प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छिन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी छन् । साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा छन् । प्रधानमनत्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ । आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उनले जानकारी दिए ।
नाफामा नबिल र ग्लोबलबीच प्रतिस्पर्धा, एक महिनामा साढे ८ अर्बले बढ्यो २१ बैंकको नाफा
कामठमाडौं । चालू आर्थिक वर्षको बैशाखसम्ममा वाणिज्य बैंकहरुले कुल ५७ अर्ब १७ करोड २० लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखसम्म सो नाफा गरेका हुन् । गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा गरेका बैंकहरुले बैशाखमा८ अर्ब ४७ करोडले नाफा बढाएका हुन् । यो अवधिसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । बैशाखसम्म नबिल बैंकले कुल ६ अर्ब १२ करोड, ग्लोबल आइएमईले ५ अर्ब ३४ करोड, एनआइसी एशिया बैंकले ४ अर्ब ३९ करोड र राष्ट्रिय वाणिज्य बैंकले पनि ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ भने आठ वटा वाणिज्य बैंकले २ अर्बको हाराहारीमा नाफा गरेका छन् । आठ वटा वटा वाणिज्य बैंकले १ अर्ब बढी नाफा गरेका छन् ।
गाईभैँसी ब्याउन थाले, अब ऋण असुल हुन्छ
काठमाडौं । असार लागेसँगै लघुवित्तकर्मीहरुको अनुहारमा खुसी छाएको छ । विगतमा विभिन्न प्रकारका आन्दोलन र अवरोधहरु सामना गर्दै आएका लघुवित्त व्यवसायी र लघुवित्तकर्मी असार लागेसँगै खुसी हुन थालेका छन् । बर्खाको सिजनमा किसानहरुको खेतबारी फस्टाउन थालेको र गाईँभैँसी ब्याएर खरिद बिक्री हुन थालेपछि हर्षित भएको लघुवित्तकर्मीहरु बताउँछन् । लघुवित्त संस्थाका ऋणीहरु भनेका किसान हुन् । तिनै किसानको आम्दानीको स्रोत बढ्न थालेपछि लघुवित्तकर्मी पनि ऋण असुल हुने आशामा बसेका छन् । त्यसैले अहिले लघुवित्तकर्मीहरु कर्जा असुल गर्न गाउँगाउँ डुलिरहेका छन् । किसानहरु तरकारी बिक्री गरेर भएपनि ऋण चुक्ता गरिरहेको लघुवित्तकर्मीहरु बताउँछन् । जाल्पा सामुदायिक लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीईओ विमला योगी किसानहरुको सिजन लागेसँगै लघुवित्तमा रिकभरी पनि सकारात्मक हुने अपेक्षा रहेको बताउँछिन् । पछिल्ला दिनहरुमा सदस्यहरुसँग सँगै बसेरै उहाँहरुको हितमा काम गरिरहेको उनको भनाइ छ । साथै, वर्षको अन्त्यमा जसरी पनि ऋण तिर्नै पर्छ भन्ने मान्यता गाउँमा रहेकाले किरभरी राम्रो हुने उनको भनाइ छ । ‘ग्रामीण क्षेत्रमा वर्षको अन्त्यमा ब्याज र साँवा तिर्नु पर्छ भन्ने मान्यता छ, होइन भने ब्याजमा ब्याज थप हुन्छ भन्ने उहाँहरुको सोचाइ छ, यो पहिलाको चलन पनि हो, बुझ्ने मान्छेहरुले तिरिरहेका छन्, विगत केही महिना धेरै दबाव थियो तर, असारमा केही सुधार हुन्छ की भन्ने विश्वास छ,’ उनले भनिन् । उनका अनुसार लघुवित्तमा रिकभरी सोचे जस्तै नभएपनि विस्तारै सुधार हुने अपेक्षा छ । कर्मचारीहरुले सन्तुलित भएर काम गरिरहेको उनले बताइन् । औषत खराब कर्जा ७.५ प्रतिशत भएपनि घट्दै जाने उनको अनुमान छ । किनभने लघुवित्त विरुद्धको संघर्ष समितिले पनि आन्दोलन फिर्ता गरिसकेको छ । लघुवित्त विरुद्धका गतिविधिले आर्थिक क्रियाकलापमा असर परेको भएपनि अब आन्दोलन फिर्ता लिएपछि पुरानै अवस्थामा आउने उनले बताइन् । लघुवित्त संस्थाका ऋणी किसान भएकाले बर्खामा ऋण असुली हुने गरेको उनको भनाइ छ । कर्मचारीहरु गाउँघरमा गई किसानहरुसँग हातेमालो गरेर ऋण उठाइरहेको उनले बताइन् । पशुपंक्षि, गाईभैँसी, बाख्रा, कुखुरा बिक्री हुने गर्दछन् । साथै, यस सिजनमा तरकारी पनि राम्रो फल्ने भएकाले किसानको आम्दानी वृद्धि भएपछि ऋण असुल हुने गरेको उनी सुनाउँछिन् । ‘हाम्रो ग्राहकहरु भनेका किसानहरु नै हुन्, बर्खामा भैँसी ब्याउने समय हो, यो बेलामा गाईभैँसी