समता घरेलु लघुवित्त एफपीओ निष्कासन तयारीमा, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो । समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेगरी नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधरणमा उक्त एफपीओ बिक्री गर्ने तयारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख छ । नेप्सेमा ३९ लाख ४१ हजार ५५८ कित्ता सेयर सूचीकृत छ ।
घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीको रेटिङ्ग र मागभन्दा बढी आवेदन पर्दा पनि समय थप गरेको विषयमा बोर्डले निष्काशन प्रक्रिया रोकेको हो । बोर्डले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई पत्र पठाउँदै सार्वजनिक निष्काशन कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले केयर रेटिङ्ग नेपाललाई कम्पनीको रेटिङ्ग नियम विपरित भए÷नभएको बारेमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न गत जेठ ३० गते पत्राचार गरेको थियो । केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेको थियो । साथै, आईपीओमा मागभन्दा बढी आवेदन परेपनि निष्काशन समय थप गरिएको भन्दै तत्तकाल स्थगन गर्न बोर्डले निर्देशन दिएको हो । ‘कम्पनीको इस्युअर रेटिङ्ग, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए÷नभएको बारेमा केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्ट गरी पेश गर्न जेठ ३० मा पत्राचार गरिएकोमा हालसम्म जानकारी पेश नगरी उपयुक्त आधार बिना म्याद थपको लागी अनुरोध गरेको र आईपीओमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त हुँदा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएकाले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ,’ बोर्डको पत्रमा भनिएको छ ।
तालिमले जन्माएको उत्साह र आत्मविश्वास
काठमाडौं । कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिन्छीन् । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उनी अचेल आफ्नो सीप देखाएर अझ राम्रो कमाई गर्ने अवसरको खोजीमा छिन् । सही ऊर्जा, धैर्य, लगनशीलताले हामी जुन पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने एक उदाहरण बन्न सफल भएकी छिन उनी। मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी उनलाई अब कसले काम देला भन्ने पिरलो छैन, उनमा यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने आत्मविश्वास भरिएको छ । निम्नवर्गीय घरमा जन्मिएकी उनको सानै उमेरमा बिहे भएको थियो । कुनै औपचारिक शिक्षा नलिए पनि उनमा सधैँ केही न केही सीपमूलक व्यवसाय गर्ने रुचि भने थियोे र नयाँ अवसरहरुको खोजीमा थिइन् । केही समय अगाडि उनले जिल्ला घरेलु कार्यालय ताप्लेजुङबाट तान बुन्ने तालिम लिइन् । र अल्लो कपडा बुन्न सुरु गरिन् । कपडा बुन्न चाहिने धागो भने गाउँमा उपलब्ध नभएका कारण उनले छिमेकी जिल्ला सङ्खुवासभाबाट अल्लोको धागो मगाई कपडा बुन्न थाल्नुभयो । पटकपटक धागो मगाइराख्न असहज भएकाले लाप्साङले कपडा बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । ती दिनहरु सम्झँदै उनी भन्छिन्, ‘अल्लो यहाँ प्रशस्तरुपमा पाइन्छ । आफैँ धागो बनाउन जाने त सङ्खुवासभाबाट धागो मगाइराख्ने झञ्झट नै हुँदैनथ्यो र सजिलैसँग कपडा बुन्न सक्थेँ ।’ उनको त्यो सपनालाई सार्थकता दियो जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को लागि जर्मन विकास सहयोग (जिआइजेड) को सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले । उनका लागि यो तालिम ‘ढुङ्गा खोज्दा देउता पाए’ जस्तै भयो । उनले तुरुन्तै आफ्नो गाउँपालिकासँग समन्वय गरी तालिममा आफ्नो सहभागिता सुनिश्चित गराइन। सो कार्यक्रममार्फत लोधुम्वाखोला लघु जलविद्युत् आयोजना क्षेत्रका महिला तथा पिछडिएका वर्गहरुलाई लक्षित गरी गत भदौ १७ देखि २३ गतेसम्म अल्लोको धागो निकाल्ने र कपडा बुन्ने तालिम सञ्चालन गरेको थियो । सदरमुकाममा रहेका घरेलु उद्योगहरुको अध्ययन गर्दा त्यहाँ तानबाट अल्लो कपडा बुन्ने उद्योगहरु भए पनि यस्ता उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चा पदार्थ अल्लो धागो उत्पादन हुने गरेको थिएन । सात दिनसम्म सञ्चालन भएको तालिममा उनमा अल्लो बनाउने सीपको राम्रो विकास हुनसक्यो । यसले उनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास अझ बढेर आयो । तालिमपश्चात् अझ हौसिएकी लाप्साङले बिहान बेलुका धागो कात्ने र त्यही धागोबाट कोट र सलका कपडा बुन्ने कामलाई पुनः निरन्तरता दिएकी छन् । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको स्थानीय विपना गुरुङको भनाइ छ । लाप्साङ, विपना गुरुङ, सुकमाया शेर्पा मात्र होइनन् उक्त तालिम पाएपछि उनीहरूसँगै १२ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको मात्र होइन, स्वरोजगार र उद्यमी बन्ने अवसर जुरेको छ । उनीहरुले तालिम लगत्तै गाउँपालिकामा आफ्नो व्यवसाय पनि दर्ता गराएका छन् । तालिममा उनीहरुलाई अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्सलगायतका पोशाक र सामान बनाउने सीप सिकाइएको थियो । लाप्साङले आफूले बुनेका विभिन्न कपडाहरु फुङ्गलिङ बजारमा र छिमेकी जिल्लाहरुमा आयोजना हुने महोत्सवहरुमा विक्री गर्दै आएकी छन् । मिहिनेत र उद्यमबाट राम्रो सफलता पाउन सकिन्छ भन्ने राम्ररी बुझिसकेकी लाप्साङले आफ्नो उत्पादन बढाउने तान र धागो कात्ने मेसिन खरिदका लागि करिब रु एक लाख लगानी गरेको बताउछिन् । अल्लोबाट धागो निकाल्ने र यसबाट कपडा बनाएर बेच्दा राम्रो कमाइ गर्न सकिनेमा उनी विश्वस्त छिन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन् , ‘यसरी महिलाहरुले आफ्नै सीपबाट केही आयआर्जन गर्न सके घरपरिवार चलाउन सहज हुने र आत्मसम्मान हुने रहेछ् ।’ अल्लोको रेशाबाट धागो बनाउने र सोबाट बनेको विभिन्न किसिमका कपडाको हाल निकै माग छ । पछिल्लो समय अल्लोको कपडा सूती जस्तै तथा प्राकृतिक रेशाबाट बन्ने भएकाले यस प्रति जनमानसको आकर्षण बनेको छ । अल्लो बाट बुनेका कपडाको स्थानीयको साथै वैदेशिक माग पनि उच्च रहेको देखेपछि तालिममा सहभागी प्रायः सबैले यसलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । अल्लोको कपडा बुन्नको लागि कुनै विशेष प्रकारको प्रविधिको आवश्यकता नपर्ने साधारण हाते तानद्वारा चलाउन सकिन्छ । कार्यक्रम सञ्चालन भएका पालिकाहरुमा सामाजिक र आर्थिक रुपमा पछाडि पारिएका महिला र सिमान्तकृत वर्गलाई नवीकरणीय ऊर्जामा आधारित सानातिना व्यवसाय गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले स्थानीय निकायहरुसँग समन्वय गरी डेरी, हर्बल साबुन, बेकरी, सोलार मर्मतसम्भारलगायत विभिन्न आयमूलक तालिम सञ्चालन गरिएको जनाइएको छ । रासस
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री
विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका हुन् । उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ । अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताए। उनले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरे। उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवद्र्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरका लागि सरकारले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गरे । सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगीहरु भीम घिमिरे, शङ्कर अग्रवाल, नन्दकिशोर राठी र प्रकाश मुन्दडाले आफ्ना भनाइ राखेका थिए ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट योजना ल्याएको छ । सम्झौतापछि बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले विशालनगरस्थित आरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत (कपाल रोप्ने र कपाल झर्ने रोगको उपचार) छुट उपलब्ध हुने छ । यसबाहेक इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवीको बुँइगल लाउन्ज एण्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाटको एल्लो हात्तिका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी र मैतिदेवीको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा १० प्रतिशत छुट हुने छ। यस्ता सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री तुम्लिङ्टारमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन्। अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी सङ्खुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन् । प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, सहानुभूतिका साथै उद्धार र राहत तथा बेपत्ताको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी सङ्घसंस्थालाई अपिल गरे । उनले तत्काल सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए । प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उनका साथमा छन् । प्रधानमन्त्री दाहालले आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिनेछन् ।
हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर, कति पर्छ मूल्य ?
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक सँग साझेदारी गरि यस्तो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो बर्ष को लागि) हुन्डाइ कोना र आईओएनआईक्यू ५ खरिद गर्न सक्ने हुन्डाइले जनाएको छ । बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने जनाइएको छ । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कोना ३ वटा भेरियन्टमा उपलप्ध छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । साथै,आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजारको मूल्यमा उपलब्ध छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिए । उनका अनुसार हाल प्रतिमहिना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले रु २६ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताए । राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ । माछापुछ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आर्थिक कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । सो अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । रासस