विकासन्युज

अत्याधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल गरेका छन् । बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताए । ‘मेरो घरमा मोटर भए पनि कम भोल्टेजका कारण मोटरले पानी नै तान्दैन’, उनले भने, ‘बल्लबल्ल ‘स्टेप्लाइजर’को सहायतामा पानी तानेर बीउ राखेकामा अहिले सिँचाइ नगर्दा बीउ सुक्दै गएको छ ।’ असारको पहिलो सातादेखि रोपाइँ गर्ने उद्देश्यले विष्टले जेठको दोस्रो साता धानको बीउ राखेका थिए । असार लागिसक्दा पनि पानी नपरेपछि धानको बीउ सुकेर खजुराका लालबहादुर खत्री चिन्तित छन् । उनले छिमेकीको मोटरबाट पानी तानेर बीउ राखेका थिए । बीउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बीउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको खत्रीले बताए। ‘बीउ त छिमेकीको मोटरबाट पानी तानेर राखियो । असार लागिसक्दा पनि आकाशबाट पानी परेको छैन । बीउ सुक्न थालिसक्यो । बीउ रोखेको जमिन चिरा परेको छ’, उनले भने । बाँके बैजनाथका किसान मानबहादुर परियारले आकाशे पानीको पखाइमा धानको बीउ राख्न ढिला भएपछि हाते पम्प चलाएर बीउ राखेको बताए । ‘घरमा मोटर र बोरिङ केही पनि छैन । पानी नपरेपछि हाते पम्प चलाएर बीउ राख्यौँ’, उनले भने, ‘तीनपटक हाते पम्प चलाएर बीउमा पानी चारेर जसोतसो पानी पुर्‍याइरहेका छौँ । रोपाइँ कसरी गर्ने हो भन्ने चिन्ता लागेको छ ।’ आकाशे पानीको भरमा खेती गनुपर्ने भएकाले धान खेती प्रभावित हुन सक्ने उनले चिन्ता व्यक्त गरे । ‘गत वर्ष बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएको थियो । यस वर्ष जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको छ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले भने। सिँचाइको उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको उनको भनाइ छ । प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुुरी, राप्तिसोनारी र बैजानाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए । ‘मनसुन समयमा नहुँदा सिक्टाले केही भागमा पानी छोडे पनि सिँचाइका लागि त्यो पानी पर्याप्त छैन’, उनले भने, ‘सिक्टाबाट छोडिएको पानी नहर आसपासका खेतलाई मात्र पुग्छ । पूरै जिल्ला सिञ्चित हुँदैन । नहर आसपासका किसानलाई भने केही राहत मिल्छ ।’ जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएको छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने प्रमुख अहमदले बताए । उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान उत्पादन राम्रो हुने बताए । मनसुन अनुकूल नभएकाले किसानलाई कम समयमा उत्पादन हुने र सुक्खा सहन सक्ने जातको बीउ लगाउन सुझाव दिए । रासस ।

विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब लगानी डुब्ने जोखिममा

फाइल तस्बिर काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताउनु भयो। उहाँले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए । ‘लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब रुपैयाँ लगानी भएको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो, राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ, एडिबीले विमानस्थलमा लगानी गरेको छ, सम्भाव्यता अध्ययन नगरी लगानी भएको छैन, लुम्बिनीका व्यवसायीहरु चिन्तित र दुःखी छौं’, उनले भने । उनले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए । उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे । उनले विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरुको आवतजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरुले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण समेत जोखिममा परेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रुपमा सञ्चालन भएर २० हजार बढीको मानिसहरुको आवातजावत भएर चहलपहल बढ्छ, यो पेशा व्यवसायीलाई वृद्धि गर्छौं भन्ने थियो, त्यस्तै, शिक्षा, प्रविधिको क्षेत्रमा लगानी बढेको छ, तर अहिले ती लगानीहरु अलपत्र भएका छन्, ७०÷३० प्रतिशत वित्तीय संस्थाबाट ऋण लिएका छौं, उक्त लगानी जोखिममा परेको अवस्था छ’, अध्यक्ष शर्माले भने । अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारतभ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताए । त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताए । उनले उद्योगी व्यवसायीहरुले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरेपनि सुनुवाई नभएको गुनासो गरे । उनले सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षाले निजी क्षेत्रले लगानी गरेपनि विमानस्थल चल्न नसक्दा व्यवसायी निराश भएको बताए । उनले विमानस्थलका भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु दुःखी भएको उल्लेख गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु नआउने समेत बताए । विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।

राष्ट्रपति अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन्। उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन् । सो सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल जान छाड्दै

काठमाडौं । महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल कलेज जान छाड्दै गएका छन् । सन् २०१४ देखि २०२२ सम्ममा अक्सफोर्ड तथा क्याम्ब्रिज जस्ता विश्वका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या आधाले कम भएको छ । महँगो शिक्षा र विश्वविद्यालयहरुले भर्ना नीतिमा गरेको परिवर्तनका निजी क्षेत्रका विश्वविद्यालय तथा कलेजहरुको अध्ययनको विषयमा विश्वव्यापी रुपमा नै बहस सिर्जना भएको छ । धेरै धनी देशहरुका विद्यार्थी निजी कलेज तथा विश्वविद्यालय जान छाडेका छन् । धनी देशहरूको संगठन (ओईसीडी) का ३० सदस्य राष्ट्रहरूमा सन् २००० मा ८ प्रतिशतले घटेको विद्यार्थी संख्या सन् २०१८ मा आउँदा ५ प्रतिशतले घटेको छ । ती देशहरुमा आधा खर्च सरकारले बेहोर्ने गर्छ । अमेरिका र बेलायतमा पढ्ने विद्यार्थीको अवस्था तुलनात्मक रुपमा राम्रो अमेरिका र बेलायतमा निजी स्कुल कलेज पढ्ने अभिजात बर्गका छोराछोरीलाई विशेष फाइदा पनि छ । त्यसमा पनि अमेरिकामा बेलायतमा भन्दा राम्रो मानिन्छ । बेलायतमा ६.५ प्रतिशत विद्यार्थीहरु निजी स्कुल पढ्छन्, अमेरिकामा भने ९ प्रतिशत विद्यार्थी निजी स्कुलमा पढ्छन् । बेलातको निजी स्कुलमा पढ्दा विद्यार्थीको वार्षिक खर्च २८ लाख रुपैयाँ सम्म खर्च हुन्छ । यो खर्च भनेको बेलायतको मध्यमबर्गीय परिवारको झण्डै आधा बराबर हो । त्यस्तै, सोही शिक्षामा अमेरिकामा ३७ लाख भन्दा धेरै खर्च हुन्छ । सन् २०१५ को एक अध्ययनअनुसार बेलायतमा निजी स्कुल पढ्ने कामदारहरुको आम्दानी अन्यको तुलनाममा १७ प्रतिशत बढी हुने र ४२ सालसम्मको उमेरमा २१ प्रतिशतले बढी हुने देखिएको छ । अहिले बेलायतमा ३४ प्रतिशत विद्यार्थीहरुले निजी कलेजमा अध्ययन गर्छन् । अहिले अक्सफोर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयलाई पहिलेको जस्तो महत्व दिईंदैन । यी विश्वविद्यालयहरुमा निजी विद्यालयहरुबाट क्रमशः ३२ र २७ प्रतिशत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । जुन विगत १० वर्षको तथ्यांकमा ४३ र ३९ प्रतिशत रहेको थियो । यो तथ्यांकले धनाड्य बर्गहरुको स्कुललाई धक्का लागेको देखाउँछ । अमेरिकी विश्वविद्यालयहरुले निजी विद्यालयहरुबाट आउने विद्यार्थीलाई आतिथ्यतापूर्वक स्वागत गर्ने गर्छन् । थिंक ट्यांक एजुकेसन नाममा जेम्स मर्फीले सन् २०२१ मा अमेरिकाका ३५ वटा सबैभन्दा उच्च विश्वविद्यालयको तथ्यांक जुटाएका थिए । उनको तथ्यांकअनुसार ३४ प्रतिशत विद्यार्थी मात्रै निजी विद्यालयबाट विश्वविद्यालयमा आउने गर्दथे । बेलायती विश्वविद्यालयहरुमा देशभित्रका सबै विद्यार्थीहरुलाई एउटै प्रकारको ट्युसन शुल्क लगाउने गरिन्छ । तर, विदेशी विद्यार्थीसँग भने धेरै लिने गरिन्छ । तर, अमेरिकाका विश्वविद्यालयहरुले भने गरिब विद्यार्थीहरुबाट न्यून शुल्क लिने गर्छन् भने क्षमतावान विद्यार्थीहरुले राम्रो कलेजमा अध्ययन गर्ने मौका पाउँछन् । एजेन्सी ।

पचास बढी मिटरव्याजी विरुद्ध देउराली सहकारीका अध्यक्षको उजुरी

काठमाडौं । सातदोबाटो ललितपुरमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउदेश्यिीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धित सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिई अनुचित लेनदेन (मिटरब्याज) असुली गरेपछि उनले उनीहरु विरुद्ध उजुरी दिएका हुन् । त्यसउपर कानुनी कार्वाही सुरु भइसकेको उनले बताएका छन् । गत साल बैशाखदेखि समस्यामा परेको देउराली सहकारीका बचतकर्ताहरुको रकम घरजग्गामा फसेपछि उनीहरुको निक्षेप फिर्ता गर्ने दबाबमा विभिन्न ब्यक्तिहरुबाट उनले पैसा सापटी उठाएका थिए । तर उनीहरुले भने चर्को मिटरब्याजको पासोमा आफूलाई पारेको अध्यक्ष चौलागाइले बताए । त्यसैगरी देउराली सहकारीबाट ठूलो मात्रामा ऋण लिएर नतिर्नेहरु विरुद्ध पनि कानुनी उपचारको प्रक्रिया अघि बढाएको उनले बताएका छन् । उनी भन्छन् ‘हाम्रो सहकारीले अब ५० करोड बचत फिर्ता गर्नुछ । यदी हामीले प्रवाह गरेको कर्जाको रकम सहज रुपमा फिर्ता हुने हो भने कसैका पनि पैसा भुक्तानी बाँकी रहने अवस्था हुदैन ।’ निक्षेपकर्ताहरुले एकैपटक ठूलो रकम निकालेपछि चौलागाइले बचतकर्ताहरुको पैसा फिर्ता दिने क्रममा बैंकहरुबाट आफना निजी कम्पनीका नाममा लिइएका कर्जा, बजारबाट उठाइएका पैसाले ठूलो रकम फिर्ता समेत गरेको बताएका छन् । अहिले सहकारीबाट कर्जा लगेकाहरुले कर्जा नर्तिन विभिन्न दलका नेता, उच्चपदस्थ र गुण्डाहरु समेत लगाएर उल्टै आफूलाई थर्काउने, धम्क्याउने काम थालेको उनले बताए । तर, आफू सबै बचतकर्ताको बचत फिर्ता गर्न बजारमा प्रवाह भएका कर्जा रकम उठाउने कुरामा कडा ढ्ङगले लाग्ने बताएका छन् । उनी भन्छन् ‘सबै बचतकर्ताको बचत फिर्ता गर्नुनै पर्छ, त्यसका लागि सहकारीबाट ऋण खाएकाहरुले अनिवार्य ऋण तिरुन्, अन्यथा कानुनी कार्वाहीको लागि हामी लाग्ने छौं ।’ उनीहरुले कर्जा रकम फिर्ता गरे बचतकर्ताको रकम पनि फिर्ता गर्न सहज हुने चौलागाइले बताए । त्यसैगरी उनले आफुलाई सुरक्षामा चुनौती आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सुरक्षाको ब्यवस्था समेत माग गरेको बताएका छन् । उनी भन्छन् ‘कसैका पनि धाकधम्कीबाट डराइदैन । सरकारले मिटरब्याजी विरुद्ध मैले हालेका मुद्धाको छिटो छिनोफानो गरोस्, त्यसो हुँदा सर्बसाधारण जनताको बचत फिर्ता गर्नु पर्नेहरुलाई हामी छिटो नै सम्बोधन गर्न सक्छौं ।’ त्यसमा सरकारको पनि सहयोग हुनुपर्ने उनले बताए । देउराली सहकारी तथा विभिन्न कम्पनीमा कार्यरत कर्मचारी, कर्जा लिने ब्यक्तिले अनुचित कारोबारमा डरधम्की देखाइ ठुलो रकम लैजाने मिटरब्याजीलाई हरहालतमा सरकारले कार्वाही गर्नुपर्ने उनले बताए । सहकारीबाट ऋण लगेकाहरुले आफूसँग पैसा हुँदाहुदै पनि नतिर्नेहरुलाई कानुनी कारवाही अघि बढाइएको र तत्काल नसक्नेहरुलाई केही समय दिइने उनले बताए । उजुरी जाहेरी भएकाहरु बेलैमा मिलापत्र गर्न आएमा, रकम फिर्ता गरेमा भने मिलापत्र गर्न सकिने उनले सुनाए । तर कानमा तेल हालेर बसेमा भने उनीहरुको नाम, ठेगाना सहित सार्वजनिक गरिने उनले बताए । देउरालीले हालसम्म ठूलो रकम फिर्ता गरिसकेको र बाँकी रहेकाहरुको पनि एकएक रुपयाँ रकम चुक्क्ता गर्न डटेर लागि परेको उनले बताए ।

