विकासन्युज

उपत्यकामा सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ । चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो । उनले भने, ‘यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन् ।’ चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । दुईदेखि साढे दुई वर्ष अवधिका पुलहरू रहेको सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘यो आवको ठेक्का भएर अहिले डिजाइन भइरहेको छ । अर्काे वर्षमा पुल निर्माण हुनेछ ।’ पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ । सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । चावहिल–साँखु पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा रहेको छ । उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो । उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुने उनले बताए । विगतमा निर्माणस्थल खाली नहुँदा सात–आठ वर्षसम्म पनि सडक सम्पन्न नभएकाले सरकारले तत्काल नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ । कुनै पनि सडक सम्पन्न भएपछि एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने र यसपछि सम्बन्धित डिभिजन सडक कार्यालयमा बुझाउने गरिएको छ । अहिले विस्तारका धेरै सडकमा निर्माण सकिएर मर्मत अवधि जारी रहेको छ । रासस

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । आजदेखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो,’ जाब्बोरले भने, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो ।’ आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५:३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले विगत १० वर्ष देखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन् । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताए । अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको छ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए । उनले भने, ‘पहिला रु तीन हजार नौ सय पाउँथे ।’ नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए ।

जसको लहलहैमा लागेर फसे यी २३ जना व्यवसायी

काठमाडौं । तपाईं कुनै व्यक्तिसँग कुनै प्रकारको सम्बन्ध अगाडि बढाउँदै हुनुहुन्छ भने कति सोच्नुहुन्छ ? त्यो साथीको सम्बन्ध होस्, व्यवसायिक सम्बन्ध होस् वा प्रेम सम्बन्ध नै किन नहोस् । तपाईंले पटक-पटक सोच्नु पर्ने हुन्छ, बुझ्नु पर्ने हुन्छ र म त्यो व्यक्तिसँग सम्बन्ध स्थापित गर्न योग्य हो या होइन भनेर निर्धारण गर्नुहुन्छ र अगाडि बढ्नुहुन्छ । हतारको निर्णयले व्यक्तिलाई एकदिन अवश्य लडाउँछ । सुरुमा राम्रो, कुशल र व्यवहारिक लागेको तपाईंको मित्र कुन मोडमा गएर तपाईंलाई लडाइ दिन्छ त्यो न तपाईंलाई थाहा हुन्छ न त त्यो तपाईंको मित्रलाई । त्यसभित्र नियत र नियती लुकेको हुन्छ । भनिन्छ नी, ‘हुने हार दैव नटार ।’ हो, अहिले नेपाली व्यवसायको एउटा घटनाले यस्तै बाटो देखाएको छ । कुनै दिन कुनै चिजको कमि थिएन व्यवसायी केदार शर्मासँग । तीन दर्जन बढी कम्पनीका मालिक । दुई सहकारीका अध्यक्ष/सञ्चालक । ती दुवै सहकारी र तीन दर्जन कम्पनीको साँचो आफ्नै हातमा । चिल्लो गाडी, ठाउँ-ठाउँमा घडेरी । ऋण लिइदिनु पर्यो भनेर समय माग्ने बैंकका कर्मचारीहरुको लाइन । ठूला-ठूला राजनीतिक दलहरुका नेताहरुसँगको उठबस् । क्या मस्त थियो केदार शर्माको जीवनशैली । त्यो समयमा उनीसँग सम्बन्ध स्थापित गर्न कसले चाहँदैन र । रातारात अर्बपति बन्ने लाइनमा हिँडिरहेका शर्मासँग सम्बन्ध स्थापित गर्न जोकोही पछि पर्थेनन् । त्यही शिलशिलामा तल उल्लेखित व्यवसायीहरु पनि जोडिए । आफुसँग भएको रकमलाई ‘दिन दुई गुणा र रात चार गुणा’ गर्ने लोभका साथ शर्मासँगको उठबस् ब्यापक नै बनाए । तर, विडम्बना, त्यो सम्बन्ध सुमधुर हुन सकेन । शर्मा जस्तै अर्बपतिको लाइनमा हिड्छु भनेर महत्वकांक्षा बोकेका व्यवसायीहरु पुर्पुरोमा हात लगाउनु बाहेकको विकल्पमा परेनन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका केदारनाथ अहिले प्रहरीको नियन्त्रणमा छन् । उनी मात्रै होइन २ करोड रुपैयाँको चिल्लो गाडीको एसी खाएर काठमाडौंमा हुइँकिने उनको श्रीमती पनि अहिले प्रहरी खोरको हावा खाँदैछिन् । शर्माले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानले देखाएको छ । शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गर्यो । प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको भेटिएको छ । अहिले उनले लगानी गरेका सबै कम्पनीहरुको खाता तथा कारोबार रोक्का छ । उनले आफुसँगै आफ्ना व्यवसायिक साझेदारहरुलाई पनि समस्या सिर्जना गरेका छन् । उनीसँग २३ जना व्यवसायीहरुले मिलेर काम गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ती सबै व्यवसायीहरु व्यवसाय अगाडि बढाउन नसक्ने अवस्थामा छन् । किनकी ती सबै कम्पनीहरुको बैंक खाता र कारोबार अहिले बन्द छ । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने । शर्माका मुख्य सहकर्मी शुसिल बानियाँ हुन् । शिवशिखर सहकारीका डमी अध्यक्ष समेत रहेका बानियाँले पनि शर्मासँग मिलेर लगानी गरेका छन् । उनीहरु दुई जनाको साझेदारीमा उपकार मिडिया ग्रुप सञ्चालनमा आएको थियो । सो मिडियामा लिलानाथ गौतम र कमल शाहको पनि लगानी छ । सो मिडियामा शर्माको सबैभन्दा बढी ७० लाख, बानियाँको १० लाख, गौतमको ५ लाख र शाहको १५ लाख रुपैयाँ लगानी रहेको बुझिएको छ । तर, अहिले उपकार मिडियाले सञ्चालन गरेको टेलिभिजन बन्द भइसकेको छ । शर्मासँग सहकार्य गरेर गौतम र शाह पनि फसेका छन् । व्यवसायी तेज बहादुर तामाङले शर्मासँग मिलेर गोरखा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, गोरखा सप एण्ड केमिकल इण्डष्ट्रिज र ब्रिटिस गोर्खा ट्रेड खोलेका थिए । ब्रिटिस गोर्खामा डम्बर बहादुर तामाङ्ग, धन बहादुर तामाङ्ग र दिपक लामाले पनि लगानी गरेका छन् । तीनै जनाले बराबर लगानी गरेर कुल ३ करोड रुपैयाँमा कम्पनी खोलेका थिए । तर, उनको हिरासतको यात्राले ती कम्पनीहरुमा समस्या सिर्जना गरेको छ । शर्मासँग मिलेर अमृता श्रेष्ठले पनि धोका पाएकी छन् । उनले शर्माकै आग्रहमा तुलसी फुड इण्डष्ट्रिमा साढे दुई करोड लगानी गरेकी थिइन् । उनीहरु दुवै जनाले मिलेर सो उद्योगमा ५ करोड लगानी गरेका थिए । तर, अहिले शर्माको हिरासत बसाईंपछि सो कम्पनी पनि समस्यामा परेको हो । यस्तै, सुदर्शन कपाली, पुष्कर मल्ल र अनिल आचार्यले केदार शर्मासँग मिलेर उपकार फाउण्डेशन सञ्चालन गरेका थिए । मल्ल्ल र आचार्यले शर्मासँग नै मिलेर भेहिकल सोलुसन एण्ड सर्भिसमा पनि लगानी गरेका थिए भने यो कम्पनीमा छविलाल बिक पनि जोडिएका थिए । केदार शर्माकै मुख्य लगानीमा न्यूज अखबार डटकम सञ्चालनमा आएको थियो । सो कम्पनीमा शर्माले ८५ लाख रुपयाँ र सुमन कुमार लुइँटेलले १५ लाख रुपैयाँ लगानी गरेका थिए । तर, शर्माको घटनापछि सो अनलाइन पनि बन्द भएको छ । उनीसँग मिलेर नेपा टेकनोलोजीमा राजु शाखकर्मीले पनि लगानी गरेको देखिएको छ । बिक्रम कुवँर र पुस्कर मल्लले पनि उनीसँगको सहकार्यमा वेजन इन्टरनेस्नल प्रालि खोलेका छन् । शर्मासँगै मिलेर डिकेन्द्र कुमार गिरी, सरीता गिरी, जुठे राउत क्षेत्री, अमृत गिरी र सुनिता खड्काको शिखर अर्गनाइजेसनमा दश/दश लाख रुपैयाँ लगानी गरेका थिए । सो कम्पनीमा शर्माको १० करोड र उनकी श्रीमती गिता शर्माको साढे ५ करोड लगानी थियो । अब उनीहरु तीन जनाको सो लगानी पनि फसिने सम्भावना देखिएको हो । शर्माकै नेतृत्वमा फोर स्टार ग्रुप सञ्चालनमा आएको थियो । सो कम्पनीमा प्रदिप भटराई, वालकृष्ण ढकाल र राजकुमार शर्माले पनि लगानी गरेका छन् । उनीहरु सबैले २५/२५ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । उनले सहकार्य गरेर व्यवसायका गरेका व्यवसायिक साझेदारहरु अहिले समस्यामा परेका हुन् । शर्मासँगको संगतले उनी जस्तै जीवनशैली जिउने सपना बोकेका व्यवसायीहरु अहिले सरमाएका छन् ।

सनी सेक्यूरिटिजले त्रिवेणी इन्टरनेशनल कलेजमा दियो सेयर तालिम

काठमाडौं । पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले  बुधवार लेखनाथ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आधारभूत सेयर तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीहरू लगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् । साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे । तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो । शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

काठमाडौं । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिसद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ । यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ । यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार–प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल कृषि विभागका महानिर्देशक एवं रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् । धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो । कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आर्थिक वर्ष २०६१र६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । यसै सन्दर्भमा देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्ने सिलसिलामा यस वर्ष धानमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कुरालाई मध्यनजर गरी राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ । विभागको विवरणमा आव २०७९र८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् । रासस

