६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
काठमाडौं । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । प्रतिनिधिसभामा जारी बजेट अधिवेशनमा सत्तापक्ष र विपक्षका सांसदहरूले बजेटको विरोध गरिरहँदा बाहिरबाट प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको औचित्यमाथि प्रश्न उठाएको छ । साथै संयुक्त सरकारमा रहेका दलका नेताहरूले पनि अहिलेको सरकारमाथि प्रश्न उठाएका छन् । त्यति मात्र होइन, सरकारले ल्याएको बजेटमा सत्ता पक्षबाटै असहमति प्रकट गर्दा राजनीतिशास्त्रका प्राध्यापकहरूले सरकार परिवर्तनको हल्ला चल्नु स्वाभाविक पनि भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापक कृष्ण पोखरेलले बजेटमा सत्तारूढ गठबन्धन दलका नेताहरूलाई असर पर्ने किसिमको बजेट आउनु र उनीहरूले विरोध गर्नुमा केही आशङ्का उब्जिएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
नेशनल हाइड्रोले असार २९ गतेदेखि हकप्रद बिक्री गर्दै, १० कित्ता सेयरले ५ कित्ता पाउने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार १ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ३२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
ठूलो हिस्सा पूर्वाधारमा छुट्याएको पोखरा महानगरको बजेट यस्तो छ
गण्डकी । पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा २ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा ५४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने बजेटमा उल्लेख छ । सहरी क्षेत्रमा ‘आस्फाल्ट’ प्रविधिको सडक निर्माणका लागि १० करोड रुपैयाँ बजेट छुट्टाइएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन् । आगामी आवमा ठूल्ढुङ्गा–सुर्ताने–चैनपुर, घाँटीछिना–दमदमे–सिदाने–पञ्चासे, कास्कीकोट–बनपाले–गुण्टेचौर–पँदेली कृषि सडक, लामाचौर–माछापुच्छ्रे, लामगादी–पुँडीटार सडकलगायत बहुवर्षीय योजना सम्पन्न गरिने जनाइएको छ । सहरी सौन्दर्य बिगार्ने सवारी साधनका वर्कसपलाई एकै स्थानमा व्यवस्थित गर्न ‘अटो भिलेज’को स्थापनार्थ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पोखरा चक्रपथको सम्भाव्यता अध्ययन अघि बढाउन १ करोड ५० रुपैयाँ बजेट छुट्टाइएको छ । स्थानीय फिर्के खोलाको अतिक्रमण हटाई करिडोर निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा कार्यालयबाट प्राथमिकतापूर्वक छनोट भई पेश भएका सडक योजनाका लागि ४९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । हाँडीखोला, खइतेखोला, खहरेखोला, खुदीखोला, ठूलीमजुवा, फिर्के खोला, सुरौदी खेलालगायत पुल र कल्भर्ट निर्माणमा १६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘एक घर, एक धारा’ खानेपानी आयोजनाअन्तर्गत सराङकोट, थाक, निर्मलपोखरी, भरतपोखरी, चैनपुरलगायत क्षेत्रमा खानेपानी आयोजनाका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘हामी बनाउँछौँ, हाम्रो महानगर’ अन्तर्गत स्थानीय उपभोक्ता र महानगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा पूर्वाधार आयोजना सञ्चालनका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ । छिमेकी स्थानीय तहसँग आवश्यकताका आधारमा साझदोरी आयोजना सञ्चालनका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । फेवा, बेगनासलगायत पोखराका सबै तालको संरक्षण तथा अतिक्रमण नियन्त्रण गरिने बजेटमा उल्लेख छ । फेवातालको सुन्दरतासँगै पर्यटकीय गतिविधि बढाउन ‘फेवाफेरो पदमार्ग’ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पोखरा बहुउद्देश्यीय भवन, नयाँ विमास्थलबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा–बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, बिन्ध्यवासिनी बसपार्क, कोमागाने पार्क, बेगनास बराहक्षेत्र परियोजना, पञ्चासे विकास परियोजना, ड्यामसाइड पर्यटन पार्कलगायत महानगर गौरवका आयोजनाहरुलाई बजेटमा प्राथमिकता दिइएको छ । विकास आयोजनामा हुने लगानीलाई दिगो बनाउन आगामी वर्ष पोखरा महानगरपालिकाको विकास गुरुयोजना तयार पारिने बजेटमा उल्लेख छ । हरित, उत्थानशील र दिगो पूर्वाधार विकाससँगै बजेटमा पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेश, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवद्र्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यवसायिक कृषि प्रणालीमा जोड दिइएको छ । गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मानवस्रोत विकास तथा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको विकास र व्यवस्थापन बजेटको प्राथमिकतामा परेका छन् । आर्थिक विकासतर्फ व्यावसायिक कृषि, कृषिको यान्त्रिकीकरण, सिँचाइ सुविधाको विस्तार, रुग्ण उद्यम, व्यवसायको पुनःउत्थानलगायतका कार्यक्रम बजेटमा समावेश छन् । ‘एक सहकारी, एक उत्पादन कार्यक्रम’लाई निरन्तरता दिन ५५ लाख रुपैयाँ, व्यवसाय प्रवद्र्धन तथा विकास, रोजगार मेला, युवा उद्यमशीलता विकास कार्यक्रम आदिका लागि २ करोड रुपैयाँ, छाडा पशुपन्छी व्यवस्थापन, पशुपन्छीको उपचार, पशु स्वास्थ्य शिविरलगायतमा गरी २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षातर्फ विद्यार्थीलाई दिवा खाजाको रकम वृद्धिदेखि छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणसम्मका कार्यक्रम बजेटमा समावेश छ । सङ्घ सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको १५ रुपैयाँमा महानगरले १० रुपैयाँ थपी २५ रुपैयाँ पुर्याइने भएको छ । विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३ करोड ३३ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । खेलकुद पूर्वाधार र प्रवद्र्धनमा १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कक्षा ६ देखि १२ सम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठानसम्बन्धी कार्यक्रमका लागि १८ करोड रुपैयाँ बजेट छुट्टाइएको छ । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले । १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ३५ करोड ५६ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । सहरी गरिबी निवाकरण कार्यक्रमका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरले पूर्वाधारतर्फ २ अर्ब रुपैयाँ, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड रुपैयाँ, आर्थिक विकासतर्फ १० करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड ५० लाख रुपैयाँ, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख रुपैयाँ, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख रुपैयाँ, विभिन्न कोषहरूमा १४ करोड रुपैयाँ, संघीय सशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख रुपैयाँ, प्रदेश सशर्त अनुदानतर्फ ८० लाख रुपैयाँ र सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ । स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ खर्च व्यहोरिने उपप्रमुख गुरूङले जानकारी दिइन् । सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट २ अर्ब १ करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ । यस्तै सङ्घीय सरकार सहरी विकास आयोजनाबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ, प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रुपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ । आन्तरिक राजस्व सङ्कलन न्यून हुनु, अर्थतन्त्रमा देखिएको सङ्कट इत्यादि कारणले चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घटेको हो । चालु आवमा ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याइएको थियो । बजेटमा उचित नदेखिएका कतिपय पुराना कार्यक्रमलाई हटाइएको र केही नयाँ कार्यक्रम थप गरिएको छ । रासस
जोखियो सुनको जलहरी : कति रहेछ तौल ?
हेलिकप्टरबाट लिइएको काठमाडौँको पशुपति क्षेत्रको दृश्य काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको २ थान पेटिकासमेत गरी जम्मा १०६.४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्राम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
६ वटा महानगरले सार्वजनिक गरे बजेट, कुनको कति ?
काठमाडौं । स्थानीय सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार ७५३ स्थानीय तहले असार १० गते पालिका सभाबाट बजेट पेश गरेका हुन् । ‘उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नु पर्नेछ,’ स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ (१) मा उल्लेख छ । बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार स्थानीय सरकारलेआज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । यसअघि स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । यसैबीच देशका ६ ठूला महानगरपालिकाले बजेट सार्वजनिक गरेका छन् । काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट प्रस्तुत गरेको छ । यस पटक पनि काठमाडौं महानगरले बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा बढाएर ल्याएका छन् । यस्तै, भरतपुर महानगरले पनि बजेट बढाएर ल्याएको भने विराटनगर महानगरले बजेट घटाएर ल्याएको छ । कुन महानगरको कति बजेट ? काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उमप्रमुख सुनिता डांगोलले आगामी वर्षका लागि २५ अर्ब ५४ करोडको बजेट विनियोजन गरेकी छिन् । जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा झण्डै १२ लाख रुपैयाँले बढाएर ल्याएको हो । महानगरले चालु आवमा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार सार्वजनिक गरेको थियो । भरतपुर महानगर चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आइतबार नगर सभा तथा १३ औं अधिवेशनमाबाट ६ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । महानगरका उपप्रमुख अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ । अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ । महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव समेत अधिकारीले गरेका थिए । महानगरले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । चालु आर्थिक वर्षका लागि पूरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । विराटनगर महानगर विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू आवको भन्दा झन्डै ७६ करोड कम हो । र, महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ सार्वजनिक गरेको थियो । महानगरले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार १० करोड, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख र समपूरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने महानगरको अनुमान छ । महानगरले आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य सङ्घसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरेको छ । ललितपुर महानगर ललितपुर महानगरपालिकाले आगामी आवको लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले सो रकम बराबरको बजेट सार्वजनिक गरेकी हुन् । उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँको बजेट आएको छ । लतिपुर महानगरपाकिलाले आगामी आर्थिक वर्षको बजेट बढाएर ल्याएको छ । महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । पोखरा महानगर पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको छ । पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । वीरगञ्ज महानगर वीरगञ्ज महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट असार ६ गते बजेट सार्वजनिक गरेको थियो । वीरगञ्जले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक हो । चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार (७७ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ७९ लाख १५ हजार (२२ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताएका छन् । त्यस्तै, वित्तीय व्यवस्थातर्फ महानगरले ३ करोड ६३ लाख २४ हजार (१ प्रतिशत) विनियोजन गरेको छ । चालु आवमा महानगरले ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको थियो ।
हाइड्रोजन पेट्रोलियम पदार्थ र बिजुलीको विकल्प बन्न सक्छ ?
काठमाडौं । विद्यालयको प्रयोगशालामा धातुको दुई पातालाई पानीमा डुबाएर ती धातुलाई ब्याट्रीमा जोडेपछि त्यसले पानीमा प्रतिक्रिया जनाएर बुलबुल हुने काम गर्छ । यो भनेको पानीको अणुहरु बिच्छेदन भएर अक्सिजन र हाइड्रोजन छुट्टिने प्रकृया हो । यसरी छुट्टिएको हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । दैनिक खाना पकाउन, सवारी साधन सञ्चालन गर्न तथा अन्य मेसिनरी उपकरणहरु सञ्चालन गर्न हाइड्रोजन इन्धनलाई प्रयोग गर्न सकिन्छ । पेट्रोलियम इन्धनको प्रयोग गर्दा कार्बन उत्सर्जन हुन्छ, जसले पर्यावरणमा नोक्सान पुर्याउँछ । हाइड्रोजन इन्धनको राम्रो पक्ष के हो भने यसलाई जलाएपछि अक्सिजन र हाइड्रोजन पानीमा परिणत हुन्छ र कार्बन उत्सर्जन हुँदैन । हाइड्रोजन इन्धन महत्वपूर्ण नवीकरणीय उर्जा पनि हुने र विश्वमा भइरहेको जलवायु परिवर्तनको समस्या समाधान गर्न पनि सहयोगी हुने वैज्ञानिकहरुको विश्वास रहेको छ । हाइड्रोजनबाट कसरी बन्छ इन्धन ? ब्रिटेनको सेफल्ड युनिभर्सिटीमा केमिकल इन्जिनियरिङकी प्राध्यापक तथा बेलायतको विभिन्न संस्थाहरुमा हाइड्रोजनको प्रयोगबारे अनुसन्धान गरिरहेकी रेचेल रोथम्यानले हाइड्रोजनलाई धेरै तरिकाले जलाएर इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएकी छन् । ‘हाइड्रोजन जलाउँदा त्यसबाट बाफ उत्पन्न हुन्छ, हामीले हाइड्रोजनलाई सानो ट्यांकी देखि ठूला कारखाना र ठूला सवारी साधनको ट्यांकीमा जलाउन सक्छौं, यसलाई सवारी साधन इन्जिनको कम्बसन वा ब्याट्री सेलमा राखेर उर्जा उत्पादन गर्न सकिन्छ’, प्राध्यापक रोथम्यानले भनेकी छन् । हाइड्रोजनलाई धेरै तरिकाबाट बनाउन सकिन्छ महत्वपूर्ण विषय यो हो की कसरी यसलाई स्वच्छ तरिकाबाट बनाउन सकिन्छ ? प्राध्यापक रोथम्यानका अनुसार हाइड्रोजन पृथ्वीमा प्राकृतिक रुपमा प्राप्त हुँदैन तर, पानी, हाइड्रोकार्बन, कोइला, ग्याँस र तेलको रुपमा पाइन्छ । हाइड्रोकार्बन स्रोत अर्थात प्राकृतिक ग्यासबाट हाइड्रोकार्बन हाइड्रोजन निकाल्ने प्रकृयालाई स्टिम मिथेन रिफमिङ भनिन्छ । अहिले पनि विश्वभर यसको प्रयोग भइरहेको छ । हरेक वर्ष १२ करोड टन हाइड्रोजन उत्पादन भइरहेको छ । प्राध्यापक रोथम्यानले भन्छिन्, ‘तर यसमा समस्या यो छ की यो प्रकृयामा कार्बन ग्यास पनि उत्सर्जन हुने गर्छ, त्यसैले हाइड्रोजन बनाउने सबैभन्दा राम्रो तरिका भनेको पानीबाट निकाल्नु हो, पानीबाट निकाल्नेलाई इलेक्ट्रोलाइसिस भनिन्छ, यस प्रकृयामा अक्सिजन मात्रै बाहिर आउँछ ।’ उनका अनुसार अहिले मिथेन स्टिम रिफमिङको ब्राउन प्रकृयामा कार्बन ग्यास पनि उत्सर्जन भएर हावामा मिल्ने काम गर्छ । त्यसैले सबैभन्दा हाइड्रोजन उत्पादन गर्ने सबैभन्दा राम्रो प्रकृया इलेक्ट्रोलाइसिस प्रकृया भएको उनको दाबी छ । विमान, रेल तथा गाडीमा हाइड्रोजनको प्रयोग आजको दिनमा यातायातको साधनमा ठूलो मात्रामा इन्धनको खर्च भइरहेको छ । जुन वातावरणमा कार्बन उत्सर्जनको ठूलो स्रोत बन्न पुगेको छ । हिजोआजका दिनमा हामीले सडकमा बिजुलीबाट सञ्चालन हुने सवारी साधन पनि देख्न थालेका छौं, जो लिथियम ब्याट्रीबाट सञ्चालन हुने गर्छन् । ठूला सवारी साधन सञ्चालन गर्ने क्षमता यी ब्याट्रहरुले राख्न सक्दैनन् । तर, ठूला सवारी साधनहरुमा हाइड्रोजन इन्धन प्रयोग हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ । विश्वमा उत्पादन हुने कार्बनको २/३ प्रतिशत हिस्सा ठूला कार्गो जहाजले ओगटेका छन् । यस्ता जहाजहरुमा एमोनिया अर्थात नाइट्रोजन र हाइड्रोजन प्रयोग गरेर कार्बन उत्सर्जन कम गर्न सकिन्छ । लामो दुरीसम्म यात्रा गर्ने विद्युतीय ट्रकहरुलाई धेरैपटक चार्ज गर्नुपर्ने समस्या हुन्छ । जसलाई चार्ज गर्न पनि धेरै समय लाग्छ । थोमस वाकर बताउँछन् तिनै ट्रकमा २० मिनेटमा मात्रै हाइड्रोजन भर्न सकिन्छ । तर, हाइड्रोजन भर्नको लागि पनि विशेष प्रकारको उपकरणको आवश्यकता पर्छ । किनकी हाइड्रोजनमा चाप पैदा गर्दा यसमा अधिक ताप उत्पन्न हुन्छ । त्यसैले, सवारी साधनमा हाइड्रोजन राख्दा यसको अवस्थाबारेमा भने राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ । साथै हाइड्रोजन पम्पको उपलब्धता पनि यसको प्रयोगमा महत्वपूर्ण हुन्छ । यातायात क्षेत्रबाट हुने कार्बन उत्सर्जनको १० प्रतिशत हिस्सा विमानहरुले गर्ने गर्छन् । थोमस वाकरका अनुसार हवाइजहाजको क्षेत्रमा हाइड्रोजनको प्रयोग गर्न अझै १० देखि २० वर्ष समय लाग्न सक्छ । हाइड्रोजन इन्धनको प्रयोग घरमा दैनिक खाना बनाउनेदेखि लिएर उद्योगसम्म पनि प्रयोग हुन सक्छ । न्युक्यासल युनिभर्सिटीका उर्जा प्राध्यापक सारा वाकरका अनुसार बेलायतका घरहरुमध्ये ८० प्रतिशतमा खाना पकाउनको लागि प्राकृतिक ग्यासको प्रयोग हुन्छ । घरमा खाना पकाउनको लागि पनि हाइड्रोजन पमहत्वपूर्ण विकल्प हुनसक्ने उनको भनाइ छ । सन् २०१९ देखि ब्रिटेन सरकारले केही क्षेत्रमा हाइड्रोजनको प्रयोगलाई शुरु गरेको छ । तर, हाइड्रोजन इन्धनको प्रयोग गरेर खाना पकाउनको लागि भाँडाकुँडाको समेत परिवर्तन गर्नुपर्ने वाकरको भनाइ छ । जीव वैज्ञानिक, पर्यावरण मामिलाका विशेषज्ञ तथा अमेरिकाको कर्नेल विश्वविद्यालयका प्राध्यापक रोबर्ट होवार्थले भने हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्नेबारेमा भने शंका व्यक्त गरेका छन् । अहिलेको समयमा हाइड्रोजनको प्रयोग मलको प्रशोधन, प्लाष्टिक जस्ता चिजहरु बनाउन प्रयोग गर्ने गरिन्छ । हाइड्रोजनको प्रयोगले कार्बन उत्सर्जन कम गर्ने भूमिका खेल्ने भएपनि धेरै सानो भूमिका हुने वैज्ञानिकहरुको तर्क पनि रहेको छ । हाइड्रोजनको उपयोगबाट हुने फाइदाको विषयमा पछिल्लो समयमा अलिक बढाइचढाइ गरिएको केही वैज्ञानिकहरुले तर्क गरेका छन् । एजेन्सीको सहयोगमा ।
नेपाल इको प्यानल अब स्टिल स्ट्रक्चरमा पनि प्रयोग हुने
