देखि नौ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गर्ने बताएका छन् । सहयोगका लागि सोमबारदेखि सेना परिचालन गरिने भएको छ । उक्त चक्रवातले मङ्गलबार साँझदेखि हावाहुरी, आँधीबेहरी र सहरी क्षेत्रमा बाढी आउन सक्ने विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ । माझीहरूलाई जुन १७ सम्म ९मौसमी० प्रणाली समाप्त नभएसम्म खुला समुद्रमा नजान मौसमसम्बन्धी निकायले सुझाब दिएका छन् । छिमेकी मुलुक भारतमा पनि यो आँधी पश्चिमी गुजरात राज्यको सौराष्ट्र र कच्छ क्षेत्र तथा आसपासका पाकिस्तानी तटीय क्षेत्र पार गर्ने सम्भावना रहेको मौसम विभागले आइतबार जनाएको छ । यसले १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र १५० किलोमिटर प्रतिघण्टा ९९३ माइल प्रतिघण्टा० सम्म हावा चल्ने चेतावनी दिएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ । विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको पाकिस्तान विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको केवल ०।८ प्रतिशतको लागि जिम्मेवार छ तर विश्वव्यापी तापक्रम वृद्धिको कारण निम्तिने खराब मौसमको लागि यो देश सबैभन्दा कमजोर देशहरू मध्ये एक हो । गत ग्रीष्मऋतुमा भएको अनपेक्षित मनसुनी वर्षाका कारण देशको एक तिहाइ भाग जलमग्न भएको थियो, जसका कारण २० लाख घरमा क्षति पुगेको थियो भने १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

बाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

रावा इनर्जिको आईपीओ ७ जनाले ११ कित्ता पाउने, मंगलबार बाँडफाँट

काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओ मंगलबार जेठ ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार दिँउसो ४ बजे क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँट हुने भएको हो । कम्पनीले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयरसर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जना आवेदकले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिनेछ । १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा ६४ हजार ३६६ जनाले मात्र कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी रहेको ७ कित्तालाई थप १ कित्ता गरी ७ जनाले ११ कित्ता पाउनेछन् ।

थ्रीस्टारको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको जनाएको छ । कम्पनीको आईपीओमा २ हजार ६०६ जना आवेदकले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई आइतबार ४ लाख ९२ हजार ५ सय कित्ता सेयर वितरण गरेको कम्पनीले बताएको छ । कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिएका थिए । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओको नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरिरहेको आईपीओ रिजल्टबाट हेर्न सकिनेछ ।

खडेरीले मुहानै सुकेपछि दमकलबाट पानी वितरण

काठमाडौं । यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ । बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार बन्न पुगेको छ । एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताए । ‘यस वडाका करिब ५० घर परिवार पानीविहीन भएपछि सङ्घीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ,’ उदयपुर गढी–७ का वडाध्यक्ष भुवन मगरले भनिन् । वडाध्यक्ष मगरका अनुसार आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको छ । प्रदेशसभा सदस्य बुर्जा मगरका अनुसार आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यानाथ खोलाको पानी दिनमा ५÷६ पटकसम्म बोकेर ५० वितरण सुरु गरिएको हो । यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए ।

औषधिमा आत्मनिर्भर बनाउने मन्त्री बस्नेतको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा उनले औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताए । उनले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने भन्दै सरकारले नेपाली औषधि उद्योगलाई सधैँ संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले उद्योग सञ्चालनमा कुनै नीतिगत रूपमा समस्या भए त्यसको समाधानका लागि आफू तयार रहेको बताए । उनले औषधि उद्योगलाई नियमन र संरक्षण गर्दै जानुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रवद्र्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए । उनले सरकारले तय गरेका नेपाली औषधि प्रवद्र्धनका सबै नीतिनियमहरू कार्यान्वयन गर्न नसकिएको भन्दै सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताए । कार्यक्रममा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भएका औषधि गुणस्तरीय रहेको भनाइ राखे । उनले सरकारले सहयोग गरेको खण्डमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताए । विदेशबाट आएका औषधिलाई मात्र विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । कार्यक्रममा औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाली औषधि उद्योग समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नेपालमै उत्पादन भएका औषधि प्रयोग गर्नुपर्ने बताए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले औषधि उद्योगले भोगिरहेका समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए ।