विकासन्युज

समृद्धि फाइनान्सको नयाँ शाखा महोत्तरीको औरहीमा

काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन भएको छ । समृद्धि फाइनान्स कम्पनीको दसौं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीको समुद्घाटन कार्यक्रम बुधबार औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्का र समृद्धि फाईनान्स संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे । फाईनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथि रहेको थियो । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

जीपलाइन निर्माणले पहिरोको जोखिम बढ्यो

काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हुदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन् । भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए । नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जीपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जीपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०–४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे । उनले भने, ‘जीपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जीपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जीपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ ।’ जीपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन् । यसबारेमा पटक–पटक सडकमा पार्किङ नगराइदिन जीपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ । सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताए । रासस

तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य घटेर तोलामा १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज घटेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए । अंग्रेजी नयाँ वर्षबाट उडान शुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनभने सकेको थिएन । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।

घोराहीको आईपीओ खारेज गर्न माग, अण्डरराइटर, बिक्री प्रबन्धक र सेबोनको अक्षम्य गल्ती

काठमाडौं । घोराही सिमेन्ट इन्ड्रस्टीको आईपीओ निष्काशन प्रक्रियामा बदमासी गरेको भेटिएपछि आईपीओ नै खारेज गर्नु पर्ने आवाज उठ्न थालेको छ । कम्पनीले आफ्ना गल्तिहरु ढाकछोप गर्दै सेयर निष्काशन प्रक्रिया अघि बढाएपछि आईपीओ खारेज गर्नु पर्ने माग लगानीकर्ताहरुले गरेका हुन् । साथै, कम्पनीको रेटिङ पनि गैरकानुनी प्रक्रियाबाट गरिएको भन्दै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) माथि पनि प्रश्न उठाइएका छन् । कम्पनीको आईपीओमा फर्जी आवेदन दिएर सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्न खोजेको विवाद उठिरहेका बेला स्वार्थ बाँझिने गरी कम्पनीको क्रेडिट रेटिङ्ग गरेको भेटिएपछि सेबोनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो । विज्ञहरुका अनुसार घोराही सिमेन्टको आईपीओका कारण पूँजी बजारप्रति लगानीकर्ताको अविश्वास पनि बढेको छ । आईपीओ बिक्री प्रक्रियामा संलग्न रहेका अण्डरराइटिङ कम्पनी, बिक्री प्रबन्धक र सेबोनले अक्षम्य गल्ति गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् । यसअघि सर्वाेत्तम सिमेन्टको आईपीओ बुक बिल्डिङ्ग विधिबाट ल्याउने प्रक्रिया चलिरहेका बेला धितोपत्र बोर्डका पूर्व अध्यक्षको जागिर चैट भएको विषय उल्लेख गर्दै अन्तर्राष्ट्रिय पूँजी बजार विज्ञ मुक्ति अर्याल घोराही सिमेन्टको आईपीओ विवादमा आउँदा बोर्ड अध्यक्ष रमेश हमालले पनि राजीनामा दिनु पर्ने बताउँछन् । ‘हालसम्म ३ वटा सिमेन्ट उद्योगले सर्वसाधारणलाई सेयर बिक्री गर्ने योजना बनाए, जसमध्ये शिवम् सिमेन्ट दोस्रो बजारमा कारोबार भइरहेको छ, सर्वाेत्तम सिमेन्टको बुक बिल्डिङमार्फत् आईपीओ ल्याउने प्रक्रिया अघि बढ्दा बोर्डका पूर्व अध्यक्ष (भीष्मराज ढुंगाना) संलग्न भएकाले पद नै गयो भने आईपीओ आउन सकेको छैन,’ उनले भने, ‘प्रिमियम मूल्यमा आईपीओ जारी गरिरहेको घोराही सिमेन्ट पनि विवादमा आएको छ, कम्पनीले गलत तरिका अपनाएर सेयर जारी गरिरहेको छ, यसमा पनि धितोपत्र बोर्डका अध्यक्ष नै विवादित बन्न पुगेका छन्, त्यसैले उहाँले राजीनामा दिनु पर्छ ।’ अर्यालका अनुसार आईपीओ बिक्री गर्न अनुमति दिनु अघि नै क्रेडिट रेटिङका विषयमा बोर्डले अध्ययन गर्नु पर्थ्याे । तर, अहिले आएर सो विषय उठ्दा बोर्डको कार्यशैली कमजोरी रहेको उनको बुझाइ छ । कम्पनीले आईपीओ दर्ता गर्ने बेलामा नै बोर्डले रेटिङको विषयमा प्रश्न उठाउनु पर्ने भएपनि हचुवाको भरमा निष्काशन अनुमति दिएको उनले आरोप लगाए । ‘यो बोर्डको लाचारीपन, कमजोरी र बदमासी हो, बोर्डले समयमा गर्नु पर्ने काम नगरेका कारण यो समस्या आएको हो, यसमा बोर्डको कमजोरी प्रष्ट देखिन्छ, नीति नियम अनुसार काम भएको छ की छैन भनेर पहिला नै अध्ययन अनुसन्धान गर्नु पर्थ्याे,’ उनले भने, ‘ यदि यस्तै अवस्था वा सानो कारण विदेशमा हुन्थ्यो भने बोर्ड अध्यक्षले राजीनामा दिनु पर्थ्याे, उनीहरु गलत गतिविधिमा संलग्न भएको कुरा आउँदा पनि कुनै वास्ता छैन ।’ कम्पनीको आईपीओमा म्यानुपुलेट गरेका कारण प्रक्रिया नै रद्ध गर्नु पर्ने उनको माग छ । गलत नियतले कम्पनीको आईपीओमा केही ब्यक्तिहरुले आवेदन दिएको भन्दै उनले खारेज हुनु पर्ने बताए । उनका अनुसार घोराही सिमेन्टको आईपीओमा सर्वसाधारण लगानीकर्तामाथि धोखाधडी भएको छ । ‘जुन हिसावले अहिले म्यानुपुलेट गरिएको छ, अनुसन्धानबाट प्रमाणित भयो भने आईपीओ प्रक्रिया नै रद्ध हुनु पर्छ, सर्वसाधारणलाई गलत सूचना दिएर आकर्षित गर्न खोजेको देखिन्छ, ओभर सब्सक्राइब गरेर आकर्षित गर्न खोजिएको छ, गलत सूचना दिएर जनतालाई आवेदन दिन प्रोत्साहन गर्न खोजिएको छ, यस्तो गतिविधि गर्नेलाई अनुसन्धानबाट सही सावित भयो भने कारवाही हुनुपर्छ, जनतालाइ फसाउन खोजिएको छ, जनतामाथि धोखाधडी भएको छ,’ उनले भने । जसले पूँजी बजार, धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग, इस्यू म्यानेजर कम्पनीको भूमिकामा अविश्वास श्रृजना गरेको छ । सेयर बजार विश्लेषक दिनेश आचार्य घोराही सिमेन्टको आईपीओ कानुन भित्र रहेर गलत गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण रहेको बताउँछन् । वित्तीय विवरणमा म्यानुपुलेट गर्ने काम धेरै कम्पनीले गरेको देखिएको उनको भनाइ छ । यसअघि पनि यस्ता घटनाहरु भएपनि खासै बाहिर आउन नसकेको उनको भनाइ छ । विश्वस्त प्रमाण भएर नै बोर्डले आईपीओ प्रक्रिया रोकेको हुन सक्ने उनले बताए । ‘कम्पनीले कानुनी रुपमा सबै प्रक्रिया पुरा गरेको छ तर, नियम कानुन भित्र बसेर कसरी त्यसलाई गलत प्रयोग गर्न सकिन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो, यस्ता गतिविधि पहिला पनि भएका थिए तर, तिनीहरु सानातिना थिए, अहिले ठूलो रुपमा ठूलो मुद्धा बन्यो,’ उनले भने, ‘क्रेडिट रेटिङमा समस्या भएको बोर्डले पनि स्वीकार गरेको छ, प्रारम्भिक अनुसन्धानमा गलत भएको ठहर गरिसक्यो किनभने चलिरहेको आईपीओ बीचमा रोक्ने भनेको ठूलो कदम हो, वित्तीय विवरणमा केही गडबडी भएर क्रेडिट रेटिङका लागि आफ्नै लगानी भएको कम्पनीमा गराएको हुन सक्ने शंका छ ।’ साथै, कम्पनीको आईपीओमा फर्जी आवेदन गराएर सर्वसाधारणलाई गलत सूचना दिँदा वित्तीय अपराध गरेको आचार्यले बताए । फर्जी आवेदन दिएको प्रमाणीत भए कम्पनीको सञ्चालक, व्यवस्थापक र आवेदन दिने ब्यक्तिलाई कारवाही हुनु पर्ने उनको भनाइ छ । पछिल्लो समय इनसाइडर ट्रेडिङ गरेको आरोपमा बोर्डले केही ब्यक्तिलाई कारवाही गरेको हुँदा घोराहीको केशमा पनि कारवाही हुने आशा रहेको उनले बताए । ‘विदेशमा फर्जी आवेदन दिएको हो भने बलण्डर अपराध मानिन्छ, यस्तो अवस्थामा सञ्चालक, आवेदन दिएका ब्यक्ति, कम्पनीको व्यवस्थापकलाई ठूलो कारवाही हुनु पर्ने हो तर, हाम्रो कानुनमा इनसाइडर सम्बन्धी मुद्धामा स्पष्ट व्यवस्था छैन,’ उनले भने, ‘तर पछिल्लो समय धितोपत्र बोर्डको एक्सन हेर्दा केही आश गर्ने ठाउँ छ, पहिलो पटक इनसाइडर ट्रेडिङ गरेको भन्दै ज्ञानेन्द्रलाल प्रधान, गुरु न्यौपानेलाई कारवाही गरेर मुद्धा चलाएको छ, घोराहीको केशमा पनि बोर्डले कारवाही गर्छ भन्ने अपेक्षा छ ।’ होला त रद्द ? यसअघि पनि केही कम्पनीको आईपीओ निष्काशन रद्द भएको इतिहास छ । पछिल्लो पटक लोटस फाइनान्स कम्पनीको आईपीओ रद्द भएको थियो । लोटस फाइनान्स कम्पनीको आईपीओ बिक्री भएर बाँडफाँट नगरीकन रद्द गरेको थियो । सो कम्पनीले लगानीकर्ताको ब्याजसहित पैसा फिर्ता गरेको थियो । कम्पनीको आईपीओ पुरा सब्सक्राइब भएको थिएन । कम्पनीको आईपीओमा पूर्ण आवेदन नपरेपछि अण्डरराइटर कम्पनीले खरिद गर्न मानेको थिएन । त्यसैले विगतमा पनि केही कम्पनीले आईपीओ रद्द गरेको उदाहरण छन् । लोटस फाइनान्सपछि भने कुनै पनि आईपीओ रद्द भएका छैनन् । तर, घोराही सिमेन्टको आईपीओ र लोटस फाइनान्सको मुद्धा फरक देखिन्छ । यदि घोराही सिमेन्टले आईपीओ निष्काशनका लागि अनुमति लिँदा गलत कागजातहरु पेश गरेको हो भने रद्द हुनु पर्ने आचार्य बताउँछन् । साथै, संलग्न रहेका ब्यक्ति तथा संस्थालाई कारवाही हुनु पर्ने माग उनको छ । तर, फर्जी आवेदन दिएको हो भने आईपीओ नै रद्द गर्नु पर्ने स्थिती नरहेको उनले बताए । सो केशमा ब्यक्तिलाई मात्रै कारवाही हुनु पर्ने उनको भनाइ छ । साथै, फर्जी आवेदनमा बैंकको पनि मिलेमतो देखिएको उनले बताए । ‘बैंकको पनि मिलेमतो देखिन्छ किनभने आवेदन दिइसकेपछि सर्वसाधारणको रकम बेलुका ५ बजे बन्द गरिदिन्छ, रकम छैन भने रिजेक्ट हुन्छ, भोलिपल्ट आवेदक घटिहाल्छ तर, करोडौं आवेदन दिएका आवेदकहरुको बैंकले किन आश्वामा पैसा तानेन् र पैसा रहेनछ भनेर रिजेक्ट गर्याे ?, बेलुका नै रिजेक्ट भएपछि त्यो आवेदक संख्या दोस्रो दिन घट्छ, बिक्री नभएको देखिन्छ, यो योजनावद्ध रुपमा भएको हो जस्तो देखिन्छ,’ उनले भने, ‘यस्तोलाई कारवाही कानुन छैन भने धितोपत्र बोर्डले नियमावली बनाएर कारवाही गर्नुपर्छ, आगामी दिनमा अन्य कम्पनी पूँजी बजारमा ल्याउन विश्वासीलो वातावरण बनाउनु पर्छ ।’ उनका अनुसार कम्पीको वित्तीय विवरण र क्रेडिट रेटिङमा बदमासी देखियो भने खारेज गर्नु पर्छ । किनभने त्यो त आईपीओ बिक्री गर्नु भन्दा अघि नै बदमासी भएको देखिन्छ । गलत विवरणको आधारमा सेयर बिक्री गरेको हो भने फिर्ता गर्नु पर्ने उनले बताए । तर, क्रेडिट रेटिङ र वित्तीय तथ्याङ्कहरु ठिक छ र फर्जी आवेदन दिएको हो भने रद्द गर्न आवश्यक छैन । सेयर बजारमा विश्वास घट्यो कानुनको ब्याख्या गलत तरिकाले गर्याे भने अन्य कम्पनी पूँजी बजारमा नआउन सक्ने उनले बताए । अन्य कम्पनी पनि पूँजी बजारमा आउन सक्ने गरी कानुनको ब्याख्या र कार्यान्वयन गर्नु पर्ने उनको भनाइ छ । साथै, आगामी दिनमा धितोपत्र बोर्डले नयाँ कम्पनीलाई पूँजी बजारमा ल्याउनु अघि विज्ञहरुसँग छलफल तथा सुझाव माग्नु पर्ने आचार्यको भनाइ छ । ‘धितोपत्र बोर्डले नयाँ कम्पनी आउँदा विस्तृत रुपमा अध्ययन गर्ने र विज्ञहरुसँग सुझाव माग्नु पर्छ, कम्पनीको आईपीओ स्वीकृत गर्नु वित्तीय विवरणहरु वेवसाइटमा राख्न निर्देशन दिनु पर्छ, त्यो हुँदा गलत कहाँ छ भन्ने थाहा पाइन्छ,’ उनले भने, ‘यदि वित्तीय विवरण प्रकाशन गर्न समस्या छ भने आइक्यानसँग राय मागेर काम गर्न सकिन्छ ।’ अन्य क्षेत्रका कम्पनी पूँजी बजारमा प्रवेश पछि रियल सेक्टरका कम्पनीहरु आउन थालेको भएपनि लगानीकर्तामा अविश्वास पैदा हुन थालेको उनको भनाइ छ । पूँजी बजारमा लगानीकर्ताको विश्वास जगाउनका लागि बोर्डले विभिन्न कार्यक्रमको आयोजना गर्नु पर्ने उनले बताए । ‘बल्ल बल्ल रियल सेक्टरका कम्पनीहरु धितोपत्र बजार आउन थालेका छन्, बैंकिङ्ग, जलविद्युत कम्पनीपछि रियल सेक्टरका कम्पनीहरु सिमेन्ट, कपडा, औषधी प्रवेश गर्दै छन् तर, विवादमा आउँदा निराशा र वितृष्णा जगाउने भयो,’ उनले भने, ‘यसअघि पनि सर्वाेत्तम सिमेन्टमा लफडा भयो, नागरिक दैनिकमा पनि विवाद छ, यसले सर्वसाधारणमा सेयर बजार प्रति वितृष्णा वा ठगीको बजार हुने हो की भन्ने डर छ, धितोपत्र बोर्डले यस्तो आशंका मेट्नका लागि कडा कारवाही र पब्लिकको लगानी सुरक्षा गर्छाै भन्ने विश्वास दिलाउन सक्नु पर्छ ।’

योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि  एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए । ‘नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘मठमन्दिर र मूर्तिकलामा होस् या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुङ्गेधारा, कुवा–इनार र राजकुलोको निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ । त्यसैले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो ।’ स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिकरूपमा सबल बनाउन योगले सहयोग पुर्याउँछ । शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएकाले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्मज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यस क्षेत्रका अनुभवी व्यक्तिको ज्ञान र अनुभवबाट सिक्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहन्छ । योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका बताउँदै दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा नेपालमा योग पर्यटनको विकास गर्न सकिने उल्लेख गरे। उनले मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयामिक योगदान गर्दै आएको र चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वी वाङ्मय र जीवनशैलीमा पनि नेपाली त्यति नै वैभवशाली भएकाले यसको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञान भण्डार र जीवनलाई विश्वव्यापीरूपमा स्थापित गर्न पनि आग्रह गरे । कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रममिक योजना तर्जुमा गरिएको बताए । उनले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए । दिवसका अवसरमा आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना भएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । रासस

देशका विभिन्न ठाउँमा योग दिवस मनाइदैँ (फोटो फिचर)

काठमाडौं  ।  घोराही– १४ स्थित कभर्डहलमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरीय मूल समारोह समिति दाङको आयोजनामा गरिएको कार्यक्रममा योगाभ्यास गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी, सुशिल वैद्यलगायत । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे बुधबार नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास गराउँदै । प्रमुख पाण्डे चर्चित योगका गुरु पनि हो । तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा युवा नेपाल समितिले आयोजना गरेको योग महोत्सवमा योगा गर्दै विद्यार्थी, शिक्षक एवम् नागरिक । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार बिहान पोखरा रङ्गगशालामा आयोजना गरिएको योग शिविरमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । रासस  

नेपाल र भारतको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : पर्यटन मन्त्री

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए । उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गरे । उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उनले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए । मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए ।