विकासन्युज

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन ।

बजेटको तयारीमा तनहुँका स्थानीय सरकार

दमौली । तनहुँका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् । जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केही स्थानीय तह सुझाव सङ्कलनमा व्यस्त छन् । अधिकांश स्थानीय तहले भने इमेलमार्फत नै सुझाव माग गरेका थिए । शुक्लागण्डकी नगरपालिकाले बजेट, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले बजेट, नीति तथा कार्यक्रममा नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिइएको बताए । प्राप्त सुझावलाई समेटेर आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्ने पण्डितले उल्लेख गरे । उनले भने, ‘स्थानीय सरकार जनताको नजिकको सरकार हो, स्थानीय सरकारमा नगरवासीले आफ्नो अपनत्व खोज्नु स्वाभाविक हो, हामी त्यसमा सचेत छौँ, नगरवासीको रचनात्मक सुझावलाई समेट्छौँ ।’ नगरपालिकाले नगर सल्लाहकार, राजनीतिक दल, बौद्धिक व्यक्तित्व, नागरिक समाज, नागरिक सरोकार मञ्च, उद्योग वाणिज्य सङ्घ, लियो, जेसिज, युवा क्लब, टोल विकास संस्था, मजदुर, निर्माण व्यवसायी, सहकारी, बैंक तथा वित्तीय संस्था, महिला, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, दलित, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, कृषक लगायतसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव सङ्कलन गरेको छ । जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिका बजेटको अन्तिम तयारीमा छ । असार १० गते नीति, कार्यक्रम र बजेट एकैसाथ प्रस्तुत गर्ने नगरपालिकाको तयारी छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले भूगोल र जनसङ्ख्यालाई आधार मानी सामाजिक आधारभूत आवश्यकता पूर्ति गर्ने गरी योजना बनाइने बताए । उनका अनुसार वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजना प्राथमिकतामा परेका छन् । यस पटक व्यास नगरपालिकाको बजेटको आकार अङ्क गणितीय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने न्यौपानेले बताए । उनका अनुसार सङ्घीय एवं प्रदेश सरकारले दिँदै आएको ससर्त, समानीकरण, समपूरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेटको आकार सानो बनाउन लागिएको हो । आव २०८०/८१ को बजेट तथा कार्यक्रमका लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाको तर्जुमा गरेर विषयगत समितिमार्फत छलफल गरी नगरसभामा पेस गर्ने तयारी गरेको छ । न्यौपानेले भने, “सङ्घ र प्रदेश सरकारले दिँदै आएको अनुदानमा धेरै कटौती भएको छ, त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ ।” उनका अनुसार यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालु खर्चमा कटौती गरी धेरैभन्दा धेरै बजेट पूँजीगत खर्चमा विनियोजन गर्ने तयारी छ । बजेट निर्माणका लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड निर्माण गरी पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई एक करोड २५ लाख  रुपैयाँ बजेट तोकिएकामा यस पटक भने एक करोड रुपैयाँको बजेटमात्र मापदण्ड तय गरिएको छ । वडामा चालु खर्च करिब २० प्रतिशत र पूँजीगत खर्च ८० प्रतिशत हुने गरी मापदण्ड बनाइएको छ । त्यसले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्ने दाबी गरिएको छ । नगरपालिकाले अघिल्लो आवमा २२ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने यस चालु वर्षमा करिब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आव २०७९/८० का लागि एक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको थियो । देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने असार १० गते बजेट प्रस्तुत गर्नेछ । गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरिने थापाले बताए। सो गाउँपालिकालाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने, भूमिहीन अव्यवस्थित बसोबासीको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाको चालु आवमा पूर्वाधारतर्फ हालसम्म ६४ किलोमिटर सडक स्तरोन्नति, ११ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको तथा सबै वडामा सडकको पहुँच पुगेको अध्यक्ष थापाले जानकारी दिए । साथै प्रदेश सरकारबाट पाँच किलोमिटर सडक कालोपत्र भएको छ । गाउँपालिका र सहरी पूर्वाधारबाट गरी तीन सय १० मिटर बाटो ढलान, तीनवटा कल्भर्ट तथा एक हजार तीन सय ५० मिटर पक्की नाला निर्माण भएका छन् । गाउँपालिकामा एक सय २३ आयोजना उपभोक्ता समितिबाट र आठवटा ठेक्काबाट गरी जम्मा एक सय ३१ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ निःशुल्क आँखा शिविरबाट ६३ र परिवार नियोजन कार्यक्रमबाट तीन सय चार जनाले सेवा पाएका छन् । भानु नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाले पनि बजेटको अन्तिम तयारी गरेका छन् । रासस

