तत्काल सम्पन्न गर्न सक्ने राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन सांसदहरुको माग
काठमाडौं । तत्काल सम्पन्न गर्न सक्ने राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले प्रमुख प्राथमिकतामा राख्न सांसदहरुले माग गरेका छन् । आईतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । समितिमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु धेरै भएकाले ५० प्रतिशत भन्दा बढी काम भएका आयोजनाहरुलाई सरकारले प्रमुख प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न आवश्यक रहेको औँल्याएका हुन् । सांसदहरुले सरकारले तत्काल सम्पन्न हुने र लामो समय लाग्ने आयोजनाहरु छनोट गरी काम गर्न आवश्यकक देखिएको बताए । उनीहरुले सरकारले राष्ट्रिय गौरवका आयोजना निर्माणमा देखिएका समस्या सबैसँग समन्वय गरी काम गर्दा परिणाम चाँडै आउने बताए । समिति सदस्य कमला पन्तले सबै आयोजनाहरुमा हात हाल्दै छोड्ने भन्दा पनि सरकारले प्राथमिकताका आधारमा आयोजनाको निर्माण गर्न आवश्यक रहेको बताइन् । उनले एउटा आयोजना सम्पन्न गरेपछि मात्रै अर्को आयोजना निर्माण गर्नुपर्ने बताइन् । २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ५० प्रतिशत काम भएका आयोजनाहरु छनोट गरेर काम गर्नुपर्ने बताउँदै उनले आयोजनाको काम अघि बढाउन सरोकारवाला निकायहरुसँगको सहकार्य गर्न आवश्यक रहेको औल्याइन् । उनले सरोकारवाला निकायहरुबीच नै समन्वय नहुँदा निर्माण कार्य अघि बढ्न समस्या देखिएको बताइन् । समिति सदस्य नारायणप्रसाद दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको काम गर्न नीतिगत,सार्वजनिक खरिद ऐन र अदालतको फैसलाले समस्या देखिएको बताए । उनले सर्वोच्च अदालतले मुद्दा पर्ने बित्तिकै स्टेअर्डर दिने कार्यले आयोजनाहरु निर्माणमा समस्या देखिएको बताए । उनले कतिपय राष्ट्रिय गौरवका आयोजनाहरु तीन पुस्तामा पनि सम्पन्न नहुने अवस्था देखिएको बताए । उनले हुलाकि राजमार्ग शुरु भएको लामो समय भएपनि सम्पन्न हुने अवस्था अझै नदेखिएको बताउँदै सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नुको कारणहरु खोज्न नसकेको भनाई राखे । त्यस्तै समिति सदस्य भुवनबहादुर सुनारले राष्ट्रिय गौरवका आयोजनाहरु सरकारले समयमा नै सम्पन्न गर्यो भन्ने सन्देश दिन सके नेपाली जनता खुशी हुने बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरु सरकारले समयमा नै सम्पन्न गर्यो भन्ने सन्देश दिने काम अधुरो रहेको बताए । उनले सरकारले नयाँ नयाँ आयोजनाहरु बनाउँछौ भन्दै सरकार हिँडे पनि भएका आयोजनाहरुको अवस्था नाजुक रहेको बताए । साथै, उनले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशा जनक रहेको भन्दै सरकारले अनुगमन गर्न आवश्यक रहेको औल्याए ।
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले लिए ४० लाखसम्म
काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए । गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताए । उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताउनुभयो । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरुले ७४ करोड कारोबार गरेको फेला परेको थियो । एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो । उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।
कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच मर्चेन्ट सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच असार ३ गते आइतबार सम्झौता भएको हो । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्रानक्विलिटी स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने म्यासेज थेरापी तथा सलोन सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेको छ । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
सफलता सम्भव छ पुस्तक लोकार्पण, प्रेरक विषयका ४१ लेख समावेश
काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने लेखक डा. मदन बिष्ट र पत्रकार रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए । लेखकले सरल भाषमा सकारात्मक सोच र उत्प्रेरक विषयहरु प्रस्तुत गरेका छन् । पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, व्यवहार, एसम्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् । पुस्तकमा संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जीवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ । पुस्तकबारे टिप्पणी गर्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष पौडेलले यस्तो किताव संघ तथा प्रदेशका सांसददेखि उच्च तहमा बसेर नीति निर्माण गर्ने, सरकारमा बसेर निणर्य गर्नेहरुलाई पढाउनु पर्ने बताए । ‘युवा पुस्ता पढेलेखेका छन्, जान्नु बुझ्ने छन् तर नीति निर्माताहरुले राम्रो गर्न सकिरहेका छैनन् । देशको नेतृत्व गर्ने ठाउँमा बसेकाहरुबाट आशा जगाउने काम हुन सकेको छैन’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यस किताव पढेपछि युवा पुस्ता नेपाल छोडेर विदेश जान कम हुने विश्वास व्यक्त गरे । ‘अहिले युवाहरु लर्को लागेर देश छोड्दैछन् । यो किताव पढाउन सक्यो भने उनीहरुले पनि नेपालमा नै भविष्य देख्थे होलान, नेपाल मै बसेर काम गर्दथे होलान’ केसीले भने । पुस्तकबारे टिप्पणी गर्दै पत्रकार रोहित भण्डारीले हरेक पाठकलाई उर्जाशिल बनाउन योगदान गर्ने बताए । सफलता सम्भव छ पुस्तकका लेखक मल्लले मानिसमा सकारात्मक उर्जा प्रदान गर्न पुस्तक सहयोगि हुने विश्वास व्यक्त गरे । बैदेशिक रोजगारी, शिक्षण हुँदै दुई दशक भन्दा बढी बैकिङ व्यवसायमा संलग्न डा मल्ल एनएमबी बैंकका उप-प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
१९ लाखभन्दा बढीको मोबाईलका डिस्प्ले बरामद
बाँके । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले असार १ गते सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो । बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।
सीएसआरको सीमा २ प्रतिशत पुर्याइने, नाफामुखी संस्थालाई पनि दायरामा ल्याइँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफाको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नु पर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले सीएसआर सम्बन्धि कानुनको मस्यौदा तयार गरेर बैंक वित्तीय संस्थाले नाफाको दुई प्रतिशत खर्च गर्नु पर्ने प्रस्ताव अघि सारेको हो । हाल एक प्रतिशत रहेको सिएसआरको सीमा शतप्रतिशत बढेर २ प्रतिशत कायम गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकले यो प्रस्तावमाथि छलफल पनि अघि बढाएको छ । आइतबार काठमाडौंको मेरियट होटलमा छलफल कार्यक्रम राख्दै राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कानुनको मस्यौदामाथि राय सुझाव मागेको छ । आइतबार भएको छलफल कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितीमा यस विषयमाथि छलफल गरेको हो । राष्ट्र बैंकले सीएसआर २ प्रतिशत बनाउनु पर्ने विषयमा थप छलफल गर्दै जाने बताएको छ । सो मस्यौदामा जरिवानाको विषय पनि उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले नाफाको दुई प्रतिशत खर्च नगरेमा २५ लाख रुपैयाँ र दुई प्रतिशतमा थप १.५ प्रतिशत जरिवानाको पनि प्रस्ताव गरेको छ । २ प्रतिशत खर्चका लागि १० वटा क्षेत्र पनि निर्धारण गरिएको छ । राष्ट्र बैंकले शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दीगो विकास लक्ष्य लगायत क्षेत्रहरु सीएसआर खर्चका लागि तोकेको छ । आइतबार भएको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक दिपकराज लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । मस्यौदाका अनुसार अब बैंक तथा वित्तीय संस्थासँगै नाफामुखी संस्थाहरुलाई पनि सीएसआरको दायरामा ल्याउन लागिएको हो ।
मर्जपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त बन्ने, चुक्ता पुँजी १ अर्ब नाघ्ने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान बाटो खुलेको छ । असार ३ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले पारित गरेसँगै दुई संस्थालाई मर्जरमा जान बाटो खुलेको हो । उक्त सभाले दुई संस्था मर्जरमा जानेसहितको प्रतिवेदन पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम ‘नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । त्यसैगरी, मर्जर पश्चात संस्थाको शाखा सञ्जाल ७४ जिल्लामा कुल २०६ वटा, कुल ग्राहक सदस्य संख्या २ लाख १५ हजार, लगानीमा रहेको कर्जा १७ अर्ब २२ करोड रुपैयाँ तथा ग्राहक सदस्यहरुबाट संकलित बचत ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी पुग्ने छ । मर्जर पश्चात वित्तीय तथा आउटरिचका हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोकस गर्नुपर्ने संस्थाका प्रमुख कार्यकारी राम बहादुर यादवले बताए । र, सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधिको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको सीईओ यादवले बताए ।
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । दुवै क्षेत्रमा थप २६ वटा घर पनि जोखिमै छन् । शनिबार रातभर परेको मुसलधारे वर्षाका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको विवरण यकिन गर्दै गाउँपालिकाले थप क्षति र जोखिम न्यूनिकरणका लागि आवश्यक पहल सुरु गरेको छ । बाढी र पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै विस्थापित भई अन्यत्र आश्रय लिएका केही परिवारलाई त्रिपालसहितका राहत सामग्री वितरण गरेको छ । बाढी र पहिरोका कारण यस क्षेत्रमा सडक, विद्युत, पुल र खानेपानी आयोजनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ । बाढीले मदन भण्डारी राजमार्गअन्तर्गत मैवाखोला–२ र ३ जोड्ने माङ्माया खोलामा रहेको मोटरेवल पुल बगाएको छ । साथै, माङ्माया खोला, भालुढुङ्गा र खार्ते खोलाका झोलुङ्गे पुल समेत पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मैवाखोला–१ र मेरिङ्देन जोड्ने खोलाको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । बाढी पहिरोले गाउँपालिकाका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । कुल १८ किलोवाट क्षमताको लोदुम्बा माइक्रो हाइड्रोको ट्याङ्की र पाइप पहिरोले बगाएको छ । यस्तै ३६ किलोवाट क्षमताको याम्फेवा हाइड्रो पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने माङ्माया १ र २ मा रहेका ३२ र ६२ किलोवाट क्षमताका माइक्रो हाइड्रो पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ठाडेखोला लघु जलविद्युत आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने केन्द्रीय प्रशारण लाइनको पोल ढल्दा विद्युत् अवरुद्ध बनेको छ । नेरुवा खोलाको काठे पुल र माङ्माया खोला सुन्तले नजिकैको झोलुङ्गे पुल बाढीले बगाएको छ । बाढीले विभिन्न खानेपानी आयोजनामा क्षति पु¥याउँदा खानेपानीको अभाव भएको छ । साँघुरी पाटी र कोलडाँडा खानेपानी आयोजनाको मुहान पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मजुवा ताम्राङ वृहत खानेपानी आयोजना र नेरुवा पाङ्मा सिचाँई आयोजनाको मुहानमा पनि क्षति पुगेको छ । ठाडेखोला लघु जलविद्युत आयोजनामा कार्यरत अपरेटर भिमबहादुर तामाङ घाईते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । पहिरोमा पशुचौपाया समेत पुरिएका छन् । गाउँपालिका विपद् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनिकरणका सम्बन्धमा आवश्यक निर्णय लिन आज बैठक बसेको थियो । सम्भावित जोखिम र क्षति हुनबाट नागरिकलाई बचाउने विषयमा गाउँपालिका सतर्क रहेको र यसमा सहयोग गर्न माथिल्लो निकायसँग समेत आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए । रासस