काठमाडौं नयाँ बसपार्कमा ५६ वटा टिकट काउण्टर थपियो

काठमाडौं । काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो । यसअघि काठमाडौं भित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए । महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ । नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताए । ‘नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ’, उनले भने । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका थिए । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ ।

राइजिङ स्टार खुला टेनिस यू–१४ सिंगल्सको उपाधिबोरिस र शिभालीलाई

काठमाडौं । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ सिंगल्सको उपाधि बोरिस अधिकारी र शिभाली गुरुङले जितेका छन् । बोरिसले ब्वाइजतर्फको र शिभालीले गल्र्सतर्फ उपाधि सुरक्षित गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यू–१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकीजुवेन रावत र आरभ सम्राट हाडाको जोडी पहिलो बनेका छन् । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले स्तब्ध पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त प्रतियोगिताको फाइनलसँगै पुरुष÷महिला सिंगल्सको पनि फाइनल हुनेछ ।

आइडिया स्टुडियोद्वारा उद्यमीहरुको उत्पादन ‘प्रोडक्ट लन्च’ कार्यक्रम सम्पन्न

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो बिभिन्न सिजनका उद्दमीहरुको उत्पादन “प्रोडक्ट लन्च” कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार काठमाडौं मोडल कलेज, बागबजारमा ४ बजे देखि ५ः३० बजे सम्म सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५० सहभागीको उपस्तिथि रहेको थियो, उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला र मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण आइडिया स्टुडियो नेपालकि इको इम्प्याक्ट अफिसर प्रज्ञा घिमिरेले गरेकी थिइन् । कार्यक्रममा आइडिया स्टुडियो सिजन ४ का आइडिएटर अंशु प्रधानको व्यवसाय मम्मी एण्ड जेमी ,आइडिया स्टुडियो सिजन ७ का आइडिएटर आशुतोष गोल्यान र मोनिका श्रेष्ठले को व्यवसाय देसना र आइडिया स्टुडियो सिजन ३ का आइडिएटर रजिना अवाले को व्यवसाय समाह ज्वेलरी एण्ड क्राफ्ट को प्रोडक्ट लन्च गरेको छ । मम्मी एण्ड जेमी व्यवसायले गर्भवती महिला,आमा र १० वर्ष उमेरका बालबालिकाको लागि उच्च