सरकारलाई महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो यस्तो बताएका हुन् । सरकारले सार्वजनिक खरिद कानुन अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य (भेरियसन) तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको उनको भनाइ थियो । मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको सङ्ख्यामा खरिद गर्ने प्रस्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए । साउदले अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए । उनले राहदानीको माग अत्यधिक रहेकाले महँगोमा भए पनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको बताए । उनले ६६ पृष्ठको राहदानीसमेत ५ लाख राहदानीको मौज्दात रहेकाले सो मौज्दातले करिब ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको बताए । उनले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भए पनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताए । उनले भने, ‘सरकार राहदानी भेरियसन आदेशबाट उपलब्ध गराउनुपर्ने चापमा परराष्ट्र मन्त्रालय रहेको छ । विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको सङ्ख्यामा खरिद गर्ने प्रस्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख विद्युतीय राहदानी मात्रै खरिद भएको थियो । हालसम्म पनि नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण सम्बन्धी निश्चित भएको नदेखिएकाले राहदानी सेवा अवरुद्ध गर्न नमिल्ने भएकाले अन्तरिम अवधिका लागि भेरियसन आदेशबाट थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलागेको हो । ६६ पृष्ठको राहदानीसमेत ५ लाख राहदानीको मौज्दात रहेकाले सो मौज्दातको करिब ४ महिना मात्रै धान्न सक्ने अवस्था रहेकाले त्यसपछि राहदानी जारी गर्नको लागि तत्काल भेरियसन आदेशबाट खरिद गर्नुको विकल्प नभएको समिति समक्ष यी तथ्यहरु राखेको छु ।’ समिति बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्यधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताए । साउदले विद्युतीय राहदानी हाईटेक प्रविधि भएकाले जिल्लाहरूबाट वितरण गर्दा समस्या भएको पनि बताए । उनले जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयहरूको सहयोग विभागले लिनुपर्ने भन्दै सुरुका दिनमा जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी प्रयोग गर्न सक्ने दक्ष जनशक्ति कम रहेको बताए । उनले गृह मन्त्रालयले ५६ वटा जिल्लाहरूमा १७ जना जनशक्ति थप गरेपश्चात् केही सहज भएको बताए । साउदले अहिले औसतमा दैनिक ६ हजार ५०० सम्म राहदानी छपाई हुने बताए ।
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रुपैयाँ बराबर ऋण थपिएको छ । नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसद्मासमेत उठिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले तीन खर्ब ६ करोड रुपैयाँ ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब आठ करोड ६० लाख रुपैयाँले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रुपैयाँ छ । यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ । यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख रुपैयाँ, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख रुपैयाँ र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार रुपैयाँ र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रुपैयाँ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ रुपैयाँ बराबर पर्न जान्छ । रासस
नेपालमै पहिलो पटक ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने
काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो । ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्नका लागि बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसईओ) विजय शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ईसेवाले प्रयोगकर्ताहरुका लागि जहिले पनि नयाँ इनोभेट ल्याइरहेको सीईओ खड्काले बताए । ईसेवाले नेपालमै पहिलो पटक अदभूत सेवा प्रयोगकर्ताहरुका लागि ल्याएको हुँदा कारोबार गर्न सहज हुने उनको भनाइ छ । एभरेष्ट बैंकका डीसीईओ शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरुसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । सहज रुपमा सबै ईसेवा प्रयोगकर्ताहरुले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने उनको भनाइ छ ।
मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मङ्गलबार सुरु भएको १३औँ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। अध्यक्ष गर्बुजाले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कोदो, जौ, उवा, जङ्गली फलफूल चुत्रे, औँसेलु, जानमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । ‘किसान चौतारी, जोतौँ खेतबारी’ कार्यक्रम सञ्चालन गरी बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन, कृषि औजार खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजो खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैङ्गिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाइ, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन् । गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । खुल्ला बहुसांस्कृतिक र मगर सङ्ग्रहालयका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मिर्गौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ । पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गर्ने जनाएको छ । सडक, खानेपानी, सिँचाइतर्फ पर्याप्त योजनाहरु सञ्चालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मूल प्रवाहमा ल्याउन आयोजना बैंक तयार गरी सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ । अध्यक्ष गर्बुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पअनुसार समस्त गाउँपालिकावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताए। गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गरेको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिकसम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए । रासस
पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ । मर्मतका लागि बिहानदेखि विद्युत्का कर्मचारी खटिएका छन् । विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ ।
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदूत
पोखरा । नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।
पोखरा भ्रमण गर्न चिनियाँ नागरिकलाई महानगरको निम्तो
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताएका छन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताए । उनले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताए । ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाएँदै लैजान सकियो भने विमानस्थल नियमति सुचारु हुनसक्छ, यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ । दोस्रो मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ, यो मुख्य आकर्षणको केन्द्र हुन्छ,’ उनले भने । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताए । उनले चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको पनि बताए । उनले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताए । ‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु, चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु, म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु, अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु,’ उनले भने । प्रमुख आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिए ।
योगाभ्यासमा आकर्षण बढ्दै, शरीर स्वस्थ र तन्दुरुस्त हुने
रामपुर । दैनिक योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र फुर्तिलो हुँदै गएको रामपुरकी विन्दु श्रेष्ठ बताउँछिन् । उनी नियमित बिहान दुई घण्टा योग कक्षमा बसेर योगाभ्यास गर्छिन् । यहाँस्थित पतञ्जली योग समितिले दैनिक योगाभ्यास गराउन थालेपछि हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सहभागी भएर योग गरिरहेको श्रेष्ठ बताउँछिन् । ‘योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त बनेको छ, फूर्तिलो भइँदोरहेछ, मानव शरीरलाई योगाभ्यास अति आवश्यक रहेछ’ उनी भन्छिन् । टाउको दुख्ने, र शरीरका भाग दुख्नेजस्ता विभिन्न समस्या योगाभ्यास गर्न थालेपछि हट्दै गएको श्रेष्ठको अनुभव छ । खाना रुच्ने, शरीर फूर्तिलो हुने र निरोगी बनाउने हुँदा अरुलाई पनि योग गर्न उनी सुझाव दिन्छिन् । फुर्सदको समयमा हरेक दिन योग कक्षमा बसेर योगाभ्यास गर्दै आइरहेको बताउँछिन्, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ पनि । दैनिक योग गर्न थालेपछि दिनभरको काम र हिँडाइको थकान नहुने उनको भनाइ छ । ‘घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व रहेको बताउँदा पनि यसलाई कतिपयले महत्व दिँदैनन्’ सदस्य श्रेष्ठ भन्छिन्, ‘हरेक बिहान दुई घण्टा योग ग¥यौँ भने, दिनभरको थकान र कामको बोझ हटेर जानेछ ।’ पतञ्जली योग समितिले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म योगाभ्यास कक्षा सञ्चालन गर्दै आइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगकक्ष र रेशम सभाकक्षमा पनि सामूहिकरूपमा योग सिकाइन्छ । योगकक्षमा पुगेर योगाभ्यास गर्ने दैनिक करिब एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित कक्षा अगाडि बढिरहेको छ । रामपुरमा विसं २०७० देखि नियमित योग कक्षा चलिरहेको छ । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष सुदीप गैरे तथा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगभ्यासका विधि सिकाउँदै आएका छन् । पछिल्लो समय योगाभ्यासमा स्थानीयवासीको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् । उनी भन्छन्, ‘सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जाँदा शरीर फुर्तिलो र निरोगी हुन थालेपछि नियमित अभ्यास गर्ने बढ्दै गएको पाइएको छ’ । नियमित अभ्यास गर्दै जाँदा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्टिकजस्ता रोग निको हुँदै गएको सहभागीहरू बताउँछन् । नियमित अभ्यासले रोग कम हुँदै गएपछि भगवती गौतमले अस्पतालका औषधि प्रयोग गर्न छाड्नुभएको छ । योगाभ्यास गर्नुअघि उनले औषधोपचारमा धेरै धनराशि खर्च गर्दै आएका थिए । उपचारका लागि भरतपुर, बुटवल, काठमाडौंलगायत धेरै अस्पतालमा धाउँदा पनि व्यथा भने ज्यूँका त्यूँनै रहेकामा अहिले योग गरेपछि रोग निको भएको भगवती बताउँछन् । अभ्यास गर्ने स्थानको अभावमा वडा र टोल–टोलमा योग विस्तार गर्न कठिन भएको छ । योगाभ्यासमा नियमित आउने व्यक्तिमा मोटोपन, ढाड तथा कम्मर दुख्ने, पिनास, अत्यधिक टाउको दुख्ने र माईग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ । योगाभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभइ प्यारालाइसिसजस्ता रोग पनि निको बनाउँछ भन्ने कुरामा पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हुँदै गएपछि सहभागी हुन थालेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको जमात बढ्नेछ । रामपुर नगरपालिकाका दशवटै वडाका टोल र बस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ । रासस