विकासन्युज

घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा ठूलो बदमासी गरेको आशंका गरिएको छ । कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको हो । कम्पनीको आईपीओमा माग गरिएको भन्दा बढी आवेदन परेको भएपनि समय थप गर्दा शंकाको घेरामा राखिएको छ । कम्पनीको आईपीओमा ठूलो संख्यामा आवेदन अनभेरिफाइड हुँदा शंकाको घेरामा राखिएको सिडिएस एण्ड क्लियरिङ्ग स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतका अनुसार झण्डै ८०/८१ लाख कित्ता सेयर खरिद गरेर पनि अनभेरिफाइड भएको छ । अन्य कम्पनीको आईपीओमा २०/२५ हजार कित्तासम्म अनभेरिफाइड हुने गरेको भएपनि घोराही सिमेन्टको आईपीओमा भने ठूलो सख्यामा हुनु शंका उत्पन्न भएको उनको भनाइ छ । ‘अन्य कम्पनीमा १२/१५ लाखले आवेदन दिँदा २०/२५ हजार कित्ता मात्रै अनभेरिफाइड हुन्थ्यो तर, यस कम्पनीको आईपीओमा रकम नभएको खाताबाट पनि आवेदन दिएको देखिन्छ, किन रकम नभएको मान्छेहरुले आवेदन दिए भनेर प्रश्न गर्ने ठाउँ छ,’ सिडिएस स्रोतले भन्यो । कम्पनीकै मान्छेले ठूलो रकम आवेदन दिन लगाएर सर्वसाधारणलाई आकर्षित गर्न खोजेको हुन सक्ने आशंका सिडिएस स्रोतले गरेको छ । कम्पनीको मान्छेले मिलेमतो गरेर रकम नभएको डिम्याट खाताबाट सेयर खरिद गरी सर्वसाधारणलाई आर्षित गर्न खोजेको जस्तो देखिएको छ । ‘ब्यालेन्स नभएको डिम्याट खाताबाट सब्सक्राइब देखाउनका लागि आवेदन दिएको पनि हुन सक्छ, यसरी ओभर सब्सक्राइब गरेको देखेपछि सर्वसाधारणले पनि राम्रो कम्पनी रहेछ, खरिद गर्नु पर्याे भनेर आवेदन दिन सक्छन्,’ उनले भने, ‘८०/८१ लाख कित्ता अनभेरिफाइड हुनु भनेको आश्चर्य नै हो, अनभेरिफाइड धेरै आउनुको कारण के हो ? यसमा केही बदमासी भएको छ की भनेर अनुसन्धानका लागि धितोपत्र बोर्डमा पनि जानकारी गराइसकेका छौं ।’ बिना रकमको चेक काट्यो भने चेक बाउन्सको कारवाही हुन्छ । यसमा पनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन सिडिएसले माग गरेको छ । स्रोतका अनुसार धितोपत्रबार्डलाई यस विषयमा जानकारी पनि गराइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयले कम्पनीको सेयरमा पूर्ण आवेदन दिएका थिएनन् । बाँकी रहेको सेयरसहित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा बिक्री नहुने डरले ब्यालेन्स नभएको एकाउन्टबाट आवेदन दिन लगाएको हुन सक्ने सिडिएस स्रोतको दाबी छ । साथै, अझै १० कित्ता आवेदन भर्नेको भेरिफाइड गर्न बाँकी छ । अहिले लाखौं आवेदन दिनेको मात्रै भेरिफाइड गर्दा यो समस्या आएको हो । यसअघि आईपीओ जारी गरेका कम्पनीको सेयरमा कम्तिमा पनि १२ लाख जनाले आवेदन दिएका छन् । तर, घोराहीको आईपीओमा ५ लाखले आवेदन दिँदैमा ओभर सब्सक्राइब हुँदा पनि शंका गर्ने ठाउँ रहेको स्रोतको भनाइ छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग प्रमुख कार्यकारी अधिकृत (सीईओ) यथोचित संख्यामा आवेदन प्राप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले समयावधि थप गरिएको बताउँछन् । यदि सोमबार नै रितपूर्वक प्रमाणित भए भोलि नै आवेदन बन्द गर्ने उनको भनाइ छ । उनका अनुसार अनभेरिफाइड आवेदनको चाम रहेको छ । ‘सिआश्वा सदस्य बैंकहरुबाट सबै आवेदन भेरिफाइड भएर आएको थिएन, अनभेरीफाइडमा ठूलो चाम देखिन्छ, जसले गर्दा हामीले समय थप गर्नु परेको हो, आजको तथ्याङ्क आउँछ, माग अनुसार भेरिफाइड भयो भने भोलि नै बन्द गर्छाैं,’ उनले भने ।

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु

भारत । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो । उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ‘सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।’ यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको उनले बताउनुभयो । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए । जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ । रासस

एभरेष्ट बैंकको १२६ औं शाखा नवलपरासीको दलदलेमा

काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका बरिस्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, शसस्त्र प्रहरी बलका निरिक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यससंगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।  