पनि किनबेच पनि हुन्छन्, ऋणीहरुले गाईँभैँसी बिक्री गरेर भएपनि ऋण तिर्नु हुन्छ जस्तो लागेको छ, त्यसैले अबका दिनमा सहज वातावरण होला की भन्ने अपेक्षा छ,’ उनले भनिन् । अन्य सिजनको तुलनामा बर्खा सिजनमा किसानहरुको आम्दानी पनि बढी हुने गर्दछ । किसानहरुसँग तरलता भएपछि कर्जा चुक्ता गर्ने भएकाले लघुवित्तकर्मीहरु हर्षित हुन थालेका हुन् । अहिले लघुवित्तकर्मीहरु गाउँगाउँमा गएर किसानको खेत र तरकारीबारीलाई झनै उब्जाउ गर्नका लागि सुझाव र आवश्यक सहजीकरण गरिरहेका उनीहरुले बताएका छन् । मानुषी लघुवित्तकी सीईओ शोभा बज्राचार्य तरकारीको सिजन भएकाले बिक्री भएपछि ऋण असुल हुने बताउँछिन् । साथै, आलुको सिजन भएकाले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । लघुवित्त क्षेत्रमा राम्रोसँग सुधार नभएपनि सुधार हुने संकेत रहेको उनले बताइन् । ‘पूर्ण रुपमा सुधार हुन बाँकी छ, रिकभरी राम्रो भएको छैन, हल्का सुधारको संकेत देखिएको छ, पहिलाको जस्तो स्थिती नरहेपनि सुधार हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आलुको सिजन पनि छ, किसानहरुको आलु बिक्री भयो भने ऋण असुल हुन्छ, यसले पनि रिकभरीमा सकारात्मक असर गर्छ ।’ साथै, किसानहरुलाई आफूहरुले पनि सक्दो सहजीकरण गरिरहेको उनले बताइन् ।
बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय
रत्ननगर। उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको भनाइ गर्न नमान्ने गरेको बताए। ‘उद्धार गरी ल्याएर बालगृहमा राखिएका बालबालिकाहरुलाई नारायणगढका सामुदायिक विद्यालयले भर्ना गर्नै मान्दैनन्’ उनले भने, ‘यस्ता खालका विद्यार्थी हामी पढाउँदैनौँ भनेर विद्यालयका प्रधानाध्यापकले भन्ने गरेका छन् ।’ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दियालोले उद्धार गरेर बालगृहमा राखिएका बालबालिकालाई विद्यालय भर्ना गर्नै सकस हुने गरेको उनको गुनासो थियो । ‘जोखिममा रहेका बालबालिकाको खबर दिन दश नौ आठमा फोन आउँछ, हामीले तत्काल उद्धारका लागि काम गर्छौं’ उनले भने, ‘भरतपुर क्षेत्रमा रहेका बालगृहमा समेत त्यस्ता बालबालिका राख्न मान्दैनन्, हामीकहाँ क्षमताअनुसार बालबालिका छन् । अरु राख्ने अवस्था छैन भनेर भन्छन्’, जोखिममा रहेका बालबालिका उद्धार गरेपछि भरतपुरमा धेरै बालगृहमा राख्न नमान्ने गरेको भन्दै उनले केही दिन राखे पनि पुनः सकेनौँ भनेर फिर्ता गर्ने गरेका गुनासो गरे । ‘हामीले उद्धार गरेका बालबालिकाको मनोसामाजिक परामर्श गर्छौँ, उनीहरुको परिवार खोज्छौँ । सकेसम्म पारीवारिक पुनर्मिलन गराउँछौँ’, उनले भने, ‘पारिवारिक पुनर्मिलन गराउन गाह्रो भएका बालबालिकालाई हामीले बालगृहमा राख्ने गरेका छौँ ।’ दियालो परिवारमा रहेको बाल्प हेल्पलाइनले चितवनसँगै नवलपुुर, तनहुँ, लमजुङ, गोरखा र धादिङ हेर्ने गरेको कार्यकारी निर्देशक शिल्पकारले बताए। बाल हेल्प लाइनको ‘दश नौ आठ’ नम्बरमा देशभरबाट निःशुल्क फोन गरेर जोखिममा परेका बालबालिकाको जानकारी दिन सकिने उनको भनाइ छ। दियालो परिवारमा रहेको बाल हेल्पलाइनबाट यस वर्ष ५६ जना बालबालिकाको उद्धार गरिएको भन्दै उनले ४३ जना बालबालिका खोजतलासबाट फेला परेका जानकारी दिए। दियालोले यस वर्षको जेठ मसान्तसम्म तीन सय छ जना बालबालिकालाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्दा ३३३ परिवारलाईसमेत मनोविमर्श सेवा प्रदान गरेको उनले तथ्यांक प्रस्तुत गरे। छत्तीस जना बालबालिकाको पारीवारिक पुनर्मिलन, २१ जनालाई स्थायी बालगृहमा पुनःस्थापना गरिएको उनको भनाइ छ। संस्थाले ३ सय ६ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान, १९ जनाको स्वास्थ्योपचार, १७ जनालाई खाद्यान्न सहयोग, ५४ जनालाई आपतकालीन आश्रय प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रम, श्रम शोषण हिंसा दुव्र्यवहारबाट उद्धार, सूचनामूलक