काठमाडौं । तपाईं कुनै व्यक्तिसँग कुनै प्रकारको सम्बन्ध अगाडि बढाउँदै हुनुहुन्छ भने कति सोच्नुहुन्छ ? त्यो साथीको सम्बन्ध होस्, व्यवसायिक सम्बन्ध होस् वा प्रेम सम्बन्ध नै किन नहोस् । तपाईंले पटक-पटक सोच्नु पर्ने हुन्छ, बुझ्नु पर्ने हुन्छ र म त्यो व्यक्तिसँग सम्बन्ध स्थापित गर्न योग्य हो या होइन भनेर निर्धारण गर्नुहुन्छ र अगाडि बढ्नुहुन्छ । हतारको निर्णयले व्यक्तिलाई एकदिन अवश्य लडाउँछ । सुरुमा राम्रो, कुशल र व्यवहारिक लागेको तपाईंको मित्र कुन मोडमा गएर तपाईंलाई लडाइ दिन्छ त्यो न तपाईंलाई थाहा हुन्छ न त त्यो तपाईंको मित्रलाई । त्यसभित्र नियत र नियती लुकेको हुन्छ ।
भनिन्छ नी, ‘हुने हार दैव नटार ।’ हो, अहिले नेपाली व्यवसायको एउटा घटनाले यस्तै बाटो देखाएको छ । कुनै दिन कुनै चिजको कमि थिएन व्यवसायी केदार शर्मासँग । तीन दर्जन बढी कम्पनीका मालिक । दुई सहकारीका अध्यक्ष/सञ्चालक । ती दुवै सहकारी र तीन दर्जन कम्पनीको साँचो आफ्नै हातमा । चिल्लो गाडी, ठाउँ-ठाउँमा घडेरी । ऋण लिइदिनु पर्यो भनेर समय माग्ने बैंकका कर्मचारीहरुको लाइन । ठूला-ठूला राजनीतिक दलहरुका नेताहरुसँगको उठबस् । क्या मस्त थियो केदार शर्माको जीवनशैली ।
त्यो समयमा उनीसँग सम्बन्ध स्थापित गर्न कसले चाहँदैन र । रातारात अर्बपति बन्ने लाइनमा हिँडिरहेका शर्मासँग सम्बन्ध स्थापित गर्न जोकोही पछि पर्थेनन् । त्यही शिलशिलामा तल उल्लेखित व्यवसायीहरु पनि जोडिए । आफुसँग भएको रकमलाई ‘दिन दुई गुणा र रात चार गुणा’ गर्ने लोभका साथ शर्मासँगको उठबस् ब्यापक नै बनाए । तर, विडम्बना, त्यो सम्बन्ध सुमधुर हुन सकेन । शर्मा जस्तै अर्बपतिको लाइनमा हिड्छु भनेर महत्वकांक्षा बोकेका व्यवसायीहरु पुर्पुरोमा हात लगाउनु बाहेकको विकल्पमा परेनन् ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका केदारनाथ अहिले प्रहरीको नियन्त्रणमा छन् । उनी मात्रै होइन २ करोड रुपैयाँको चिल्लो गाडीको एसी खाएर काठमाडौंमा हुइँकिने उनको श्रीमती पनि अहिले प्रहरी खोरको हावा खाँदैछिन् ।
शर्माले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानले देखाएको छ । शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गर्यो ।
प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको भेटिएको छ । अहिले उनले लगानी गरेका सबै कम्पनीहरुको खाता तथा कारोबार रोक्का छ ।
उनले आफुसँगै आफ्ना व्यवसायिक साझेदारहरुलाई पनि समस्या सिर्जना गरेका छन् । उनीसँग २३ जना व्यवसायीहरुले मिलेर काम गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ती सबै व्यवसायीहरु व्यवसाय अगाडि बढाउन नसक्ने अवस्थामा छन् । किनकी ती सबै कम्पनीहरुको बैंक खाता र कारोबार अहिले बन्द छ ।
सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् ।
‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।
