१३औं काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुने छ । फेयरको मूख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसंगको सम्पर्क संजाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्रय विश्वसंग खुला हुने मंचहरुलाई मजबुत पार्ने तथा बाह्रय विश्वसंगको खुलापनलाई बढाउने रहेको छ । मन्त्री रिजालसंगै भ्रमण टोलिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताए । ’यसै खेलमा करिअर बनाउन चाहेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ’, उनले भने, ’अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।’ कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य आठ सय रुपैयाँ तोकिएको छ भने अन्य दिनमा भने पाँच सय रुपैयाँ तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ । खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उनको भनाइ छ । फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ । रासस
योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहमा गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गरे । योग भनेको योग अभ्यास मात्र नभइ यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भने, ‘योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पु¥याउँछ ।’ सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको उनले बताए । गृहमन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उनले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे । प्रहरी प्रधान कार्यालयमा उक्त कार्यक्रम भएको थियो ।
ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै
गण्डकी । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो । यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ’चीन नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो’, उनले भने, ’ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रवद्र्धनको काम गर्नेछ ।’ फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उनले बताए । फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता गरिनेछ । पाँच सय र एक हजार मिटरको दौडमा प्रतिष्पर्धा हुनेछ । बोट रेसका लागि गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ । फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ । गत पुस १७ गते(सन् २०२३ को जनवरी १ तारिख) उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा असार ६ गते पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ टोली अवतरण गर्नेछन् । पोखरा चिनियाँ पर्यटकको राम्रै्र रोजाइमा पर्ने गन्तव्य हो । यहाँ आउने चिनियाँ पर्यटक विशेषतः प्राकृतिक सुन्दरताको अवलोकन र प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायतका साहसिक पर्यटनमा रुचि राख्ने गर्दछन् । नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए । ’कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैँमा विशेष छ’, उनले भने, ’यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।’ फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उनले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको बताए । पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सयको सङ्ख्यामा होटेल रहेको होटेल एशोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा होटेल पूर्वाधारमा मात्रै चार खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको उनले बताए । ’यहाँ नेपालीका साथै चाइनिजले सञ्चालन गरेका रेष्टुरेन्ट पनि छन्’, उनले भने, ’चिनियाँ भाषा जानेका पर्यटक गाइडको सङ्ख्या पनि राम्रै छ ।’ पोखरा आउने चिनिया पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उनले बताए । रासस
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
काठमाडौं । पूर्वाधार विकास समितिले देशभर बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले बाढीपहिरामा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उद्धार गरी उपचारको प्रबन्ध गर्न र विस्थापित परिवारको गाँस, बासको उचित व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिका सभापति लालवीर चौधरीले क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका भौतिक संरचनालाई तत्काल मर्मतसम्भार गरी अवरुद्ध सडक सञचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढी पहिराले मानवीय क्षतिका साथै सडक, पुल, बेलीब्रीज विविध विकास आयोजना र मानव बसोबास क्षेत्रमा ठूलो क्षति भएका सम्बन्धमा समितिले ध्यानाकर्षण प्रकट गरेको हो ।
एसिएन पेन्ट्सको व्यापारमा उछाल, एक वर्षमा पौने ११ अर्ब आम्दानी
काठमाडौं । एसिएन पेन्ट्सले एक वर्षको अवधिमा पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा कम्पनीले ७ अर्ब ३० करोड ३० लाखको ब्यापार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ३१ करोड र सन् २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीलाई विस्तार गर्नका लागि ९९ करोड ९० लाख रुपैयाँ ऋण लिँदैछ । त्यसका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले एवान प्लसको रेटिङ प्राप्त गरेको छ । एशिएन पेन्ट्स नेपालमा एशिएन पेन्ट्स इण्डियाको ५३ प्रतिशतर रवि एसोशिएट इण्डियोको ९ प्रतिशत र ३८ प्रतिशत विभिन्न २६ जना सेयरहोल्डरहरुको स्वामित्व छ । हाल कम्पनीको अध्यक्ष लक्ष्मी गोपाल श्रेष्ठ छन् ।
जोरपाटी-सुन्दरीजल सडक ८ वर्षपछि कालोपत्रको तयारी
काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् । लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ । मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हालेपछि ठूलो पानी पर्यो र अलकत्रा बगायो । सडक दायाँबायाँ अझै धेरै ठाउँमा काम बाँकी छ । ‘काम बाँकी भएका स्थानका सडकमा खाल्डाखुल्डी धेरै छन् । वर्षाको समयमा खाल्डाखुल्डीमा जमेको फोहर पानीका कारण आवागमनमा सास्ती हुने गरेको छ’, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले भने । संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको उनको भनाइ थियो । आर्थिक वर्ष २०७५-२०७६ मा सक्ने गरी विसं २०७२ मा ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तारको काम रोकिएको थियो । केन्द्रबिन्दुबाट दायाँबायाँ ११-११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब नौ सय घरधनीले ठेक्का अनुसार सडक विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि काम अगाडि बढ्न सकेको थिएन । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा घर भएको स्थानमा दायाँबायाँ सात-सात मिटर र सार्वजनिक जग्गा भएका स्थानमा ११-११ मिटर सडक विस्तार गर्ने सहमति भएको थियो । उक्त सहमति भएको पनि चार वर्ष बितेको छ । लामो समयदेखि सडक अलपत्र बन्दा वर्षौँदेखि यात्रु पीडित भएका छन् । अधिकांश स्थानमा सडक विस्तारको काम सकिए पनि केही ठाउँमा रोकिएकाले वर्षाको समयमा पानी पर्दा आवागमनमा सास्ती हुने गरेको स्थानीयको गुनासो छ । अत्तरखेलमा सडक छेउमै किराना पसल चलाउँदै आएका समुद्र श्रेष्ठले वर्षातमा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्यमा समस्या आउन थालेको बताए । पानी पर्न थालेपछि हिलो र हिलो सुकेपछि धुलोले समस्या हुने गरेको उनले बताए । निर्धारित समयमा सडक स्तरोन्नतिको काम नसकिएपछि आर्थिक वर्ष २०७६-७७ मा सक्ने गरी म्याद थपिएको थियो । पटक-पटक समय थप गर्दा पनि काम सकिएको छैन । नगरपालिकाका प्रवक्ता सुवेदीका अनुसार ५८ करोड लागतमा सडक विस्तारको काम थालिएको थियो । विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाइ हुने गरेको निर्माण कम्पनीको भनाइ छ । ‘सडक विस्तारको काम अगाडि बढाउने सन्दर्भमा ठेकेदार कम्पनीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आयोजनाका अधिकारी सम्पर्कमा आउँदैनन्’, उनले भने, ‘केन्द्रीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् ।’ कोरोना महामारीका समयमा भएको बन्दाबन्दीका समयमा निर्माणाधीन सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तारलगायत संरचना नहटेकाले सडक विस्तारको काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । सडकको काम नसकिँदा यसवर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्नुपर्ने बाध्यता रहनेमा चिन्ता लागेको स्थानीय सीमा तामाङले गुनासो गरे । ‘निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले एक दिन काम गरेर महिना दिनसम्म केही नगर्ने गरेको देखिएको छ’, उनले भने । वर्षाको समयमा हिलो र धुलोका समस्या समाधानका लागि ग्राभेल हालेर डोजर र रोलरले सम्याउँदै काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएको नगरपालिकाले जनाएको छ । ‘गोकर्णेश्वरस्थित महादेव मन्दिरअघिको सडक कालोपत्र भएको केही दिनमै भत्कियो । केही महिनापछि भत्किएको स्थानमा टालिए पनि खाल्डाखुल्डी छन्’, तामाङले बताए । कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएका उनको भनाइ थियो । सडक बनेर कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएका छैनन् । पैदलमार्ग नहुँदा पैदल यात्रा गर्ने यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको स्थानीयको भनाइ छ । यसतर्फ सरोकारवाला निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ । सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल बिस्तार हुन नसक्दा सवारी जाममा पर्ने गरेका छन् । सडक विस्तारका लागि ठेक्का गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि अझै ठेक्का सम्झौता नगरिएको जनाएको छ । रासस
बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो
भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित एघार करोड ११ लाख आठ हजार नौ सय २७ रुपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पु¥याएको हो । बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ । चैनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए । खोलामा आएको बढीले आयोजनालाई क्षति पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो । ‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’ प्रमुख सिंहले भने,‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ । अनुमानित डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अवस्था छ ।’ आर्थिक वर्ष २०७५-७६ देखि यो योजनाको निर्माण थालिएको हो । बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पु¥याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । ‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’ उनले भने,‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन् । सबै पुरिएको अवस्था छ । बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ ।’ रासस