काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले मेलम्ची खानेपानी उप-आयोजना-२ अन्तर्गतको ७१.७२ किमी पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमबीच खानेपानी वितरण सञ्जाल सुधार कार्यको चारवटा प्याकेज अन्तर्गत पाइपलाइनको स्वामित्व हस्तान्तरण गरिएको हो । यो आयोजनाअन्तर्गत १०१० किमी पाइपलाइन विच्छ्याइएको छ । जसमध्ये करिब ४० करोड १४ लाख रुपैयाँ बराबरको पाइलाइन हस्तान्तरण गरिएको हो ।
महाकांल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज-१ अन्तर्गत गौशाला क्षेत्रमा बिच्छ्याइएको २१.५७ किमी तथा प्याकेज-२ अन्तर्गत तिलगंगा र सिनामंगलमा बिच्छ्याइएको १७.०४ कि.मि. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।
खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज -३ अन्तर्गत नरेफाँट र जडिबुटीमा बिच्छ्याइएको २२.६६ किमी र प्याकेज-४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिच्छ्याइएको १०.४५ किमी खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ । खानेपानी वितरण प्रणालीको निर्देशिका,नक्सा र परीक्षण प्रमाणपत्र समेत बोर्डलाई हस्तान्तरण गरिएको छ ।
खानेपानी मन्त्रालयका सचिव रामआधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता गरेका छन् ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव रामआधार साहले काठमाडौंमा दशकौं पुराना खानेपानी वितरण प्रणालीलाई क्रमिकरूपमा विस्थापित गर्दै आधुनिक नयाँ प्रणालीबाट स्वच्छ खानेपानी वितरण शुरु भएको बताए ।
खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले खानेपानी वितरणमा कुनै कमी कमजोरी हुन नदिई नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बढी जिम्मेवारीपूर्ण ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए ।
चारवटै प्याकेजमा पर्ने क्षेत्रका करिब ८५ हजार घरहरूमध्ये २० हजार ४०० भन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण सुरु भएको छ ।