अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन
काठमाडौं । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले दिएका हुन् । उनले भारतले बनाएको नयाँ संसद भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए । उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए । मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन बुझाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे। उनले अखण्ड भारतको नक्सा भन्दा पनि चित्र भएको बताए । उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारीक जानकारी नआई बोल्न नमिल्ने भएकाले जानकारीमा नभएको बताएको स्पष्ट पारे । उनले दुई देशको संवेदनशिल विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए । ‘सरकार नेपालको नक्साको बारेमा स्पष्ट छ । नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा नै दोस्रो पटक संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारीमा छ । हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन’ उनले भने, ‘ संविधान संशोधन गरेर संसदले पास गरेको छ । संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएकोले सरकार र जनताको प्रतिवद्धता स्पष्ट छ । नवनिर्मित भारतीय संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा म्युरलमा समराट अशोकको समयमा फैलावट जनाईको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु ।’ नेपाल सरकारले भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट जानकारी गराउन चाहेको उनले बताए ।
यूके जाने नेपालीको मेडिकल जाँच अब नर्भिक हस्पिटलमा पनि
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ । काठमाडौंस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो । नर्भिकसँगै यूके जानेहरुको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन(आइओएम)मा पनि हुनेछ । अष्ट्रेलिया जानेहरुको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् । सम्बन्धन पाएसँगै नर्भिकले यूके जानेहरुको स्वास्थ्य जाँचको सुरुवात गरेको छ । अब यूके जानेहरुले नर्भिकमा मेडिकल जाँच गराउनका लागि अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन् । अनलाइनमा देखिने खालि स्लटहरुमा आफूलाई उपयुक्त डेट बुक गरेपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेछ । काठमाण्डौको पायक पर्ने स्थान थापाथलीमा रहेको नर्भिक अस्पतालमै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि यसले यूके जानेहरुलाई सजिलो भएको सरोकारवालाहरुको प्रतिक्रिया छ ।
एक महिनापछि बिक्री हुँदै कृषि बीमालेख, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने चेतावनी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि अर्थात असार ४ गतेदेखि सुचारु भएको हो । कम्पनीहरुले बारम्बार पहल गर्दा पनि सरकारले दिनुपर्ने अनुदान रकम नदिएको भन्दै उनीहरुले गत जेठ ७ गतेदेखि उक्त बीमालेखको बिक्री बन्द गरेका थिए । हाल भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आँशिक रकम उपलब्ध गराउने प्रतिवद्धता गरेकोले संघले बिक्री खुला गर्ने निर्णय गरेको हो । गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ । यससँगै बीमक संघले आगामी असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको छ । यदि उक्त समयभित्रमा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघको चेतावनी छ । नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । बीमक संघका अनुसार सरकारले २०७७ सालदेखिको कृषि बीमाको अनुदान बापत करिब ३ अर्ब रुपैयाँ दिन बाँकी रहेको छ ।
