विकासन्युज

सिटिजन्स बैंकका ग्राहकले वेबोर होम अप्लायन्समा २० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा दुई संस्थाले हस्ताक्षर गरेका हुन् । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले हाल १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सनराइज बैंकले गर्यो पशुपालन र आलु खेती सम्बन्धी तालिम

काठमाडौं । सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानीमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो । त्यसै गरी कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए । यस तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो ।

असार ८ गतेदेखि ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै, विभिन्न देशका आईसीटी विज्ञ आउने

काठमाडौं । असार ८ र ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ को हुने भएको छ । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)को आयोजनामा हुने कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)को पनि आयोजना गर्ने भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आईसीटी फाउन्डेसन नेपालले कन्क्लेभबारे जानकारी दिएको हो । उक्त कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्ति रहने छन् । दुई दिने कन्क्लेभमा जापान, दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने बताइएको छ । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चारवटा किनोट र मन्त्री रेखा शर्मासँग पावर संवाद सेसन हुने छ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरु रहेका छन् । त्यस्तै, दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् । कन्क्लेभसँगै अलगरूपमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा ह्वावेले मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने छ । मोबाइल कंग्रेसमा सहभागीले ५ जी एआईसँगै नयाँ प्रविधिहरूको जानकारी पाउने छन् । हावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा छ, त्यसैमा रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको छ ।

तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए । आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी रु तीन करोड ८५ लाख ५१ हजार सात सय ४० बराबर रहेको छ । सो अवधिमा राजभण्डारीले रु सात करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ । सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक दिनमा रहेर पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ । आरोपी राजभण्डारी र उनकी श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।  रासस

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बिच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए । उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे । त्यसैगरि उक्त कार्यक्रममा बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासंग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

चार दलले घोषणा गरे समाजवादी मोर्चा, ७ बुँदे घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले समाजवादी मोर्चा घोषणा गर्दै ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने बताइएको छ ।

‘आयातमा मात्र आलु प्याजमा भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन’

विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस् र नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन,’ डा. महतले भने । ‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकासित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवद्र्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ ।’ कार्यक्रममा अर्थमन्त्रीले भने, ‘हाम्रो अर्थतन्त्रमा समस्याहरु छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पूँजीगत खर्च कम भइरहेको छ । साधारण खर्च घटाउन सकिएको छैन । हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ । विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिवद्धता गरें, त्यो प्रतिवद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं ।’ ‘पूँजीगत खर्च २ खर्ब विनियोजन भएको छ, हाम्रो ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको हो । भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भयो । जसले गर्दा साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आयो, मन्त्री डा. महतले भने, ‘जसले गर्दा हामीले पूँजीगत खर्चका लागि १७ प्रतिशत मात्र बजेट विनियोजन गर्न सक्यौं ।’ ‘वास्तविक पूँजीगत खर्च २७ प्रतिशत छ । साधारण खर्चकै शीर्षकमा प्रदेश र स्थानीय तहलाई दिने, स्वास्थ्य र शिक्षाको शीर्षकमा पनि पूँजीगत खर्चबाटै गरिनेछ । यो जोड्दा २७ प्रतिशत पूँजीगत खर्च पुग्छ, मन्त्री डा. महतले भने, ‘पूँजीगत खर्चमा सुधार गर्नु पर्दैन भन्ने मेरो मान्यता होइन । पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता छ । विनियोजित पूँजीगत खर्चलाई प्रभावकारितालाई बढाउन जरुरी छ । मलाई विश्वास छ, आउँदो वर्ष हामी पूँजीगत खर्च बढी गर्न सक्छौं, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । अर्थतन्त्र चलायमान भयो भने राजस्व वृद्धिमा सहयोग पुग्छ ।’ ‘व्यवसायहरुको माग तीनवटा छन्, यो स्वभाविक हो, यो वर्षको अन्त्यमा आएर ब्याजदरमा सुधार आउन सक्छ, पूँजीगत खर्च र मौद्रिक नीतिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्छ, अहिले अर्थतन्त्रलाई चलायमान राख्न सकियो भने हामी अर्को वर्ष पूँजीगत खर्च बढाउन सक्छौं’, मन्त्री डा. महतको भनाइ थियो । ‘पूर्व-पश्चिम राजमार्गमा धेरै श्रोत परिचालन भएको छ । यति धेरै खर्चलाई हाम्रो ठाउँमा खर्च भएको मान्न कोही तयार छैनन् । मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाबकिताब हुन्छ । हाम्रा सांसदहरुको प्रश्न पनि त्यसैमा केन्द्रित रहन्छ’ मन्त्री डा. महतले भने। विश्व बैंक र एसियाली विकास बैंकको सहयोग श्रोत पश्चिम दाङको लमहीदेखि पूर्व काँकटभिट्टासम्म निर्माणमा खर्च हुँदैछ । बजेटले कोशी प्रदेशलाई समेटेको छ भनेर हिसाब राख्न उनले अनुरोध गरे । उनले भने, ‘पूर्वपश्चिम विस्तार सडक र उत्तर-दक्षिणको सडक निर्माणले यो क्षेत्रको कायापलट हुन्छ भन्ने मलाई विश्वास छ । साथै विराटनगरको रिङरोडले विकासमा यो महानगरलाई विशिष्ट स्वरुप दिन मद्दत पुग्नेछ ।’ हालै सार्वजनिक भएको बजेट महान हो म भन्दिनँ, दुई महिनाको अवधिमा बजेट बनाएको हो, उनले भने, ‘सिस्टमलाई रुपान्तरण गर्न धेरै कुराको अभ्यास हुन जरुरी छ । त्यो अभ्यास गर्ने समय मसँग थिएन । जति समय मैले प्राप्त गरें, त्यो समय मैले भरपूर उपयोग गरेर इमान्दारीपूर्वक बजेट तयार गरेको हुँ ।’ रासस

सर्लाहीको गैरमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन भएको छ । साेमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्सका संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरे । फाइनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक सुजन अधिकारीको सभापतित्वमा कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्यण राय विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे । कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।