विकासन्युज

मुलुकलाई थप संकटतिर नधकेलौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत नागरिकलगायत सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जनाउँदै अहिलेको संवेदनशील अवस्थाबाट मुलुक, जनता र लोकतन्त्रलाई जोगाउन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले नागरिकका जायज मागलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संयमित रहन आग्रह गरेका छन् ।  ‘लोकतन्त्रमा नागरिकले राखेका मागलाई सम्बोधन गर्ने अभ्यास संवाद र सहमतिबाटै हुन्छ, त्यसैले संयमित रहनुहोस्, वार्तामा आउनुहोस्,’ पौडेलले भने । उनले मुलुकलाई थप अस्थिरतामा धकेल्ने गतिविधि नगरी शान्तिपूर्ण बाटो रोज्नसमेत सबैलाई आह्वान गरेका छन्।  

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन्  । उनले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।  

मंगलबारको प्रदर्शनमा घाइते भएका ३३ जना त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सोमबार र मंगलबार देशभर भएको प्रदर्शनमा २१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १९ जनाको काठमाडौंमै प्रहरीको गोली लागेर मृत्यु भएको हो । हालसम्म प्रदर्शनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

नयाँ सरकार गठनको छलफलमा जुटे बालेन, को बन्दैछ प्रधानमन्त्री ?

काठमाडौं । जेनजीको अपेक्षाअनुसार नयाँ सरकार बन्ने भएको छ । नयाँ सरकार गठनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका व्यक्तिहरू छलफलमा जुटेको मेयर बालेनका सल्लाहकार सन्तोष गिरीले जानकारी दिए ।  उनका अनुसार राष्ट्रपतिले राजीनामा दिएपछि नयाँ सरकार गठन गरिनेछ । साथै एकछिनमा नेपाली सेना प्रमुखले सम्बोधन गर्ने तयारी भइरहेकाले केही समय कुर्नुपर्ने उनले बताए ।  ‘केही समय कुरौं न । मेयरसाब छलफलमा हुनुहुन्छ । विभिन्न स्टेकहोल्डरसँग छलफलमा हुनुहुन्छ । मैले पनि यही व्यक्तिसँग छलफलमा हुनुहुन्छ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तत्काललाई राष्ट्रपतिले पनि राजीनामा दिइसक्नु भएको अवस्थामा चाहिँ नयाँ जेनजीले अपेक्षा गरेअनुरुपको संयन्त्र तयार हुँदैछ ।’  नयाँ संयन्त्रअनुसार बालेन नै प्रधानमन्त्री हो भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो नहुन पनि सक्छ ।’ 

राष्ट्रिय एकता र संयमता कायम राख्न नेपाली सेनाको अपिल

काठमाडौं । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र जनताको जीउधनको सुरक्षार्थ सदैव प्रतिबद्ध रहँदै आएको नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।  साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । राष्ट्रिय हित र सुरक्षामा सधैं समर्पित नेपाली सेनाले विद्यमान अवस्थालाई संवेदनशीलतापूर्वक विश्लेषण गरिरहेको जनाएको छ ।  सेनाले नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा तथा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षणमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । नेपाली सेनाले सम्पूर्ण युवा शक्ति तथा देशवासीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र संयमता कायम राख्न आग्रह गरेको छ । साथै विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबैलाई सचेत र जिम्मेवार रहन सेनाले हार्दिक अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि आजगनी गरेका छन् । नेताका घर र सरकारी कार्यालयमा आगजनी गर्दै आएका प्रदर्शनकारीहरुले रामशाहपथस्थित मन्त्रालयमा आगजनी गरेका छन् । संसद भवन, सिंहदरबारदेखि विभिन्न सरकारी निवासमा आगजनी गरेका थिए ।

जेनजीले गरे दमक भ्यू टावरमा आगजनी

काठमाडौं । झापाको दमकस्थित रहेको दमक भ्यू टावरमा पनि जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । उनीहरूले मंगलबार भ्यु टावरमा आगजनी गरेका हुन् । जेनजीहरूले देशभरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।  उनीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायतका ठाउँमा आगजनी गरिसकेका छन् ।  

मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक छ : घिसिङ

काठमाडौं । विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक सम्पतीमा क्षती नपुर्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै घिसिङले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्,‘सुशासन, जवाफदेहिता र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा उत्पन्न दुखद परिस्थिति हामी सबैका माझमा छर्लङ्ग छ,  सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं ।’ प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा अब संयमित हुने समय आएको बताउँदै सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेका छन् । उनले थप भनेका छन्,‘ सार्वजनिक सम्पति तपाईं  हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुन्छ, अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्म मूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौं।’ घिसिङले जेन जी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक भएको बताएका छन् ।