विकासन्युज

काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।  ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।  हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

आज र भोली सेयर कारोबार नहुने

काठमाडौं । २ दिन सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज र भोली सेयर कारोबार नहुने जनाएको छ ।  हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले भदौ २५ र २६ गते दुई दिन सेयर कारोबार स्थगन गरिएको प्रवक्ता मुराहरी पराजुलीले बताए ।  सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको उनको भनाइ छ ।

स्थानीय बासिन्दाले श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

एमाले महासचिवले भने- संयमित बनौँ, हामी फेरि उठ्ने छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेत्रलाल अभागीको कविता सेयर गर्दै संयमित बन्न आग्रह गरेका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरे । उनले आफूहरू फेरि उठ्ने विश्वास गरेका छन् । ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन् । 'आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ,' उनले सेयर गरेको कवितामा उल्लेख छ । उनले अगाडि लेखेका छन्, ‘एउटा कायरले पनि बहादुरीका लामा लामा कुरा गर्न सक्छ तर, मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।’

आज देशका अधिकांश भागमा बदली हुने, यी ४ प्रदेशमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  वर्षा भइरहेको बताएको छ । आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना  छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

सुरक्षित भएर रहन नेपाली सेनाको आग्रह

काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘केही उच्छृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।’

जेनजी आन्दोलनले कठिन परिस्थितिमा पर्यटन क्षेत्र

काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटन मैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । ‘जेनजीका मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंसको बाटो सदाका लागि अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।  जेनजीका माग सम्बोधन गर्ने गरी निश्कलंक र सर्व स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अबिलम्ब शान्ति र अमन चयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ । सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण  गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्रिभुवन विमानस्थल आज १२ बजेसम्म बन्द, यात्रुको पैसा फिर्ता हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिक तर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।  सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।रासस