विकासन्युज

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

हेटौँडा । दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले रासससँग आज कुराकानी गर्नुहुँदै उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताए । उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिए । उहाँका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ । महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गरे । हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । ’यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ । अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ’, उनले भने । हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गर्दै आएको थियो । उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्नुका साथै काठमाडौंलगयात विभिन्न सहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णको भनाइ थियो । उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । सरकारलाई उद्योगमा रहेका विद्यमान समस्याका बारेमा जानकारी गरिसकिएकाले त्यसतर्फ पहल गरिदिनु सम्बन्ध निकायलाई उनले आग्रह पनि गरे । रासस

हेटौँडा सिमेन्ट उद्योग ९० करोड घाटामा

काठमाडौं । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रुपैयाँको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ रुपैयाँ आम्दानी गरेका थियो भने एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रुपैयाँ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ । आव २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ रुपैयाँ आम्दानी गरेकामा एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई एक करोड पाँच लाख ४१ हजार एक सय ३६ रुपैयाँ नोक्सानी व्यहोरेको थियो । त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा एक अर्ब २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ रुपैयाँ खर्च भई २३ करोड ८२ लाख २४ हजार रुपैयाँ उद्योगलाई घाटा भएको थियो । यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ रुपैयाँ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ र खर्च १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो । यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ रुपैयाँ आम्दानी गरेकामा एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ रुपैयाँ उद्योग घाटामा गएको थियो । यस्तै, आव २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ रुपैयाँ खर्च गरेको थियो । यो आवमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ रुपैयाँ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए । उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउँछन् । उनकाअनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् । उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए । पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले बताए । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ । रासस

पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित

पर्वत । सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटभरि भुलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ पर्वतको सहायतामा चैते धानखेती विस्तार गरिएको हो । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने पाङ खरीबोट फाँटमा यस वर्षदेखि चैते धानखेती गरिएको स्थानीय कृषक सूर्यप्रसाद पौडेलले बताए । विगतमा पुर्खाहरूले गर्दै आएको खेती नयाँ पुस्तामा जगाउन नसकिएको समयमा धान जोनले अनुसन्धान थालेपछि खेती विस्तारमा किसान हौसिएका हुन् । खरीबोट कृषक समूहका अध्यक्ष सूर्यप्रसाद पौडेलले चैते धान अहिले तीन सय रोपनी क्षेत्रफलमा लगाइएको बताए । खरिबोटका ३० किसानको सामूहिक खेतीअन्तर्गत चैते धानखेती गरिएको हो । प्रतिकिसान रु ५० हजारदेखि रु एक लाखसम्म कमाउन सक्ने गरी खेती विस्तार गरिएको किसानले बताएका छन् । किसानको घरमा मङ्सिरको धान पनि सकिने र पराल पनि सकिएको अवस्थामा चैते धानले मानिसका लागि अन्न र पशु चौपायालाई खुवाउन परालसमेत उपलब्ध हुने हुँदा पुर्खाले रोप्दै आएको धान आफूहरूले पनि लगाउँदै आएको स्थानीय रत्न पौडेलले बताए । रैथाने चैते धान कम फल्न थालेपछि रामपुर कृषि क्याम्पसले समेत फाँटमा नयाँ प्रजातिको चैते धानमा अनुसन्धान थालेको छ । विभिन्न १० प्रजातिमा अहिले उक्त फाँटमा अनुसन्धान भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइले जनाएको छ । गत चैतमा रोपेको धान थन्क्याएपछि असार अन्तिम साता पुनः पोख्रेली जेठो बूढो धान लगाउने तयारीमा किसान रहेका हुन् । चैते धान खानमा उपयोग हुने भएकाले जेठो बुढोको मुल बीउ उत्पादन गर्ने गरी समूहका किसानहरू तयारीमा रहेका छन् । विगतमा जिल्लाका अर्मादी फाँट, फर्से, धाइरिङ फाँट, पातीखोला खेत, लमाएखोला खेतमा र हुवास गेडीखोला खेतमा लगाइने चैते धान पछिल्ला वर्षमा हराउँदै जान थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे धानखेती हुँदै आएको छ भने दुई हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ । बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि खाद्यान्न आयात प्रतिस्थापनको लक्ष्य विफल भएको ज्ञान केन्द्रले जनाएको छ । जनशक्तिको अभाव, बाँदर आतङ्कलगायतका कारणले अहिले चैतेधानप्रति अन्य क्षेत्रका कृषकको आकर्षण भने घट्दो छ । रासस

११३ औद्योगिक ग्राममा सवा अर्ब लगानी, प्रगति नगन्य

काठमाडौं । सरकारले औद्योगिक ग्राम घोषणा गरेको ५ वर्ष वितिसक्दा समेत प्रगति भने न्यून देखिएको छ । सरकारले ११३ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने भनेतापनि प्रगतिभने न्यून रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले आर्थिक वर्ष ०७६/७७ मा ४४, ०७७/७८ मा ४०, ०७८/०७९ मा २१ र चालु आर्थिक वर्षमा ८ वटा औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले २०७६ असोज ७ गते प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७५/७६ को बजेटमार्फत् औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेका थिए । मन्त्रालय अन्तर्गतको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख सहसचिव चन्द्रकला पौडेलका अनुुसार औद्योगिक ग्राम निर्माणका लागि हालसम्म १ अर्ब १८ करोड ४० लाख रुपैयाँ स्थानीय तहलाई पठाइएकाे छ । ५ वर्षको अबधिमा ११३ स्थानीय तहमा औद्योगिक ग्रामको घोषणा गरिएतापनि हालसम्म कुनै पनि स्थानीय तहमा औद्योगिक ग्राम तयार नभएको उनको भनाइ छ । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनु पर्ने प्रावधान छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि मात्र संघीय सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि सुरुवाती चरणमा ९२ लाख रुपैयाँ लगानी गर्दै आएको छ । जग्गाको जोहो गरेपछि पहिलो किस्ता बापत ९२ लाख रुपैयाँ पठाइसकेको मन्त्रालयले जनाएको छ । त्यसपछि प्रगतिका आधारमा थप दोस्रो तथा तेस्रो किस्ता गरी ३ करोड रुपैयाँसम्म रकम दिइने मन्त्रालयले जनाएको छ । हालसम्म दोस्रो किस्तावापत् १९ वटा औद्योगिक ग्रामले दोस्रो किस्ता पाएका छन् । औद्योगिक ग्राम निर्माण गर्न स्थानीय तहले तयार पारेको डिपीआरमा उल्लेख भएको रकम र सरकारले दिने भनेको ३ करोड रुपैयाँमा जुन रकम कम हुन्छ सोही अनुसार रकम भुक्तानी हुने पौडेल बताउँछिन् । तीनै तहका सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम खोल्ने नीति छ । औद्योगिक ग्रामका लागि संघ र प्रदेश सरकारबाट बजेट उपलब्ध भए पनि योजना कार्यान्वयनको जिम्मा स्थानीय तहलाई छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु¥याउने विश्वास सरकारको छ । औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइनेछ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् । स्थानीयस्तरमा पाइने कच्चा पदार्थ, कृषि, वन पैदावर, जडीबुटी, खानी, खनिज आदिमा आधारित उद्योग खोल्न सकिने व्यवस्था छ । औद्योगिक ग्रामका लागि सरकारले हिमाली र दुर्गम पहाडी जिल्लामा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराईमा सात बिघा जग्गाको मापदण्ड तोकेको छ । यस्तै, मन्त्रालयले थप ७ स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । अधिकांशमा सुरु नै भएन मन्त्रालयले औद्योगिक ग्राम घोषणा भएका स्थानीय तहमा रकम निकाशा दिएतापनि अधिकांश स्थानीय तहले काम नै सुरु गरेका छैनन् । स्थानीय तहले जग्गा उपलब्धताको भएको आधारमा घोषणा गरेतापनि स्थानीय तहले काम सुरु नै नभएको बताएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सरकारले औद्योगिक ग्राम घोषणा गरिसकेको छ । सरकारले घोषणा गरेर ९२ लाख रुपैयाँ दिएपनि काम सुरु भैसकेको छैन् । सरकारले ०७९ को असोज ४ गते उक्त स्थानीय तहमा औद्योगिक ग्रामको घोषणा गरेको थियो । २०७६/०७७ मा घोषणा भएको लमजुङको राइनास नगरपालिकाकाले जग्गामा तार जाली लगाउने बाहेक थप काम गर्न सकेको छैन् । नगरपालिका भित्र रहेको वनको २ सय रोपनी बढी जग्गा मध्ये आधा जग्गामा तारजाली लगाईएको र बाँकीको काम भैरहेको नगरपालिकाले जनाएको छ । मन्त्रालयले घोषणा भएकामध्ये स्याङजाको वालिङ नगरपालिका र दोलखाको भिमेश्वर नगरपालिकामा धेरै काम भएको जनाएको छ । महालेखाले उठायो प्रश्न सरकारले घोषणा गरेको औद्योगिक ग्राममा हुने जग्गाको उपलब्धता, उपलब्ध जग्गामा औद्योगिक ग्राम विकासको सम्भावना, स्थानीय तहको प्राथमिकता र क्षमताकोे विश्लेषण नगरी शुरु भएको भन्दै महालेखाले प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनले कार्यक्रमको कार्यान्वय पक्षमा सुधार गरी तोकिएको लक्ष्य प्राप्त गर्न सरकारलाई सुझाव समेत दिएको छ । ‘२०७६/०७७ देखि एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापनाको कार्यक्रम सञ्चालनमा आएको छ । सो कार्यक्रममा स्थानीय तहलाई बढीमा ३ करोडसम्म अनुदान दिने नीति बमोजिम मन्त्रालयले हालसम्म १०५ स्थानीय तहलाई १ अर्ब १ करोड २० लाख अनुदान प्रदान गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘अनुदान प्राप्त गर्ने स्थानीय तहले गरेको कार्य प्रगतिको अभिलेख मन्त्रालयमा रहेको छैन ।’

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो

ताप्लेजुङ । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिए । शनिबारदेखि वर्षासँगै आएको बाढी र पहिरामा परी उक्त ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन् । पहिरोले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो । यसैबीच मृतकका परिवार तथा आफन्त र बाढी पहिराबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मङ्गलबार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रहसमेत गर्ने निर्णय गरेको थियो । रासस

समृद्धि फाइनान्सको नयाँ शाखा महोत्तरीको औरहीमा

काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन भएको छ । समृद्धि फाइनान्स कम्पनीको दसौं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीको समुद्घाटन कार्यक्रम बुधबार औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्का र समृद्धि फाईनान्स संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे । फाईनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथि रहेको थियो । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

जीपलाइन निर्माणले पहिरोको जोखिम बढ्यो

काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हुदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन् । भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए । नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जीपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जीपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०–४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे । उनले भने, ‘जीपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जीपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जीपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ ।’ जीपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन् । यसबारेमा पटक–पटक सडकमा पार्किङ नगराइदिन जीपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ । सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताए । रासस

तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य घटेर तोलामा १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज घटेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।