गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो ।’ गुरुलाई देवतासमान मान्ने देशमा कुटपिट हुनु दुःखद भएको बताउँदै उनले थपे, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’ अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्दै मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताए ।
बजेटमा कृषि र सडकलाई प्राथमिकता
बैतडी । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताए । नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको छ । नगरपालिकाले पुँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ रु चार करोड ६० लाख र पूर्वाधार विकासतर्फ एक करोड ६६ लाख विनियोजन गरेको छ । नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको छ । पुर्चौडी नगरपालिकाले रु ६४ करोड ५४ लाखको बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताए। पुर्चौडीमा सामाजिक विकासतर्फ आठ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ नौ करोड, पूर्वाधार विकासतर्फ सात करोड र आर्थिक विकासतर्फ एक करोड विनियोजन गरिएको छ । यस्तै पाटन नगरपालिकाले ६३ करोड ५३ लाख बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए । दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गरेकाे ५१ करोड ४४ लाखको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ । उनले भने, ‘कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ ।’ यसैगरी मेलौली नगरपालिकाले ४९ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिकाले ४२ करोड आठ लाखको बजेट ल्याएको छ । सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर ४३ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ३३ करोड ८९ लाख र पुँजीगततर्फ नौ करोड ९३ लाख बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने, ‘कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौँ ।’ पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७४ लाखको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य र बिजुलीलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाले ३६ करोड ३४ लाखको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका छन् । डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ । यही असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । रासस
कृषि क्षेत्रको विकास लागि किसानलाई अनुदानमा कृषि उपकरण
बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ’, उनले भने । आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो । खेती योग्य जमिनका आधारमा मल वितरण प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ । ‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौँ’, कृषि बीउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए । बाँकेमा धान खेतीका लागि छ हजार मेट्रिक टन मल माग भएको थियो । अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलले बताए । मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो । एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र एक हजार दुई सय बोरा युरिया वितरण गरिएको छ । बाँकेमा तीन हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ । पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ । कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए । रासस
बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो
चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए । दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्ष कायम रह्यो । चेली बेचिने नाममा बदनाम खेप्नुपर्यो इचोकवासीले । चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो । चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए । धन कमाउन विदेश गएका कतियप ऊर्जाशील छोरीहरु ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए । उनीहरुप्रति गाउँमा छिःछि र दूरदूर हुनथाल्यो । आफू कोक्रोमा छँदै विवाहको टुंगो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भए । पन्ध्र वर्षको उमेरमा बाबु बितेपछि उनी दुई भाइसहित दुःखजिलो गरी हुर्किए । अरु युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन । पाल्साङ भन्छन्, ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयो ।’ चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको ‘इचोक’ गाउँमा पुरुषलाई बिहे गर्न निकै समस्या भयो । फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन् । त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरुको परम्परा नै बन्यो। चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो । पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे । आफ्नी मामाको छोरी (मंगेटर) अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्यो । गरिबीले पिल्सिएका पाल्साङसँग अरुले बिहे गर्न मानेनन् । सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए । ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो’, उनले भने । बृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो। अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथेँ नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो। दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो । करिब ६ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो । ‘सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन’, पाल्साङ भन्छन् – ‘राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ ।’ २६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्यो । ‘सुरुआतमा धेरैको हप्कीदप्की खायौँ । अहिले सबैले कुरा बुझे’, पाल्साङ भन्छन् । गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो । यति हुँदा पनि उनी बिचलित भएनन्। ‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन’, उनले भने– ‘बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु ।’ पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफैँ जुर्मुराएका छन् । आफ्ना समस्या समाधानका निम्ति उनीहरु सक्रिय बनेका छन् । जनचेतना जगाउन घरघर धाउन थालेका छन् । यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे । अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरुलाई उनीहरुले सम्झाइ बुझाइ गर्न थालेका छन् । ‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ । अहिले सबै सचेत छन् । छोरीचेली आफैँ सचेत भएका छन् । अभिभावक बढी जिम्मेवार बनेका छन्’, पासाङले भने । अब उनीहरु रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन् । चेलीको चेतनाकै कारण अब दलालहरु गाउँ पस्न हिम्मत गर्दैनन् । यो परिवर्तनका लागि पाल्साङको अहम भूमिका छ। तथ्यांकअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए । विदेशिने सबै तामाङ जातिका थिए । उनीहरुको आकर्षकस्थल भारत नै थियो । त्यसयता इचोकबाट विदेशिने युवतीको संख्या घटेको छ। पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारत बाहेक अन्य मुलुक गएका छन् । इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन संघका प्रमुख दीर्घराज उपाध्याय स्थानिय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको संख्या घट्दै गएको छ। सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झण्डै दुई सय ५० महिलालाई समाजमा पुनःस्थापित गराएको उनी बताउँछन् । रासस
मासु उत्पादनमा कृषकलाई अनुदान
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने ८५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरूलाई मासु उत्पादनका आधारमा २५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो । चालू आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० अनुदान उपलब्ध गराएको छ । चालू आवमा २ हजार ३७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताए । यसबाहेक १२१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ । गाउँपालिकाले सम्बन्धित वडाका पशु सेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो । गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउँछन् । ‘किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो,’ उनले भने, ‘पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिकाभित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।’ कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको विश्वास छ । रासस
पुटिनले युक्रेन युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, ‘यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।’ पुटिन अहिले ‘संसारभरिका एक्लिएको’ बाइडेनले बता ए । ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ । ‘युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ,’ उनले भने । बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन् ।
निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिनुपर्ने, नदिए महानगरमा उजुरी गर्न बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयका शिक्षक सरहकाे तलब सुविधा प्रदान गर्न निर्देशन दिएका छन् । मेयर शाहले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएकाे तलब प्रदान गर्न निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको उनले बताए । ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ’, मेयर बालेनले उल्लेख गरेका छन् । सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि उपलब्ध गराउन सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको उनले बताए । यदि तोकिएको तलब सुविधा प्राप्त नभएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न मेयर बालेनले संस्थागत अनुरोध गरेका छन् ।
को हुन् सूर्योदय वोमी लघुवित्तको सेयर बेच्ने ५ जना सेयरधनी ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले झण्डै १ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मिना श्रेष्ठको १९ हजार १९३ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।