३ अर्ब लगानीमा लुम्बिनीमा पोड–वे बनाउने प्रस्ताव, सरकारबाट अनुमतिको पर्खाइ
काठमाडौं । लुम्बिनीमा करीब ३ अर्ब लागतमा पोड–वे बनाउने प्रस्ताव अघि बढाइएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोड–वे बनाउन गरिएको प्रस्तावमा योजना आयोगले छलफल गरिरहेको छ । पोड–वे मास ट्रान्सपोटेसनको क्षेत्रमा नयाँ प्रविधि हो । यो २ देखि ४२ सीट हुने इलेक्ट्रिक सवारी हो । विकसित मुलुकहरूमा यातायातको नयाँ प्रविधिकोरूपमा पोड–वेको प्रयोग हुने गरेको छ । लुम्बिनीमा पोड–वे बनाउने गरी योजना आयोग र पुरातत्व विभागमा प्रस्ताव पेस गरिएको काठमाडौं पोड–वे कम्पनी प्रालिका उपाध्यक्ष निल भट्टराईले जानकारी दिए । कम्पनीले आगामी आर्थिक वर्षबाट लुम्बिनीमा पोड–वे बनाउने योजनासहित पूर्व तयारीको काम गरिरहेको उनले बताए । युरोपियन स्ट्याण्डर्डमा पोड–वे बनाउँदा प्रति किलोमिटर करीब ४० देखि ५० करोड खर्च लाग्ने भट्टराईले बताए । आन्तरिक र बाह्य पर्यटकहरुलाई लुम्बिनी अवलोकनमा सहज बनाउने गरी ६ किलोमिटर पोड–वे बनाउने प्रस्ताव योजना आयोगमा पेस गरिएको भट्टराईले बताए । लुम्बिनी गुरू योजना क्षेत्रभित्रको मनास्ट्री र साँस्कृतिक क्षेत्रको अवलोकन गर्न सहज बनाउने गरी पोड–वे निर्माणको प्रस्ताव गरिएको भट्टराईले बताए । निर्माणको काम सुरु गर्नको लागि योजना आयोगको स्वीकृति चाहिने भएकाले अहिले आयोगको अनुमति पर्खिरहेको उनले बताए । योजना आयोगबाट नीतिगत सम्बोधन भएपछि लगानी बोर्डमार्फत योजना अगाडि बढाइने उनले बताए । ‘योजना आयोगबाट छिट्टै नीतिगत सम्बोधन हुने र आगामी आर्थिक वर्षबाट पोड–वे बनाउने लक्ष्य लिएका छौं,’ उनले भने । लुम्बिनीमा पोड–वे बनाउनको लागि पुरात्व विभागको पनि स्वीकृति चाहिने भएकाले दुवै निकायमा एकै पटक अनुमतिका लागि आवेदन गरिएको उनले बताए । असार भित्रमै सम्बन्धित निकायहरुबाट अनुमति आउने अपेक्षासहित योजना आयोग र पुरातत्व विभागमा छलफल भइरहेको उनले जानकारी दिए । आयोगबाट स्वीकृति पाएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भट्टराईको भनाई छ । मास ट्रान्सपोर्टेशनमा पोड–वे नयाँ प्रविधि भएको र यसका लागि आवश्यक नीति नभएकाले काम गर्ने अनुमति पाउन समय लागेको उनले बताए । सरकारी निकायले निर्माण स्वीकृति दिए देशव्यापीरुपमा पोड–वे बनाउँदै जाने योजना रहेको भट्टराईले बताए । सम्बन्धित समाचार नेपालमा पोड वे : भाडा र सामान ढुवानी सस्तो, बिजुली खपत भएर पेट्रोल र डिजलको पनि विस्थापन १० वर्षभित्र हजार किलोमिटर पोड वे बनाउँछौं, हजारौंलाई रोजगारी दिन्छौं : निल भट्टराई
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ । कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिए । उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड रुपैयाँको कारोबार देखिएको छ । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । तस्करी गर्नेहरूले पाँच हजारदेखि १० हजार रुपैयाँ दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए । रासस
लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । साथै, यस विकास बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए । हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च १९औं वार्षिक साधारण सभाले साहारा जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा तत्काल अघिका पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । काउन्सिलका कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ छन् । काठमाडौंको र्याडिसन होटलमा सम्पन्न साधारणसभा ‘नेसन फस्र्ट’ नारामा केन्द्रित थियो । उक्त नारालाई केन्द्रमा राखेर मञ्चका यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । यस वर्षको उद्देश्य च्याप्टरलाई सुदृढ गर्ने, संगठनात्मक उपस्थिति बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने विषय पनि समावेश थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि बाक्लो उपस्थिति थियो । कार्यक्रममा मञ्चका विगतका गतिविधि र भावी पहलबारे प्रस्तुति दिइएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०र८१ को लागि आफ्नो योजना प्रस्तुत गरेका थिए । समितिका सबै सदस्यले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् । उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै नेपाली युवा उद्यमी मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु(याउने प्रयास जारी राख्ने वाचा गरेको छ । नवनिर्वाचित अध्यक्ष जोशीले भनिन् ‘मञ्चले इच्छुक भावी युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरूमार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिँदै थप मजबुत बनाउनेछौं ।’ नयाँ समितिले सिकाइ र प्रगतिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको महत्वमा पनि जोड दिएको छ ।
साउने सोमबारको व्रत सुरु (फोटोफिचर)
काठमाडौं । चान्द्रमास अनुसार साउन महिनाको पहिलो सोमबार काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर मन्दिरमा देखिएको भक्तजनको चहलपहल । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : रासस
शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’ पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’ स्थानीय तहमा साधनस्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको उनको भनाइ छ । उनले भने, ‘पब्लिक क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्ने सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त धेरे छ ।’ मन्त्री डा. महतले भने, ‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ । यसलाई ‘रिर्भस’ गर्नुपर्ने आजको आवश्यकता छ ।’ मानिसले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्णरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा आफूहरुले विश्वास गर्ने उनको भनाइ छ ।
हामी जति पनि लगानी गर्न तयार छौं, पूर्वाधार निर्माणमा सरकार चुक्यो : अध्यक्ष शाह
काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष हुन् विनायक शाह । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रहेको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले अनुशासित व्यवसायीको छवि पनि बनाएका छन् । १६ वर्षसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका शाह जागिर छाडेर २०५० सालदेखि होटल क्षेत्रमा होमिए । हानको महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षमा निर्वाचित भएका छन् । उनी अध्यक्ष बन्दै गर्दा होटल व्यवसाय क्षेत्र एक किसिमको सकसमा छ । यो सकसको अन्त्य गर्न शाहमाथि ठूलो चुनौति छ । यो चुनौतिलाई पार गर्न र व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न शाहले बनाएका योजना र वर्तमान होटल व्यवसाय क्षेत्र लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् । हामीले लामो समय कोरोना भाइरसको सन्त्रास भोग्यौं, पछिल्लो समय भने केही सुधार भएको कुरा सुनिन्छ, होटल व्यवसाय सुधारको गतिमा हो ? कोभिड-१९ पछि पर्यटकको आवागमनको तथ्याङक हेर्दा एकदमै उत्साहप्रद छ । विभिन्न देशबाट नेपालमा करिब ९० हजार पर्यटक आइरहेका छन् । पर्यटक आउँदा होटल व्यवसायमा केही सुधार अवश्य भएको हो । यसले पनि अगाडि बढ्ने साहस दिलाएको हो । दैनिक पर्यटकको संख्या बढिरहेको छ । बुकिङ बढेको छ । कोभिडको बेला अन्य क्षेत्रमा लगानी आएन । बन्द हुने अवस्थाको सिर्जना भयो । काम पनि धेरैको रोकियो । तर, होटल उद्योगमा आउने लगानी रोकिएन । होटलका पूर्वाधारका कामहरू निरन्तर भइ रहे । नेपालमा २० वटा पाँच तारे होटल छन् । जसमध्ये २ वटा बन्द भएका छन् भने १८ वटा होटलहरु सञ्चालनमा छन् । अबको एक/डेढ वर्षभित्रमा २० वटा पाँच तारे होटल थपिँदै छन् । सात प्रदेशमा करिब एक सय वटा पर्यटकीय स्तरका होटलहरु बन्दैछन् । ती होटलमध्ये केही सञ्चालनमा आउने तयारीमा छन् । एकपछि अर्को गरेर होटल क्षेत्रमा लगानी बढिरहेको छ । त्यसले गर्दा आज हामी स्वदेशी तथा विदेशी पर्यटक गरेर ३५ लाख ग्राहकलाई सेवा दिन सक्ने स्थितिमा छौं । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका देशैभरका होटलबाट दैनिक १० हजार ग्राहकलाई मनोरञ्जन, खाने बस्ने, सभासम्मेलन गर्न सक्ने सेवा दिन सक्छौं । वर्षमा ३६ लाख ५७ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा हामी छौं । नेपालमा सन् २०१९ मा १२ लाख पर्यटक आएका थिए । महिनामा एक लाख पर्यटक आए पनि वर्षमा १२ लाखभन्दा बढी पर्यटक आउने भएनन् । सोही संख्यामा पर्यटक आउँदा पनि हाम्रो क्षमता एक तिहाइ मात्र प्रयोग भयो । होटलको सञ्चालन खर्च २५ देखि ४० प्रतिशत अकुपेन्सी भयो भने मात्र धानिन्छ । सोही अनुरूपको अकुपेन्सी भएन भने सञ्चालन खर्च पनि उठ्दैन । अहिले औसत २०/२२ प्रतिशतको हाराहारीमा सञ्चालनमा छन् । हुन त काठमाडौंका केही ठूला होटल राम्रोसँग सञ्चालन भइरहेका छन् । तर, सबै होटल त्यही स्तरले सञ्चालन भइरहेका छैनन् । कतिपय होटलहरु घाटामा सञ्चालन भइरहेको अवस्था छ । घाटा खाएर पनि होटल सञ्चालन गर्नु पर्ने बाध्यता छ । बिजनेसमा जोखिम लिनु पर्छ । भोलिको दिन राम्रो हुन्छ, अर्थतन्त्रमा सुधार आउँछ, पर्यटन पूर्वाधारको विकास हुन्छ भनेर होटल सञ्चालन गरिरहेका छौं । यति हुँदाहुँदै पनि पूर्वाधारमा समस्या छ । हामीलाई हाम्रो विमानस्थल तथा सडक लगायतका पूर्वाधारले साथ दिइरहेको अवस्था छैन । अर्बौं रुपैयाँको लगानीमा पोखरा र भैरहवाको एयरपोर्ट बन्यो । सो एयरपोर्टलाई सञ्चालन गर्नको साटो त्यसलाई घाममा सुकाएर राखिरहेका छौं ।नेपालमा भारत र चीनबाट सडकबाट पनि पर्यटक भित्र्याउन सकिन्छ । तर, पर्यटक भित्र्याउन सक्ने स्तरका सडक छैनन् । काठमाडौंबाट पोखरा जान आज १२ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा होलिडे मनाउन को पर्यटन आउँछ ? हामीले क्षमता र लगानी दुवै विस्तार गर्यौं । त्यो सँगसँगै पूर्वाधार विकास नहुनाले हामी ठूलो मारमा परेका छौं । होटल उद्योग सामान्य अवस्थामा छैन । हामी असामान्य अवस्थामा सञ्चालन भइरहेका छौं । यस क्षेत्रको लागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि केही कुरा समेटिएन । आगामी मौद्रिक नीतिमा होटल क्षेत्रका कुराहरू समेटियोस् भनेर लागि रहेका छौं । होटल व्यवसायीहरू बैंकबाट लिएको ऋण तथा त्यसको ब्याज तिर्न सक्ने क्षमतामा छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशनले पछिल्लो मौद्रिक नीतिको समीक्षाले असार मसान्तसम्म ब्याज तिर्न नसक्नेले पुनतालिकीकरण गर्न सक्ने सुविधा दिएको थियो । अब त्यसले निरन्तरता पाउँछ कि पाउँदैन थाहा छैन । जनताको पैसा व्यवस्थापन गर्ने संस्था हो ‘बैंक’ । बिजनेस घाटामा जानु हुँदैन, त्यो पनि हाम्रौ पैसा हो । ऋण लिएपछि तिर्नुपर्ने दायित्व पनि हाम्रो हो । तर, लिएको ऋण तिर्न नसक्ने अवस्था भएपछि बैंकहरुले होटल व्यवसायीलाई कालोसूचिमा राखिदिने तथा लिलाममा चढाइदिने अवस्थाको सिर्जना भइरहेको छ । यसले गर्दा अहिले होटल व्यवसायीहरू तनावको अवस्था छन् । बैंकको उच्च ब्याजदरका कारण व्यवसायीहरूले सञ्चालन गर्दै आएका होटल बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो, कतिपयले होटल नै बेचेको खबर पनि सुनिन्छ, आफ्नो व्यवसाय नै बेच्ने अवस्थामा व्यवसायी पुगेका हुन् ? हामीले अध्ययन गर्दा कोभिडपछि झण्डै १८ प्रतिशत साना तथा मझौला होटलहरु विस्थापित भएका छन् । बैंकको उच्च ब्याजदर, होटलमा ग्राहकको कमि लगायतका कारणले व्यवसायीहरु विस्थापित भएको हुन सक्छन् । एक पटक विस्थापित भएको होटल अर्को पटक स्थापित हुन गाह्रो हुन्छ । हामी चीन र भारतको बिचमा छौं । हामीले ती दुई देशबाट जति पनि पर्यटक ल्याउन सक्छौं । तर, पर्यटक ल्याउने कसरी ? कोभिड अघि चीनबाट दैनिक ६ पटक हवाई उडान भरिन्थ्यो । भारतबाट ५ वटासम्म नेपाल उडानमा हुन्थ्यो । अहिले पहिलाको तुलनामा उडान पनि घटेको छ । अहिले हप्ताको ६ पटक मात्र विमान आउन मुस्किल पर्छ । कोभिड अवस्था सामान्य भएसँगै चीन सरकारले चिनियाँहरुलाई बाहिर जान छुट दिएको छ । छुट दिएसँगै त्यहाँबाट धेरै पर्यटकहरू नेपाल ल्याउन सक्छौं । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर विभिन्न ठाउँमा घुमेपछि भारतीयहरू यहाँ आउन तत्पर छन् । भारतमा अहिले गर्मी छ । नेपालमा खासै गर्मी छैन । त्यहाँ गर्मी हुँदा यहाँ पर्यटक भित्र्याउन सक्ने वातावरण मिलाउनु पर्छ । यसैलाई मध्येनजर गर्दै हामीले विभिन्न क्याम्पहरु पनि चलाइरहेका छौं । भारतबाट पर्यटकलाई नेपाल आउँदा नजिक पर्छ । यहाँ आउनको लागि उनीहरू इच्छुक पनि छन् । तर, यहाँसम्म सहज तरिकाले आउने सिस्टम सहज छैन । हामीसँग पूर्वाधारको अभाव छ । भारतबाट कुनै परिवारले गाडी लिएर नेपाल भिजिट गर्न आयो भने आवश्यक फाराम भन्सारमा भर्नु पर्छ । त्यो फाराम समेत सहज तरिकाले भर्ने वातावरण/ठाउँ छैन । हाम्रो नीति पर्यटनमैत्री छैन । यो असहजताका बीच पनि लगानी थपिरहेको छ, त्यो लगानी पुरानै व्यवसायीको होकि नयाँ लगानीकर्ताको ? एकपछि अर्को गरेर अन्तर्राष्ट्रिय चेन होटल नेपाल भित्रिरहेका छन् । २० वटा पाँच तारे होटल सञ्चालनमा आउन तयारीमा छन् । आज गाह्रो अवस्था भएपनि सधैँ यस्तै अवस्था नहोला । सन् २०२० को तथ्याङ्क हेर्दा २० करोड चाइनिज र १० करोड भारतीयहरू विभिन्न देशमा होलिडे मनाउन गएको देखिन्छ । उक्त संख्याको दुई प्रतिशत मात्र पर्यटक नेपाल भित्र्याउन सकियो भने ठूलो उपलब्धि हुन्छ । निजी क्षेत्रले द्रुत गतिमा काम गर्याे । एकपछि अर्को होटल खोल्दै सञ्चालनमा ल्यायो । तर, सरकारले गर्नुपर्ने पूर्वाधारको विकास गरेन । सरकार राजनीति लगायत विविध पक्षमा अल्झियो । सरकार कहाँ-कहाँ अल्झियो भन्ने कुरा तपाईंहरुलाई पनि थाहा होला । सरकारले भैरहवा र पोखरामा एयरपोर्ट बनायो । तर, सञ्चालनमा ल्याउन सकस पर्याे । हामी त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्नको लागि तयार छौं । सरकार, मन्त्रालय र त्यो मातहतको विभागले एयरपोर्ट सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन । त्यसको वैकल्पिक उपाय पनि खोजेको देखिँदैन भने निजी क्षेत्रसँग सल्लाह पनि गरेको छैन । नेपाली होटल व्यवसायीले विदेशी ठूला चेन होटलहरु नेपालमा भित्र्याए । ती होटलहरुमा विदेशी परिकार नै बढी पाइन्छ । तपाईंहरुले नेपाली मालिक प्रकृतिको होटल र यतैको परिकारहरुमा जोड नदिएको गुनासो पनि सुनिन्छ नी ? गुनासो र वास्तविकता फरक हुन्छ । यस्ता गुनासोहरू आइरहेका हुन्छन् । नेपालले सन् २००४ मा डब्लुटीओको सदस्यता लिइसकेपछि २००७ मा नेपाल खुल्ला भयो । खुल्ला भएपछि हामी संकुचनमा बस्न सक्छौं ? व्यवसायीले आफ्नो क्षमता अनुसारको काम गरिरहेका छन् । नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु आउन चाहन्छन् । सञ्चालनमा पनि आएका छन् भने कतिपय सञ्चालनमा आउने चरणमा छन् । अमेरिकाको कुनै नागरिक अमेरिकमै हायातमा बसको छ भने नेपालमा आएर पनि उसले हायातमा नै बस्न खोज्छ । किनभने उसले त्यो नाम सुनिरहेको छ । हरेक कुरामा फाइदा बेफाइदा भन्ने कुरा भइहाल्छ । अन्तर्राष्ट्रिय चेन होटल नेपाल आउनु भनेको उनीहरूले नेपाल र नेपालीलाई विश्वास गर्नु हो । उनीहरूले नेपालको समग्र सिनारियोलाई हरेर यहाँ लगानी विस्तार गरेका हुन् । त्यो राम्रो पक्ष हो । त्यसलाई म्यानेज गर्नु पर्छ, हाम्रा नीति नियमले त्यसलाई समेट्नु पर्याे । तपाईंहरु समस्यामा छौं भन्नुहुन्छ, बैंकले कत्तिको पत्याइरहेका छन् ? हामीले बैंकबाट लिएको ऋणको सावाँ ब्याज नै तिर्न नसकेपछि बैंकले पत्याउने कुरै भएन । हामीलाई बैंकले कालोसूचिमा राखिरहेका छन् । हाम्रो सम्बन्ध बैंकसँग राम्रो छैन । हामी होटल बैंकलाई बुझाउन तयार छौं । अहिलेको अवस्थामा होटलको स्थिति राम्रो छैन । यति बेला व्यवसायीलाई सरकारको सहयोग चाहिएको छ । सरकारले त्यसलाई सहजीकरण गरिदिनु पर्याे । होटल बन्द गर्दैमा समस्याको समाधान हुने होइन । टिक्यो भने मात्र भोलिका दिनमा त्यसले प्रतिफल दिन्छ । आजै रुख काट्दियो भने त्यसले के फल दिन्छ ? नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको निर्माणमा व्यस्त छ । यो समस्याको समाधानका लागि केही समन्वय गर्नु भएको छ ? यस विषयमा हामी प्रत्येक दिन राष्ट्र बैंकसँग समन्वय गरिरहेका छौं । म राष्ट्र बैंक दिनहुँ धाइरहेको छु । हामीले हाम्रो कुरा अर्थमन्त्री, गभर्नरज्यूहरूसँग राखिरहेका छौं । सरकारले बजेट व्यक्तव्यमा पर्यटन दशक मनाउने भनेको छ । मौद्रिक नीतिले हाम्रो समस्या समाधान गर्न सकेन भने गाह्रो नै हुन्छ । होटल क्षेत्र थप समस्यामा पर्न सक्छ । आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट हो ? आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी सकारात्मक छैनन् । यस क्षेत्रको समस्या सम्बोधन गर्ने प्रयास बजेटले गर्न सकेको छैन । हामीलाई उल्टै कर लगाइएको छ । आलु प्याजमा समेत कर लगाइ्एको छ । अहिले कर लगाउने बेला होइन । पहिला त यो क्षेत्रलाई टिकाउनु पर्याे । हाम्रो सप्लाईको एक तिहाइ पनि माग छैन । मौद्रिक नीतिले विद्यमान समस्यालाई समाधान गर्याे भने त्यो सफल हुने हो । हाम्रा कुनै पनि समस्या समाधान हुने खालका विषय बजेटमा उल्लेख छैन । पछिल्लो समय होटल व्यवसायीहरु शहरभन्दा पनि डाँडाकाँडामा व्यवसाय गर्न इच्छुक देखिएका छन् । तपाईंको विचारमा एउटा राम्रो होटल सञ्चालन गर्नको लागि कस्तो ठाउँ उपयुक्त हुँदो रहेछ ? यो व्यवसायीको