सामग्री प्रचारप्रसार गरेको उनले बताए । दियालो परिवार नारायणगढले आइतबार आयोजना गरेको कार्यक्रममा भरतपुर–१ की वडासदस्य राममाया पियाले सामुदायिक विद्यालयले बालबालिका पढाउँदिन भन्न नपाउने भन्दै कसैले भर्ना गर्न नमाने तुरुन्त वडामा खबर गर्न आग्रह गरिन् । जोखिममा रहेका बालबालिका उद्धारका लागि आफू हरक्षण तयारी अवस्थामा रहने जनाउँदै पछिल्लो समय घरेलु बालश्रम अन्त्यजस्तै भएको उनले बताइन्। अझै पनि सार्वजनिक ठाउँमा बालश्रम भेटिने गरेको उल्लेख गर्दै उनले सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यका साथै संघसंस्थाको सहयोग आवश्यक रहेको उनको भनाइ छ। बाल अधिकारकर्मी रामचन्द्र आचार्यले अभिभावक भएका बालबालिकालाई बालगृहमा राख्न नमिल्ने बताए। अभिभावक, नजिकका नातेदार नभएको अवस्थाका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने उल्लेख गर्दै १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाइने बताए। चौधदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई दैनिक छ घण्टाभन्दा बढी श्रममा लगाउन नपाइने, तीन घण्टा काम गरेपछि आधा घण्टा विश्राम दिनुपर्ने, हप्तामा छ दिनमात्रै काम गराउनुपर्ने तर, पारिश्रमिक वयस्कलाई सरह दिनुपर्ने गरी कानुन बनेको उनको भनाइ छ। कार्यक्रममा चितवन कवाड व्यवसायी संघका अध्यक्ष नारायणसिं गुरुङले बालबालिका श्रममा प्रयोग भइरहेका भन्दै पहिले उनीहरुको परिवारमा रोजगारीको सिर्जना गर्नुपर्ने बताए। त्यस्तै गैरसरकारी संस्था महासंघ नेपाल चितवनकी अध्यक्ष पार्वती घिमिरेले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताए। संस्थाका पूर्वअध्यक्ष राजेन्द्रकुमार पियाले संस्थाले जोखिममा रहेका बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा काम गरिरहेको भन्दै राज्यको विशेष भूमिका भएमात्रै बालश्रम न्यूनीकरण गर्न सकिने बताए। कार्यक्रमका अध्यक्ष एवं दियालो परिवारका अध्यक्ष ईश्वरराज पण्डितले राज्यले बालबालिकाको जिम्मा लिनुपर्ने बताए। बालबालिकालाई दया र मायाको भावले हेर्नेभन्दा पनि संविधानले प्रदान गरेको अधिकार दिनुपर्ने पण्डितले बताए। अप्ठ्यारोमा रहेका बालबालिकालाई जोखिममुक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो। रासस
अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ । स्थानीय कला कडरियाका अनुसार घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ । उननलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ । पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए । मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ । रासस
बेनी नगरपालिकाको अधिकांश योजना सम्पन्न
काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ । चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका तीन सय ४२ मध्ये जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए । ‘भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन’, उनले भने, ‘सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।’ भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ११ करोड २१ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन् । नगर गौरवका आयोजनाको रुपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रङ्गशाला, बेनी–ज्यामरुककोट, सिंगा–तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी–पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ । पात्लेखेत–काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने–नयाँगाउँ–ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला–हल्लेगौडा–भकिम्ली सडकको ७० र महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा विनियोजन भएको कूल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ । विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकको २९ करोड ३७ लाख ३८ हजार रुपैयाँमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ अथवा ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ । चालु आवमा चार करोड २३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा चार करोड २६ लाख ७२ हजार रुपैयाँ एक सय ४० सङ्कलन गरेको छ । चालु आवको ११ महिनाका अवधिमा तीन सय ५१ जना बसाइँसराइ गरी गएका छन् भने दुई सय १५ जना नगरभित्र बसाई सरेर आएका छन् । नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र तीन लाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ । एक वटा सुनुवाइको प्रक्रियामा छ । रासस
बंगलादेशी पर्यटक बढाउने उदेश्यले होटल संघ नेपालको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान
काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गर्यो । उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा आयोजना गर्न लागेको हो । जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ । साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
‘अधिकांश कलेज ट्युसन सेन्टर बने, शिक्षा बिगार्ने शिक्षक नै हुन्’
एसईई दिएर बसेका विद्यार्थीको नतिजा आउने समय नजिकिँदैछ । एसईईपछि कक्षा ११/१२ कहाँ पढ्ने, कस्तो विषय पढ्ने र कस्तो स्कुल/कलेज पढ्ने भन्ने विषयमा विद्यार्थीहरु तथा उनका अभिभावकहरु यतिबेला निकै छलफलमा केन्द्रित भएको पाइन्छ । भोलिको उच्च शिक्षा र जीवनकै करिअरको मूल आधार कक्षा ११/१२ भएकाले यसरी छलफल हुनु पनि स्वभाविक हो । यस्तो बेलामा विद्यार्थी तथा अभिभावक दुबैलाई सकारात्मक सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । प्रस्तुत छ, सोही विषयमा केन्द्रित भएर युवा राजनीतिकर्मी तथा शैक्षिक क्षेत्रका अभियन्ता मिलन पाण्डेसँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । कक्षा ११/१२ भनेको विद्यार्थीको खास आधार तयार गर्ने शिक्षा हो भनिन्छ, तर, १५/१६ वर्षको उमेरको विद्यार्थीमा आफ्नो क्षमता र रुचीको विषय के हो भनेर सही ढंगले पहिल्याउन गाह्रो भइरहेको हुन्छ भनिन्छ, त्यसैले सो परिस्थितिमा विद्यार्थीले कसरी आफ्नो रुची र क्षमतालाई पहिचान गर्ने ? कक्षा ८ पछि नै विद्यार्थीहरुले आफ्नो रुचीको विषय के हो भनेर विद्यार्थीले पहिचान गरिसकेको हुन्छ भनिन्छ । विदेशतिर ८ कक्षापछि नै उ एकेडेमिक, प्राविधिक वा गायन वा नाच्ने विधामा लाग्ने हो अभिभावक र शिक्षक बसेर कुन विधामा जाने हो भन्ने कुरालाई प्रवद्र्धन गर्ने काम हुन्छ । तर, नेपालमा चाहिँ ठ्याक्कै उल्टो जब तपाईं एसईई दिएर बस्नुहुन्छ यदि ३.५ जिपिए भन्दा राम्रो आएको छ भने साइन्सको कलेज आएर साइन्स पढ्नुपर्छ भनेर कन्फ्युज बनाइदिन्छ । आमाबुवा छिमेकी आन्टी उहाँहरुले मेरो साइन्स पढेको छ भन्ने हुन्छ । विषयलाई वर्ग जस्तो बनाउने काम भयो, शैक्षिक क्लास नै बनाइदियो । त्यसले पनि प्रभाव पार्ने काम गर्छ । यो विषय गाह्रो पनि छ । आफ्नो रुची पहिचान गर्नुस् भन्न पनि गाह्रो छ । मैले नै अहिलेसम्म आफ्नो रुची पहिचान गरेको छु की छैन, किनकी मैले ८ कक्षा पढ्दा पाइलट बन्छु भन्ने उद्देश्य राखेँ । १० कक्षा पुग्दा बिल गेट्सको चर्चा थियो, मलाई धनी बन्ने भुत सवार भयो, दाई पनि व्यवसायी भएको हुँदा बिजनेसम्यान बन्छु भन्ने भो । मेरो एसएलसीमा विशिष्ट श्रेणी आयो । त्यसपछि यत्रो विशिष्ट श्रेणी ल्याएको साइन्स पढ्नुपर्छ भनेर सबैले भने । त्यसपछि ११/१२ मैले साइन्स पढेँ । मसँगै पढेका साथीहरु हुल बाँधेर नेम इन्स्टिच्युटमा गएर भर्ना भए र डाक्टर बन्ने भनेर लागे। म पनि डाक्टर बन्छु भनेर अगाडि बढेँ । दुई वर्ष प्रयास गरेँ तर नाम निस्कन सकेन । त्यसपछि मैले बिएसस्सी फिजिक्स पढेँ । बिएस्ससी फिजिक्स सक्नै लाग्दाखेरी यो पढेर पनि केही नहुने रहेछ भनेर इन्जिनियरिङ भर्ना भएँ । इन्जिनियरिङको फाइनल एयरमा पुग्दाखेरी अब राजनीति गर्छु भन्ने भो । त्यसपछि टिचिङ पेसा र राजनीतिमा संलग्न भएँ । यदि राम्रो शैक्षिक प्रणाली हुन्थ्यो भने सानैदेखि गणित, नेतृत्व, विज्ञान, सञ्चार क्षमता लगायतका विषयमा पहिचान गर्न सहयोग गर्दथ्यो । मुख्य कुरा आफ्नो रुची नै हेर्ने हो । अहिलेको अवस्थामा पहिला भन्दा सजिलो छ । पहिला स्वर्णिम वाग्लेले साइन्स छोडेर इकोनोमिक्स पढ्दाखेरी प्रतिस्पर्धा गर्नुपरेको थियो । जमाना अलिकति बद्लिएको छ । म स्ट्यान्डअप कमेडियन बन्छु र पैसा कमाउँछु भन्दा पनि वातावरण छ । पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा मज्जा आउँछ ? के काम गर्दा सामाजिक सञ्जाल चलाउन पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षकको र अभिभावकको सहयोग लिन पनि सक्नुहुन्छ । रुची सँगसँगै दोस्रो नम्बरमा पेसालाई पनि हेर्नुपर्छ । तपाईंलाई राम्रो तरकारी काट्न आउँछ भने भोलिको दिनमा यो तरकारी काट्ने कलालाई तपाईंले पेसाको रुपमा ढाल्न सक्नुहुन्छ की सक्नुहुन्न ? म एकदिन सोल्टी होटलमा गएको थिएँ, मैले त्यहाँ रमाइलो पारामा सोधेँ ‘खाना चाखेको पैसा आउँदैन ?’ मैले जोसँग संवाद गरिरहेको थिएँ उहाँ फुड टेस्टर हुनुहुँदो रहेछ । उहाँले एउटा होटेलमा गएर खाना चाखेको १० हजार लिनु हुँदोरहेछ । मलाई लाग्यो यो पनि पेसा बन्न सक्ने रहेछ । ‘फुड स्टाइलिस’ले अमेरिकामा ८६ हजार डलरसम्म कमाउने रहेछ । पेसामा यति धेरै विधाहरु आएका छन्, म आँफैले अध्ययन गर्दा करिब दुई हजार पेसा रहेछन् । तपाईंमा जुन रुची छ, त्यसलाई पेसामा रुपान्तरण गर्न सक्नुहुन्छ की सक्नुहुन्न ? यदि सकिन्न भने चाहिँ सोच्नुपर्छ । यदि सकिन्छ भने तपाईंको रुचीलाई पेसामा ढाल्नुस् । मैले ‘टु पी’ भन्ने गरेको छु, एउटा प्यासन अर्को प्रोफेसन । यो दुईवटा कुरामा स्कोप छ भने आँफूलाई जे लाग्छ, त्यो गर्नुस् । जे विधामा राम्रो हुन्छ तपाईं त्यो गर्नुस् । अलिकति बजार अध्ययन गर्नुपर्छ । यसको क्षेत्र छ की छैन ? क्षेत्र नै छैन भोलिको दिनमा त्यो काम सजिलैसँग रोबोटले गर्छ भने मान्छेले गर्नुपरेन, तर, भोलिको दिनमा यसको सम्भावना छ भने तपाईंले आफ्नो रुची र पेसा हेरेर निर्णय लिन सक्नुहुन्छ । तर, यो सजिलो विषय होइन । तरपनि मैले भाइबहिनी र अभिभावकहरुलाई के भन्छु भने थाहा छैन कुन बिन्दुमा गएर के गरिन्छ । तर, आफ्नो रुचीमा काम गरियो भने चाहिँ मज्जा आउँछ । खासगरी पढाईको विषय रोज्ने सन्दर्भमा आफ्नो रुची थाहा पाउनको लागि आफ्ना अभिभावक, शिक्षक, साथीभाई वा क–कसको सहयोग कसरी लिन सकिन्छ ? हामीकहाँ अभिभाकहरुमा त्यो लेबलको प्रशिक्षण त छैन । विदेशमा प्यारेन्ट्स ट्रेनिङ भनेर अभिभावकलाई पनि तालिम दिइन्छ । यहाँ त ‘म डाक्टर बन्न खोजेको थिएँ छोरा म डाक्टर बन्न सकिन तँ चाहिँ डाक्टर बन्नुपर्छ’ भन्ने मनोविज्ञान अधिकांश अभिभावकहरुमा छ उदाहरणको रुपमा विद्यार्थीमा गणितमा रुची कति छ ? उसले गणित पढ्दा कत्तिको रमाउँछ ? एकदमै रमाउँछ भने सम्भवतः उसको लागि स्टाटस्टिक्स विषय उपयुक्त हुनसक्छ, अथवा एक्च्युरी साइन्स भन्ने हुन्छ । सबैभन्दा पहिले उसले करिअर काउन्सिलरको सहयोग लिनुपर्यो, जुन हाम्रोमा छैनन् । यो विधाको बारेमा छलफल नै हुन्न । आफ्नो क्षमता के मा हो ? मलाई डाक्टर पढ्न मन लाग्छ तर, बायोलोजी छुन पनि मन लाग्दैन भने त मिलेन । यो भनेको त इच्छा मात्रै रह्यो । मलाई बायोलोजी मनपर्छ, जीव जनावरहरुको अध्ययनमा मजा आउँछ । दोस्रो भनेको लक्ष्यको निर्धारण हो । उसलाई भोलिसम्मको बाटोको विषयमा भन्दिनुपर्यो । तिमी डाक्टर बन्ने हो भने तिम्रो बाटो यो हो है । दुई वर्ष साइन्स पढ्नुपर्यो । त्यसपछि यति छात्रवृत्तिको लागि सिट छ, नाम ननिकाल्ने हो भने यति पैसा लाग्छ । त्यसपछाडि ५ वर्ष