अर्थतन्त्रलाई गति दिन लागिपरेको छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए । आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताए । दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उनले दैलेखमा धेरै जातजातिका पुर्खाको बसोबास रहेको इतिहास पाइएको बताए । प्रधानमन्त्री दाहालले यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्नसके विश्व मानचित्रमा दैलेखको पहिचान देखिने बताए । आफूलाई सानोमा दाहाल बन्धुको पुर्खाहरू दैलेखबाट आएको भन्दा कौतुहल लाग्ने गरेको उनले स्मरण गरे । ‘दाहालहरूको उद्गम थलो पश्चिमको दैलेख भन्ने गर्थे, त्यतिबेला मलाई कौतुहल लाग्थ्यो, अहिले पुर्खाको थलोमा आइपुग्दा मलाई गर्व लागेको छ’, उनले भने । उनले भाइबन्धुको एकतासँगै सिङ्गो राष्ट्रको एकता गर्ने आफ्नो पहिल्यैदेखिको सपना भएको बताए । सो अवसरमा प्रधानमन्त्री दाहालले दासुको पहिलो सालिक अनावरण गरेका थिए । रासस
४१ लाख रुपैयाँसम्म घट्यो ईभीको मूल्य, कुनको कति ?
काठमाडौं । सरकारले बजेटमा विद्युतीय गाडीमा लाग्दै आएको भन्सार महशुल तथा अन्त:शुल्कको दरमा परिवर्तन गरेसँगै बजारमा त्यसको प्रभाव देखिन थालेको छ । सरकारले बजेटमा ५० देखि एक सय किलोवाट क्षमताका गाडीको भन्सार तथा अन्त:शुल्क बढाएर १ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार तथा अन्त:शुल्क महशुल घटाएको थियो । १ सय किलोवाट माथिका गाडीको भन्सार तथा अन्त:शुल्क महशुल कम भएपछि व्यवसायीहरुले गाडीको मूल्य घटाउन थालेका छन् । गाडी बिक्रेता कम्पनीहरुले सरकारको घोषणा अनुसार १ सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका गाडीको मूल्य ९ लाख रुपैयाँदेखि ४१ लाख रुपैयाँसम्म घटाएका छन् । ४१ लाख घट्यो टेस्ला गाडीको मूल्य बजेट मार्फत् सवारी साधनमा लाग्ने कर परिवर्तन भएपछि टेस्ला कम्पनीको गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ । टेस्ला गाडीको नेपालका लागि अधिकारीक बिक्रेता कम्पनी अरेटी इन्टरनेशनलले मोडल थ्री र मोडल वाईको मूल्य समायोजन गरेको हो । टेस्लाको मोडल वाई गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ । बजेटअघि यो गाडीको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेकोमा बजेटपछि १ करोड ९९ लाख कायम भएको छ । यस्तै, कम्पनीले मोडल थ्री गाडीमा २० लाख रुपैयाँ मूल्य घटाएको छ । टेस्ला मोडल थ्रीमा पीकपावर १९८ किलोवाट क्षमताको मोटर रहेको छ । बजेटमा १ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार र अन्तशुल्क घटेसँगै कम्पनीले बिक्री मूल्य घटाएको हो । यसअघि १ करोड ५० लाख मूल्यमा बिक्री हुँदै आएको मोडल थ्री कम्पनीले २० लाख रुपैयाँ घटाएर एक करोड ३० लाख रुपैयाँ बिक्री मूल्य तोकेको हो । कम्पनीले उक्त मोडलको गाडी किन्ने ग्राहकलाई ५ लाख नगद छुट दिने समेत जनाएको छ । १४ लाखले घट्यो हुन्डाई आयोनिकको मूल्य बजेट सार्वजनिक पश्चात् हुन्डाई गाडीको मूल्य १४ लाख रुपैयाँले घटेको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले १२५ किलोवाट क्षमता भएको हुन्डाई आयोनिक ५ को मूल्य घटाएको हो । यसअघि १ करोड १६ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको हुन्डाई आयोनिक ५ को मूल्य १४ लाख रुपैयाँले घटेर एक करोड २ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ । यस्तै, हुन्डाईले १०० र १५० किलोवाट क्षमता रहेको कोनाको मूल्य समेत घटाएको छ । यसअघि ७६ लाख ९६ हजार रुपैयाँ रहेको १०० किलोवाट क्षमताको गाडीको मूल्य ५६ लाख ९६ हजार र ९४ लाख ९६ हजार रहेको १५० किलोवाट क्षमताको गाडीको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । १ सय किलोवाट क्षमता रहेको आयोनिक यसअघि ७६ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले ५७ लाख ९५ हजार बनाएको छ । ९ लाखले घट्यो बिवाईडीकोे मूल्य बजेट सार्वजनिक भएपश्चात् बिवाईडी गाडीको बिक्री गर्दै आएको कम्पनीले ९ लाख रुपैयाँले मूल्य घटाएको छ । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिक्री गर्दै आएको २ मोडलका गाडीको मूल्य घटाएको हो । कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ । योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो । यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ८९.९९ रुपैयाँ रहेको थियो । संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनीले जनाएको छ ।
मौलिकता गुमाउँदै घान्द्रुक
गण्डकी । विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे । गाउँको तल विद्यालय थियो । उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए । उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको दृष्टिले हेरिन्थ्यो । विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले । अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन् । त्योबेला घान्द्रुकमा होटल, रेष्टुराँको कल्पना नै थिएन । पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले । ‘घरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ, सामान्य कोठामा सुत्थे’, शिक्षक गुरुङले विगत कोट्याए, ‘गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो ।’ व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो । शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे । ‘विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पथ्र्यो’, उनले भने, ‘हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे। ‘ विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो । अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै घरमा पठाउन थाले । ‘घान्द्रुक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो’, उनले सुनाए, ‘पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो ।’ पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो । जुन अहिले बन्द छ । विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले । उनले कान्छोबुबाको घरमा होटल चलाएका थिए । पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिए । अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा हुन् । चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ । गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन् । विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पत्तीले । ‘पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ’, उनले भने । विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले । झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ । घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ । ‘मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे’, उनले भने, ‘कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे ।’ विसं २०४०र२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले। पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशीविदेशी माझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की १ भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ । घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । ‘विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थेँ’, शिक्षक गुरुङले सुनाए, ‘तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो ।’ सडकले पदमार्ग भत्केका छन् । पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार। पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए । अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ । पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गरे । ‘यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ’, उनले भने, ‘कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका छन् ।’ मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताए । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताए । ‘हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ’, उनले भने, ‘पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके ।’ स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ थियो । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूछ«े हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ । देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो । घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ । स्थानीयवासी धनसुबा गुरुङले ढुङ्गामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताए । ‘काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कस्लाई के भन्ने’, उनले भने, ‘गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ।’ डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ। केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् । गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीतनाच पनि लोपन्मुख अवस्थामा पुगेका छन्। पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन् । कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन्। स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन् । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएका थिए । उनले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे । ‘पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ’, मुख्यमन्त्री पाण्डेको भनाइ थियो । पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् । अठार वटा घरबास छन् । पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ। सयौँले रोजगारी पाएका छन्। पर्यटकीय याममा एकैदिनमा दुईरतीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ। पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँचरछ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ। मोटरमा जाँदा एकरडेढ घण्टामै पुग्न सकिन्छ। रासस
प्रभु बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टलको विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने
काठमाडाैं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल ग्राहकहरुले खरिद गर्दा बैंकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्रदान गर्नेछ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले जनाएका छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकद्धारा विभिन्न संस्थाहरुलाई सहयोग
काठमाडौं । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत वरिपरीका गाउँहरुमा पनि स्वास्थ्य सेवा दिंदै आइरहको छ । बैंक अधिकारीले उक्त संस्थालाई बिगतका बर्षहरुमाझै यस बर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोग बापत १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहको हुदाँ आवश्यक हुने सुचना–प्रविधिको सामग्री सहयोग गरेको र सो बाट अध्यनरत करिब ८०० बिद्यार्थी लाभान्वित हुने छन् । यसका साथै बैंकले रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ । उक्त विद्यालयले ग्रामीण समुदाय, निम्न – आय, दलित, आदिवासी जनजाती बालबालिकाहरुलाई अध्यापन गराई रहेको छ । सो सामान हस्तान्तरण पश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुने छन् ।
इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै
काठमाडौं । लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा राख्ने निर्णय गरेको थियो । केही वर्ष पहिलेदेखि नै इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने माग भाषाविद्, सांसदलगायत सबै पक्षबाट हुँदै आएको थियो । देशभरका जम्मा सवारी साधनलाई कति नेपाली, कति अङ्ग्रेजी र कति मिश्रित भाषामा नम्बर प्लेट चाहिन्छ भनी तथ्याङ्क सङ्कलन भइरहेको विभागले जनाएको छ । कुन प्रकारका सवारी साधन कति छन् र सेवाग्राही कुन भाषा चाहन्छन् भन्ने बुझेपछि जडानले गति लिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । दुईपाङ्ग्रे, चारपाङ्ग्रे हलुका र चारपाङ्ग्रे हेभी गरी तीन किसिमका सवारी साधन रहेका छन् । यिनलाई फरक आकारका नम्बर प्लेट आवश्यक हुने प्रवक्ता पनेरुले बताए । कस्तो सवारी साधनका लागि कति सङ्ख्यामा नम्बर प्लेट चाहिने भनी यकिन गरिने उनले बताए । सरकारले नेपाली भाषामा छाप्ने भनी निर्णय गरेपछि कसरी गर्न सकिन्छ भनी छुट्याउने काम भइरहेको प्रवक्ता पनेरुले बताए । तथ्याङ्क आइसकेपछि आपूर्तिकर्ता कम्पनीलाई यस्ता खालका नम्बर प्लेट यतियति आवश्यक पर्छ भन्न सकिने उनको भनाइ छ । उनले भने, ’त्यसपछि यो काम अघि बढ्न सक्छ ।’ देशभरका सवारीसाधन दर्ताको तथ्याङ्क विभागसँग नभएकाले अहिले प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट सङ्कलन भइरहेको छ । कुन प्लेट कति चाहिन्छ भनी अनुमानको भरमा छाप्न नमिल्ने हुँदा पहिले यकिन तथ्याङ्क विवरण खोजिएको उनको भनाइ छ । जम्मा २५ लाख नम्बर प्लेछ छापिने र त्यसमा कतिले अङ्ग्रेजीमा छाप्ने कतिले नेपाली र कति मिश्रित भनेर पहिले बुझेर मात्रै छाप्नुपर्ने प्रवक्ता पनेरुले बताए । अनुमानको भरमा छाप्न दिने नभएकाले यस विषयमा छलफल भइरहेको उनले बताए । उनले भने, ’निर्णय हुँदा समग्र रूपमा भए पनि कुन तरिकाबाट गर्ने भनी योजना बनाउन केही समय लाग्नेछ ।’ पहिले सवारीको प्रकार पत्ता लगाएपछि कुन भाषमा कति छाप्ने भनी तथ्याङ्क सङ्कलन हुने विभागले जनाएको छ । मन्त्रालयले एकै प्रकारको (नेपाली, अङ्ग्रेजी वा मिश्रित) भनी निर्णय गरेमा त्यही आधारमा गरिने र नभए कति सेवाग्राहीले कुन भाषामा छाप्ने छानेपछि सोही आधारमा गरिने उनले बताए । एकै थरी गर्ने हुँदा त्यही अनुरुप काम गर्न सकिने भए पनि विकल्प हुँदा कसले कुनमा छाने भनी बुझ्न समय लाग्ने उनले बताए । उनले भने, ’कसरी गर्ने भनी छलफल भइरहे पनि निर्णय हुन सकेको छैन ।’ यस अघि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका सेवाग्राहीको अङ्ग्रेजी नै कायम हुनेछ । लगानी गरिसकेकाले त्यसमा परिवर्तन नहुने उनले बताए । नम्बर प्लेट जडानका लागि बुझाउनुपर्ने राजस्व बढी रहेकाले त्यो कम हुनुपर्ने माग नागरिकस्तरबाट उठ्ने गरेको छ । राजस्वको विषय ऐनमा उल्लेखित विषय भएकाले यसको विषयमा संसद्बाट निर्णय हुनसक्ने उनले बताए । उनले भने, ’अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।’ पुरानो ठेक्काबाट काम गर्दा थप आर्थिक भार नपर्ने गरी कुरा भइरहेको विभागले जनाएको छ । आपूर्तिकता कम्पनी पनि यसमा सकारात्मक रहेको पाइएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि सम्झौता भएको सात वर्ष बित्दासमेत जडानको काम सुस्त छ । कहिले अदालतमा मद्धाका कारण, कहिले कोभिड त कहिले भाषाको विबादका कारण उच्च सुरक्षासहितको सवारी साधनमा प्रयोग हुने नम्बर प्लेट कार्यान्वयन सुस्त भएको हो । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पाेरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । कम्पनीसँगको सम्झौताको अवधि सकिएपछि विभागले थप्दै आएको छ । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारी साधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । विभागले सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आबद्ध गराउन र सवारी साधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ । नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएकामा उपकरणसहित कारखाना चालू अवस्थामा छ । ‘स्टिकर’ वा ‘ट्याग’ जडित सवारी साधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा गेट निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ र जोरपाटी तथा उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर र अत्तरियामा गेट जडान गर्ने सम्झौता रहेकामा कतिपय स्थानमा जडान भएको छ भने कतिपय स्थानमा हुँदैछ । संविधानअनुासर देवनागरी लिपिमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै विसं २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थिया । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्गेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने मन्त्रालय र विभागले बताउँदै आएका थिए । आमनागरिक, सांसद र भाषाविद्हरूले भने नम्बर प्लेटमा नेपाली भाषाको प्रयोगको माग गर्दै आएका थिए । भाषाविद्हरूले सरकार परिवर्तन हुना साथ प्रधानमन्त्री र भौतिक पूर्वाधारमन्त्री भेटेर यसको माग गर्दै आएका थिए । रासस
सूर्तिजन्य पदार्थको करवापतको ६ अर्ब हाम्रो मन्त्रालयले पाउनुपर्छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने बताएका छन् । ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उल्लेख भएपनि सो अनुसार बजेट विनियोजन नभएकोमा उनले आपत्ति जनाए । सूर्तिजन्य पदार्थको करबाट हाल ६ अर्ब रकम उठेको तर सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको उनकाे भनाइ छ । ‘सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धि सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने थियाे,’ उनले भने । दरबन्दीकै अभावमा हाल जनताले उचित ढंगले स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापन गर्नका लागि पनि सूर्तिजन्य पदार्थको करवापत उठेको रकम आफ्नो मन्त्रालयलाई दिन जरुरी रहेको धारण राखे ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जू नगरपालिका र महोत्तरीको गौशाला नगरपालिका–२ र ५मा दादुराको प्रकोप बढेको छ । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ । महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ । यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ ।रासस