सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले आदर्शनगर, वीरगंजमा अवस्थित क्याफे मोकाका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । यसैगरी ब्राहम चोक, वीरगंजमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरुमा पनि अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन । साथै आदर्शनगर, वीरगंजमा अवस्थित माल्ट एण्ड माल्टका सेवाहरुमा अधिकतम २० प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
अकूत सम्पत्ति कमाएको अभियोगमा प्राधिकरणका इञ्जिनियर यादवविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो जरिवाना, कैद सजायकोसमेत माग गरेको छ । प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ बराबर देखिन्छ । इञ्जीनीयर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ । आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ । आयोगले स्रोत नखुलेको सम्पत्ति जफथ गर्न समेत माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै, आयोगले हाल पोखरा महानगरपालिका– १८ साविक सराङकोट गाविसको करिब छ रोपनी सार्वजनिक जग्गा मिचेर नक्शा पास गरी घर निर्माण गरेको अभियोगमा तत्कालीन गाविस अध्यक्षसहित छ जनाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी बढिबढाउ बोलपत्र आह्वान गरी व्यक्तिलाई दिइएको पाइएको छ । तत्कालीन गाविसका जिम्मेवार अधिकारीले नै स्थानीय दिलबहादुर गुरुङलाई सरकारी जग्गा दिएको अनुसन्धानबाट खुलेको छ । सरकारी जग्गा हो भन्ने जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएको छ । सरकारी जग्गामा स्थायी संरचनासमेत निर्माण गरिएको छ । आयोगले तत्कालीन गाविस अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापा, तत्कालीन वडा सदस्य एमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर थापा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध समान एक करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । रासस
नेपाल बैंकको सञ्चालकमा काफ्ले नियुक्त, लिए शपथ
काठमाडौं । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त स्थानमा धनीराम शर्मा थिए । साथै, नवनियुक्त सञ्चालक काफ्लेले आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले गत असार ६ गते नै बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवालीबाट शपथ लिएका हुन् ।
कसहा बजारमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आज असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ । आज एक औपचारीक कार्यक्रमका बिच शाखाको उद्घाटन उक्त कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र सभापतित्व संस्थाका संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोष्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजिवि लगायत अन्य व्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए । संस्थाको तर्फबाट आफ्नो कुरा राख्दै नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, धनगढीमाई न.पा. वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः भगलु महतो, विजय कुमार महतो र रामभरोस महतो , कसहा बजार समितिका अध्यक्ष धर्मनाथ महत्तो, समाजसेवी तथा वुद्धिजिवी गणपित यादव, राम प्रसाद महत्तो, गंगा यादव, राजकुमार महतो, विष्णु न्यौपाने, विवेक महतो, दिपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल एघार वटा पुगेको छ । संस्थाले भोली सुनसरीको मधुवनमा अर्को एक शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा संचालनमा ल्याई यो आवमा कुल शाखा संख्या १३ वटा पुर्याउने योजना रहेको जनाएको छ ।
श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो
श्रीलङ्का । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ । एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७।१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९।० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ । सन् २०२३ को अन्त सम्ममा एकल–अङ्कको तथ्याङ्कमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ । रासस
नागरिक लगानी कोषको सञ्चालकमा खत्री
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् । खत्री अर्थमन्त्रालयका सहसचिव हुन् ।
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
बेलहिया । भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि एक सय रुपैयाँ भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो । भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, ‘हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।’ भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ । भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव परेको बताए । ‘भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ’, उनले भने । उनले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताए । ‘कसैले पनि तस्करीको समान न किनौँ, कुनै व्यवसायीले बिल विजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ’, शर्माले भने । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताए । उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागुऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताए । वरिष्ठ पत्रकार माधव ढुङ्गानाले नेपालको भन्सार ऐन अनुसार संक्षिप्त प्रज्ञापनपत्र कार्यन्वयनमा गरिएको कडाइप्रति भारतीय पक्षले टाउको दुखाउनुको अर्थ नहुने बताए । लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले भन्सारमा कडाइ गर्ने कार्य राम्रो भएको बताउँदै मूल भन्सार भन्दा दायाँबायाँको नाकाबाट भइरहेको चोरी तस्करी नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको बताए । ‘सीमापारीबाट अवैध रुपमा साइकल, मोटरसाइकल, चिनी, दाल, किराना सामान, कपडालगायत अन्य सामग्री खरिद गर्ने काम व्यवसायीले बन्द गर्नुपर्छ’, उनले भने । लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले सिद्धार्थ उद्योग वाणिज्य सङ्घले सस्तो बजार लगाएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले बिलबिजक बिनाको समान खरिद नगर्न आग्रह गरे । ‘कसैले पनि बिलबिजक बिनाको समान किन्नु अवैध हो’, उनले भने, ‘अवैध कार्यमा संलग्न जुनसुकै व्यपारीलाई प्रहरी प्रशासनले कारबाही गरेमा हामीले उनीहरुको बचाउमा एक शब्द पनि खर्चिन्नौँ ।’ अध्यक्ष श्रेष्ठले भन्सार प्रशासनले संक्षिप्त प्रज्ञापनपत्रको कडाइ गरेकोप्रति स्वागत गर्दै यस कार्यले नेपाली व्यवसायीलाई राहत मिलेको बताए । ‘यताका किराना पसल, कपडा पसल, हार्डवेयर पसललाई केही राहत मिलेको छ, भन्सार राजस्व बढेको छ । राज्य र नागरिकलाई फाइदा भएको छ । हामी भन्सार र प्रहरी प्रशासनको उक्त कार्यको प्रशंसा गर्दछौँ’, उनले भने । अध्यक्ष श्रेष्ठले सीमावर्ति भारतीय व्यपारीले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घले रोकेको भन्ने गलत प्रचार गरेकोप्रति ध्यानकर्षण भएको बताए । उनले भने, ‘हामीले बोडरमा गएर रोेकेका छैनौँ, यति अनुरोध छ कि सीमापारीबाट अवैध समान आउनु हुँदैन । सामान ल्याउँदा भन्सार तिरेर मात्रै ल्याउनु पर्छ ।’ भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ति भारतीय बजारबाट एक सय रुपैयाँ मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यपारीहरुले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए । भन्सार नतिरी तस्करहरुले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस
एनएमबि बैंकले ल्यायो ‘वि च्याट पे’, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने
पोखरा । एनएमबि बैंकले बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्याउन ‘वि च्याट पे’ सेवा सुरु गरेको छ । चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक श्योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चिनियाँ अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोह बीच सम्पन्न भएको छ । ‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’ बाट भुक्तानी गर्न सक्नेछन् । यसले व्यवसायलाई अवसरको बाटो खोलेको नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए । एनएमबिले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । यस्तै, सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ । यो साझेदारीले वीच्याटमार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्ने बैंकले जनाएको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।