विकासन्युज

पूर्वप्रधानमन्त्री झलनाथकी श्रीमतीलाई जिउँदै जलाइयो

काठमाडौं । प्रर्दशनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार शख्त घाइते भएकी छन् । मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।  उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।  

सिंहदरबारपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी

काठमाडौं । काठमाडौंमा जारी जेनजीहरुको प्रदर्शन चर्किंदै जाँदा राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनकारीहरूले शीतलनिवासको एक भागमा आगो लगाएको छ ।  यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको निवास र कार्यालयहरूमा समेत आगजनी र तोडफोडका घटना भइसकेका छन् ।  संसद् भवन परिसरमा समेत जेनजीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर गोली पड्काएका थिए ।  सिंहदरबार आसपासमा सुरक्षाकर्मीहरूसँग झडप भइरहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा राजीनामा गरिसकेका छन् ।  यद्यपि जेनजीहरूको आक्रोश अझै शान्त भइसकेको छैन, र उनीहरूले विभिन्न सरकारी तथा संवैधानिक निकायहरूमा आक्रमण जारी राखेका छन् । 

जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण

काठमाडौं । आन्दोलनका प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा चोकलाई सांकेतिक रूपमा ‘जेनजी चोक’ नामाकरण गरेका छन् । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सडक छेउको भित्तामा लेखेर देउवा चोकलाई नयाँ नाम दिएका हुन् । यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए। आक्रमणमा परेर देउवा दम्पती घाइते भएको बताइएको छ । ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास र सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।

जेनजीले सिंहदरबारमा पनि लगायो आगो

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर जेनजीहरुले आगजनी गरेका छन् ।  जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही जेनजीहरु सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगजनी गरेका हुन् । उनीहरू गेटभित्र रहेको बगैँचासम्म पुगेका थिए । सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूहभित्र पसेको थियो ।  उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् भने सर्वोच्च अदालत र  विशेष अदालतमा पनि आगजनी गरेका छन् । जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड

काठमाडाै‌ । प्रर्दशनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड गरेका छन् । जेन जी युवाहरुहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड गरेका हुन् ।  

जेलबाट बाहिर निकालिए रवि लामिछाने

काठमाडौं । जेनजी प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट बाहिर निकालेका छन् । प्रदर्शनकारीहरु नख्खु कारागारमा पुगेर उनलाई बाहिर निकालेका हुन् ।   

हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’

काठमाडौं । तिब्बतको ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौं आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरा अवतरण भएको हो ।       उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले विमान पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेको जनाइएको छ ।      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तिब्बतको ल्हासाबाट काठमाडौं आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय होल्ड भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो ।  

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौं । सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौं उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।   कर्मचारी तन्त्रका प्रमुख र चारवटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन् ।   उनीहरुले वर्तमान विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरेका छन् ।   नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रुपमा उक्त अपिल गरेका हुन् ।   सोमबारदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनीहरुले त्यसबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।