संघर्ष गर्नुपर्छ । त्यसपछाडि दुई वर्ष तिमीले बाहिर गएर काम गर्नुपर्छ । त्यसपछाडि एमडी गर्नुपर्छ । एमडी गरिसकेपछि यो क्षेत्रमा काम गर्न सकिन्छ । यसरी बाटो देखाइदिन सक्यो भने उसले लक्ष्य निर्धारण गर्ने काम गर्छ । मान्छेले एउटा सपना देखेर आँफूलाई हिँडाउने हो । तर, मान्छेको मन धेरै विचलित भइरहेको हुन्छ । यसो हेर्यो कहिले राजनीति गरौं भन्ने लागिरहेको हुन्छ, अर्कोले बाहिर गएर तैंले पिएचडी गरिस् भने अलिक राम्रो प्रोफाइल पनि हुन्छ, त्यसपछि सेटिङ पनि हुन्छ, बाहिर जाउँ क्या हो जस्तो पनि लाग्छ । फेरि अर्कोले भन्छ, किताब लेख न किताब लेख, अनि किताब लेखौं जस्तो पनि लाग्छ । कन्फ्युज हुनु ह्युमन नेचर नै हो । कन्फ्युज हुँदैमा बर्बाद भयो भनेर आत्तिन पनि पर्दैन । तर, लक्ष्य निर्धारण गरेर १० वर्षपछि म यो ठाउँमा पुग्ने हो भन्ने भयो र त्यसमा अभिभावक र शिक्षकहरुले सहयोग गर्नुभयो भने त्यसले उर्जा दिन्छ । मैले भोलि कुनै दिन सांसद बनेर शिक्षा नीति लेखिरहेको मैले अनुभव गर्ने गर्छु । मैले सोच्छु, यसले मलाई उर्जा आउँछ, मैले काम गर्छु । यसरी लक्ष्य निर्धारण चाहिँ गर्नुपर्छ । सबैभन्दा बढी माया गर्ने र उनीहरुको भविष्यप्रति सबैभन्दा धेरै चिन्तित हुने बाबुआमाहरुले अब के पढ्ने भन्ने समयमा उभिएका आफ्ना छोराछोरीलाई कसरी सहयोग गर्न सक्छन् ? यो निकै महत्वपूर्ण विषय हो । आफ्ना बाबुआमाहरुले छोराछोरीमाथि निकै ठूलो लगानी गरेका हुन्छन् । लगानी भनेको पैसाको मात्रै लगानी होइन, सपनाको लगानी गरेका हुन्छन् । पहिला ४/५ जना छोराछोरी हुन्थे, जेठाले नगरे माइलाले गर्ला नी भन्ने हुन्थ्यो । अहिले एउटा वा दुइटा छोराछोरी हुन्छन् । बाबुआमालाई उनीहरु यो विधामा सफल होउन भन्ने लाग्छ । तर, अभिभावकहरुले पनि बुझ्नुपर्ने विषय चाहिँ के हो भने अहिले यति धेरै विधाहरु आउँदैछन् की तपाईंहरुले नोकिया मोबाइल चलाउनुहुन्थ्यो, तपाईंहरुलाई के लाग्थ्यो भने नोकिया जस्तो बलियो मोबाईल नै छैन । यदि तपाईंहरुलाई ख्याल छ भने कसैले १०/१५ वर्ष अगाडि नोकिया बाहेकको ब्राण्डको मोबाइल बोक्छु भने भने बर्बाद हुन्छ भन्ने हुन्थ्यो । आज नोकिया फेज आउट भएको छ । राजनीतिकै कुरा गर्ने हो भने पनि हिजो कांग्रेस–एमाले बाहेक नेपालमा केही पनि छैन भन्थे । अहिले तपाईंहरुको छोराछोरीको निर्णयअनुसार नयाँ–नयाँ पार्टीहरु आएका छन् । जमाना र प्रवृत्ति फरक भएको छ । हिजोको दिनमा हामी पेजर बोकेर हिँड्थ्यौं आज टिकटकको जमाना छ । स्वीकार गर्न गाह्रो लाग्छ होला, तर अहिलेको पुस्ता हामी भन्दा स्मार्ट छन् । १५ वर्षको भाइबहिनीसँग कुरा गर्दा मलाई आउटडेटेड जस्तो लाग्छ । अहिलेका हाम्रा छोराछोरीहरु, भाइबहिनीहरु र भतिजहरु हामीभन्दा स्मार्ट छन्, यति स्वीकार गरियो भने धेरै सजिलो हुन्छ । तर, यिनीहरुलाई केही पनि थाहा छैन भन्ने हो भने त संवाद नै गर्नुपरेन । यदि उनीहरु हामीभन्दा स्मार्ट छन् भनेर मान्ने हो भने हामीले उनीहरुलाई सहयोग गर्ने हो । तैंले सक्छस्, तैंले सक्नुपर्छ भन्यो भने उनीहरुले उत्प्रेरणा पाउँछन्, तैंले सक्दैनस्, तँबाट हुँदैन, तैंले के गरेर खान्छस् भनेर भन्यो भने उनीहरुले चाहेको पनि गर्न सक्दैनन् र उनीहरुले चाहेको जस्तो पनि हुँदैन । आफ्नै रुची समेत अनुसन्धान गर्नु पर्ने अवस्थाका विद्यार्थीहरुले आफूले अध्ययन गर्ने विषयको स्कोपको विषयमा चाहिँ कसरी थाहा पाउन सक्छन् ? आम आद्मी पार्टीले दिल्लीमा बिजनेस ब्लास्टर भन्ने कार्यक्रम सञ्चालन गरेको थियो । त्यहाँ उसले प्लस टु दिएर बसेका विद्यार्थीहरुलाई बिजनेसको आइडिया लिएर आउ भन्यो, त्यसमध्ये एकजना विद्यार्थीले के गरेछ भने बिग्रेको मोबाईलहरुबाट राम्रो मोबाइल बनाएर बेच्ने आइडिया ल्याएको थियो । साइग्रेस भन्नेलाई तपाईं हामीले चिनेका छौं, उनले घुम्न थालेका छन्, कविता बाचन गर्छन्, कथा बाचन गर्छन् । कथा बाचन गरेर घुमेर पैसा कमाइरहेको छ मान्छेले । टिकटकमा लाइभ बसेर पैसा कमाइरहेका छन् मान्छेले । यदि औसत भन्दा हामी राम्रो हुने हो भने चाहिँ एउटा ग्राफ चाहिँ खिच्नुपर्यो । पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला । विगतमा फिल्म समिक्षक निकै चलेको थियो । सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला । आइटीमा सबैभन्दा बढी राम्रो छ । धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ । ग्रामिण क्षेत्रमा हेर्यो भने त धेरै कलेजहरु हुँदैनन् । तर, सहरी क्षेत्रमा भने धेरै कलेजहरु हुन्छन् । काठमाडौंलाई हेर्ने हो भने यो कलेजहरुको सहर पनि हो । गुणस्तरीय शिक्षाको निम्ति कलेजहरुको पनि भूमिका हुन्छ होला, यस्तो अवस्थामा विद्यार्थीहरुले कसरी कलेज छान्नुपर्छ भन्ने सुझाव तपाईंले दिनुहुन्छ ? काठमाडौंमा जतिपनि कलेजहरु छन्, यसमध्ये अधिकांश ट्युसन सेन्टर हुन् । तिनीहरु कलेज होइनन् । कलेजले विद्यार्थीलाई परीक्षा पास गर्ने भनेर पढाउँदैन, स्कीलफूल बनाउन पढाउने हो । यहाँ मैले केही कलेजहरुमा पढाएँ पनि र पढाउँदै पनि छु । त्यहाँ हेर्दाखेरी परीक्षामा ३२ नम्बर कसरी ल्याउने भनेर उत्तर रटाउने त कलेज होइन नी, स्कुल होइन नी । भनेपछि तपाईं हामीले कलेज स्कुल छान्दाखेरी चाहिँ लगभग सबै उस्तै छन् । जहाँ पढेपनि आफैले पढ्ने हो । मैले राम्रो गर्ने विद्यार्थीहरुसँग संवाद गर्दाखेरी चाहिँ कलेजको कारणले भन्दापनि विद्यार्थी आफ्नै कारणले सफल भएका छन् । नाम चलेको कलेजका विद्यार्थी बरु कम सफल भएका छन् । सामुदायिक विद्यालयमा संघर्ष गरेर आएका नै सफल भएका छन् । मन्त्री, प्रधानमन्त्री हेरौं, बिजनेसमेन, बैंकरहरु हेरौं । हामीले खोतल्दै गयौं भने उहाँहरु अहिले हामीले विज्ञापनमा देखेका कलेजमा होइन सामान्य स्कुलमा पढेर आएका छन् । तर, के स्कुल कलेजको केही भूमिका नै हुँदैन भन्ने विषयमा भने हुन्छ, स्कुल कलेजको भूमिका भनेको वातावरण बनाइदिने हो । किताबहरु छान्नलाई सहज गरिदिने हो, पढ्नलाई सहज गरिदिने हो । राम्रो–राम्रो शिक्षकलाई भेट्न केन्द्र बनाइदिने हो । जसले तपाईंलाई उत्प्रेरणा गरोस, बाटो देखाउन सकोस, दिशानिर्देश गर्न सकोस । अर्को चाहिँ राम्रो साथीहरुको सर्कल पनि बनाइदिने हो । किनभने सिकाइ भनेको सामूहिक काम पनि हो । मलाई चाहिँ कलेज छान्दाखेरी दुई तीनवटा कुरा हेर्नुपर्छ जस्तो लाग्छ, पहिलो चाहिँ शिक्षक नै हेर्ने हो, संकाय कस्ता छन् त्यो हेर्ने हो । त्यस्तै, त्यो कलेजको लिगेसी, व्यवस्थापन र ट्रयाक रेकर्ड कस्तो छ, जस्तो त्यो स्कुल कलेज पैसा कमाउने उद्देश्यले खोलेको हो अथवा सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको छ ? त्यो महत्वपूर्ण हुन्छ, त्यसमा ध्यान दिनुपर्छ । निजी स्कुल पढ्दा शुल्कको पनि कुरा हुन्छ । तपाईं हामीले धान्न सक्ने शुल्क छ की छैन ? आफ्नो क्षमताले धान्ने कलेज पढ्नुपर्छ । यिनै कुराहरुमा ध्यान दिनुपर्छ भन्ने लाग्छ । पेशा र कामका धेरै क्षेत्रहरु छन्, तर कक्षा ११/१२ सम्मको अवस्थामा हेर्ने हो भने छानेर अध्ययन गर्नको लागि धेरै पाठ्यक्रम बनाइदिएको अवस्था छैन । विद्यार्थीको भविष्य निर्धारण गर्ने तहमा तिम्रो क्षमता अनुसारको क्षेत्र यी छन् भनेर राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न सकेन नी ? साँच्चीकै शैक्षिक प्रणाली ध्वस्त भैसकेको अवस्था छ । २/४ व्यक्ति यो शिक्षा प्रणाली भएको भए पनि नभएपनि सफल हुन्थे । यो प्रणालीले धेरै क्रेडिट पनि लिनुपर्दैन । हामी यो अवस्थामा छौं । १२ कक्षा पढिसकेपछि एकजना मान्छेले जागिर खानको लागि के–के गुण चाहिन्छ भन्दा त्यसमा नेतृत्व क्षमता हुनुपर्छ, बोल्न सक्ने सञ्चार क्षमता हुनुपर्छ, स्मार्टनेस हुनुपर्छ, सक्रिय हुनुपर्छ, प्रो–एक्टिभ भएर इनिसियसन लिनसक्ने हुनुपर्छ । ११/१२ कक्षामा पढ्दा कुन स्कुलले