ललिता निवास प्रकरण : ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
फाइल फाेटाे काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेका ४ जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो। बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई अदालतले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उक्त प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।
जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने ’निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।’ प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने । उनले आफूले लोकतन्त्र र गणतन्त्र एवम् निर्वाचन पद्धतिका लागि लामो सङ्घर्ष गरेको स्मरण समेत गरे । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने पर्न गएकामा त्यसमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले भने, ’लोकतन्त्र, गणतन्त्र र विधिको शासनका पक्षमा लडेका हामीले निर्वाचनको निष्पक्षताका विरुद्ध उभिन्छौँ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । निर्वाचन कार्यालयहरु जिल्ला जिल्लामा छन् । ती कार्यालयहरु त्यसरी नै चल्नेछन् । कुनै आशङ्का नराख्न म अनुरोध गर्दछु ।’ जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था यथावत् नै रहेको उनले सदनलाई जानकारी गराए । विगतको जस्तो व्यवस्था त्यस्तो हुँदा नै निर्वाचन आयोगको स्वतन्त्रता कायम रहने अर्थमन्त्री डा महतको भनाइ छ । त्यसअघि नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले निर्वाचन कार्यालयका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाउँदै सदनमा विरोध जनाएका थिए ।
निर्वाचन कार्यालय खारेजको निर्णय संशोधन, बजेट पास गराउन मतदान
फाइल फाेटाे काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय संशोधन भएको छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था हटाई हालकै व्यवस्था कायम रहेको प्रतिनिधिसभालाई जानकारी गराएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले अर्थमन्त्रीको उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाको बहुमतले पारित गरेपछि बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन हुँदै हाल रहेकै जस्तो हरेक जिल्लामा जिल्ला निर्वाचन कार्यालयहरु अलग्गै रहने भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गराउन अहिले संसद् भवनमा मतदान भैरहेको छ । सरकारले ल्याएको आगामी आवको बजेट पास फेलको निर्णय गर्न मतदानबाट सुरु भएको हो ।
हिमालयन ह्वाइट हाउसका इन्जिनियर विद्यार्थीले तलब सहित जापानमा इन्टर्नसिप गर्न पाउने
काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा इन्जिनियर अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात जापानमा इन्टर्नसिप गर्न पाउने भएका छन् । जापानको आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेड र कलेजको बीचमा सो विषयमा बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ कलेजमा इन्जिनियर अन्तर्गत विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुले जापानमा इन्टर्नसिपको लागि प्रकृया आगाडि बढाउन सक्ने विषयमा दुईपक्षबीच सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले विकासन्युजलाई बताए । उनका अनुसार आइम्याक कम्पनीले कलेजबाट इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीलाई जापानका विभिन्न कम्पनीमा इन्टर्नसिप गर्नको लागि पुलको काम गर्नेछ । यसरी आफ्नो अध्ययन पश्चात इन्टर्नसिपका लागि जापान जाने विद्यार्थीहरुले त्यहाँ मासिक दुई लाख आठ हजार तलब सहित तीनवर्षसम्म काम गर्न पाउनेछन् । त्यसपछि उनीहरुले जापानमा स्थायी जागिर प्राप्त गर्नेछन् । जापानमा कुनै पनि कम्पनीको व्यवस्थापक तहको नेतृत्व गर्ने क्षमता राख्ने इन्जिनियरले अहिलेको समयमा वार्षिक रुपमा एक करोड भन्दा धेरै आम्दानी गर्ने गर्छ । दुई पक्षबीचमा भएको सम्झौताले इन्जिनियर अध्ययन गरेका विद्यार्थीलाई रोजगारको सुनिश्चितता गरेको प्रिन्सिपल पौडेलको भनाइ छ । इम्याक कम्पनीले इन्जिनियरिङ विषयमा स्नातक तहको अध्ययन पूरा गरेका र जापानमा गएर इन्टर्नसिप गर्न चाहने विद्यार्थीलाई प्राथमिक स्किृनिङ गरेर छनौट गर्ने गर्छ । आइम्याक कम्पनीका नेपाल प्रतिनिधि राजिब बज्राचार्यका अनुसार छनौट भएका विद्यार्थीहरुले पैसा तिरेर ६ महिनाको जापानीज भाषा सिक्नुपर्ने हुन्छ । पछिल्लो समयमा जापानमा काम गर्ने उमेर समूहका इन्जिनियरहरुको ठूलो संख्यामा अभाव हुन थालेपछि कम्पनीले नेपालमा इन्जिनियर अध्ययन गर्ने विद्यार्थी र जापानका कम्पनीबीचमा पुलको काम गरिरहेको उनले बताए । कम्पनीले छिट्टै नै नेपाली इन्जिनियर विद्यार्थी र जापनीज कम्पनीहरुको बीचमा सिधा सम्पर्क हुनसक्ने प्रणालीको पनि विकास गर्न लागेको बताए । कम्पनीले यो वर्षमा पाँचसय इन्जिनियर विद्यार्थीलाई इन्टर्नसिपको लागि जापानिज कम्पनीमा जोडिदिने लक्ष्य राखेको बज्राचार्यले विकासन्युजलाई बताए । उनका अनुसार कम्पनले अहिलेसम्म नेपालमा इन्जिनियर अध्ययन हुने ५३ वटा कलेज मध्ये ४३ वटासँग सम्झौता गरिसकेको छ ।
एकल पुरुषलाई विदुर भत्ता दिने
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिइन् । आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् । कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन्। वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहुँ पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।
प्राधिकरणले भन्यो: सिम्रिकलाई हेलिपोर्ट निर्माणको अनुमति दिनु राष्ट्रिय हवाई नीति विपरित
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने निर्णय राष्ट्रिय हवाई नीति विपरित हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । बुधबार प्राधिकरणले मन्त्रालयलाई पत्रमा पठाउँदै बनेपा नगरपालिका वडा नं १४ राउत गाउको माथिल्ले इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्नका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि प्राधिकणले कार्यान्वयन गर्न सम्भव नरहेको जनाएकाे हाे । ‘राष्ट्रिय हवाई नीति २०६३ को दफा ५.७ मा देशको आवश्यकता, भौगैलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रिय सन्तुलन, पर्यटन प्रवद्र्धन, अन्य विमानस्थलको निकटता लगायत प्रतिफल सम्भावना समेतको मूल्यांकन गरी जनसहभागिता वा स्थानीय निकायको वा संयुक्त लगानीमा मात्र साना विमानस्थल/हेलिपोर्ट निर्माण गर्न सकिने व्यवस्था रहेको भन्दै हवाई नीति विपरित सिम्रिक एयरलाइ एकल लगानीमा निर्माण तथा सञ्चालन गर्न दिदाँ हवाई नीति विपरित हुने देखिन्छ’, प्राधिकरणले मन्त्रालयमा पठाएकाे पत्रमा भनिएकाे छ । मन्त्रालयबाट लेखि आएको पत्रसँग सम्बन्धित कागजात अध्ययन गर्दा अन्तर्राष्ट्रिय मापदण्डको हेलिपोर्ट निर्माण तथा संचालनका लागि सैद्धांतिक सहमति दिइएको देखिन्छ पत्रमा भनिएको छ, ‘जुन नेपालको परिप्रेक्ष्यमा आइकाओ एनएक्स १४ सम्बन्धि कुनै राष्ट्रिय मापदन्ड भित्र छैन ।’ नेपाल सरकार मन्त्रीपरिषद्बाट संविधान र कानून बमोजिम निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण गर्न दिने गरी कुनै निर्णय नभएको भन्दै प्राधिकरणले हेलिपोर्ट निर्माण सम्बन्धमा भएको सैद्धान्तिक सहमति कार्यान्वयन गर्न संभव नरहेको स्पष्ट पारेको छ ।
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
मनहरी । आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ । डा. सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उनले जानकारी दिए । डाइलाइसिस गर्न आउने बिरामीका लागि थप १५ डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको डा. सापकोटाले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले हेटौँडामा प्रत्यारोपण सेवा सुरु गरेपछि यस कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए । रासस