गुणस्तरको कपडाहरू उत्पादन गर्दछ। अहिलेसम्म मम्मी एण्ड जेमीले गर्भवती महिलाको बदलिँदो शरीरको आकार र स्तनपानका विशेषताहरूलाई सहयोग गर्ने गर्भावस्थाका लागि उपयुक्त कपास, रेयन, रिब र अन्य कपडाहरू प्रयोग गर्दै आएका छन्। व्यवसायले १०० प्रतिशत बसको फ्याब्रिक्स, हेम्प, अर्गानिक कपास, लेनिन र प्राकृतिक फाइबरबाट बनेका कपडाहरू जस्ता सामग्रीहरू जुन बच्चाहरूको संवेदनशील छालाका लागि उत्तम हुन्छ र आमाका लागि प्रिमियम गुणस्तरका कपडाहरू प्रयोग गर्छ । समः ज्वेलरी एण्ड क्राफ्ट्सले अर्ध-बहुमूल्य ढुङ्गा, काँच, सेतो धातु, पीतलको तार, काठ, शेल चिप्स, धागो र पोते बीडहरूबाट बनेका हस्तनिर्मित गहनाहरू पूरा गर्दछ। कम्पनीले सन् २०१३ मा नेपाली उत्पादनलाई नेपाली जनतामा उचित मूल्यमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ आफ्नो उत्पादन र प्रवर्द्धन सुरु गरेको थियो । यसले हाम्रो ग्राहकलाई सेवामा केन्द्रित गर्दै सस्तो मूल्यमा सुनका गहनाहरूको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ । मर्मत, रिमेक र रिडिजाइन। यी हातले बनाएका गहनाहरू हुन् जुन नेकलेस, ब्रेसलेट, औंलाको औंठी, कपाल क्लिपहरू, बुकमार्कहरू, टाई पिनहरू, एङ्कलेटहरू,र पेन्डन्टहरू छन्। तिनीहरूले ग्राहकहरूलाई विभिन्न डिजाइनहरू प्रस्तुत गर्छन् र यदि यो हातले बनाएको हो भने गहनाहरू पनि अनुकूलित गर्न सक्छन्। देसना संसारभर घरेलु, स्वच्छ, स्वादिष्ट अचार र अन्य खाद्य पूरक उपलब्ध गराउन सक्ने उदेश्य बोकेको नेपाली ब्रान्ड हो ।  देसनाले लप्सीको अचार,टिमुर छोप, डल्ले खुर्सानी अचार र आँपको अचार उत्पादन गरिरहेको छ । देसनाले १५ गृहिणीहरूसँग साझेदारी गरेको छ र विश्वभर घरेलु अचारको सबैभन्दा मनपर्ने ब्रान्ड बन्ने लक्ष्य राखेको छ। देसना हाल दराज, ग्यापु, फार्म शप, डेली ग्रोसरी, रासन मार्ट, केशरिया स्वीट्समा उपलब्ध छ र यसको उत्पादन अमेरिका, अष्ट्रेलिया र भारतमा निर्यात गरिन्छ । आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ । आईडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने जस्ता सबै क्षेत्रका नयाँ सोचरआइडियाहरुलाई विशेष प्राथमिकता दिन्छ । आइडिया स्टुडियो नेपालबाट छनौट भएका व्यवसायहरुलाई विशेष प्राथमिकता दिदै उत्कृष्ट बनाउन सर–सल्लाह , तालिम , व्यवसायिक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप साथसाथै वित्तीय पहुँचका लागी सहजिकरणको कार्य गर्छ ।