विकासन्युज

आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगे कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रो

काठमाडौं । आईपीओ निष्काशन तथा बिक्रीका लागि २ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका हुन् । कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावरले जेठ २६ गते बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ । कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । यस्तै, सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्ताको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । दुबै कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

सभापति देउवा उपचारका लागि सिङ्गापुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि गएका छन् । पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार सङ्घीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै आइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार यात्रुवाहक र मालवाहक दुवै सवारीसाधनमा यो नियम लागू गराउन लागिएको हो । संविधानअनुसार अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापन विभागको कार्यक्षेत्र भए पनि प्रदेशअन्तर्गत कार्यालयहरूले काम गर्न नछाडेको उनले बताए । कार्यालयले सेवा लिन आएका सेवाग्राहीलाई अनुमति दिइरहेको उनले जानकारी दिए । विभागले अहिले यातायात व्यवसायीलगायत सबैलाई विभागमा बोलाएरै सङ्घीय कार्यालयबाट अनुमति लिन भनेको छ । उनले भने, ‘सबै सरोकारवालालाई सम्झाउनका लागि अहिले परिपत्र गरिएको छ ।’ प्रदेशले सेवा दिए पनि सरकारलाई आउने राजस्व आइरहेको र नागरिकलाई पनि सजिलो भएकाले सङ्घीय कार्यालयबाटै अनुमति लिन बाध्य नगरिएको प्रवक्ता पनेरुले बताए । प्रदेशअन्तर्गतका कार्यालय सबै जिल्लामा भएकाले अहिलेसम्म सेवाग्राही पनि यातायात व्यवस्था कार्यालयमा नै गइरहेको उनले बताए । तर अन्तरप्रदेश चल्ने सवारीसाधनमा एउटाले दिएको अनुमति अर्को प्रदेशले नमान्न सक्ने हुँदा र कानूनको पालना गर्नुपर्ने हुँदा अब सङ्घले नै गर्ने उनको भनाइ छ । उनले भने, ‘सङ्घीयताको अभ्यासका क्रममा रहेकाले अहिलेसम्म कडाइ गरिएको थिएन ।’ विभागअन्तर्गतका कार्यालयहरू काठमाडौंको टेकु, इटहरी, हेटौँडा, बुटवल र अत्तरियामा रहेका छन् । सेवाग्राहीले यी कार्यालयबाट आवश्यक अनुमति लिनुपर्नेछ । संविधान र मन्त्रिपरिषद्बाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार अन्तरप्रदेश सञ्चालन हुने यातायातको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको रहेको छ । कानूनको उल्लङ्घन गरी सङ्घअन्तर्गतका कार्यालयबाट इजाजत नलिई सवारीसाधन सञ्चालन नगरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ । विगतमा यातायात व्यवस्था विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय विसं २०७२ मा नयाँ संविधान लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । सङ्घीय सरकारअन्तर्गत चार प्रदेशमा मात्रै कार्यालय रहेका छन् ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र विशालनगरको अरोगिन हेल्थकेयरबीच सम्झौता भएको छ । दुई संस्थाबीच बैंकका भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता बैंकका मुख्य प्रबन्धक विनोद कूमार र हेल्थकेयरका प्रबन्धक जानुका विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अुनसार बैंकका ग्राहकले अरोगिन हेल्थकेयरमा विभिन्न सेवा जस्तै कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, दिवा स्याहार, चौविस घण्टे नर्सिङ सेवा, फिजीयोथेरापी, तथा अन्य ल्याब सम्बन्धि सेवाहरुमा विशेष छुट पाउनेछन् । यो छुट पाउन ग्राहकले कार्ड वा मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नुपर्नेछ ।

९ लाख रुपैयाँले घट्यो विद्युतीय गाडी बिवाईडीको मूल्य

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिवाईडीको मूल्य करिब ९ लाख रुपैयाँले घटेको छ । कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ । योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो । यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि यस गाडीकाे मूल्य ८९.९९ रुपैयाँ रहेको थियो । संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनी जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एपबाट नेपालपे कयुआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा संचालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन् । यो योजना असार २१  गते बिहीबारसम्मका लागि लागु गरिएको बैंकले जानकारी दिएको छ ।

अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएका हुन् । यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए । सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताए । अध्यक्ष ढकालले भने, ‘ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ, उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत् बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् ।’ उनले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्ने र यसलाई बिमस्टेकका अन्य सदस्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिने धारणा राखे । कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिए । बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाइ भन्सार प्रक्रिया, आवश्यक नीति नियम सरल बनाउँदै लगानी सहजीकरणका उपायहरू प्रवर्द्धन गर्न सकिने उनले बताए । ‘यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ, नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यातमा विविधीकरण हुन्छ’, अध्यक्ष ढकालले भने । उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताएका छन् । ‘बिमस्टेक राष्ट्रहरूबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ, बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ’, उनले भने । उनले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने प्रस्ताव गरेका थिए । रासस