टाटा मोटर्सका गाडी किन्न फाइनान्सिङ सुविधा ३ दिनभित्रै उपलब्ध हुने
काठमाडौं । सवारी कर्जा लिएर टाटाका विद्युतीय गाडी खरिद गर्न चाहनेले फाइनान्सिङ सुविधा छिटो पाउने भएका छन् । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो । कम्पनीले टाटाको इभी नेक्सन र टिगोर किन्ने ग्राहकहरुका लागि छिटो, सरल र सहज फाइनान्सिङको सुविधा ल्याएको जनाएको छ । यस्तो सुविधा देशभरका सिप्रदीका कार्यालय तथा डिलरबाट उपलब्ध हुनेछ । कम्पनीका अनुसार विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै हुनेछन् । उक्त फाइनान्सिङ नेपालभर फैलिएका विभिन्न ‘क’ वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टाटा मोटर्सका विद्युतीय गाडी किन्न चाहनेलाई छिटो तथा सरल फाइनान्सिङ सुविधा दिन एभरेष्ट, नबिल, एनएमबि, ग्लोबल आईएमई तथा प्रभु बैंकसँग सिप्रदीले समझदारी गरेको छ । इभी प्रयोगकर्ताका लागि २० स्थानमा फास्ट चार्जिङ स्टेसनदेखि उच्चस्तरीय २३ स्थानमा सर्भिस सेन्टर विस्तार भइसकेको सिप्रदीले जनाएको छ । यो वर्ष चार्जिङदेखि सर्भिस स्टेशन अझ थप्ने सँगसँगै जनशक्तिको दक्षतालाई अझै बढाएर इभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको पनि निर्माण गर्ने कम्पनीको योजना छ ।
‘घरजग्गा क्षेत्रमा सफल भएँ, अब पर्यटनमा जम्छु’
घरजग्गा क्षेत्रमा एक सफल व्यवसायीको छवि बनाएका व्यक्ति हुन् रामसुन्दर बके । नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव समेत रहेका उनी घरजग्गा क्षेत्रमा लामो अनुभव सम्हालेर अहिले पर्यटन क्षेत्रमा व्यस्त छन् । रानिकोटमा भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष समेत रहेका उनी अहिले कुशल पर्यटक व्यवसायीका रुपमा पनि परिचित छन् । विभिन्न निकायसँगको सहकार्य गरेर पर्यटन व्यवसायीको विकास विस्तार र यो क्षेत्रमा थप भविश्य खोजिरहेका बकेसँग वर्तमान घरजग्गा र पर्यटन व्यवसायसँगै उनको व्यक्तिगत व्यवसायिक जीवनको विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् । पछिल्लो समय कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा एक किसिमको समस्या सिर्जना भयो, अहिले केही सुधार भइरहेको भन्ने सुनिन्छ नी ? सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ अर्थात् पर्यटन वर्षको रूपमा घोषण गरेको थियो । त्यो बेला व्यवसायी साथीहरू उत्साहित थिए । होटलमा आन्तरिक तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने भयो भने व्यवसायीहरूमा एक किसिमको खुसी छाएको थियो । व्यवसायीहरूले लगानी बढाएर तयारी अवस्थामा थिए । सोही समयमा विश्वव्यापी रुपमा कोभिड–१९ फैलियो । र, हाम्रो उत्साह निरासामा परिणत भयो । कोभिडले हामीलाई झन्डै २ वर्ष थला पार्यो । मेरो आफ्नो चाहिँ आन्तरिक पर्यटनसँग लक्षित व्यवसाय छ । यो व्यवसाय पनि कोभिडपछि लयमा फर्कँदै थियो । सोही बेला रुस र युक्रेन बिचको दन्द्ध चर्कियो । जसका