७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै, यी ६ कम्पनी कालोसूचीमा

<p>काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् । उनले [&hellip;]</p>

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् ।

उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनीसहित उनकी श्रीमती गिता शर्मा पनि अहिले प्रहरीको नियन्त्रणमा भएपछि उनले लगानी गरेका कम्पनीहरु बन्द हुन थालेका हुन् ।

शर्माको लगानी रहेका विभिन्न कम्पनीहरुमा सहकारीको रकम प्रयोग भएको सीआईबीको अनुसन्धानले देखाएको छ । त्योसँगै उनले ती कम्पनीहरुमा लगानीका लागि विभिन्न बैंकबाट ऋण लिएका छन् । उनी पक्राउ परेसँगै ती बैंकहरु पनि अहिले तनावमा छन् । ऋणी नै प्रहरीको हिरासतमा भएपछि लगानी डुब्ने चिन्तामा बैंकर छन् ।

उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको स्रोतको दाबी छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयन बैंकबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रे बैंकबाट ६८ करोड, प्रभु बैंकबाट ४० करोड, नबिल बैंकबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको छ ।

अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने ।

उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । उनले लिएको ऋण नतिरेकै कारण उनका कम्पनीहरु कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रका अनुसार केदार शर्माको एकल स्वामित्वमा रहेका ६ वटा कम्पनीहरु अहिले कालोसूचीमा छन् । ती कम्पनी कालोसूचीमा परेर बन्द पनि हुन थालेका छन् । उनले १० करोड लगानी गरेर खोलेको शिखर दीप एग्रो अहिले कालोसूचीमा छ । जसमा पनि शर्माको एकल लगानी छ ।

यस्तै, उनले १० करोड रुपैयाँ पुँजीमा स्थापना गरेको नटराज एग्रो पनि कालोसूचीम छ । १० करोड लगानीमै खुलेको नटराज फुड इन्डष्ट्रि, १५ करोड लगानीको गार्डेन मार्ट, ५ करोड लगानीको तुलसी मोटर पम्प र ८ करोड लगानीको शिवशिखर एग्रो पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ । यी सबै कम्पनीमा शर्माको एकल लगानी छ ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले लगानी गरेको एउटा टेलिभिजन बन्द नै भइसकेको छ । सो कम्पनीमा काम गर्ने कर्मचारीले लामो समयदेखि तलब नै नपाएको गुनासो गरिरहेका छन् ।

सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । उनले अनुसन्धानका लागि कम्पनी बन्द गर्नु परेको बताए । उनको लगानी रहेका सबै कम्पनीको खाता तथा कारोबार पनि अहिले बन्द छ ।

‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।

Share News