विकासन्युज

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेका  प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ। ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ। परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ । रासस

कनेक्ट आइपीएसका प्रयोगकर्तालाई नयाँ अफर, रेफर गर्नेको खातामा ५० रुपैयाँ आउने

काठमाडौं । कनेक्ट आइपीएसले प्रयोगकर्ताहरुका लागि रेफर अ फ्रेन्ड २.० अफर ल्याएको छ । यस अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रेफर गर्न सक्ने कम्पनीले जनाएको छ । असार ५ गतेदेखि महिनाभर रहने यो अफरमा रेफ्रीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रेफररले २५ रुपैयाँ र रेफ्रीले ५० रुपैयाँ आफ्नो खातामा पाउन सक्ने कनेक्ट आइपीएसले जनाएको छ । अफरको फाइदा लिनका लागि रेफररले आफ्ना साथी तथा आफन्तलाई आफ्नो रेफरल कोड दिनुपर्ने हुन्छ । रेफ्रीले भने कनेक्ट आइपीएसमा नयाँ प्रयोगकर्ता रजिष्टर गर्दा उक्त रेफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गरेपछि उक्त रकम खातामा प्राप्त गर्न सक्ने बताइएको छ । रेफररले आफ्नो रेफरल कोडसँगै लिंक पनि सेयर गर्न सक्ने कनेक्ट आइपीएसले जनाएको छ । रेफ्रीले उक्त लिंक क्लिक गरी वा मोबाइल एपमार्फत पनि नयाँ प्रयोगकर्ता बनाउन सक्नेछन् । रेफ्रीको लिंक गरिएको खाता भेरिफाइ भएपछि मात्र रेफरल रकम खातामा प्राप्त हुने भएकाले रेफ्रीले अफर अवधिभित्र खाता भेरिफाइ गराइसक्नुपर्ने बताइएको छ । कनेक्ट आइपीएस बैंकका ग्राहकका लागि एकै प्लाटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत अन्य विभिन्न भुक्तानी गर्ने माध्यम हो । यसबाट वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एपमार्फत २ लाखसम्मको भुक्तानी गर्न सकिने कनेक्ट आइपीएसले जनाएको छ ।

संघीय सरकारसँग महानगरले माग्यो संस्थागत बहाल कर, बालेनले काटे वित्त आयोगलाई पत्र

काठमाडौं । आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले उठाइरहेको तर संस्थागत घरबहाल कर विभागले उठाइरहेको जानकारी गराउँदै उक्त  कर फिर्ता पाउनुपर्ने मागसहित पत्राचार गरेका हुन् । यसैगरी उक्त विभागले संस्थागत घरबहाल कर उठाउँदा काठमाडौँ महानगरपालिकालाई रु एक अर्ब ४३ करोड नोक्सान भएकाले उठाइदिन वित्त आयोगसँग उनले अनुरोधसमेत गरेका छन् । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका संस्थाको घरबहाल करबापतको सम्पूर्ण रकम महानगरपालिकामै फिर्ता हुनुपर्ने उनको माग छ । पत्रमा प्रमुख शाहले लेखेका छन्, ‘आन्तरिक राजस्व कार्यालयहरुबाट हालसम्म सङ्कलन गरिएको संस्थाको घरबहाल कर बापतको सम्पूर्ण रकम फिर्ता दिलाई दिने तथा अब उप्रान्त घरबहाल कर स्थानीय तहबाहेक अन्य कसैले सङ्कलन गर्न नपाउने कुरा सुनिश्चित गर्ने सम्बन्धमा सम्मानित आयोगमार्फत आवश्यक पहल गरिदिनुहुन सादर अनुरोध गर्दछु ।’ संस्थाको घरबहाल कर स्थानीय तहलाई सङ्कलन गर्न नदिँदा सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा ५ कुण्ठित भएको भन्दै प्रमुख साहले यसबाट स्थानीय सरकारको एकल अधिकार कार्यान्वयनमा बाधा पुगेकोसमेत उल्लेख गरेका छन् । ‘स्पष्टतः स्थानीय तहको एकल अधिकारको सूचीमा समावेश रहेको व्यक्ति वा संस्थाको घरबहाल कर उठाउन पाउने विषयमध्ये संस्थाको पनि घरबहाल कर उठाउन पाउने विषयमा नेपाल सरकार मातहतका आन्तरिक राजस्व कार्यालयहरुबाट भइरहेको हस्तक्षेप काठमाडौँ महानगरपालिकालाई स्वीकार्य छैन’, प्रमुख साहले पत्रमा उल्लेख गरेका छन् । रासस

हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मक छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महर्षि पतञ्जलीले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताए । नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताए । उनले रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पारे । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताए । लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पताञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तरराष्ट्रिय योग दिवस २०२३ का अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई योगले  पनि जोडेको बताए । उनले नेपाल–भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप प्रगाढ बनेको छ भने । राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई मार्गबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।  रासस

आश्वासनभन्दा पनि आवश्यकता हेरेर काम गर्छौं : रवि लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज (मंगलबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए । ‘जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो’, उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ ।’ उनले पार्टीका कार्यकर्तालाई झन्डा बोकर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गरे । सभापति लामिछानेले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै  विकासमा विभेद भएको गुनासो गरे । ‘भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन’, उनले भने, ‘कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन ।’ उनले आफूले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणका काम गर्ने बताए। जहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको प्रबन्ध छैन, त्यहाँ पहिला विकासका काम गर्नुपर्ने भन्दै उनले सिङ्गो देशको समस्यालाई प्रमुख विषयवस्तु बनाएर अघि बढ्ने बताए । देश विदेशका सबै नेपालीको समस्या हाम्रै समस्या रहेकाले एक–एक गरेर समाधान गर्दै जाने उनको प्रतिबद्धता जनाए ।

सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको म्यादी जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र उक्त सहकारीबीच संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको बीमा गरिदिने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा सानिमा रिलायन्स लाईफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारीका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए । बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशीलता विकास गर्नका लागी बिना भेदभाव “हामी गछौं, सबैका लागी, सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

कर्णाली । विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली सुरु भए पनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कार्यकारी समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्ययोजना बनाएर राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । ‘आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा आज कार्यकारी समितिको बैठक बस्दैछ’, उनले भने, ‘यसमा विषयगत मन्त्रालय तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । कार्यकारी समितिको बैठकलगत्तै मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर त्यसलाई अनुमोदन गर्ने मन्त्री जिसीले बताए ।’ आन्तरिक मामिला सचिव ध्रुव घिमिरेले मनसुन नजिकिसकेकाले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर आज बिहान ११ः०० बजे कार्यकारी समितिको बैठक राखिएको बताए । उनले भने, ‘बैठकले विषयगत मन्त्रालय, सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनुपर्ने भूमिका निर्धारण गर्नेछ ।’ रासस

थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’, पर्यटक रमाउँदै

नौबिसे । काठमाडौंबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् । एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो । धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेको थियो । हाल पृथ्वी राजमार्गअन्तर्गत थानकोट सुरुङमार्गको निर्माणका कारण हुने जाम र सडकको खाल्डाखुल्डी तथा आर्थिक मन्दीका कारण रिसोर्ट र जिपलाइनमा अपेक्षित ग्राहक आउन नसकेको यसका सञ्चालक बताउँछन् । रिसोर्टमा हाल नौवटा कोठा रहेकामा यसलाई विस्तार गर्ने र स्मिमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ । छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ । जिपलाइनका प्राविधिक विकास भण्डारी यो जिपलाइन नेपालकै सबैभन्दा भिरालो (ठाडो) भएको जनाउँदै यसमा व्यक्तिको तौलअनुसार चुम्बकीय ट्रली प्रयोग हुने बताए । यसमा १० वर्षभन्दा कम उमेर र ३५ केजीभन्दा कम तौल भएका तथा बढीमा एक सय १५ केजीका व्यक्तिलाई मात्रै चढाइन्छ । कुनै गम्भीर रोगका बिरामी, उच्च रक्तचाप वा तर्सने स्वभावका व्यक्तिलाई पनि यसमा नचढ्न सुझाव दिइन्छ । यसमा प्रायः मानिसहरू बिदाको दिन र शनिबार बढी आउने गरेका छन् । कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब २७ करोड रुपैयाँ लगानी भइसकेको र जिपलाइनका लागि मात्रै दुई करोड रुपैयाँ लगानी भएको रिसोर्टका व्यवस्थापक प्रत्युश लामाले जानकारी दिए । यसमा १२ लगानीकर्ता छन् भने कार्यरत कर्मचारी अधिकांश स्थानीय छन् । जिपलाइनका प्राविधिकलाई त्यही तीन महिना तालिम दिइएको थियो । यसमा अष्ट्रेलिया र क्यानडाका प्रविधि लिइएको छ । थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडा काठमाडौंबाट नजिकको दूरीमा रहेको यस नयाँ रिसोर्ट र जिपलाइनले आन्तरिक पर्यटक बढाउन सक्ने बताउँदै गाउँपालिकाका तर्फबाट आवश्यक पूर्वाधार र पर्यटन पूर्वाधारका काममा प्राथमिकता दिइने जनाए । उनले उक्त जिपलाइनलाई गाउँपालिकाका एक चिनारीका रूपमा पनि विकास गर्न सकिने बताए। हालसम्म विश्वकै लामो जिपलाइनका रूपमा पोखराको जिपफ्यायर नेपालको एक हजार आठ सय मिटरको जिपलाइन रहेको छ । नेपालमा पहिलोपटक पोखराको साराङकोटडाँडाबाट जिपलाइनको थालनी भएको हो । हाल करिब एक दर्जन जिपलाइन सेवा नियमित सञ्चालनमा आइसकेका छन् । रासस