भक्तपुर । स्थायी वा अस्थायी भौतिक संरचनामा पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालन स्टिल स्ट्रक्चर (फलामबाट बनेको) बाट बनाइएको संरचनामा फल्स सिलिङको रुपमा पनि प्रयोग गर्न उपयोगी सिद्ध भएको छ । नेपाल इको प्यानलले भक्तपुरको नगरकोटस्थित एउटा होटेलमा गरेको नमूना प्रयोगबाट अबदेखि फलामबाट बनेको संरचनाहरुमा पनि फल्स सिलिङको रुपमा प्रयोग गर्नसक्ने सिद्ध भएको हो । यसअघि नेपाल इको प्यानलको प्रयोग ढलान गरी बनाएको वा अन्य अस्थायी संरचनामा पार्टेशन वालको रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । नेपाल इका प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले नगरकोटस्थित आफनै फन्की हिल इन होटेल एण्ड रिसोर्टमा यसको प्रयोग गरेको जनाए । प्रयोगात्मक सम्भावनाको लागि गरिएको कार्यको सफल प्रयोगपछि फलामबाट बनेको संरचनामा पनि नेपाल इको प्यानल सजिलै फल्स सिलिङको रुपमा प्रयोग गर्न सक्ने सिद्ध भएको इन्जिनियर दुवालले जनाए । ‘सफल प्रयोगपछि अव धेरैजनाले सुविधा पाउने भएका छन्, इन्जिनियर दुवालले थपे, ‘यसअघि फलामबाट बनेको संरचनामा मार्केटमा भएको जिप्सम वा सिमेन्ट बोर्डको प्रयोग गरि फल्स सिलिङ्ग बनाउदा जस्ताबाट शीतको पानी टप्प टप्प चुहिने , मुसाले प्वाल बनाउने जस्ता अनेकौ समस्या थियो, अब त्यो समस्या हटने भयो ।’ पछि केही गरी भबन भत्काउनु परे पुनः प्रयोग गर्न सक्ने हुनु यसको विशेष विशेषता रहेको उनी सुनाउँछन् । इन्जिनियर दुवाल थप्छन्, नेपाल इको प्यानल साउण्ड प्रुफ भएकोले त्यसलाई फल्स सिलिङ्गको रुपमा प्रयोग गरि जस्ताको मुनि बनाइएको होटेल रूममा सुत्दा पनि राति ठुलो पानी पर्दा पनि खासै निन्द्रामा डिस्टर्ब नहुने इको प्यानल कारखानामा पहिला नै तयारी गरी जोडन मात्रै लाने नयाँं आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार पारिएको इको प्यानललाई स्टिल स्ट्रक्चरबाट बनाइएको संरचनामा फल्स सिलिङको रुपमामा पनि प्रयोग गर्न उपयोगी सिद्ध भएको छ। यही माथि राखेका इको प्यानललाई पछि केही गरी भबन भत्काउनु परेमा फलाम जस्तै पुनः अरु ठाउँंमा प्रयोग गर्न मिल्ने भएको हो । नेपाल इको प्यानल पछिल्लो समयमा देशैभरि अत्याधिक रुचाइएको आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग अत्याधिक छ । यही कारणलिे देशैभरि वितरकहरु राखी यसले आफनो सामाग्री विक्रीवितरण गर्दै आएको छ ।
आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ
काठमाडौं । महालक्ष्मी विकास बैंकले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर, स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित उक्त प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले असार ८ र ९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त कार्यक्रम आयोजना गरेको थियो । बैंकले नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।