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : डा राणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छन् । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ। ‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै प्रविधि पनि हस्तान्तरण हुन्छ’, उनले भनिन्, ‘प्रत्यक्ष वैदेशिक लगानीले नयाँ रोजगारीका अवसर पनि सिर्जना गर्ने भएकाले नेपालजस्तो देशको विकासका लागि वैदेशिक लगानी निकै आवश्यक छ ।’ डा राणाले नेपालमा लगानीमैत्री वातावरण रहेकाले यहाँ लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरूलाई आग्रह पनि गरिन्। उनले भनिन्, ‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानीका प्रशस्तै सम्भावनाहरू पनि छन्, हाल लगानी गरिरहेका कतिपय मल्टिनेसनल कम्पनीहरूले राम्रो मुनाफा लिएका पनि छन्, त्यसैले म सबै लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्दछु ।’ उनले चीन र भारत तथा अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा पनि साना तथा मझौला उद्यमको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी महत्त्वपूर्ण देखिएको बताइन् । उनले नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा पनि वैदेशिक लगानीको आरओई (रिटर्न अन इक्विटी) अर्थात् इक्विटीमा औसत प्रतिफल १५ प्रतिशत देखाएको बताइन् । ‘नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२०/२१ मा वैदेशिक लगानी भएका कम्पनीहरूको औसत आरओई १५ प्रतिशत थियो’, उनले भनिन् । सो अवसरमा डा राणाले वैदेशिक लगानी रहेको युनिलिभर नेपाल लिमिटेडले विगत १० वर्षमा एक सयदेखि एक हजार दुई सय ७० प्रतिशतसम्म लाभांश प्राप्त गरेको पनि उल्लेख गरिन् । ‘प्रत्यक्ष वैदेशिक लगानी सहज बनाउन र लगानीकर्ताको हित जोगाउन हामीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन बनाएका छौँ र कानुनी प्रणालीले निजी उद्यमलाई राष्ट्रियकरण गर्न निषेध गरेको छ’, उनले भनिन्। उनले नेपालले खुला, उदार र बजारमुखी नीति अवलम्बन गरेको भन्दै नेपालमा लगानीमैत्री वातावरण रहेको बताइन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दोस्रो पुस्ताको आर्थिक सुधारका लागि विभिन्न एजेन्डा सार्वजनिक गरेको उनको भनाइ छ । डा राणाले बजेटमा लागत घटाएर प्रतिस्पर्धात्मक क्षमताको विकास, उत्पादकत्व र दक्षता अभिवृद्धि, लगानीको वातावरण सिर्जना गर्न संस्थागत सुधार, स्वदेशी र विदेशी लगानी प्रवर्द्धन, डिजिटल अर्थतन्त्रका विकास र औद्योगिक क्रान्तिलाई अवलम्बन गर्ने नीति अङ्गिकार गरेको बताए । उनले नेपालमा उत्पादित सामानले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतमा भन्सार र कोटामुक्त बजारको पहुँचसमेत पाउने बताए । नेपाल विश्व व्यापार सङ्गठन र बहुपक्षीय लगानी ग्यारेन्टी सङ्गठनको सदस्य रहेको र यसले व्यापार र लगानी नीति तथा अन्तर्राष्ट्रिय मापदण्डको नियमन सुनिश्चित हुनेसमेत उल्लेख गरे । नेपालले दक्षिण एसियामुक्त व्यापार सम्झौता (साफ्टा), सार्क एग्रिमेन्ट अन ट्रेड इन सर्भिसेज (स्याटिस) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक)जस्ता विभिन्न क्षेत्रीय समूहको हस्ताक्षरकर्ता रहेको समेत उनको भनाइ छ । रासस

अब काठमाडौंको दृश्य कमलादीको स्काइवाकबाट, दैनिक १२ घण्टा खुला हुने, टिकट एक हजार रुपैयाँ मात्रै

काठमाडौं । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् । फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयौं देशले यस्ता संरचना बनाएका छन् । ती संरचनामार्फत ती देशले विदेशी पर्यटक भित्र्याएका छन् र विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन् । नेपालबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक आइफल टावर र बुर्ज खलिफालगायतका संरचना हेर्न जाने गरेका छन् । अब भने यस्ता अग्ला टावरबाट सहर नियाल्ने अवसर नेपालमै पनि प्राप्त हुने भएको छ । सहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्दै सहरको तीन सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ । काठमाडौं कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन् । कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा दुई अर्ब रुपैयाँ लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आकर्षण पोख्रेलले जानकारी दिए । ‘टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो,’ उनले भने । कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ । टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औं तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ । टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ । त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ । टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ । साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ । हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ । दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ । सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिए । उनका अनुसार टावरका तीन तलाका रेष्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ । स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ । त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन । कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ । सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ । स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकेको छ । तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ । कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आकर्षण पोख्रेल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह छन् । कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ ।