नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आवद्ध
काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो समयमा ३ लाखभन्दा बढी मर्चेन्टहरु कयूआरमा आवद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्यूआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ । विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
एनएमबि बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको एनएमबि जन्मभूमि बचत खाता (रेमिट्यान्स)मा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ ।
व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने
काठमाडौं । उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे बुधबार बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग वाणिज्य सङ्घ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिन अपिलसमेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ । कोभिड–१९ र त्यसपछि सिर्जना भएको व्यावसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याको सामना गर्दै आएका उद्योगी व्यवसायी अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैँबाट सुरु गरिएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । उनले वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीले कम्तीमा यो अवस्था सहज नहुँदासम्मका लागि घर भाडामा केही प्रतिशत छुट दिन अनुरोध गरे । घर बहाल सम्झौताबमोजिम यस वर्ष घर बहालमा वृद्धि गर्ने समय आएका घरधनीलाई यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नसमेत सङ्घले अपिल गरेको छ । सङ्घको मातहतमा रहेका व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकमसमेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताए । केही दिनअघि मात्र घरबहाल उपभोक्ता मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आह्वान गरेको थियो । विभिन्न व्यावसायिक सङ्घसंस्थाको समर्थनमा मञ्चले दबाबमूलक कार्यक्रमसमेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताए । उनले मञ्चले गरेको आग्रहअनुसार उद्योग वाणिज्य सङ्घबाटै घरभाडा छुटको सुरुआत हुनु सकारात्मक भएको बताए ।
बोराभित्र श्रीमतिको शव, श्रीमान् पक्राउ
फाइल फाेटाे काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ । विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए । उपरीक्षक विष्टले भने, ‘जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।’ निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्ने प्रहरी उपरीक्षक विष्टले बताए । मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिनुभएको थियो । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए । निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।
प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । प्रभु बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा ११.५१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, असारमा ५ प्रतिशत छुट दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.४४ प्रतिशत र ब्याजदर अन्तर ४.०५ प्रतिशत रहेको छ । साथै, बैंकले असार १ गतेदेखि असार मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने बताएको छ ।
घोराही सिमेन्टको आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
खल्तीको बिगेष्ट पेमेन्ट जात्रा : सर्लाहीका बिटुले पाए पल्सरको मोटरसाइकल, करोडौंको अफर
काठमाडौं । २ सय रुपैयाँमा मोटरसाइकल पाएको सुन्नु भएको छ ? सुन्दा अचम्म लाग्न सक्छ । २ सय रुपैयाँकाे कारोबार गर्दा मोटरसाइकल पाएका छन् सर्लाहीका बिटु कुमार साह कलवारले । खल्ती डिजिटल वालेटले बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत बिजेता कलवारलाई बुधबार मोटरसाइकल हस्तान्तरण गरेको हो । बुधबार बजाजको टेकु शाखामा कलवारलाई पल्सर एन १६० मोडलको मोटरसाइकल हस्तान्तरण गरेको खल्तीले जनाएको छ । खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको बिगेस्टपेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । जसमध्ये जेठ १ गतेदेखि १५ गतेसम्म पहिलो राउण्ड सम्पन्न भएको छ । सोही राउण्डमा २ पटक खल्तीबाट कारोबार गर्दा कलवारले लक्कि ड्र मार्फत मोटरसाइकल पाएका हुन् । खल्ती मार्फत् भुक्तानी गर्दा मोटरसाइकल बिजेता हुँदा खुसीले भुईँमा खुट्टा नरहेको बिजेता कलवार बताउँछन् । उनले मोटरसाइकल पाउँदा पहिलो पटक दक्षिणकाली घुम्न जाने बताए । उनले अन्य ब्यक्तिलाई पनि खल्ती वालेटमार्फत् भुक्तानी गर्न सुझाव दिए । ‘मैले खल्तीमा २ पटक मात्रै कारोबार गरेको हो,खल्तीबाट नै पहिलो पटक मैले उपहार पाएको हुँ, बिजेता भएर मोटरसाइकल पाएपछि दाईसँग दक्षीणकाली घुम्न जान्छु,’ उनले खुसी हुँदै भने, ‘तपाईहरु पनि खल्तीबाट भुक्तानी गर्नु भयो भने अन्य राउण्डमा मोटरसाइकल पाउन सक्नु हुन्छ ।’ ‘यस्तो अफर आउँदा सुरुमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले मात्रै पुरस्कार पाउँछन् भन्ने लागेको थियो तर, त्यो गलत सोच बनाएको रहेछु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा फोनबाट सुन्दा विश्वास लागेको थिएन तर, फेसबुकमा फोटो सहित राखेपछि मात्रै विश्वास लाग्यो ।’ खल्तीका ब्राण्डिङ्ग हेड सागर श्रेष्ठका अनुसार जेठ १६ गतेदेखि जेठ ३२ गतेसम्म दोस्रो राउण्ड, असार ३ गतेदेखि असार १५ गतेसम्म तेस्रो र असार १६ गतेदेखि असार ३१ गतेसम्म चौंथो राउण्ड हुनेछ । प्रत्येक राउण्डमा २ वटा भुक्तानी अनिवार्य गर्नु पर्ने उनले बताए । ‘प्रत्येक राउण्डको अन्त्यमा एक जना भाग्यमानी प्रयोगकर्तालाई लक्की ड्र मार्फत् उपहार स्वरुप पल्सर एन १६० मोटरसाइकल बिजेताका लागि छनोट गरिनेछ, आज हामीले पहिलो राउण्डका बिजेता कलवारजीलाई मोटरसाइकल हस्तान्तरण गर्याै,’ उनले भने, ‘अझै ३ वटा राउण्ड बाँकी छन्, तपाईहरुले पनि २ वटा कारोबार गर्नु भयो भने पल्सर मोटरसाइकल पाउनु हुनेछ ।’ साथै, एक जना प्रयोगकर्ताले ४ वटै राउण्डमा सहभागी हुन पाउनेछन् । प्रत्येक राउण्डमा भुक्तानी गर्याे भने बोनस राउण्डका लागि पनि योग्य हुने उनले बताए । बोनस राउण्डमा पनि बम्पर योजना छ । सो योजनामा पनि प्रयोगकर्ताले पल्सर मोटरसाइकल जित्न सक्नेछन् । समग्रमा कम्पनीले द बिगेस्ट पेमेन्ट जात्रा अवधिमा ५ वटा मोटरसाइकलउपहारस्वरुप प्रयोगकर्तालाई प्रदान गर्ने श्रेष्ठको भनाइ छ । कसरी हुने सहभागी ? कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि द बिगेस्ट पेमेन्ट जात्रा अवधि भरी प्रत्येक दिन खल्ती एपभित्र जात्रा सेक्सन हुनेछन् । जसको भित्र एउटा खुत्रुके देखिनेछ । प्रत्येक दिन खुत्रुकेलाई फुटाएर अन्य थप उपहार पनि प्राप्त गर्न सकिनेछ । साथै, नेपालमै पहिलो पटक खल्तीले डिजिटल स्क्र्याच कार्ड ल्याएको छ । प्रयोगकर्ताले १ सय रुपैयाँभन्दा बढी भुक्तानी गरेवापत एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिने खल्तीले जनाएको छ । द बिगेस्ट पेमेन्ट जात्रा अवधिभरी १ करोड स्क्र्याच कार्ड हुनेछन् । जसले जति धेरै भुक्तानी गर्याे सो प्रयोगकर्ताले धेरै स्क्र्याच कार्ड मार्फत् धेरै उपहार जित्न सक्ने खल्तीले बताएको छ । यदि १ सय रुपैयाँ भुक्तानीमा फण्ड लोड र बैंक ट्रान्सफर भने मान्य नहुने बताइएको छ । साथै, खल्तीबाट वल्र्डलिंकको बिल भुक्तानी गर्ने १ जना र हवाई टिकट खरिद गर्ने १ जना प्रयोगकर्ताले १/१ वटा आइफोन १४ विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, विशेष उपहारमा खल्तीबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक जनालाई स्मार्ट टिभी प्रदान गर्ने भएको छ । यो अफर प्रत्येक हप्ता लागू भइरहेको कम्पनीको भनाइ छ । बिगेस्टपेमेन्ट जात्रा अवधि भर खल्तीले ८ जना प्रयोगकर्तालाई ८ वटा स्मार्ट टिभी प्रदान गर्नेछ । साथै बम्फर प्राइजमा वनप्लस ११ पनि जित्ने मौका रहेको छ । पल्सर एन १६० मोडलको मोटरसाइकल पुरस्कार जित्नका लागि प्रत्येक १५ दिनको अवधिमा २ वटा भुक्तानी गरेकै हुनु पर्छ । साथै अन्य बम्फर उपहारहरु आइफोन १४, वान प्लस ११, स्मार्ट टिभि जित्नका लागि सर्भिसको भुक्तानी २ महिनामा अफर अवधि भर कारोबार गरेको हुनु पर्नेछ । खल्तीको द बिगेस्ट जात्राको सबै अफर प्राप्त गर्न खल्ती आइडी केवासी भेरिफाइड भएको हुनु पर्नेछ । यदि केवाइसी भेरिफाइड भएको छैन भने मान्य नहुने खल्तीले बताएको छ । खल्तीले हरेक राउण्डको अन्त्यमा लाइभ मार्फत विजेता घोषणा गर्नेछ। खल्ती प्रतिनिधिले विजेतालाई कलमार्फत् पुरस्कार दाबी गर्ने प्रक्रियाका साथै आवश्यक कागजात, पुरस्कारमा लाग्ने कर र हस्तान्तरणको जानकारी गराउने छन्। जानकारी पाएपश्चात् विजेताले खल्तीको प्रमुख कार्यलय बखुण्डोल वा अन्य खल्ती हबमा गई हस्तान्तरणको कानूनी प्रक्रिया पुरा गर्नु पर्नेछ। सो प्रक्रिया खल्तीको सबै अफरमा लागू हुनेछ।