विकासन्युज

बोराभित्र श्रीमतिको शव, श्रीमान् पक्राउ

  फाइल फाेटाे काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ । विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए । उपरीक्षक विष्टले भने, ‘जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।’ निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्ने प्रहरी उपरीक्षक विष्टले बताए । मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिनुभएको थियो । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए । निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।

प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । प्रभु बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा ११.५१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, असारमा ५ प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.४४ प्रतिशत र ब्याजदर अन्तर ४.०५ प्रतिशत रहेको छ । साथै, बैंकले असार १ गतेदेखि असार मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने बताएको छ ।

घोराही सिमेन्टको आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

खल्तीको बिगेष्ट पेमेन्ट जात्रा : सर्लाहीका बिटुले पाए पल्सरको मोटरसाइकल, करोडौंको अफर

काठमाडौं । २ सय रुपैयाँमा मोटरसाइकल पाएको सुन्नु भएको छ ? सुन्दा अचम्म लाग्न सक्छ । २ सय रुपैयाँकाे कारोबार गर्दा मोटरसाइकल पाएका छन् सर्लाहीका बिटु कुमार साह कलवारले । खल्ती डिजिटल वालेटले बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत बिजेता कलवारलाई बुधबार मोटरसाइकल हस्तान्तरण गरेको हो । बुधबार बजाजको टेकु शाखामा कलवारलाई पल्सर एन १६० मोडलको मोटरसाइकल हस्तान्तरण गरेको खल्तीले जनाएको छ । खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको बिगेस्टपेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । जसमध्ये जेठ १ गतेदेखि १५ गतेसम्म पहिलो राउण्ड सम्पन्न भएको छ । सोही राउण्डमा २ पटक खल्तीबाट कारोबार गर्दा कलवारले लक्कि ड्र मार्फत मोटरसाइकल पाएका हुन् । खल्ती मार्फत् भुक्तानी गर्दा मोटरसाइकल बिजेता हुँदा खुसीले भुईँमा खुट्टा नरहेको बिजेता कलवार बताउँछन् । उनले मोटरसाइकल पाउँदा पहिलो पटक दक्षिणकाली घुम्न जाने बताए । उनले अन्य ब्यक्तिलाई पनि खल्ती वालेटमार्फत् भुक्तानी गर्न सुझाव दिए । ‘मैले खल्तीमा २ पटक मात्रै कारोबार गरेको हो,खल्तीबाट नै पहिलो पटक मैले उपहार पाएको हुँ, बिजेता भएर मोटरसाइकल पाएपछि दाईसँग दक्षीणकाली घुम्न जान्छु,’ उनले खुसी हुँदै भने, ‘तपाईहरु पनि खल्तीबाट भुक्तानी गर्नु भयो भने अन्य राउण्डमा मोटरसाइकल पाउन सक्नु हुन्छ ।’ ‘यस्तो अफर आउँदा सुरुमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले मात्रै पुरस्कार पाउँछन् भन्ने लागेको थियो तर, त्यो गलत सोच बनाएको रहेछु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘सुरुमा फोनबाट सुन्दा विश्वास लागेको थिएन तर, फेसबुकमा फोटो सहित राखेपछि मात्रै विश्वास लाग्यो ।’ खल्तीका ब्राण्डिङ्ग हेड सागर श्रेष्ठका अनुसार जेठ १६ गतेदेखि जेठ ३२ गतेसम्म दोस्रो राउण्ड, असार ३ गतेदेखि असार १५ गतेसम्म तेस्रो र असार १६ गतेदेखि असार ३१ गतेसम्म चौंथो राउण्ड हुनेछ । प्रत्येक राउण्डमा २ वटा भुक्तानी अनिवार्य गर्नु पर्ने उनले बताए । ‘प्रत्येक राउण्डको अन्त्यमा एक जना भाग्यमानी प्रयोगकर्तालाई लक्की ड्र मार्फत् उपहार स्वरुप पल्सर एन १६० मोटरसाइकल बिजेताका लागि छनोट गरिनेछ, आज हामीले पहिलो राउण्डका बिजेता कलवारजीलाई मोटरसाइकल हस्तान्तरण गर्याै,’ उनले भने, ‘अझै ३ वटा राउण्ड बाँकी छन्, तपाईहरुले पनि २ वटा कारोबार गर्नु भयो भने पल्सर मोटरसाइकल पाउनु हुनेछ ।’ साथै, एक जना प्रयोगकर्ताले ४ वटै राउण्डमा सहभागी हुन पाउनेछन् । प्रत्येक राउण्डमा भुक्तानी गर्याे भने बोनस राउण्डका लागि पनि योग्य हुने उनले बताए । बोनस राउण्डमा पनि बम्पर योजना छ । सो योजनामा पनि प्रयोगकर्ताले पल्सर मोटरसाइकल जित्न सक्नेछन् । समग्रमा कम्पनीले द बिगेस्ट पेमेन्ट जात्रा अवधिमा ५ वटा मोटरसाइकलउपहारस्वरुप प्रयोगकर्तालाई प्रदान गर्ने श्रेष्ठको भनाइ छ । कसरी हुने सहभागी ? कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि द बिगेस्ट पेमेन्ट जात्रा अवधि भरी प्रत्येक दिन खल्ती एपभित्र जात्रा सेक्सन हुनेछन् । जसको भित्र एउटा खुत्रुके देखिनेछ । प्रत्येक दिन खुत्रुकेलाई फुटाएर अन्य थप उपहार पनि प्राप्त गर्न सकिनेछ । साथै, नेपालमै पहिलो पटक खल्तीले डिजिटल स्क्र्याच कार्ड ल्याएको छ । प्रयोगकर्ताले १ सय रुपैयाँभन्दा बढी भुक्तानी गरेवापत एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिने खल्तीले जनाएको छ । द बिगेस्ट पेमेन्ट जात्रा अवधिभरी १ करोड स्क्र्याच कार्ड हुनेछन् । जसले जति धेरै भुक्तानी गर्याे सो प्रयोगकर्ताले धेरै स्क्र्याच कार्ड मार्फत् धेरै उपहार जित्न सक्ने खल्तीले बताएको छ । यदि १ सय रुपैयाँ भुक्तानीमा फण्ड लोड र बैंक ट्रान्सफर भने मान्य नहुने बताइएको छ । साथै, खल्तीबाट वल्र्डलिंकको बिल भुक्तानी गर्ने १ जना र हवाई टिकट खरिद गर्ने १ जना प्रयोगकर्ताले १/१ वटा आइफोन १४ विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, विशेष उपहारमा खल्तीबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक जनालाई स्मार्ट टिभी प्रदान गर्ने भएको छ । यो अफर प्रत्येक हप्ता लागू भइरहेको कम्पनीको भनाइ छ । बिगेस्टपेमेन्ट जात्रा अवधि भर खल्तीले ८ जना प्रयोगकर्तालाई ८ वटा स्मार्ट टिभी प्रदान गर्नेछ । साथै बम्फर प्राइजमा वनप्लस ११ पनि जित्ने मौका रहेको छ । पल्सर एन १६० मोडलको मोटरसाइकल पुरस्कार जित्नका लागि प्रत्येक १५ दिनको अवधिमा २ वटा भुक्तानी गरेकै हुनु पर्छ । साथै अन्य बम्फर उपहारहरु आइफोन १४, वान प्लस ११, स्मार्ट टिभि जित्नका लागि सर्भिसको भुक्तानी २ महिनामा अफर अवधि भर कारोबार गरेको हुनु पर्नेछ । खल्तीको द बिगेस्ट जात्राको सबै अफर प्राप्त गर्न खल्ती आइडी केवासी भेरिफाइड भएको हुनु पर्नेछ । यदि केवाइसी भेरिफाइड भएको छैन भने मान्य नहुने खल्तीले बताएको छ । खल्तीले हरेक राउण्डको अन्त्यमा लाइभ मार्फत विजेता घोषणा गर्नेछ। खल्ती प्रतिनिधिले विजेतालाई कलमार्फत् पुरस्कार दाबी गर्ने प्रक्रियाका साथै आवश्यक कागजात, पुरस्कारमा लाग्ने कर र हस्तान्तरणको जानकारी गराउने छन्। जानकारी पाएपश्चात् विजेताले खल्तीको प्रमुख कार्यलय बखुण्डोल वा अन्य खल्ती हबमा गई हस्तान्तरणको कानूनी प्रक्रिया पुरा गर्नु पर्नेछ। सो प्रक्रिया खल्तीको सबै अफरमा लागू हुनेछ।

७० हजार घुससहित धनुषा जिल्लाका वडाअध्यक्ष र वडा सचिव पक्राउ

काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट रु ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ । डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ । बैंकले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । नबिल बैंकले हाल देशका सातवटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

इप्पान अध्यक्षमा कार्की र वरिष्ठ उपाध्यक्षमा डाँगी निर्विरोध विजयी, को–को भए निर्वाचित ?

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी निर्वाचन समितिले योग्यता नपुगेको भन्दै रद्द गरिदिएपछि कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन् । निर्वाचन अधिकृत चिरञ्जिवी खतिवडाले उनीहरु निर्विरोध निर्वाचित भएको बताए । उनका अनुसार योग्यता नपुगेको भन्दै समितिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य अधिकारीको उम्मेदवारी रद्द गरिदिएपछि डाँगी निर्विरोध अध्यक्ष चयन भएका हुन् । त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेपनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन् । त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन् । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । ७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् । इप्पानको २१ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन जेठ ३२ गते हायात होटलमा हुँदैछ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् ।