विकासन्युज

एआई असमानता घटाउन माइक्रोसफ्टले ५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) असमानता घटाउने उद्देश्यले दशकको अन्त्यसम्म ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।  बुधबार आयोजित एआई समिटमा कम्पनीले ‘ग्लोबल नर्थ’को तुलनामा ‘ग्लोबल साउथ’मा एआई अपनाउने गति करिब आधा मात्र रहेको र यो अन्तर निरन्तर बढिरहेको बताएको हो ।  समिटको एक सेसनमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ र प्रमुख जिम्मेवार एआई अधिकृत नताशा क्र्याम्पटन सहभागी थिए । उनीहरूले समयमै आवश्यक कदम नचालिए एआई खाडलले विश्व आर्थिक असमानता अझ गहिरो बनाउन सक्ने चेतावनी दिए । घोषित ५० अर्ब डलर लगानी पाँच प्रमुख क्षेत्रमा खर्च गरिने जनाइएको छ—डिजिटल पूर्वाधार, सीप विकास (स्किलिङ), बहुभाषिक एआई विकास, स्थानीय नवप्रवर्तन, र एआई अपनाउने प्रवर्द्धन ।  गत आर्थिक वर्षमा माइक्रोसफ्टले ‘ग्लोबल साउथ’का लागि डाटा सेन्टर पूर्वाधारमा ८ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो, जसमा भारत, मेक्सिको, अफ्रिका, दक्षिण अमेरिका, दक्षिण–पूर्वी एशिया र मध्य–पूर्व समेटिएका छन् ।  कम्पनी २५ करोड मानिससम्म इन्टरनेट पहुँच पु‍र्याउने लक्ष्यमा काम गरिरहेको छ, जसमा १० करोड अफ्रिकाबाट हुनेछन् । हालसम्म अफ्रिकामा ११.७ करोड मानिससम्म पहुँच विस्तार भइसकेको कम्पनीले जनाएको छ । डिजिटल स्किलिङअन्तर्गत गत वर्ष २ अर्ब डलरभन्दा बढी लगानी गरिएको थियो । भारतमा २०२५ मा ५६ लाख व्यक्तिलाई तालिम दिएपछि अब २०३० सम्म २ करोड भारतीयलाई एआई सीपले सशक्त बनाउने लक्ष्य राखिएको छ । समिटमा ‘इलिभेट फर एडुकेटर्स’ कार्यक्रम पनि सुरु गरिएको छ, जसअन्तर्गत २ लाखभन्दा बढी संस्थाका २० लाख शिक्षक र ८० लाख विद्यार्थीलाई एआई क्षमतासँग सशक्त बनाइनेछ । अमेरिकी चिप निर्माता क्वालकमले भारतको एआई स्टार्टअप इकोसिस्टमलाई टेवा पु‍र्याउन १५० मिलियन अमेरिकी डलर (करिब २१७६ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यो कोष सबै चरणका स्टार्टअपमा लगानी गरिनेछ, विशेषगरी अटोमोटिभ, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स र मोबाइलसँग सम्बन्धित एआई समाधान विकास गर्ने कम्पनीहरूमा केन्द्रित रहने जनाइएको छ । कम्पनीका सीईओ क्रिस्टियानो आमोनले एआई नयाँ चरणमा प्रवेश गरिरहेको बताउँदै स्मार्टफोन, पीसी, कार तथा औद्योगिक मेसिनजस्ता उपकरणहरूमा प्रत्यक्ष बौद्धिकता समावेश हुँदै गएको उल्लेख गरे । उनका अनुसार एआईले विभिन्न क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउनेछ र यस प्रक्रियामा भारतको स्टार्टअप इकोसिस्टमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

