गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचालन खुल्न नसकेको डिएसपी लामिछानेले बताउनुभयो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।
ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता
काठमाडौं । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
काठमाडौंको एक सहकारी सम्कर्पबिहीन, अध्यक्षको तीन पुस्ते सार्वजनिक
काठमाडौं । जनमत बचत तथा ऋण सहकारी संस्था घरभाडा नतिरी सम्फर्कबिहीन बनेको छ । काठमाण्डौं महानगरपालिका २४ ईन्द्रचोक स्थित यादव प्रसाद खकुरेलको घरभाडा नतिरि सहकारी संस्थाकी अध्यक्ष सजना श्रेष्ठ सम्पर्क बिहीन भएको घरधनीले बताएका छन् । घरधनी खकुरेलका अनुसार वि.सं.२०७७ माघदेखि सहकारी संस्थाले घरभाडा तिरेको छैन । संस्थाकी अध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्दा फोन समेत बन्द रहेको उनले बताए । घरमा राखिएको सहकारीको सम्पत्तिले आफ्नो घर प्रयोग गर्नबाट समेत बञ्चित गरिएको उनको भनाइ छ । ‘पूर्ण बहादुर श्रेष्ठको नातीनी राजन श्रेष्ठको छोरी सजना श्रेष्ठले घर बाहाल सम्झौता गरि सहकारी संचालन गरिरहेकोमा मिति २०७७ सालको माघदेखि घर वहाल वापत म घर धनिलाइ बुझाउनुपर्ने भाडा रकम नदिएको, विभिन्न मितिमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको, हाल आएर सम्पर्क गर्न खोज्दा समेत फोन स्विच अफ रहेको छ,’ घरधी खकुरेलले भने, ‘हालसम्म पनि मेरो घरमा सहकारीले भाडामा लिएको तला सहकारीकै सामानले ओगटेको कारण मेरो उक्त सम्पत्तीमाथीको हक अधिकार पूर्ण रुपमा उपभोग गर्नबाट वञ्चित गराइ मलाई अपुरणीय क्षती पुग्न गएको छ ।’ उनले एक सूचना प्रकाशन जारी गर्दै ७ दिन भित्र सहकारीकी अध्यक्ष सजना श्रेष्ठ, संचालक समितिका कुनै सदस्य वा सहकारीसँग सम्बद्ध व्यक्तिले सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै, घर धनीलाइ दिनुपर्ने घरभाडा रकम उपलब्ध गराइ घर खाली गराउन समेत उनले आग्रह गरेका छन् । यदि यस अवधिमा सहकारीको तर्फबाट कोही पनि सम्पर्कमा नआएमा कानूनी प्रकृया अपनाएर घर खाली गर्ने उनको भनाइ छ । सहकारी संस्थाले काठमाडौं महानगरपालिका २४ ईन्द्रचोक स्थित कित्ता नम्बर ९०० र ९०१ मा बनेको घरको तेस्रो तला भाडमा लिइ संचालनमा आएको हो । घरधनी र सहकारीबीच वि.सं. २०७६ जेठ ६ गते घर वहालमा दिने सम्झौता भएको थियो ।
विश्वका आईसीटी विज्ञ नेपालमा, आजबाट ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै
काठमाडौं । आज असार ८ र ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ को सुरु हुने भएको छ । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)को आयोजनामा हुने कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)को पनि आयोजना गरेको हो । आईसीटी फाउन्डेसन नेपालले कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्ति रहने जनाएको छ । दुई दिने कन्क्लेभमा जापान, दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने बताइएको छ । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । आज असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चारवटा किनोट र मन्त्री रेखा शर्मासँग पावर संवाद सेसन हुने छ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरु रहेका छन् । त्यस्तै, दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् । कन्क्लेभसँगै अलगरूपमा मिनी मोबाइल वल्र्ड कंग्रेसको रूपमा ह्वावेले मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने छ । मोबाइल कंग्रेसमा सहभागीले ५ जी एआईसँगै नयाँ प्रविधिहरूको जानकारी पाउने छन् । हावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा छ, त्यसैमा रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको छ ।
छुट्ला है ! थ्रीस्टारको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपछि सर्वसाधारण लागनीकर्तालाई निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत दर अर्थात् १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९२ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दा र १५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ३६ हजार ९३८ कित्ता सामुहिक लागनी कोष र २ प्रतिशत अर्थात् १४ हजार ७७५ कित्ता कर्मचारीलाई छुट्याई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नयाँ आवधिक योजनाका लागि शुरु भयो सुझाव संकलन
