विकासन्युज

विवाह मण्डपबाटै बेहुला पक्राउ, जन्तीको बिचल्ली

झापा । झापामा विवाह मण्डपबाटै बेहुलालाई पक्राउ परेका छन् । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

पाल्पाको गाउँका चौतारीमा निःशुल्क इन्टरनेट सेवा

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो । सो सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन् । अहिले वडाका दुईवटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ । इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट बुझाउने भने वार्षिक खर्च १३ हजार रुपैयाँ रहेको छ । विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । हावापानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । वडा नम्बर १ मा रहेका २० वटा चौतारीमा आफ्नो कार्यकालभित्र इन्टरनेट सेवा प्रवाह गर्ने वडाध्यक्ष ईश्वर काफ्लेले बताएका छन् । अहिले गर्मीको समय भएकाले दिउँसोमा चौतारीको शीतल छहारीमा धेरैको जमघट हुने, खेती लगाउने किसान पनि कामको बोझले थकित भएर थकान मेटाउने थलो, बाटो हिँड्ने बटुवा बस्ने ठाउँ भएकाले प्रविधिको प्रयोग गरी नयाँ–नयाँ कुरा खोज अनुसन्धान र ग्रहण गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको वडाध्यक्ष काफ्ले बताउँछन् । ‘विज्ञान र प्रविधिको युगमा इमेल इन्टरनेटबाट धेरै ज्ञान सीप सिक्न पाइने हुँदा घरमा मात्र नभई घर बाहिर निस्कदा, बाटो हिँड्दा, मेलापात गर्दा इन्टरनेटको पहुँच भएपछि जुनसुकै समय पनि स्थानीयले मोबाइलमार्फत खोजी, अध्ययन गर्न सक्नेछन्’, उनले भने । अहिले सेवा सुरु भएपछि ज्येष्ठ नागरिक, युवा तथा फुर्सदिला नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै इन्टरनेटको प्रयोग गरिरहेका छन् । गर्मीमा शीतल छहारीमा बसेर इन्टरनेटका माध्यमबाट नयाँ कुराको जानकारी, आफन्त, साथीभाइसँगको कुराकानी, आफूलाई चाहिने सामग्री गुगलमा खोजेर अध्ययन गर्न धेरै सहज भएको स्थानीय हरिकुमारी न्यौपाने बताउँछिन् । दिनभर चौतारीमा बसेर समय बिताउने स्थानीय हिजोआज मोबाइलको माध्यमबाट नयाँ कुरा सिक्न थालेका छन् । रासस

एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा, यी हुन सबैभन्दा धेरै आयात हुने वस्तुहरु

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको हो । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ । यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ । भारतसँग साढे ८ खर्बको व्यापार घाटा नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र ११ महिनाको अबधिमा साढे ८ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागको जेठ मसान्तसम्मको तथ्यांक अनुसार भारसँग मात्रै आठ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ । त्यस्तै, चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ । यी हुन सबैभन्दा धेरै आयात हुने वस्तुहरु जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोडको डिजेल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोड रुपैयाँको एलपी ग्यास रहेको छ । त्यस्तै, ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ । यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै, १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोड रुपैयाँको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

नमोबुद्धका अनियमित संरचना हटाइँदै

  काभ्रेपलाञ्चोक । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएका संरचना पुरातत्व विभागअन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रोहवरमा बिहीवारदेखि हटाउन थालिएको हो । नमोबुद्ध नगरका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी, प्रशासन, नमोबुद्ध भगवान् घ्या गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितिमा हटाइएको जनाइएको छ । पुरातत्व विभागले संरचना नहटाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रिया अघि बढाउन नसकिने जनाएपछि सरोकारवालासँगको छलफलपछि अनियमित संरचना हटाउन थालिएको हो । नगर प्रमुख कुनसाङ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन अनियमित संरचना हटाउन थालिएको बताए । ‘नमोबुद्धलाई थप व्यवस्थित बनाउन संरचना हटाउनेदेखि थप निर्माण गर्न पनि सक्नेछौं,’ उनले भने । नमोबुद्ध नगरले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाअन्तर्गत संरचना हटाउन थालिएको बताइन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं वातावरणीय महत्त्व बोकेको विश्व प्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ । ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी काम अघि बढाइएको हो । यसबाट नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, २ स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुंगा छाप्ने, सार्वजनिक शौचालय लगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ भने डीपीआरअनुसार थप काम अघि बढाउन संघीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालय लगायत सरोकारवाला निकायमा पहल गरिएको छ । पर्यटकीयस्थल नमोबुद्धलाई विशेष गरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ । हाल नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशाला समेत रहेको छ । सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा संघीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृंखला देख्न सकिन्छ । पुरातत्व विभागका अनुसार नेपालका ४ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । रासस

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, प्लस टुलाई पनि अवसर

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो । कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टूदेखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।

असार २४ देखि साना किसान आरएमडीसी लघुवित्तको एकीकृत कारोबार

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २४ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुबै लघुवित्तको गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेका छन् । आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । गत भदौ ३१ गते दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला बन्ने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

गण्डकी सरकारले नयाँ सवारी साधन खरिद नगर्ने 

काठमाडौं । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ । वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । वार्षिक बजेट तर्जुमा गर्दा बजेटलाई दिगो विकास केन्द्रित, समानुपातिक समावेशी र प्राथमिकता प्राप्त केन्द्रित गर्न लैङ्गिक उत्तरदायी, दिगो विकास लक्ष्य र जलवायु अनुकूलनसम्बन्धी बजेट कोड अवलम्बन गर्ने व्यवस्था मिलाइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना, क्रमागत र अधुरा आयोजनाको तोकिएको बाँकी काम आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजनमा प्राथमिकता दिइएको उनले बताए । सार्वजनिक प्रकृतिका सामुदायिक संस्थाका भवन प्रदेश सरकारको स्रोतबाट निर्माण गर्दा अनिवार्यरुपमा उक्त संस्थाको नाममा जग्गाको स्वामित्व वा भोगाधिकार प्राप्त भएको हुनुपर्ने व्यवस्था मिलाइएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीलाई योजना तथा बजेट तर्जुमा सम्बन्धमा वित्तीय अनुशासन, वित्तीय हस्तान्तरण, प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली, सार्वजनिक खरिद, आर्थिक अनुशासन तथा विकासलगायतका विषयमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए । प्रदेशको सन्तुलित विकासलाई प्रभावकारी बनाउन पूर्वाधार विकास कार्यक्रमका लागि रु ७२ करोड विनियोजन गरिएको र  कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाई व्यवस्थित गरिने उनले बताए । रासस