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना  शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए । हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए । रासस

ईसेवा मनि ट्रान्स्फर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए। ईसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् । लुलु मनी बाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ। यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारि रहनेछ’। साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताईन् । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सगरमाथाको काखको शिक्षाको ज्योति

खुम्जुङ। सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। शिक्षाको अवसरबाट बञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ ( विसं २०१८) मा हिलारीले सो विद्यालय स्थापना गराएका थिए । सन् १९५३ मा हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पा यतैबाट सगरमाथा आरोहण गरेको स्थानिय मान्यता रहेको छ । स्थानीय लाक्पा गेलु शेर्पाका अनुसार सुरुमा दार्जिलिङ तर्फबाट आरोहण गर्ने प्रयास गरेका हिलारी उताबाट आरोहणमा नसकेपछि नेपाल तर्फबाट सफल आरोहण गरेका थिए।  सोही क्रममा हिलारीलाई यहाँको अशिक्षाले प्रभावित बनाएपछि सो विद्यालयको स्थापना गरे । तत्कालीन समयमा प्रि-प्राइमरी (कक्षा ४) सम्म पढाई हुने गरी विद्यालयको स्थापना भएको थियो । ‘विद्यालय स्थापना हुँदा यहाँ शिक्षकसमेत थिएनन्, दार्जिलिङबाटै शिक्षक झिकाएर पढाइ हुन्थ्यो ।’ सोही विद्यालयका विद्यार्थीसमेत रहेका शेर्पाले भने, ‘कडा अनुशासनको बीच भारतीय शिक्षकको पढाई हुन्थ्यो ।’, ‘हिउँ पन्छाएर खाली खुट्टा नै पढ्न आउने गरेका थियौँ’ पुराना दिन सम्झँदै शेर्पाले भने, ‘हुने खाने परिवारका दुई/तीन जना विद्यार्थीको खुट्टामा मात्र जुत्ता हुन्थ्यो ।’ विद्यालय स्थापना भएको पहिलो ब्याचका विद्यार्थी नै २०२७ सालमा नेपाल प्रथम भएको शेर्पा बताउँछन् । पहिलो ब्याचका बिद्यार्थी आङ्गरिता शेर्पा खुम्जुङ्गमा ४ कक्षा पढेपछि त्यहाँबाट गोरखा र पछि आनन्दकुटी विद्यापीठ हुँदै २०२७ सालको एसएलसीमा नेपाल प्रथम भएको उनले बताए । यस विद्यालयले अहिले भौतिकरुपमा काँचुली फेरेको छ । अहिले यहाँ हिउँ पन्छाउँदै पढ्नु पर्ने बाध्यता छैन, विद्यालयको आफ्नै भवनसहित सुविधायुक्त कक्षाकोठा निर्माण भइसकेका छन् । बाहिर सामान्य हिमपात भए पनि यहाँ पढाई रोकिन्न। उनै हिलारीको नाममा स्थापित हिमालय ट्रस्ट र अन्य मध्यवर्ती संस्थाको सहयोगमा विद्यालयका भवन भूकम्प प्रतिरोधी तथा न्यानो कक्षाकोठा निर्माण गरिएको छ । २०६८ सालदेखि विद्यालयमा अङ्ग्रेजी भाषामा पठनपाठन हुँदै आएको छ । स्थानीय भाषाअन्तर्गत तिब्बतीयन मस्लको ‘सम्बोटा लिपि’ को पढाइ हुन्छ । कक्षाकोठा प्रविधिमैत्री छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पढ्नका लागि पर्याप्त सहयोगी तथा शैक्षिक सामग्रीहरु कक्षाकोठामा नै राखिएको छ । पुस्तकालय भवन छुट्टै बनाइएको छ । विद्यालयमै सुविधा सम्पन्न इ-लाइब्रेरी छ । कक्षा ९ र १० का विद्यार्थीलाई स्मार्टबोर्डमा पढाई हुँदै आएको छ। वार्षिक परीक्षाहरुमा पनि यस विद्यालयले जिल्लामै अब्बल नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक नवाङ दोर्जे राईले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यालयमा खुम्जुङ्गको मात्र नभई नाम्चेलगायतबाट पनि अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । अहिले विद्यालयमा एक सय ४९ जना छात्रा र एक सय ४७ जना छात्र गरी दुई सय ९६ जना बिद्यार्थी रहेको राईले बताए ।  विद्यालयमा हाल शिक्षक शिक्षिका गरी २१ जना कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकलाई पनि दरबन्दीका शिक्षकलाई जस्तै सेवा सुविधा दिइएको छ। भौगोलिक विकटताका कारण शिक्षक टिकाउनै गाह्रो छ । स्थायी शिक्षकबाहेक पाँच जनालाई हिमालयन ट्रष्टको आर्थिक सहयोगबाट र अन्यलाई निजी स्रोतबाट पारिश्रमिक व्यवस्थापन गरिएको उनले बताए । भौगोलिक विकटता एवम उच्च हिमाली क्षेत्रमा रहेको कारण विद्यालयमा विद्यार्थी टिकाउनै गाह्रो रहेको प्रधानाध्यापक राईको भनाइ छ। ‘वर्षामा त ठीकै छ, हिउँदमा शौचालयको कठिनाई हुने गरेको छ।’ उनले भने, ‘धेरै हिमपात भयो भने विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार बिदा दिने गरेका छौँ।’ चालीस जना क्षमता रहेको छात्रावासमा अहिले ११ जना मात्र विद्यार्थी रहेको उहाँले जानकारी दिए। छात्रावासमा बस्ने विद्यार्थीबाट न्यूनतम् शुल्कमा राम्रो खाने बस्ने सुविधासहित कपडा पनि विद्यालय नै व्यवस्थापन गर्ने गरिएको छ। जेठ महिनामै सगरमाथा आरोहणको ७० औं बर्षगाँठ मनाइएको छ। यस अवसरमा  न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लर्क, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, नाती एलेक्जेण्डर हिलारी, तेन्जिङ्ग नोर्गे शेर्पाको छोरा ज्याम्लिङ्ग तेन्जिङ्ग नोर्गे लगायत दर्जनौ बिदेशी पर्यटकहरु खुम्जुङ्गमा जु्टेका थिए। यसै अवसरको फाईदा खुम्जुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि उठाए। विदेशी पर्यटकहरुलाई लक्षित गरी उनिहरुले विभिन्न उपहारहरु तयार पारेका थिए। जसलाई विदेशी पर्यटकहरुलाई रुचीपूर्वक अवलोकन मात्र गरेनन्, राम्रै दाम दिएर खरिद पनि गरे। उपहार बिक्रीबाट आएको रकमलाई विद्यालयको शिक्षकको तलब तिर्न र विद्यालय मर्मतका अन्य काममा प्रयोग गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। ‘हिमाली क्षेत्र भएको कारण यहाँ शिक्षकहरु र कर्मचारीहरुलाई रोक्नु हाम्रो लागि ठूलो चुनौती हो, यही कारण बिद्यालयलाई जोगाई राख्न पनि गाह्रो भइरहेको छ।’ अधिकारीले भने, ‘हिमालयन ट्रष्ट, स्थानीय तह लगायतको सहयोग त छ नै हामीले पनि आफ्नै तरिकाबाट आयआर्जनको पहल गरिरहेका हुन्छौँ।’ विद्यालयले आजयआर्जनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको उनी बताउँछन् । पर्यटक आइरहने गाउँ भएको कारण कार्यक्रमहरुको आयोजना गर्ने र त्यहाँ विद्यार्थीहरुले बनाएका हस्तकलाका सामाग्रीहरु बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए। यसरी गरिएको आम्दानी विद्यालय व्यवस्थापन समिति र शिक्षक, विद्यार्थीहरुको संयुक्त सहकार्यमा शिक्षकलाई तलब, विद्यार्थीलाई उपहार एवम् विद्यालयको अन्य कामको लागि खर्च गर्ने गरिएको छ। नाम्चेबाट करिब २ घण्टाको हिडाईपछि स्याङबोचे कट्ने बित्तिकै सबैको मुखबाट ‘आहा’ शब्द निस्किन्छ। कारण हो टाढैबाट देखिने हरियो गाउँ खुम्जुङ्ग।सेतो गुराँसले स्वागत गर्दै यो उपत्यका प्रवेश गर्नेको सबै थकान र पिडा मेटाइदिने गरेको छ। चारैतर्फ हिमालले घेरिएको खुम्जुङ्ग, खुम्बु क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल पनि हो। प्रायः सबै घर हरियो जस्ता पाताले छाएको कारण यसले हरित गाउँको नामले समेत पहिचान कमाएको छ। खुम्बिह्यूला, आमादम्बलामलगायत हिमालका काखैमा रहेको यो गाउँ पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ। खुम्जुङ्ग गाउँ खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका-४ मा पर्दछ । यही वडामा विश्व सर्वोच्च शिखर सगरमाथा पनि पर्दछ। सगरमाथा आधार शिविरमा गोक्यो क्षेत्र हुँदै जानेहरु यही गाउँ हुदै जाने गर्दछन् । खुम्जुङ्ग र खुन्दे गउँमा गरी करिब तीन सय घरधुरी रहेका छन्। तीन हजार आठ सय मिटर उचाइमा रहेको यो गाउँका प्रायः सबै घरहरु हरियो जस्तापाताले छाइएका छन् । रासस

१३औं काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुने छ । फेयरको मूख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसंगको सम्पर्क संजाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्रय विश्वसंग खुला हुने मंचहरुलाई मजबुत पार्ने तथा बाह्रय विश्वसंगको खुलापनलाई बढाउने रहेको छ । मन्त्री रिजालसंगै भ्रमण टोलिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताए । ’यसै खेलमा करिअर बनाउन चाहेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ’, उनले भने, ’अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।’ कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य आठ सय रुपैयाँ तोकिएको छ भने अन्य दिनमा भने पाँच सय रुपैयाँ तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ । खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उनको भनाइ छ । फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ । रासस