शर्माका मुख्य सहकर्मी शुसिल बानियाँ हुन् । शिवशिखर सहकारीका डमी अध्यक्ष समेत रहेका बानियाँले पनि शर्मासँग मिलेर लगानी गरेका छन् । उनीहरु दुई जनाको साझेदारीमा उपकार मिडिया ग्रुप सञ्चालनमा आएको थियो । सो मिडियामा लिलानाथ गौतम र कमल शाहको पनि लगानी छ । सो मिडियामा शर्माको सबैभन्दा बढी ७० लाख, बानियाँको १० लाख, गौतमको ५ लाख र शाहको १५ लाख रुपैयाँ लगानी रहेको बुझिएको छ । तर, अहिले उपकार मिडियाले सञ्चालन गरेको टेलिभिजन बन्द भइसकेको छ । शर्मासँग सहकार्य गरेर गौतम र शाह पनि फसेका छन् ।
व्यवसायी तेज बहादुर तामाङले शर्मासँग मिलेर गोरखा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, गोरखा सप एण्ड केमिकल इण्डष्ट्रिज र ब्रिटिस गोर्खा ट्रेड खोलेका थिए । ब्रिटिस गोर्खामा डम्बर बहादुर तामाङ्ग, धन बहादुर तामाङ्ग र दिपक लामाले पनि लगानी गरेका छन् । तीनै जनाले बराबर लगानी गरेर कुल ३ करोड रुपैयाँमा कम्पनी खोलेका थिए । तर, उनको हिरासतको यात्राले ती कम्पनीहरुमा समस्या सिर्जना गरेको छ ।
शर्मासँग मिलेर अमृता श्रेष्ठले पनि धोका पाएकी छन् । उनले शर्माकै आग्रहमा तुलसी फुड इण्डष्ट्रिमा साढे दुई करोड लगानी गरेकी थिइन् । उनीहरु दुवै जनाले मिलेर सो उद्योगमा ५ करोड लगानी गरेका थिए । तर, अहिले शर्माको हिरासत बसाईंपछि सो कम्पनी पनि समस्यामा परेको हो ।
यस्तै, सुदर्शन कपाली, पुष्कर मल्ल र अनिल आचार्यले केदार शर्मासँग मिलेर उपकार फाउण्डेशन सञ्चालन गरेका थिए । मल्ल्ल र आचार्यले शर्मासँग नै मिलेर भेहिकल सोलुसन एण्ड सर्भिसमा पनि लगानी गरेका थिए भने यो कम्पनीमा छविलाल बिक पनि जोडिएका थिए । केदार शर्माकै मुख्य लगानीमा न्यूज अखबार डटकम सञ्चालनमा आएको थियो । सो कम्पनीमा शर्माले ८५ लाख रुपयाँ र सुमन कुमार लुइँटेलले १५ लाख रुपैयाँ लगानी गरेका थिए । तर, शर्माको घटनापछि सो अनलाइन पनि बन्द भएको छ ।
उनीसँग मिलेर नेपा टेकनोलोजीमा राजु शाखकर्मीले पनि लगानी गरेको देखिएको छ । बिक्रम कुवँर र पुस्कर मल्लले पनि उनीसँगको सहकार्यमा वेजन इन्टरनेस्नल प्रालि खोलेका छन् । शर्मासँगै मिलेर डिकेन्द्र कुमार गिरी, सरीता गिरी, जुठे राउत क्षेत्री, अमृत गिरी र सुनिता खड्काको शिखर अर्गनाइजेसनमा दश/दश लाख रुपैयाँ लगानी गरेका थिए । सो कम्पनीमा शर्माको १० करोड र उनकी श्रीमती गिता शर्माको साढे ५ करोड लगानी थियो । अब उनीहरु तीन जनाको सो लगानी पनि फसिने सम्भावना देखिएको हो ।
शर्माकै नेतृत्वमा फोर स्टार ग्रुप सञ्चालनमा आएको थियो । सो कम्पनीमा प्रदिप भटराई, वालकृष्ण ढकाल र राजकुमार शर्माले पनि लगानी गरेका छन् । उनीहरु सबैले २५/२५ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । उनले सहकार्य गरेर व्यवसायका गरेका व्यवसायिक साझेदारहरु अहिले समस्यामा परेका हुन् । शर्मासँगको संगतले उनी जस्तै जीवनशैली जिउने सपना बोकेका व्यवसायीहरु अहिले सरमाएका छन् ।