फागुनमा पन्च ईभी किन्दा ७० प्रतिशत रिसेल ग्यारेन्टी

काठमाडौं । टाटा मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनालाई लक्षित गर्दै विद्युतीय गाडी टाटा पन्च ईभीमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले फागुनभर पन्च ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत ग्यारेन्टेड रिसेल भ्यालु योजना ल्याएको  हो । यस योजनाअन्तर्गत फागुन महिनाभित्र पन्च ईभी किन्ने ग्राहकले भविष्यमा टाटाको अन्य कुनै गाडी साट्दा ७० प्रतिशतसम्म सुनिश्चित पुनःबिक्री मूल्य प्राप्त गर्नेछन् ।  कम्पनीका अनुसार ग्राहकले गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य पाउने सुनिश्चितता दिलाउन यो विशेष योजना ल्याइएको हो । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणबीच यस्तो उच्च रिसेल ग्यारेन्टीले ग्राहकमा थप आत्मविश्वास र सुरक्षा भावना जगाउने कम्पनीको विश्वास छ ।  अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स तथा नेपाली सडक सुहाउँदो डिजाइनका कारण पन्च ईभी पछिल्लो समय ग्राहक माझ लोकप्रिय बन्दै गएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।  यस विशेष स्किमसम्बन्धी विस्तृत जानकारीका लागि देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ । फागुनको यो अफरले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि अवसरका रुपमा रहेको छ ।

हत्या गरेर फरार रहेका मुसलमान १३ वर्षपछि पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले हत्या गरेर १३ वर्षसम्म फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बुद्धभूमि नगरपालिका ५ मोहम्मदनगरका इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । कपिलवस्तु जिल्ला अदालतको २०६९ चैत १६ गतेको फैसला अनुसार मुसलमानलाई २० वर्ष ९जन्मकैद० हुने ठहरी फैसला भएको थियो । अदालतको फैसलापश्चात मुसलमान फरार रहेका थिए । विशेष सूचना तथा निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुको फैसला कार्यान्वयन टोली संयुक्त प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिका १ को बर्रोहिया स्थितमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।  कैद भुक्तानका लागि कारागार पठाइएको सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार बिक्री

काठमाडौं । नेपालमा टीभीएस एनटर्क– १२५ १ लाख ५० हजार बिक्री भएको जगदम्बा मोटर्सले जनाएको छ । १ लाख ५० हजार बिक्री भएको अवसरमा जगदम्बा मोटर्सले बुधबार देशभरका अधिकृत टीभीएस शोरूमहरूमा सेलिब्रेट गर्‍यो । कार्यक्रममा ग्राहक, राइडर समुदाय तथा डिलरहरूको उल्लेख्य सहभागिता देखिएको कम्पनीले बताएको छ ।  यो उपलब्धि बिक्री अंक मात्र नभई विश्वासको प्रमाण पनि भएको कम्पनीको दाबी छ। लञ्चदेखि नै एनटर्कले रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत युवावर्ग र सहरी कम्युटरहरूबीच लोकप्रियता कमाउँदै आएको छ ।  जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि नेपाली राइडरहरूको भरोसा र देशव्यापी सेवा नेटवर्कको प्रतिफल भएको बताए ।  जगदम्बा मोटर्स शंकर ग्रुप अन्तर्गत नेपालमा टीभीएसको अधिकृत वितरक हो । 

एनसेल प्याक किन्दा फुडमान्डुमा १५० रुपैयाँ छुट

काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै ग्राहकलाई लक्षित नयाँ आकर्षक छुट अफर ल्याएको छ । अफरअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुमार्फत खाना अर्डर गर्दा १५० रुपैयाँसम्मको छुट पाउनेछन् । फागुन ५ देखि लागू भएको यस योजनाअनुसार ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्दा ग्राहकले १५० छुटको कुपन प्राप्त गर्नेछन् । उक्त कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले एनसेल एप वा नजिकैको एनसेल पसलमार्फत प्याक खरिद गर्न सक्नेछन् । प्याक सक्रिय गरेपछि छुट कुपन एसएमएसमार्फत प्राप्त हुनेछ । एउटाभन्दा बढी प्याक खरिद गर्ने ग्राहकले सोही अनुपातमा एकभन्दा बढी कुपन पाउनेछन्, जुन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत अर्डर गर्दा प्रयोग गर्न सकिन्छ । जारी मितिदेखि २८ दिनसम्म मान्य रहने कुपन अरू कसैलाई हस्तान्तरण गर्न नमिल्ने कम्पनीले जनाएको छ । साथै यो अफर एनसेलको रिन्यूवल, सापाटी तथा गिफ्ट प्याकमा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।

सफ्टवरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ ।  ‘डिजिटल एभरेष्टस् स्केलिङ इनोभेसन बियोन्ड बोर्ड्स’ भन्ने मूल नाराका साथ आयोजित यस समिटले नेपालमा पहिलोपटक उद्योग-केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकतालाई उजागर गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सन् २०३० सम्मको प्रविधि बजारलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरू ह्युमनोइड्स र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिमा पोख्त हुनुपर्ने बताए ।  उनले ‘रोबोटिका कलेज’ को उद्योगमैत्री पाठ्यक्रमले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पु‍र्याउने विश्वास व्यक्त गरे । क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले  केवल सैद्धान्तिक ज्ञान भएका जनशक्ति नभई उद्योगको मागअनुसार वास्तविक उत्पादन तयार गर्न सक्ने दक्ष जनशक्तिको खाँचो भएको बताए । अटोनोमस रोबोटिक्सका विज्ञ युधिष्ठिर गौलीले स्वास्थ्य सेवा, ढुवानी र उत्पादनमूलक क्षेत्रमा रोबोटिक्सको बढ्दो महत्त्वबारे आफ्नो अनुभव साट्दै नेपालमा पहिलोपटक ‘रोबोटिका इन्स्टिच्युट’ को उद्योग–आधारित पाठ्यक्रम शिक्षण संस्थाहरूमा भित्र्याइएको जानकारी दिए । सफ्टवारिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले समिटमा ‘टेक शोकेस’ र ‘करियर जोन’ मार्फत विद्यार्थीहरूले विश्वव्यापी रिमोट जब्स र इन्टर्नसिपका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाएको बताए ।  उनले आगामी दिनमा पनि कलेजले यस्ता प्रयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विश्व बैंक समूहको जब एजेन्डासँग तालमेल मिलाउँदै समिटले पूर्वाधारमा लगानी, व्यवसायिक वातावरण निर्माण र निजी पुँजी परिचालन मार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा देशभरका विभिन्न कलेजका विद्यार्थी, प्राज्ञिक व्यक्तित्व र प्रविधि विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

केयाल ग्रुपका ४ उद्योगको ऋण १०.१४ अर्ब, आम्दानी ९ अर्ब

काठमाडौं । केयाल ग्रुप अन्तर्गतका चार कम्पनीले एक वर्षमै करिब ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेका छन् । नारायणी रोलिङ मिल्स, नारायणी स्टिल्स, नारायणी स्ट्रिप्स र श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेका हुन् । यी कम्पनीमा अधिकांश सेयर केयाल ग्रुपको रहेको छ भने सत्यनारायण केयाल अध्यक्ष रहेका छन् । केयाल ग्रुप पारिवारिक रूपमा सञ्चालित व्यावसायिक घरानाको रूपमा परिचित छ र समूहका उद्योगहरूको अधिकांश पूर्वी तराईमा आधारित छन् । चारै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब १४ करोड ८७ लाख रुपैयाँ ऋण लिएका छन् । अधिकांश उद्योगका उत्पादन प्लान्ट भारत-नेपाल सीमा क्षेत्रमा अवस्थित छन् । कच्चा पदार्थको अधिकांस हिस्सा भारतबाट आयात हुने भएकाले सीमासँगको नजिकियताले ढुवानी लागतमा उल्लेखनीय बचत हुने गरेको जनाएको छ । साथै, ग्रुपका काठमाडौं उपत्यका र वरिपरि १५ हार्डवेयर आउटलेट र देशभर करिब १२९ डिलर तथा डिस्ट्रीब्युटर नेटवर्कले उत्पादनका लागि सुनिश्चित बजार उपलब्ध गराउँदै आएको छ । नारायणी रोलिङ मिल्स बाराको चटापिपरा क्षेत्रमा रहेको नारायणी रोलिङ मिल्सले सन् २०२५ मा २ अर्ब ८७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८.२९ प्रतिशत अर्थात् ७९ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् १९९२ मे मा निजी सीमित कम्पनीका रूपमा दर्ता भई सन् १९९५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो उद्योगले टीएमटी बार, एङ्गल र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ४८ हजार ३०० मेट्रिक टन रहेको छ ।  निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरीय स्टिल उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । कम्पनीको नाफा सन् २०२५ मा करिब १ करोड ५० लाख पुगेको छ, जुन सन् २०२४ को ३० लाख मात्र थियो। ।  कम्पनीले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ३ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  नारायणी रोलिङ मिल्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ७ करोड २८ लाख र अल्पकालीन १ अर्ब ६१ करोड ९२ लाख गरी कुल १ अर्ब ६९ करोड २१ लाख ऋण लिएको छ । नारायणी स्टिल्स  पर्साको चोर्नी क्षेत्रमा रहेको नारायणी स्टिल्सले सन् २०२५ मा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशत, अर्थात् ६० करोड २० लाख रुपैयाँ बढी हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ९८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २००४ अप्रिलमा स्थापना भएको यस उद्योगले निर्माण र औद्योगिक क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै तार, कीला र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । औपचारिक उत्पादन सन् २०१८ डिसेम्बरमा सुरु भएको हो । हाल उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक ६५ हजार मेट्रिक टन रहेको छ । सन् २०२३ मा २ अर्ब ५१ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जीआई वायर, एमएस वायर, बार्बेड वायर लगायतका विभिन्न तार उत्पादन गर्दै आएको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ४७ करोड ६० लाख र अल्पकालीन ९० करोड गरी कुल १ अर्ब ३७ करोड ६० लाख ऋण लिएको छ । नारायणी स्ट्रिप्स  नारायणी स्ट्रिप्सले सन् २०२५ मा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.१४ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनी १३ अप्रिल २०१५ मा स्थापना भएको हो र सन् २०१६ देखि उत्पादन प्लान्ट सञ्चालनमा आएको हो । यहाँ पाइप, शीट, स्लिट्स, रिज र चेकर प्लेट जस्ता उत्पादनहरू उत्पादन हुँदै आएका छन् । हाल कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ५ लाख ८२ हजार ४०० मेट्रिक टन पुगेको छ । विगतका वर्षहरूमा कम्पनीले लगातार सञ्चालन आम्दानी वृद्धि गरेको छ । सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख, सन् २०२२ मा ३ अर्ब ६४ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब १४ करोड, सन् २०२० मा ३ अर्ब २१ करोड ९० लाख, सन् २०१९ मा ३ अर्ब ८३ करोड ३० लाख, सन् २०१८ मा २ अर्ब ८७ करोड ९० लाख, र सन् २०१७ मा ८८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ३ अर्ब २० करोड २१ लाख र अल्पकालीन ३ अर्ब २४ करोड ५३ लाख गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख ऋण लिएको छ । श्री कृष्ण स्टील इन्डस्ट्रीज पर्साको जीतपुरमा अवस्थित श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ९३ करोड ७० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको छ । यो सन् २०२४ को तुलनामा ११.५४ प्रतिशत, अर्थात् ९ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८४ करोड रुपैयाँ बराबर आम्दानी गरेको थियो । फेब्रुअरी १९९५ मा स्थापना भएको श्री कृष्ण स्टील इन्डस्ट्रीज केयाल ग्रुपको लगानी रहेको कम्पनी हो । पर्सा जिल्लामा रहेको यसको उत्पादन प्लान्टले २० वर्षभन्दा बढी समयदेखि पाइप, शीट र शटर पट्टी निर्माण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब १९ करोड ४० लाख रुपैयाँ र सन् २०१७ मा २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन २४ करोड ४७ लाख र अल्पकालीन ३८ करोड ८४ लाख गरी कुल ६३ करोड ३२ लाख रुपैयाँ ऋण लिएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ ।  पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार ४ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ  ।  बुधबार भने एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।