यो कुरा सिकायो ? छैन नी त । कुनै कम्पनी चलाउनुन्छ वा आफ्नै काम गरेपनि नेतृत्व त हुनुपर्यो नी । समाजमा आफ्ना सम्बन्धहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ । अभिभावकसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध, साथिभाईसँगको सम्बन्ध, काम गर्ने ठाउँमा स्थापित गर्ने सम्बन्ध, कन्फिल्क्टि म्यान्जमेन्ट कसले सिकायो ? एकजना अमेरिकन शिक्षाविद्ले १९६० तिर एउटा अध्ययन गरेका थिए । उनले ६ वर्ष लगाएर साढे ६ लाख विद्यार्थी र शिक्षकसँग संवाद गरेर एउटा मान्छेको जीवनमा सफल हुनको लागि स्कुलले खेल्ने भूमिका कस्तो रहेछ भनेर अध्ययन गरेका छन् । कोलम्यान रिपोर्ट भन्छ त्यसलाई । त्यो रिपोर्टको एउटा निश्कर्ष के हो भने स्कुलले खासै भूमिका निर्वाह गरेको छैन भन्ने हो । मलाई पनि के लाग्छ भने मान्छे सफल हुनुमा अहिलेका स्कुलहरुले पनि खासै ठूलो भूमिका निर्वाह गरेका छैनन् । मलाई सबैभन्दा धेरै लगानी गर्नुपर्ने शिक्षामा हो भन्ने लाग्छ । तर, आजको शिक्षा सबैभन्दा बिगार्ने पनि शिक्षक नै हुन् । दिनमा एउटा मान्छेले दुई सय वटा सम्म कापी जाँच गर्छ । त्यसरी शिक्षा सुध्रिन्छ ? शिक्षा सुधार्नको लागि अहिलेको अवस्थालाई भत्काउन नै पर्ने छ । एकजनाले भन्नुभएको थियो, हाम्रो एजुकेसनमा समस्या छ, अर्को प्रणालीमा समस्या छ । शिक्षक, पाठ्यक्रम र प्रणालीमा ठूलो लगानीको आवश्यता देखिएको छ । भिजन र प्राथमिकताको पनि लगानी चाहिएको छ । राजनीतिकर्मीहरुमा पनि ठूलो समस्या छ । यिनीहरुले बुझ्दै बुझेनन् । उहाँहरुसँग मैले शिक्षालाई प्राथमिकतामा राखौं न भनेर कुराकानी गर्दा उहाँहरु के भन्नुहुन्छ भने ९ महिना एक वर्षको कार्यकाल हो, बाटो बनायो भने मान्छेले देख्छ, भ्यु टावर ठड्यायो भने मान्छेले देख्छ । शिक्षामा लगानी गर्नु भनेको त एउटा एक कक्षामा पढिरहेको विद्यार्थीको परिवर्तन गरेर एसईई अथवा कक्षा १२ पछिको नतिजा हो, अर्थात १०/१२ वर्षको लगानी हो । यहाँ कुनैपनि राजनीतिक व्यक्तिलाई म १०/१२ वर्ष टिक्छु र मेरो पार्टी १०/१२ वर्ष टिक्छ भन्ने कन्फिडेन्स नै छैन । आजभोलि नै कुन काण्ड गरेको छ, कुन काण्डमा पर्ने हो भन्नेमा नै गइरहेको छ । राजनीतिमा आउँदै गरेको नयाँ पुस्ताले बुझ्नुपर्छ । मेरो मुद्दा रोजगारी हो भने मैले के बुझ्नुपर्यो भने रोजगारी दिनको लागि मान्छेलाई दक्ष बनाउनुपर्छ । जब मान्छेमा सीप र आत्मविश्वास हुन्छ र राज्यले उद्यम गर्ने नीति ल्यायो भने उसले सिप गरेर देशमा नै खानुसक्ने हुन्छ । त्यसको लागि शिक्षा नै सुधार गर्नुपर्छ । समाजमा समानता ल्याउनको लागि पनि शिक्षामा सुधार गर्न जरुरी छ । एउटा भिजनरी टिम र नेता आउने हो भने र १० वर्ष शिक्षामा फोकस गर्ने हो भने ९० प्रतिशत समाजको समस्या समाधान गर्न सकिन्छ । शिक्षा क्षेत्रमा जे जति समस्या छन्, ती समस्या समाधानको लागि कसले के भूमिका निर्वाह गर्न सक्छन् ? यो निकै महत्वपूर्ण विषय हो । मैले पनि यो विषयमा सोच्ने गर्छु । शिक्षा सुधारको लागि कहाँनेरबाट शुरु गर्ने भन्दाखेरी पहिला शुरुमा त प्राथमिकता निर्धारण हुनुपर्यो । प्राथमिकतामा पहिलो शिक्षा, दोस्रो शिक्षा र तेस्रो शिक्षा भन्ने प्रधानमन्त्री चाहियो । यदि त्यसो हुन सक्यो भने बाँकी विषय त एक्सपर्ट ल्याएर काम गर्न सकिन्छ । दिल्लीमा शिक्षामा कसरी सुधार भयो भने उसले शिक्षालाई प्राथमिकतामा राख्यो र विज्ञलाई ल्याएर काम गर्न दियो । यदि तपाईं किताबमा कमिसन खानुहुन्न भने राम्रो मान्छेले लेख्छ । इमान्दार विषय बुझेको नेतृत्व र टिम बनाउन सक्ने हो भने यो विषय सम्भव छ । बाँकी सबै तपसिलका कुरा हुन । बजेटको कुनै समस्या हुँदैन । भ्यु टावर सांसद विकास कोषको रकम शिक्षामा लगाउन सकिन्छ । हरेक पालिकामा एउटा नमूना स्कुल बनाउन सकिन्छ । पहिला पाइलट प्रोजेक्ट गरौं, त्यसपछि त्यहि ठाउँमा अरु स्कुल थप्न सकिन्छ ।