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्ष भित्र सक्छौं : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको  बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने,‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको छ। राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइड क्लिेयर गर्ने कुरामा सरकारको गहिरो ध्यान छ। आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरु मार्फत सम्बोधन गरिनेछ। अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको विषयमा नेपाल सरकारको गहिरो ध्यान छ।’ उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरुमार्फत सम्बोधन गरिने बताए।

चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै, वार्षिक ७ लाख पर्यटक भित्रिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन् । त्यसबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यसअघि आव २०७८-७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०७५-७६ मा एक लाख ८७ हजार एक सय नौ पर्यटक निकुञ्ज घुमेका थिए । यसैगरी आव २०७७-७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१-३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । यसबाट दुई लाख एक हजार चार सय २१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउँछन् । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीले जिल्ला भित्रिने सबै पर्यटक निकुञ्ज नजाने बताए । एक अध्ययन गर्दा सौराहा आएका पर्यटकमध्ये ४० प्रतिशत निकुञ्ज नछिरेको भेटिएको थियो । पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पनि उस्तै उस्तै अवस्था छ । भरतपुरका होटलहरुमा बस्नेहरु कम मात्रै निकुञ्ज छिर्छन् । देवघाटधाममा आउने धार्मिक पर्यटक निकुञ्ज कम मात्रै जान्छन् । उनले भने, ‘देवघाट आउने भारतीय पर्यटक दैनिक सरदर एक सय हुँदोरहेछ ।’ मेलाहरुमा यो सङ्ख्या निकै बढी हुन्छ । सुवेदीले भने, ‘यकिन तथ्याङ्क ननिस्किएको भए पनि चितवन जिल्ला प्रवेश गर्ने पर्यटक वार्षिक सात लाखभन्दा बढी हुन्छन् ।’ यसका अतिरिक्त स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या अरू बढी छ । महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । यस वर्षलाई लक्षित गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाइएको छ । होटलको तथ्याङ्क लिने क्रममा छ । मनकामना दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि १० लाखभन्दा बढी हुने गर्दछ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत हुन्छन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्छ  । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्छन् । रासस

मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए । उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको जानकारी दिए । उनले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको बताएका छन् । उनले भने,‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटिको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भिर रुपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा नेपाल सरकारको गम्भिर रुपले ध्यानकर्षण भएको छ । सबै मान्यसदस्यहरुले यो विषयलाई दीर्घकालिन रुपमा विचार गर्न जरुरी छ ।’ प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरुले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालिन विकासमा जोड दिन आवश्यक रहेको बताए ।

सनराइज बैंकले अंगभंग भएका व्यक्तिलाई कृतिम अंग प्रदान गर्नको लागि दियो २ लाख रुपैयाँ

काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

काठमाडौं । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना शुक्रबार र सनिबार हुँदैछ । आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत बिज्ञहरु रहेका छन् । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने आयोजकले जनाएको छ ।

महानगरले व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा बनायो उद्यान

काठमाडौं । काठमाडौं महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ । भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । मालपोत र नापी कार्यालयको समन्वयमा अरु सार्वजनिक जग्गाको पनि खोजी जारी रहेको उनले बताए । सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएको उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरेकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको वडा कार्यालयले जनाएको छ । नयाँबानेश्वरको गौचरणको सार्वजनिक जग्गामा पनि वडा कार्यालय चालु आर्थिक वर्षमै उद्यान निर्माण गरिरहेको छ । पाँच रोपनी जग्गामा बाटो कटाएर करिब डेढ रोपनीमात्र बाँकी रहेको जनाइएको छ । सफा, स्वच्छ सहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यानमा निर्माण गर्न लागिएको हो । प्राकृतिक प्रकोपका बेला पनि उद्यान उपयोग हुन सक्ने गरी निर्माण गरिएको जनाइएको छ । रासस