कारण देश मात्र नभई विश्वव्यापी आर्थिक मन्दी छायो । अहिले पर्यटन व्यवसाय खुसी तथा निरास हुने अवस्थामा छैन । पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल केही बढेको पाएका छौं । पर्यटन व्यवसायमा सुधारका संकेतहरु देखिन थालेका छन् । तपाईंको विगततर्फ फर्किऔं, तपाईं घरजग्गा व्यवसायी । त्यो क्षेत्रबाट पर्यटनमा तपाईंको प्रवेश कसरी भयो, पर्यटन क्षेत्रतर्फ लाग्नु पर्छ भन्ने किसिमको मानसिकता तपाईंको मन मस्तिष्कमा कसरी आयो ? म यो क्षेत्रमा कसैले आउनु पर्छ भनेर आएको होइन । मेरो इच्छा र चाहनाले मलाई यहाँसम्म डो¥याएको हो । नेपालमा व्यवसाय गर्नु छ भने पर्यटन व्यवसाय नै उपयुक्त हो । नेपालको परिवेश अनुसारको उपयुक्त बिजनेस यही ठहर गरी लागेको हुँ । मान्छेहरू व्यवसायसँग जोडिन थालेपछि जहाँ धेरै व्यवसाय छ, त्यहीँ होमिने अभ्यास छ । काठमाडौं नजिकैको पर्यटकीय स्थल भनेर नगरकोटलाई चिनिन्छ । व्यवसायीहरू पनि होटल सञ्चालन गर्नु छ भने नगरकोटमा गर्नु पर्छ भन्छन् । अनि अर्को चर्चामा आएको स्थान हो ककनी । त्यहाँ बाहेक काठमाडौंमा अन्य पर्यटकीय गन्तव्य छैन । अरूले मेला लगाएको ठाउँमा किन जाने ? आफै मेला लगाउने भन्ने उद्देश्य सहित म लागेको हुँ । भक्तपुरको रानीकोटमा मैले होटल खोल्ने योजना सहित २०६० सालमा जग्गा किनेँ । त्यो भन्दा अगाडी चितवनको सौराहा होटल खोल्ने योजना बनाएँ । काम पनि सुरु भइसकेको थियो । त्यहाँका साथीभाइले मलाई आफ्नो ठाउँमा काम नगरेर तिमी यहाँ किन आउने, कि बसाइसराइ गरेर आऔं, नयाँ ठाउँमा काम गर्दा डुब्न सक्ने सम्भावना छ लगायतका कुरा गर्न थाले । मेरो इच्छा थियो । चाहे त्यो जुनसुकै ठाउँमा किन नहोस् । त्यसपछि सोचें, रानिकोटमा पनि जग्गा छ, अब त्यही बनाउने रिसोर्ट । सौराहा होटल बनाउने योजना साथ पुगेको मान्छे त्यहाँ छोडेर रानिकोटमा बनाउने निर्णय गरेँ । रानिकोटमा होटल बनाउँदा पनि मलाई साथी भाइ, आफन्त तथा शुभचिन्तकहरुले पनि राम्रो गर्याे भनेर कसैले पनि भनेनन् । उल्टै त्यहाँ लगानी गरेर तिमी फस्यौ भन्ने किसिमको प्रतिक्रिया दिए । नगरकोट, सौराहा, जस्ता मुख्य स्थानमा होटल खोलेको भए ठिक हुन्थ्यो भन्ने धारणा राखे । त्यतिखेर काम गर्दै, कुरा सुन्दै गइयो । तर, अहिले रानिकोट पर्यटनको हब भएको छ । हामी काम गर्दै जाँदा सफल भएको महसुस गरेका छौं । अहिले आन्तरिक वा वाह्य पर्यटनको लागि रानिकोट परिचित स्थानको रूपमा स्थापित भएको छ । हामी यस पटक दक्षिण एसिया अवार्ड पनि सहित पुरस्कृत पनि भएका छौं । सार्क मुलुकको भित्रको घुम्न योग्य ठाउँका रूपमा चिनाउन पाउँदा गर्व लाग्छ । अहिले रानिकोटमा पर्यटकको चहलपहल कस्तो छ ? रानिकोट चर्चित पर्यटकिय गन्तव्यको रूपमा विकास भइसकेको छ । अहिले नगरकोटका होटल व्यवसायीले रानीकोटले हामीलाई सुकाइदियो भन्छन् । मलाई त्यो बेला गर्व लाग्छ । मैले सही निर्णय गरेर सही काम गरेछु भन्ने लाग्छ । रानिकोट प्राकृतिक रूपमा पनि निकै सुन्दर ठाउँ । उपत्यका भित्रका जुनसुकै ठाउँबाट आउँदा पनि एकदेखि डेढ घण्टाको बीचमा रानिकोट पुगिन्छ । नगरकोटमा पुग्न त्यो भन्दा बढी समय समय लाग्छ । पुग्दा पुग्दै रमाइलो गर्ने समय नै बचेको हुँदैन । रानिकोटबाट विभिन्न ठाउँका हिमालहरू पनि नजिकैबाट नियाल्न सकिन्छ । उपत्यकालाई नियाल्दै भक्तपुरका