कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् । यहाँको नाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढी पहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सिजना भएपछि भन्सार विभागले यहाँको नाकालाई वैकल्पिक मार्ग रुपमा सञ्चालनमा ल्याएको हो । यहाँको नाकालाई तत्कालका लागि वैकल्पिक मार्ग रुपमा प्रयोग गरिएको भए पनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । यहाँको नाकामा मालवस्तु आयातका लागि विभागसँग कार्यालयको ‘अनलाइन’ प्रणाली ‘इन्ट्री’ भइसकेको र चाँडै लोमान्थाङमा भन्सार राजस्व सङ्कलनका लागि प्रभु बैङ्कबाट वित्तीय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताए । उनले यहाँको नाकास्थित चाइनिज भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाइने भन्सार प्रमुख खड्काले उल्लेख गरे । सोमबार चाइनिज भन्सारमा जाँचपास भएका २ कन्टेरनको मालवस्तु जाँच भइसकेको बताए । उनले व्यापारीहरुले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको तथा उक्त मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताए । यहाँका नाकाबाट ५०० भन्दा बढी डीवाइटी इभी गाडीसहित लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी–जोमसोम–कोरला सडक हुँदै दर्जनौ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरलाई चिनियाँ भूमिमा प्रवेश गराएर मालसामान लोडअनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । उनले चिनियाँ सामान ढुवानी गर्न करिब १०० भन्दा बढी कन्टेनर पर्खाइमा बसेको बताए ।
भीआईपीहरु सैनिक मुख्यालयमा
काठमाडौं । भीआईपी नेताहरुले सैनिक मुख्यालय भद्रकालीमा आश्रय लिएका छन् । प्रदर्शनकारीहरुले प्रदर्शन बढाएपछि उनीहरु हेलिकप्टरमा सैनिक मुख्यालय पुगेका हुन् । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीसँगै उनको सल्लाहकार डा. युवराज खतिवडा लगायतका मन्त्रीहरु मुख्यालयमा पुगेको स्रोतले बतायो ।
बार एसोशिएसनको भवनमा पनि आगजनी
काठमाडाैं । प्रदर्शनकारीले बार एशोसिएसनको भवनमा पनि आगजनी गरेका छन् । उनीहरुले सिंहदरबारपछि बार एसोशिएसनको भवनमा पनि आगजनी गरेका हुन् ।
पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी
काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका वरिष्ठ नेता नन्दबहादुर पुनको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आन्दोलनकारीहरूको समूहले मंगलबार बिहानै काठमाडौंको दहचोकस्थित पुनको घरमा पुगेर आगजनी गरेको स्थानीयहरूले बताएका छन् । ‘जेनजी’ आन्दोलन अन्तर्गत सोमबारदेखि सुरु भएको विरोध प्रदर्शन सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध, देशभर फैलिएको भ्रष्टाचार र बेथितिको विरोध, साथै नेताहरू र उनका सन्तानहरूको विलासी जीवनशैलीप्रतिको आक्रोशका कारण चर्किएको हो । सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आज देशभरै प्रदर्शन तीव्र बनेको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा दिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । देशभर जारी जेनजीको आन्दोलनको दबाबले प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतलनिवासले जनाएको छ । सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।
प्रचण्डकी छोरी गंगाको घरमा आगजनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । उग्र बनेका युवाहरूले घरभित्र पार्किङमा राखिएको बीवाईडीको गाडीमा समेत आगजनी गरी नष्ट गरेका छन् । सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि आज बिहानदेखि प्रदर्शन झन् आक्रामक बनेको हो। राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शनकारीहरूले नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयलाई निशाना बनाउँदै विरोध जारी राखेका छन् ।
संसद् भवनमा आगजनी
काठमाडौं । जेनजीले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आगजनी गरेका छन् । हजारौंको संख्यामा संसद् प्रवेश गरेका जेजनीले भवनभित्रै आगजनी गरेका हुन् ।
रास्वपाका सबै सांसदले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार दिउँसो आकस्मिक संसदीय दलको बैठकपश्चात उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिएका हुन् । देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ ।