विकासन्युज

उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती

बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुन् । उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छिन् । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ ।  रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुन्छिन् । चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउछिन् । चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउछिन् । भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आएका रामचन्द्र गिरीको व्यथा छ । बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन । ‘गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो । तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ’, उनले भने, ‘दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन् ।’ गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्छन् । तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उनले बताए। ‘बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी  चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ’, गिरीले भने । गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उनले बताए । कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ । बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउछन् । नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उनको व्यवसाय धरापमा परेको हो । ‘बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ’, बर्माले भने, ‘एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ । अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन ।’ विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताए । रासस

पोखरा विमानस्थलबाट आज पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा  ।  व्यावसायिक रूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । उनले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने बताइएको छ । सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौं उड्ने गरी उडान तालिका तय गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल  २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो । चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते  सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो । पोखराको फेवातालमा यही असार ८ र ९ गते ९२३–२४ जुन २०२३०मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए । कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए । प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले भने, ‘दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए । रासस

अब छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिएअनुसार नै तत्तत् स्थानमा गएर विवरण भर्न पनि काठमाडौँ प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौँ बाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनले बताए। नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ । यस्तै राष्ट्रिय सभागृहमा काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सकिने सहायक प्रजिअ आचार्यले बताए। यसअघि ती क्षेत्रका नागरिकले काठमाडौँ प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए । परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ । रासस

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

संखुवासभा । संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको हो । मंगलवार राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथांका  सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए । उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए । अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए । पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौं सवारी बीचबाटैमा अपलत्र परेका छन् ।

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताए । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा नरहेका कर्मचारीलाई कारबाही गरेको जनाएको छ । ‘तल्लो तहका कर्मचारीबाट बजेट निर्माणमा आर्थिक मामिलामन्त्रीलाई दबाब र प्रभाव पार्न खोजिएको छ, ती कर्मचारीले दिएको अभिव्यक्ति र संवाद आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र हो । आर्थिक मामिलामन्त्रीको अभिव्यक्ति र प्रकाशित समाचारका लागि जिम्मेवार रहेका कर्मचारीलाई कानूनबमोजिम कारबाही गरिसकिएको छ,’ उपाध्यक्ष शाहीले भने । उनका अनुसार मुख्य भूमिकामा रहेका कुनै पनि पदाधिकारी तथा कर्मचारीको त्यसमा संलग्नता छैन । आयोगसँग सम्बद्ध कुनै पनि व्यक्तिले प्रचलित कानून उल्लङ्घन गरी गल्ती र आचरणविरुद्धको कार्य गरेमा शून्य सहनशीलताको नीति अपनाइने समेत उनले जनाए ।

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । ६५ मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी १ सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए । पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ । यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिनुभयो । उनका अनुसार यी पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ । १ अर्ब २७ करोड रुपैयाँमा ३ वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो । ३ वर्षका लागि २ प्याकेज बनाएर ठेक्का लगाइएको थियो । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो । निर्माणाधीन अन्य ८ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ । ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिए । मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ । तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ । विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । यसअघि चारवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । नारायणगढ–मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

यी हुन् घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ लगानीकर्ता

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको छ । कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको हो । बैंक खातामा रकम नभई कम्पनीको आईपीओमा आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेका छन् । यस्तै, सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् । यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक रहेका छन् । साथै, उनीहरुले कम्पनीको रकम नभएको खाताबाट आवेदन दिएपछि अस्वीकृत भएको छ । कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिए । स्रोतका अनुसार कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले निष्काशन प्रक्रिया स्थगित गरेको छ ।

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

काठमाडौं । मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष २ देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो । जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो । यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ । गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन: उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन् । गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत महिना भनेका थिए, ‘यो वर्ष चीनमा रूसी ऊर्जा आपूर्ति ४० प्रतिशतले वृद्धि हुनेछ ।’ सन् २०२२ मा युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर पश्चिमा मुलुकले गरेको कारबाहीका कारण रूसको ग्यास निर्यातमा गिरावट आएको थियो । यसै महिना रूसको अर्थतन्त्रका बारेमा बोल्दै पुटिनले गत वर्षको दोस्रो त्रैमासिक अकल्पनीय प्रतिबन्धपछि ‘सबैभन्दा कठिन’ भएको बताएका थिए ।युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको ब्यापारलाई महत्व दिएको छ । चीन यस पहिले नै साइबेरिया पाइपलाइनद्वारा जोडिएको छ । राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ बताएका थिए । त्यो पाइपलाइनले वार्षिक रूपमा चीनमा ५० अर्ब क्युबिक मिटर अर्थात् लगभग रूस देखि जर्मनी सम्म परित्यक्त ‘नोर्ड स्ट्रीम–२’ परियोजनाको कूल क्षमताको बराबर प्राकृतिक ग्याँसको परिवहनको सुविधा प्रदान गर्न सक्छ । मस्को नयाँ पाइपलाइन अगाडि बढ्नेमा विश्वस्त छ, तर बेइजिङले अहिलेसम्म स्पष्ट प्रतिबद्धतालाई बेवास्ता गरेको छ । चीन र रूसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथिको आक्रमणपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ हुँदै गएको छ । बेइजिङले युद्धमा आफू तटस्थ पार्टी भएको दाबी गरे पनि मस्कोको निन्दा गर्न अस्वीकार गरेको र रूससँगको सम्बन्धका कारण पश्चिमा देशहरूले चीनको आलोचना गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार रूससँगको सम्बन्धमा चीनको प्रभाव उच्च छ । मस्कोको अन्तर्राष्ट्रिय अलगाव गहिरिँदै जाँदा चीनको सम्बन्ध बढ्दै गएको छ । गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो, जसले गर्दा पश्चिमा देशहरूले रूसले कब्जा गरेको अधिकांश भूभाग आफ्नो कब्जामा राख्न सक्ने बताएका थिए । मार्चमा मस्कोमा भएको शिखर सम्मेलनमा सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको थियो र दुई नेताले सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरेको’ घोषणा गरेका थिए । गत महिना युक्रेन आक्रमणपछि रूसी अधिकारीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री मिखाइल मिशुस्तिनसँगको भेटमा चिनियाँ नेताले मस्कोको ‘प्रमुख स्वार्थ’मा आफ्नो ‘दृढ समर्थन’ व्यक्त गरेका थिए ।रासस