प्रमुख तथा ऐतिहासिक ठाउँको अवलोकन गर्न पाइन्छ । साँस्कृतिक तथा ऐतिहासिक ठाउँ हो रानिकोट । मेरो रोजाइलाई पर्यटकहरूले मनन गरी योग्य ठाउँ छ भनेर ग्राहकले सेवा दिने मौका दिएका छन् । नयाँ क्षेत्र घुम्न र पहिचान गर्न रानिकोट एउटा सुन्दर गन्तव्य हो । कुनै पनि काम सफल भए साहसिक हुन्छ । असफल भए दुस्साहस हुन्छ । मान्छे असफल भयो भने नराम्रो काम गर्याे भन्ने कुरा आउँछ । शुभचिन्तकतक भएको हिसाबले नयाँ व्यवसायमा लाग्दा फसिन्छ भनेर त्यो भनेको पनि हुन सक्छ । आज सफल भएकोले मैले गरेको काम साहसिक बन्यो । आज रानिकोट कसले बनायो भन्दा मेरो नामसँग जोडिन्छ । एउटा घरजग्गा व्यवसायीको रुची एकाएक पर्यटन व्यवसायमा कसरी गयो, पयर्टन क्षेत्रमा फड्को मार्ने यही नै सही समय हो भनेर आत्मानुभुति कसरी गर्नुभयो ? हामीले हिजो अभिभावकको गाइडलाइन पाएनौं । हामी आफैले क्षेत्रको छनोट गरी व्यवसाय सुरु गर्यौं । हामीले यी सबै कुरा बुझेका छौं । आफ्नो सन्तान छोराछोरीलाई बेलैमा रोजगारी तथा व्यवसायमा जोड्नु पर्छ भन्ने मेरो सोचाइ थियो । हाम्रो भक्तपुरमा २०३० सालमा चिउराको मिल थियो । र, २०३२/३३ सालमा एउटा राइस मिल पनि सञ्चालनमा ल्यायौं । हाम्रो पारिवारिक वातावरण नै व्यवसायिक थियो । वातावरण नै व्यवसायिक भएकाले हामीलाई व्यवसाय तर्फ प्रेरित गर्याे । त्यसैले आफू पनि व्यवसायमा जोडिएको नाताले सन्तानलाई पनि व्यवसायमा नै जोड्नु पर्छ भन्ने मनसाय थियो । हाम्रो सन्तानले आफूले गरेको व्यवसाय नगर्न सक्छन् । समय सापेक्षित व्यवसाय गर्न खोज्छन् । त्यो व्यवसाय पनि पर्यटन नै हुन सक्छ । त्यसैले मैले छोरालाई पनि बेलैमा यस क्षेत्रसँग आबद्ध गराएको हुँ । तपाईंको बिचारमा उच्च शिक्षा पढेर गरेर एक किसिमको योग्यता हासिल गर्नु राम्रो वा सानैदेखि आफ्नै व्यवसाय गर्नु राम्रो ? हरेक व्यवसाय गर्नको लागि शिक्षा चाहिन्छ । पूर्ण शिक्षा भइसकेपछि मात्र व्यवसायमा सफलता पाउन सकिन्छ । मेरो पहिलो प्राथमिकता शिक्षा नै हो । छोराले स्नातक तह पार गरिसकेको छ । स्नातक तह पास गरेर मात्र उसलाई मैले व्यवसायमा जोडेको हुँ । नेपालमा पर्यटनको अथाह सम्भावना छ भनिन्छ, सरकारले अबको एक दशकलाई पर्यटन दशकको रूपमा घोषणा गरेको छ, देशमा पर्यटकीय गतिविधिहरू बढाउनको लागि के गर्न आवश्यक छ ? यो देशको सम्वृद्धिमा पर्यटन क्षेत्रको भूमिका कस्तो हुन सक्छ ? पर्यटन वर्ष मनाउने भन्दै सरकारले बजेट मार्फत घोषणा गरेको छ । पर्यटन दशक मनाउनु गौरवको विषय हो । किनभने यस क्षेत्रको लागि सम्भावना एउटा ठोका खुल्ला हुनु हो । म पर्यटन व्यवसायमा पृथक धारण राखेर हिँडेको मान्छे हुँ । मेरो उद्देश्य ग्रामीण पर्यटनलाई उत्थान गर्नु हो । ग्रामीण पर्यटन र कृषि नै पर्यटनको. प्रमुख आधार हुन्छ । पर्यटन क्षेत्रबाटै देशको आर्थिक उन्नति गर्नुपर्छ । मेरो एउटा अभियान छ, ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँ होमस्टे गाउँमै रोजगार ।’ सरकारले बजेट मार्फत नै वार्षिक २÷३ लाख जनालाई रोजगारी दिने भनेको छ ।राज्यलाई त्यो रोजगारी सिर्जना गर्न गाह्रो होला । तर, मेरो नजरमा त्यो काम पुरा साह्रै सजिलो छ । किनभने प्रत्येक घरलाई पर्यटनसँग जोड्ने हो भने प्रत्येक घरमा रोजगार भयो । गाउँघरमा होम स्टेलाई फस्टाई आन्तरिक तथा विदेशी पर्यटनलाई त्यहाँसम्म पुर्याउन सक्यो भने त्यसको लाभ सबैले लिन सक्छन् । पर्यटनसँग कृषि पनि जोडिएको भएकाले कृषकलाई पनि प्रत्यक्ष फाइदा पुग्छ । पर्यटन गाउँमा नै पुग्ने हो भने कृषि उपहज पनि गाउँमै खपत हुने भयो । बजारसम्म पनि ल्याउनु परेन । बिचौलियाको पनि समस्या भएन । सिधै रकम पनि कृषकको हातमा पुग्ने पर्याे । यस्तै मैले अर्को सोच बनाएको छु, ‘गाउँमै कमाऊँ गाउँमै खाऊँ, गाउँमै बनाऊँ, गाउँमै रमाऊँ ।’ गाउँमा सम्भावना अथाह छ । अहिलेको पर्यटन गाउँ लक्षित नै हो । त्यहाँसम्म पुग्नको लागि आवश्यक पूर्वाधार चाहिँ सरकारले तयार गरिदिनु पर्याे । गाउँमा पनि त्यही अनुसारको सेवा सुविधाहरू उपलब्ध हुनु पर्याे । नेपालमा विदेशी पाहुना राख्न सक्ने क्षमता ३० लाख छ । केही वर्षपछि यो क्षमता बढेर ५० लाख पुग्न सक्छ । राज्य पर्यटक दशकको मनाउँछ, १०/२० लाख पर्यटकको आशा गर्छ । पर्यटन नेपाल कति भित्र्याउने भनेर सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपालको पर्यटन दशक सफल हुन्छ । तपाईं लामो समय घरजग्गा व्यवसायमा व्यस्त हुनु भयो, पछिल्लो समय पर्यटन व्यवसायमा अभ्यस्त हुनुहुन्छ, यी दुई क्षेत्रमध्ये कुन क्षेत्र उचित देख्नु भयो, तपाईको नजरमा कुन क्षेत्र सम्भावना युक्त क्षेत्र हो ? म घरजग्गा व्यवसायमा ४८÷४९ साल तिर लागेको हुँ । यस क्षेत्रमा काम गर्ने वातावरण छैन । स्पष्ट नीति नियम पनि छैन । घरजग्गामा लगानी धेरै हुन्छ । पुँजी जुटाउन पनि गाह्रो भयो । कहिले कित्ताकाट गर्न पाउने, कहिले नपाउने अवस्थाको सिर्जना भयो । टेबुल मुनिबाट गयो भने कित्ताकाट गर्न पाउने माथिबाट गए नपाउने जस्ता समस्या भएको कारणले गाह्रो भएको हो । घरजग्गा व्यवसाय तुलनामा सजिलो पेशा देखेको मैले पर्यटन व्यवसाय नै हो । पर्यटन व्यवसाय खुसी साट्ने पेशा हो । तपाईं हप्ता वा महिना दिनको कामको ह्याङ लिएर आनन्द लिन हाम्रो होटलमा पुग्नु हुन्छ । त्यहाँ बसेर तपाई खुसी भएको देख्दा हामी पनि खुसी हुन्छौं । पर्यटन व्यवसाय खुसी साट्ने तथा खुसी दिन सक्ने पेशाको रूपमा मैले लिएको छु । लामो समय घरजग्गामा मन्दी देखियो तर केही समय यता सुधार भइरहेको सुनिन्छ, घरजग्गा क्षेत्रमा मन्दी आउँदा सबै क्षेत्र सुस्त बने, घरजग्गा त्यस्तो के रहेछ, जसले सबैलाई थला पार्यो ? घरजग्गामा राज्यले नै मन्दी निम्त्याएको हो । बाहिरको प्रभावले घर जग्गामा मन्दी भएको होइन । सरकारले भुउपयोग नियमावली लागू गरे पश्चात् यस क्षेत्रमा मन्दी छाएको हो । जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट भयो । कित्ताकाट भएको जग्गामा बिक्री भए, घर बनाउनेले घर बनाए, बिक्री गर्नेले बिक्री गरिसके । नयाँ किनबेच बन्द भयो । सरकारले करिव ६ महिना जति कित्ताकाटमा रोक लगायो । र, कित्ताकाट बन्द हुने बित्तिकै हरेक व्यवसायमा समस्या पर्याे । सरकारले यस क्षेत्रलाई अनुत्पादन मूलक क्षेत्रको रूपमा हेर्छ । लगानी गर्नु हुँदै भन्छ । घरजग्गा व्यवसाय शुद्ध नेपाल भित्र मात्र हुने व्यवसाय हो । कुनै सामान विदेशबाट ल्याउनु पर्ने भने यहाँको मुद्रा विदेश जान्छ । तर, यसमा तपाईंले किन्ने मैले बेच्ने पैसा बाहिर पनि गएन । मन्दीको दोष जति घरजग्गालाई थुपारिएको छ । अर्थतन्त्रमा सुधार ल्याउनु छ भने विलासिताको वस्तुको आयात बन्द गर्नु पर्छ । अति आवश्यक वस्तुहरू