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ । आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ । बिहीबार पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषय विज्ञ सहभागी छन् । बिहीबारको छलफलमा सहभागी विज्ञहरूले राष्ट्रिय योजना आयोगले बनाउने १६औँ आवधिक योजनाले सङ्घीयताको संरचनाअनुरुप योजना तर्जुमा हुनुपर्नेमा जोड दिएका छन् । प्रदेश र पालिकाको जिम्मेवारी तथा उपस्थितिलाई समेत विचार गरेर योजना तर्जुमा गरिनुपर्ने विज्ञहरूको सुझाव छ । प्रदेश र पालिकाका योजनाहरूलाई डोर्याउन सक्ने गरी योजना तयार पार्नसके मात्र त्यसलाई सङ्घीयताअनुरुप सबै तहले अवलम्बन गर्न सक्ने विज्ञहरूको तर्क छ । योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठका अनुसार विषय विज्ञहरूले दिएको सुझावलाई समेत आधार मानी १६औँ योजनाको अवधारणापत्र तयार हुनेछ । उनका अनुसार साउन पहिलो साताभित्रै यसलाई अन्तिम रूप दिने गरी काम भइरहेको छ । वि.स. २०८१ साउनदेखि कार्यान्वयनमा जाने १६औँ आवधिक योजना आगामी माघ महिनाभित्रै अन्तिम रूप दिएर प्रकाशन गर्ने आयोगको तयारी छ । बिहीबारको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, श्रम तथा रोजगार मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, आयोगका पूर्वसदस्यहरू डा. चन्द्रमणि अधिकारी, डा. गणेश गुरुङलगायत सहभागी थिए । त्यसैगरी, अर्थमन्त्रालका पूर्वआर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेती, पूर्वसचिवहरू पुरुषोत्तम ओझा, यमकुमारी खतिवडा, केदारबहादुर अधिकारी, पूर्णचन्द्र भट्टराई, गोपीनाथ मैनाली, विषयविज्ञहरू डा विश्वास गौचन, चन्द्र ढकाल, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेललगायतको उपस्थिति थियो । विज्ञहरूले आयोगको भूमिका थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, आगामी आवधिक योजना सङ्घीय मात्र नभई राष्ट्रिय योजना हुनुपर्ने, पञ्चवर्षीय योजना कार्यान्वयनको कुन वर्ष कति काम गर्ने भनेर छुट्टिनु पर्ने लगायतका सुझाव आएका छन् । पञ्चवर्षीय योजनाको प्रचार नभएको उल्लेख गर्दै विज्ञहरूले तीनवटै तहका सरकार र सरोकारवाला निकायसम्म पुग्नुपर्ने समेत सुझाव दिएका छन् । नीति निर्माण र यसको कार्यान्वयनमा समन्वयसमेत नभएको भन्दै कतिपय विज्ञहरूले यसका लागि आयोगले नेतृत्वदायी भूमिका लिनुपर्ने धारणा राखेका छन् । यससँगै २०७८ को जनगणनालाई दृष्टिगत गर्दै योजना बनाउनुपर्ने, निजी क्षेत्रको लगानी बढाउने नीतिको पहल आयोगले लिनुपर्ने, कृषि लगायतका उत्पादनलाई बढाउने नीति अवलम्बन गर्नुपर्ने लगायतका सुझाव विज्ञबाट आएका छन् । बुधबारदेखि सुरु भएको छलफल शुक्रबारसम्म चल्ने आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार अवधारणापत्र तयार भएपछि त्यसका आधारमा प्रदेश तहमा समेत छलफल र अन्तरक्रिया गर्ने आयोगको तयारी रहेको छ । रासस
सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई तीन वटा केवलकारमा २० प्रतिशत छुट
काठमाडौं । आइएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरुले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएको छ । ग्रुपले चन्द्रागिरि हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा सो मात्रामा छुट दिने भएका हुन् । सो सम्बन्धमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले टिकट मूल्यमा सो मात्राको छुट पाउने भएका छन् । यो सम्झौता सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्र्तगत भएको हो । उक्त छुट पाउन बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्ने छ । बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा आइएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा शसस्त्र बलका प्रतिनिधिहरुको सहभागिता थियो ।
बजेट कार्यान्वयनको पूर्व तयारी गर्दै अर्थ मन्त्रालय, प्रतिवद्धता भएका सबै कार्यान्वयन हुने
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी शुरु गरेको छ । आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे । डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिए । उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी शुरु गर्न समेत निर्देशन दिए । उनले भने- ‘ बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ ।’ सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र मुख्य सचिव डा. बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए । बैठकमा अर्थ मन्त्रालयको तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुति उपर मन्त्रालयका सचिवहरूले आ-आफ्नो धारणा राखेका थिए ।