काठमाडौं । जनमत बचत तथा ऋण सहकारी संस्था घरभाडा नतिरी सम्फर्कबिहीन बनेको छ । काठमाण्डौं महानगरपालिका २४ ईन्द्रचोक स्थित यादव प्रसाद खकुरेलको घरभाडा नतिरि सहकारी संस्थाकी अध्यक्ष सजना श्रेष्ठ सम्पर्क बिहीन भएको घरधनीले बताएका छन् ।
घरधनी खकुरेलका अनुसार वि.सं.२०७७ माघदेखि सहकारी संस्थाले घरभाडा तिरेको छैन । संस्थाकी अध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्दा फोन समेत बन्द रहेको उनले बताए । घरमा राखिएको सहकारीको सम्पत्तिले आफ्नो घर प्रयोग गर्नबाट समेत बञ्चित गरिएको उनको भनाइ छ ।
‘पूर्ण बहादुर श्रेष्ठको नातीनी राजन श्रेष्ठको छोरी सजना श्रेष्ठले घर बाहाल सम्झौता गरि सहकारी संचालन गरिरहेकोमा मिति २०७७ सालको माघदेखि घर वहाल वापत म घर धनिलाइ बुझाउनुपर्ने भाडा रकम नदिएको, विभिन्न मितिमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको, हाल आएर सम्पर्क गर्न खोज्दा समेत फोन स्विच अफ रहेको छ,’ घरधी खकुरेलले भने, ‘हालसम्म पनि मेरो घरमा सहकारीले भाडामा लिएको तला सहकारीकै सामानले ओगटेको कारण मेरो उक्त सम्पत्तीमाथीको हक अधिकार पूर्ण रुपमा उपभोग गर्नबाट वञ्चित गराइ मलाई अपुरणीय क्षती पुग्न गएको छ ।’
उनले एक सूचना प्रकाशन जारी गर्दै ७ दिन भित्र सहकारीकी अध्यक्ष सजना श्रेष्ठ, संचालक समितिका कुनै सदस्य वा सहकारीसँग सम्बद्ध व्यक्तिले सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै, घर धनीलाइ दिनुपर्ने घरभाडा रकम उपलब्ध गराइ घर खाली गराउन समेत उनले आग्रह गरेका छन् । यदि यस अवधिमा सहकारीको तर्फबाट कोही पनि सम्पर्कमा नआएमा कानूनी प्रकृया अपनाएर घर खाली गर्ने उनको भनाइ छ ।
सहकारी संस्थाले काठमाडौं महानगरपालिका २४ ईन्द्रचोक स्थित कित्ता नम्बर ९०० र ९०१ मा बनेको घरको तेस्रो तला भाडमा लिइ संचालनमा आएको हो । घरधनी र सहकारीबीच वि.सं. २०७६ जेठ ६ गते घर वहालमा दिने सम्झौता भएको थियो ।
