
फाइल फाेटाे
काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेका ४ जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो। बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई अदालतले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उक्त प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।