काठमाडौं । असार लागेसँगै लघुवित्तकर्मीहरुको अनुहारमा खुसी छाएको छ । विगतमा विभिन्न प्रकारका आन्दोलन र अवरोधहरु सामना गर्दै आएका लघुवित्त व्यवसायी र लघुवित्तकर्मी असार लागेसँगै खुसी हुन थालेका छन् । बर्खाको सिजनमा किसानहरुको खेतबारी फस्टाउन थालेको र गाईँभैँसी ब्याएर खरिद बिक्री हुन थालेपछि हर्षित भएको लघुवित्तकर्मीहरु बताउँछन् ।
लघुवित्त संस्थाका ऋणीहरु भनेका किसान हुन् । तिनै किसानको आम्दानीको स्रोत बढ्न थालेपछि लघुवित्तकर्मी पनि ऋण असुल हुने आशामा बसेका छन् । त्यसैले अहिले लघुवित्तकर्मीहरु कर्जा असुल गर्न गाउँगाउँ डुलिरहेका छन् । किसानहरु तरकारी बिक्री गरेर भएपनि ऋण चुक्ता गरिरहेको लघुवित्तकर्मीहरु बताउँछन् ।
जाल्पा सामुदायिक लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीईओ विमला योगी किसानहरुको सिजन लागेसँगै लघुवित्तमा रिकभरी पनि सकारात्मक हुने अपेक्षा रहेको बताउँछिन् । पछिल्ला दिनहरुमा सदस्यहरुसँग सँगै बसेरै उहाँहरुको हितमा काम गरिरहेको उनको भनाइ छ । साथै, वर्षको अन्त्यमा जसरी पनि ऋण तिर्नै पर्छ भन्ने मान्यता गाउँमा रहेकाले किरभरी राम्रो हुने उनको भनाइ छ ।
‘ग्रामीण क्षेत्रमा वर्षको अन्त्यमा ब्याज र साँवा तिर्नु पर्छ भन्ने मान्यता छ, होइन भने ब्याजमा ब्याज थप हुन्छ भन्ने उहाँहरुको सोचाइ छ, यो पहिलाको चलन पनि हो, बुझ्ने मान्छेहरुले तिरिरहेका छन्, विगत केही महिना धेरै दबाव थियो तर, असारमा केही सुधार हुन्छ की भन्ने विश्वास छ,’ उनले भनिन् ।
उनका अनुसार लघुवित्तमा रिकभरी सोचे जस्तै नभएपनि विस्तारै सुधार हुने अपेक्षा छ । कर्मचारीहरुले सन्तुलित भएर काम गरिरहेको उनले बताइन् । औषत खराब कर्जा ७.५ प्रतिशत भएपनि घट्दै जाने उनको अनुमान छ । किनभने लघुवित्त विरुद्धको संघर्ष समितिले पनि आन्दोलन फिर्ता गरिसकेको छ । लघुवित्त विरुद्धका गतिविधिले आर्थिक क्रियाकलापमा असर परेको भएपनि अब आन्दोलन फिर्ता लिएपछि पुरानै अवस्थामा आउने उनले बताइन् ।
लघुवित्त संस्थाका ऋणी किसान भएकाले बर्खामा ऋण असुली हुने गरेको उनको भनाइ छ । कर्मचारीहरु गाउँघरमा गई किसानहरुसँग हातेमालो गरेर ऋण उठाइरहेको उनले बताइन् । पशुपंक्षि, गाईभैँसी, बाख्रा, कुखुरा बिक्री हुने गर्दछन् । साथै, यस सिजनमा तरकारी पनि राम्रो फल्ने भएकाले किसानको आम्दानी वृद्धि भएपछि ऋण असुल हुने गरेको उनी सुनाउँछिन् ।
‘हाम्रो ग्राहकहरु भनेका किसानहरु नै हुन्, बर्खामा भैँसी ब्याउने समय हो, यो बेलामा गाईभैँसी पनि किनबेच पनि हुन्छन्, ऋणीहरुले गाईँभैँसी बिक्री गरेर भएपनि ऋण तिर्नु हुन्छ जस्तो लागेको छ, त्यसैले अबका दिनमा सहज वातावरण होला की भन्ने अपेक्षा छ,’ उनले भनिन् ।
अन्य सिजनको तुलनामा बर्खा सिजनमा किसानहरुको आम्दानी पनि बढी हुने गर्दछ । किसानहरुसँग तरलता भएपछि कर्जा चुक्ता गर्ने भएकाले लघुवित्तकर्मीहरु हर्षित हुन थालेका हुन् । अहिले लघुवित्तकर्मीहरु गाउँगाउँमा गएर किसानको खेत र तरकारीबारीलाई झनै उब्जाउ गर्नका लागि सुझाव र आवश्यक सहजीकरण गरिरहेका उनीहरुले बताएका छन् ।
मानुषी लघुवित्तकी सीईओ शोभा बज्राचार्य तरकारीको सिजन भएकाले बिक्री भएपछि ऋण असुल हुने बताउँछिन् । साथै, आलुको सिजन भएकाले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । लघुवित्त क्षेत्रमा राम्रोसँग सुधार नभएपनि सुधार हुने संकेत रहेको उनले बताइन् ।
‘पूर्ण रुपमा सुधार हुन बाँकी छ, रिकभरी राम्रो भएको छैन, हल्का सुधारको संकेत देखिएको छ, पहिलाको जस्तो स्थिती नरहेपनि सुधार हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आलुको सिजन पनि छ, किसानहरुको आलु बिक्री भयो भने ऋण असुल हुन्छ, यसले पनि रिकभरीमा सकारात्मक असर गर्छ ।’
साथै, किसानहरुलाई आफूहरुले पनि सक्दो सहजीकरण गरिरहेको उनले बताइन् ।