आयात गर्नु पर्छ । हाम्रो आयातमुखी अर्थतन्त्र भयो । भन्सारबाट धेरै सामान भित्रिए मात्र बढी मात्रामा राजश्व संकलन हुने भयो । राज्यले उत्पादनमुलक अर्थनीति ल्याउनु पर्छ । सरकारले देश भित्र नै उद्योग तथा कलकारखाना खोल्ने नीति ल्याउनु पर्याे अनि मात्र अर्थतन्त्रको विकास हुनेछ । नेपालमा जग्गा किन्ने भनेको खाडी मुलुकमा गएका मजदुरले हो । उहाँहरूले मजदुरी गरेर ल्याएको पैसाले व्यवसाय गर्न सक्नु हुन्न । ठूलो व्यवसाय गर्न सक्ने पुजी हुँदैन । विदेश गएका युवा तथा दूरदराजबाट आएकाहरूले शहरमा घर बनाउने कल्पना गर्छ । सुगम ठाउँमा घर बनाउने छोराछोरीलाई राम्रो शिक्षा दिने नेपालीको चाहना हो । त्यो ब्रेक हुने बित्तिकै त्यो पैसा रोकिने भयो । जग्गाको कित्ताकाट खोल्ने बित्तिकै ७÷८ खर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । जग्गाको कित्ताकाट नहुँदा रेमिट्यान्स पनि कम मात्रामा भित्रिएको थियो । अहिले हामीले पनि अलिकति मन्दी हटेको हो कि भन्ने महसुस गरेका छौं । ग्राहकहरूको हिजोको खर्च गर्ने तरिका र आजको खर्च गर्न परिपाटी बढेको पाएका छौं । घरजग्गा व्यवसायीलाई हेर्ने सर्वसाधारण र सरकारको नजर अलि बेग्लै छ, घर घडेरी सबैलाई चाहिने तर त्यही व्यवसाय गर्ने व्यवसायीलाई हेर्ने नजर पजर किन यस्तो भयो ? घर जग्गा व्यवसायीलाई दलालको दृष्टिकोणले समाजमा हेर्छन् । मूल्य तय गर्ने एक आपसको वार्तालाई दलाली भनिन्छ । अर्थात् क्रेता र बिक्रेता बिचको वार्तालाई तथा मूल्य घटबढको शब्दलाई दलाल भनिँदो रहेछ । दलाल भन्ने शब्दले मान्छेलाई दख पुग्छ । काठमाडौंमा एउटा सानो नाङ्लो पसल राख्नेलाई साउँजी भनेर सम्बोधन गरिन्छ । आफ्नो लगानी गरेर जीवन भनेर पढेको शिक्षा अनुभव दाउमा लाएर व्यवसाय गर्नेलाई राज्य र जनताले दिएको नाम दलाल । घरजग्गा व्यवसायीलाई दलाल भन्नु गलत हो । अरू व्यवसायीलाई जसरी कमाए पनि सम्मानका साथ यहाँ हेरिन्छ । घरजग्गाको मूल्य पनि असाधारण छ, अहिले १० लाखमा किनेको जग्गा आउँदो वर्ष २० लाख रुपैयाँको भइदिन्छ, यो किसिमको मूल्यवृद्धि कसरी र किन हुन्छ ? घरजग्गालाई यति नै मूल्य भनेर राज्यले तोकिदिएको छैन । उत्पादनभन्दा बढी खरिदकर्ता भएपछि मूल्य बढ्ने नै भयो । घरजग्गाको लागि राज्यले योजना बनाएर ठूलो प्लानिङ गरिदिनु पर्याे । देशका ३० देखि ४० लाख युवा विदेशमा छन् । विदेशमा गएका युवाले किन्ने भनेको जग्गा हो । सरकारले वार्षिक घर जग्गाको कारोबार कति भयो भनेर डाटा बनाउनु पर्याे । वार्षिक कति जग्गा किनबेच भयो भनेर डाटा नहुनाले पनि समस्या भयो । सरकारले निजि क्षेत्रलाई काम गर्न वातावरण बनायो भने मात्र जग्गाको मूल्य सस्तो हुने भयो । हामीसँग घडेरी थोरै छन्, ग्राहक धेरै छन् । जग्गा कित्ताकाटमा छैन । त्यसैले पनि जग्गाको मूल्य मनपरी भयो । काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ शहर बनाउने भन्दै उपत्यका भित्रको डेढ लाख रोपनी जग्गाको कित्ताकाट रोकेर बसेको छ । कित्ताकाट रोकेको लामो समय हुँदा पनि काम अगाडि बढ्न सकेको छैन । यसमा निजी क्षेत्र सहकार्य गरेर काम गरेका भए धेरै हदसम्म सहज हुन्थ्यो । काम पनि अगाडि बढ्थ्यो । आज बजारमा सिमेन्ट बिक्री नभएर सिमेन्ट उद्योग बन्द भयो । निर्माणसँग जोडिएका उद्योग घर जग्गासँग जोडिने हो । यसलाई राज्यले अनुत्पादक क्षेत्र भन्छ । नेताहरू विदेशबाट पठाएको पैसाले घर नबनाउनु जग्गा नकिन्नु भन्दै भाषण गरेको सुन्छु । त्यसो भए गर्ने के ? उसले ल्याएको पैसाको ग्यारेन्टी केमा छ । सुन चोरी होला भन्ने डर । सेयर मार्केटमा लगानी गरौं जानेको छैन । उसले कमाएर ल्याएको पैसाको सुरक्षा जग्गा नै हो । यो चारी पनि हुँदैन, हराउँदा पनि हराउँदैन । घरजग्गालाई व्यवसायलाई सम्मानित पेशा बनाउनको लागि निजि क्षेत्र व्यवसायीहरू लागेका छौं । भविष्यमा घरजग्गा व्यवसाय दलालको रूपमा चिनिने छैन । विकासकर्ता अथवा साहुजीको भाषा सम्बोधन हुन सक्छ । साहुजी र विकासकर्ताको भाषा सम्बोधन गर्नको लागि परेका छौं । तपाईं लामो समयदेखि घरजग्गा व्यवसायमा काम गरेर पर्यटनमा हात हाल्नु भएको छ, यी दुवै क्षेत्रलाई समेटेर अगाडि बढ्नु हुन्छ वा बेग्लै रणनीति छ ? आफूले जानेर गरेको पहिलो व्यवसाय घरजग्गा हो । यो छोड्ने कुरा भएन । हामी जस्ता निम्न पुँजी भएका विकासकर्ताले अब काम गर्न सक्दैन । म चाहिँ ग्रामीण क्षेत्र तिर जग्गा खोजीरहेको छु । सस्तो ठाउँमा नयाँ शहर बनाउने खोजीमा छौं । नयाँ गन्तव्यको खोजीमा छौं । तराइ पनि भरिसकेको छ अब पहाडमा प्लानिङ गर्ने सोचमा छु । पहाडी क्षेत्रमा शहर बाउन सक्यो भने घरजग्गा व्यवसायीहरुको भविष्य छ । तपाईंले पहाड तथा तपाईं एरियामा जाने भन्नु भयो, पहाडी इलाकामा जाँदा भूक्षयको ठूलो समस्या छ । पहाडी क्षेत्रमा घरजग्गा व्यवसायी प्रवेश गर्यो भने फेरि पहाड पनि मासिने डर होला नी ? हामीले उपयुक्त ठाउँ भेटेपछि काम गर्न सुरु गर्ने हैन । त्यहाँ उपयुक्त छ छैन भनेर अध्ययन गर्ने हो । पहिला त्यहाँको भूगोलको पहिचान गर्ने हो । प्रकृतिलाई सिँगारेर काम गर्न सक्यो भने राम्रो हुन्छ । भूगोललाई बिगारेर काम गर्यो भने हाम्रो प्लानिङ सुरक्षित हुँदैन । त्यो ठाउँमा सम्पूर्ण अध्ययन र प्रविधि युक्त प्लानिङ गर्यौं भने यस्तो अवस्था नआउला ।
नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट मनग्य आम्दानी
काठमाडौं । गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उनीसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो । कहिलेकाहीँ अवसर भाग्य बनेर आउँछ भने झैँ उनलाई पनि त्यस्तै भयो । केही महिना अघि जिआइजेड/रिप कार्यक्रमले जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर अछाम जिल्लाको साफेबगर नगरपालिका साफेबगर बजारमा छदिने सौर्य ऊर्जा प्रविधिहरुको मर्मतसम्भार तालिम सञ्चालन गरेको थियो । उनले त्यस तालिममा आफूलाई सहभागी मात्र गराउनु भएन, कि त्यसलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार नै बनाउने निधो गरे। हालसम्म घरेलु सौर्य प्रणाली ४२, सौर्य सडक बत्ती २० र संस्थागत सौर्य प्रणाली १० वटाको मर्मतसम्भार गरी घरखर्च कटाएर ५२ हजारभन्दा बढी आम्दानी गरिसकेका छन् । उनी भन्छन्, ‘गाउँमै बसेर आम्दानी गर्न सकिने भएपछि अब विदेश जाने सपना सकियो । आफूलाई पनि आम्दानी हुने र गाउँलेलाई पनि सेवा पुग्ने ।’ सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका धेरैजसो स्थानीय तहमा केन्द्रीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच नहुँदा विगतदेखि नै नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरुको प्रयोग हुँदै आएको छ । यी प्रविधिहरुको मर्मतसम्भारका लागि स्थानीय स्तरमा दक्ष जनशक्तिको पनि अभाव हुँदा पनि स्थानीयवासीले त्यसको उपयोग गर्न पाएका छैनन् । ती प्रविधिहरु नियमित रुपमा सञ्चालन नहुँदा स्थानीय जनतामा पनि प्रविधिप्रति नकारात्मक भावनाको विकास तथा प्रविधिप्रतिको आकर्षण घट्दै गएपछि सौर्य ऊर्जामा आधारित यी प्रविधिहरुको मर्मतसम्भारका लागि स्थानीय सरकारहरुको आग्रहमा सो तालिम सञ्चालन गरिएको थियो । तालिममा अछाम जिल्लाको सबै पालिकाबाट महिला तथा पछाडि परेका समुदाय समूहबाट एक महिला र १९ पुरुष गरी जम्मा २० जनाले तालिम लिएका थिए । तालिमपश्चात् धेरैजसो स्थानीय तहले तालिम लिइआएका सौर्य ऊर्जा प्राविधिकहरुलाई दिनगन्ती, छोटो सम्झौता तथा मासिक रुपमा सझौता गरी सौर्य ऊर्जाका विभिन्न प्रविधिहरुको मर्मतसम्भारका लगाउन सुरु गरिसकेका छन् । मैल्लेख गाउँपालिकाबाट तालिममा सहभागी भएको खेम साउदले पनि विभिन्न किसिमका सौर्य ऊर्जा प्रविधिहरुको मर्मतसम्भार तथा घरको वायरिङ्गबाट हालसम्म करिब २ लाख ५० हजारभन्दा बढी आम्दानी गरिसकेका छन् । उनी भन्छन्, ‘सुरुसुरुमा त त्यति कमाई थिएन, धेरैलाई मैले वायरिङको काम गर्नसक्छु भन्ने पनि थाहा थिएन । बिस्तारै कामले काम तान्दै गयो । अहिले भ्याइनभ्याइ छ ।’ तालिममा सहभागी शिवराम अधिकारीले त सरकारी जागिर नै पाएका छन् । उनलाई कमलबजार नगरपालिकाले कर्मचारीको रुपमा नियुक्त गरेको छ । यसैगरी अन्य पालिकाहरुले पनि तालिम लिइसकेका सौर्य ऊर्जा प्राविधिहहरुलाई सौर्य ऊर्जाको विभिन्न प्रविधिहरुको मर्मतसम्भार तथा जडानका लागि काममा लगाएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेका कारण यहाँका बासिन्दाको ऊर्जाको मुख्य स्रोत नै सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिहरु रहेका छन् । यहाँका अधिकांश बासिन्दाले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली, सौर्य पानी तान्ने प्रणाली र सौर्य सडक बत्ती जडान गरेका छन् । स्थानीय तहमा जीविकोपार्जनसहित दैनिक क्रियाकलापहरु सञ्चालनका लागि दिगो रुपमा अन्य विद्युत् स्रोतको उपलब्धता नभएकाले सौर्य ऊर्जा नै एकमात्र विकल्प बनेको छ । केही स्थानीय तहमा केन्द्रीय विद्युत् लाइनको उपलब्धता भए पनि त्यसको नियमित आपूर्तिको समस्या रहेको छ । दैनिक घरायसी, व्यावसायिक र सामुदायिक कामका लागि नवीकरणीय ऊर्जा प्रविधिहरुको निरन्तर सञ्चालन हुनुपर्ने हुन्छ । जडान गरिएका विभिन्न सौर्य ऊर्जा प्रविधिहरुको जडानकर्ता कम्पनीले समयमा नै मर्मतसम्भार नगरी दिँदा प्रविधिहरु नियमित सञ्चालनमा समस्या देखिएको र केही स्थानमा बन्द अवस्थामा रहेकामा अब बिस्तारै स्थानीय युवाहरुले नै मर्मतसम्भारको काम गर्न थालेपछि जनताले राहतको महसुस गर्न थालेका छन् । रासस
घुससहित ३ कर्मचारी पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।
बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता
काठमाडौं । असार महिनामा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्। विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ । गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताएका छन् । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ । घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।