विकासन्युज

राष्ट्रहितका खातिर क्रियाशील रहौं, क्षतिको पुनर्निर्माणमा जुटौं : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत् सोमबार जेनजीको आव्हानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । ‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जिम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।  प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय एवं दुःखद भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारी पूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण गर्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।  साथै, कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति प्रहरले अनुरोध गरेको छ ।

बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

राति १० बजेदेखि सेना सडकमा, सम्पत्ति लुटपाट र आगजनी नगर्न आग्रह

काठमाडौं । आज राति १० बजेदेखि नेपाली सेना सडकमा प्रवेश गर्ने जानकारी दिएको छ । नेपाली सेनाले सूचना जारी गर्दै आज राति १० बजेदेखि सडकमा आउने बताएको हो ।  सेनाले सबैलाई यस कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ । साथै, विभिन्न व्यक्ति तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड तथा आगजनी नगर्न पनि अनुरोध गरेको छ ।  यस्तो छ सूचना  

नागरिकलाई सम्बोधन गर्दै के भन्यो सेनाले ?

काठमाडौं । प्रधान सेनापति महारथी अशोक सिग्देलले प्रदर्शनकारीलाई सहमतिमा आउन आग्रह गरेका छन् । मंगलबार राति नागरिकका नाममा सम्बोधन गर्दै उनले सबैको सहकार्यले देशको विकास हुने भएकोले वर्तमान परिस्थिति र समस्याको समाधान गर्न वार्तातमा आउन आग्रह गरेका हुन् ।  उनले देशको सांस्कृति सम्पर्दा, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न पनि आग्रह गरेका छन् । उनले नेपाली सेना देशको रक्षाका लागि तत्पर रहेको पनि बताएका छन् ।     

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड, सीईओ भन्छन्: आगजनी भयो भन्ने सुनियो

काठमाडौं । प्रदर्शनकारीले बैंकमा पनि तोडफोड गर्न थालेका छन् । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेका छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकको शाखामा तोडफोड र आगजनी बैंक भएको सुनिएको बताए । उनका अनुसार कर्मचारी भने सो शाखामा छैनन् । उनका अनुसार बैंकको तराईतिर पनि तोडफोड भएको छ । 

एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् ।  अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।   

देश जेनजीको  नेतृत्वमा, सार्वजनिक सम्पत्तिमा जोगाउन अपिल

काठमाडौं । जेनजी आन्दोलनले संघर्षबाट सत्ता ढलेकोले अब सार्वजनिक सम्पत्ति क्षति पुराउनु काम नगर्न अपिल गरेको छ । सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु नै अबको बाटो भएको उसले जनाएको छ ।  ‘हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं’ जेनजीले भनेको छ ।  ‘हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ । प्रधानमन्त्री केपी ओलीरले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ । यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ’ जेनजी आन्दोलनले मंगलबार साँझ जारी गरेको अपिल पत्रमा भनिएको छ ।  ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ । सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ती हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ’ अपिलमा लेखिएको छ ।  ‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं’ अपिलमा भनिएको छ । ’हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ ।’

जेलबाट छुटेपछि रविको वक्तव्य- सार्वजनिक सम्पत्तिको सुरक्षा गरौं, संयमित बनौं

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संयमता अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो अपील गरेका हुन् । उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न पनि आग्रह गरेका छन् । यस्तो छ उनको वक्तव्य : आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन् । यिनको बाँकी सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन् । तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुन सक्छन् । जुन तपाई हाम्रा लागि र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन् । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व  जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।  आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाईको लागि कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।