काठमाडौं । स्थानीय सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार ७५३ स्थानीय तहले असार १० गते पालिका सभाबाट बजेट पेश गरेका हुन् ।
‘उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नु पर्नेछ,’ स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ (१) मा उल्लेख छ ।
बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार स्थानीय सरकारलेआज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । यसअघि स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
यसैबीच देशका ६ ठूला महानगरपालिकाले बजेट सार्वजनिक गरेका छन् । काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट प्रस्तुत गरेको छ । यस पटक पनि काठमाडौं महानगरले बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा बढाएर ल्याएका छन् । यस्तै, भरतपुर महानगरले पनि बजेट बढाएर ल्याएको भने विराटनगर महानगरले बजेट घटाएर ल्याएको छ ।
कुन महानगरको कति बजेट ?
काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उमप्रमुख सुनिता डांगोलले आगामी वर्षका लागि २५ अर्ब ५४ करोडको बजेट विनियोजन गरेकी छिन् । जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा झण्डै १२ लाख रुपैयाँले बढाएर ल्याएको हो । महानगरले चालु आवमा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार सार्वजनिक गरेको थियो ।
भरतपुर महानगर
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आइतबार नगर सभा तथा १३ औं अधिवेशनमाबाट ६ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
महानगरका उपप्रमुख अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।
अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ । महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ ।
भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव समेत अधिकारीले गरेका थिए ।
महानगरले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । चालु आर्थिक वर्षका लागि पूरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
विराटनगर महानगर
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू आवको भन्दा झन्डै ७६ करोड कम हो । र, महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ सार्वजनिक गरेको थियो ।
महानगरले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार १० करोड, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख र समपूरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने महानगरको अनुमान छ । महानगरले आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य सङ्घसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरेको छ ।
ललितपुर महानगर
ललितपुर महानगरपालिकाले आगामी आवको लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले सो रकम बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँको बजेट आएको छ । लतिपुर महानगरपाकिलाले आगामी आर्थिक वर्षको बजेट बढाएर ल्याएको छ । महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
पोखरा महानगर
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको छ ।
पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
वीरगञ्ज महानगर
वीरगञ्ज महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट असार ६ गते बजेट सार्वजनिक गरेको थियो । वीरगञ्जले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक हो ।
चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार (७७ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ७९ लाख १५ हजार (२२ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताएका छन् । त्यस्तै, वित्तीय व्यवस्थातर्फ महानगरले ३ करोड ६३ लाख २४ हजार (१ प्रतिशत) विनियोजन गरेको छ ।
चालु आवमा महानगरले ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको थियो ।