
फाइल तस्बिर
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ ।
विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् ।
विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताउनु भयो। उहाँले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए ।
‘लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब रुपैयाँ लगानी भएको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो, राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ, एडिबीले विमानस्थलमा लगानी गरेको छ, सम्भाव्यता अध्ययन नगरी लगानी भएको छैन, लुम्बिनीका व्यवसायीहरु चिन्तित र दुःखी छौं’, उनले भने ।
उनले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए । उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे ।
उनले विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरुको आवतजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरुले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण समेत जोखिममा परेको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रुपमा सञ्चालन भएर २० हजार बढीको मानिसहरुको आवातजावत भएर चहलपहल बढ्छ, यो पेशा व्यवसायीलाई वृद्धि गर्छौं भन्ने थियो, त्यस्तै, शिक्षा, प्रविधिको क्षेत्रमा लगानी बढेको छ, तर अहिले ती लगानीहरु अलपत्र भएका छन्, ७०÷३० प्रतिशत वित्तीय संस्थाबाट ऋण लिएका छौं, उक्त लगानी जोखिममा परेको अवस्था छ’, अध्यक्ष शर्माले भने ।
अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारतभ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताए ।
त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताए । उनले उद्योगी व्यवसायीहरुले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
उनले सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षाले निजी क्षेत्रले लगानी गरेपनि विमानस्थल चल्न नसक्दा व्यवसायी निराश भएको बताए ।
उनले विमानस्थलका भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु दुःखी भएको उल्लेख गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु नआउने समेत बताए ।
विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।