बिजनेस प्लानमा भर पर्छ । आज जोमसोम जस्तो ठाउँमा होटल खुलेको छ । कुनै पनि काम अरू भन्दा पृथक हुनु पर्याे । आज लक्जरियस होटल जोमसोममा खुलेको छ । त्यहाँ पुग्न सक्ने बाटो पनि छैन । आवश्यक पूर्वाधारको पनि विकास भइसकेको छैन । मेरो विचारमा जोमसोमको होटल नेपालकै महँगो होला । राम्रो घर बनाएर मात्र होटल चल्दैन । होटल सेवा हो । होटलले कुन लेभलको सेवा दिएको हो त्यो सेवाले पनि महत्व राख्छ । तपाईंको कार्यकालमा होटलका यी विविध समस्याहरुको समाधानका लागि के कस्तो पहल गर्नु हुन्छ ? यी समस्याहरु समाधान हुन सक्छन् ? अहिले चाहिनेभन्दा बढी होटल छन् । सप्लाई हाइ छ, डिमान्ड पूर्वाधारले गर्दा संकूचित छ । अहिलेको अवस्थामा होटललाई बचाउनु नै मेरो पहिलो प्राथमिकता हो । सरकारी नीति नियमका कुरा छन् । मेरो नेतृत्वमा हामी भर्खरै मात्र बंगलादेश र श्रीलंका पुगेर आयौं । हामी बंगलादेश गएका थियौं भने भैरहवाका साथीहरु श्रीलंका जानु भएको थियो । हामीले त्यहाँ गएर हाम्रो सेल्स प्रमोसन गर्यौं । त्यहाँबाट पनि धेरै नेपाल घुम्न आउन तयार हुनुहुन्छ । तर, उहाँहरूलाई यहाँसम्म ल्याउने वातावरण बनाउन नै गाह्रो भयो । किनभने सम्बन्ध बढाउने कुरा हाम्रो हातको भन्दा बाहिरको कुरा भयो । संस्थाको जिम्मेवारीसँगै व्यक्तिगत व्यवसायलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, व्यवसाय विस्तारको योजना के छ ? संस्थाको जिम्मेवारी लिइसकेपछि आफ्नो कामलाई छाडेर पनि समय दिनुपर्ने हुन्छ । समय मिलाएर व्यक्तिगत व्यवसाय र संस्थालाई अगाडि बढाउँछु । समयसँगै व्यवसाय विस्तार गर्ने लक्ष्य सबैको हुन्छ । हामीलाई समयले कुर्दैन, समयमा काम गरिएन भने त्यसले प्रतिफल दिँदैन । लगानी विस्तारको कुरा सरकारको नीति नियममा पनि भर पर्छ । समयको अनुकुलता बनाएर लगानी विस्तार गर्ने योजना छ । होटल व्यवसायलाई सरकारले प्राथमिकता नदिएको देखियो नि है ? सरकारले होटललाई सेवा व्यवसायको रूपमा वर्गीकरण गरेको छ । होटल मन्त्रालय तथा कम्पनी रजिष्टार कार्यालयमा उद्योगको रूपमा दर्ता भएको छ । सरकारको नीति नियमले यस क्षेत्रलाई गर्ने व्यवहार सेवा व्यवसायमा मात्र हो उद्योग होइन । यो क्षेत्र उद्योग नभएका कारण बैंकले पनि ऋण दिन गाह्रो मानेको हो । सरकारले यस क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योग रूपमा वर्गीकरण गरिइदिनु पर्याे भन्ने हाम्रो माग हो । होल व्यवसायमा खर्बौंको हानी भइसकेको छ । होटलमा गरेको लगानी उठ्न २०/३० वर्ष लाग्छ । नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनमा खपत भएको विद्युत प्रतियुनिट १७ /१८ रुपैयाँले लिन्छ । उद्योगले त्यो विद्युत ७/८ रुपैयाँमा पाउँछन् । हामीले पनि लाखौं रुपैयाँ विद्युतको रकम भुक्तानी गर्छौं । तर, हामीले त्यो सुविधा पाउँदैनौं ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्यमा भने बृद्धि भएको छ । विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता सेयर तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्य रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२ रुपैयाँ, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार पाँच सय रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार छ सय १८ रुपैयाँ र सिटी होटल नौ करोड एक लाख ६२ हजार सात सय ६२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ । आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ ।