विकासन्युज

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

फाइल फोटो म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् । आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ । रासस/एएफपी

सिटी एक्सप्रेसको अफर : विदेशबाट पैसा पठाउनेलाई उपहार, एकजनाले १० गुणा पाउने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठूला चाडपर्वलाई लक्षित गर्दै विशेष स्किम घोषणा गरेको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरिएको बताएको हो । विशेष स्किम घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही १००,०००(एकलाख),  हरेक हप्ता ५ जनालाई जनही २५,००० तथा  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रूपैयाँको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने बताइएको छ । कम्पनीकाअनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्नेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले बताएकाे छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

दोलखाबाट ४ किलो सुन बरामद

काठमाडौं । दोलखाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको जनाएको छ । दोलखाबाट प्रहरीले केही दिनअघि ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । प्रहरीका अनुसार यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

टिप्पणी : स्वास्थ्य क्षेत्रमा समस्या एउटा, उपचार अर्कै

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कुटिएको विषयलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकारबीच आन्दोलनको पाँचौ दिनमा ६ बुँदे सहमति भयो । तर, सहमति भएको भोलिपल्टै आइतबार फेरि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न गरिरहेका चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरे । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरिसकेको छ । उनीहरुले  कलेजको नेफ्रोलोजी ओपिडीमा निश्चित डाक्टरको नाम लिएर बिरामीलाई उपचारको लागि आएको भन्दै भित्र पस्न खोजेका थिए ।  भिड भएका कारण चिकित्सकले एकछिन बाहिर रहन भन्दा उनीहरू कुटपिटमा उत्रिएको बुझिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा हातपातको यो नौलो घटना भने होइन । पछिल्लो समय एकपछि अर्का घटना बाहिरिरहेका छन् । देशका विभिन्न स्वास्थ्य संस्थाका चिकित्सकहरु पीडित बनिरहेका छन् । तर, यो समस्याको समाधानमा सरकारले तदारुकता देखाउन सकेको छैन । समस्याको पहिचान गरेर पनि त्यसको समाधानका लागि काम गरेको देखिँदैन । पछिल्लो १५ दिन भित्र मात्रै सरकार, आन्दोलनकारी चिकित्सक र स्वास्थ्यकर्मी बीच  दुईपटक सम्झौता भइसकेको छ । तर, सम्झौता गर्दैमा र अभियुक्तलाई गिरफ्तार गर्दैमा घट्ना घट्दैन भन्ने अवस्था भने देखिएको छैन । दोस्रो सम्झौता भएको भोलिपल्टै घटेको यो घटनाले त्यसको पुष्टि गरेको छ । समस्या एउटा उपचार अर्कै चिकित्सक तथा स्वास्थ्यकर्मी कुटपिटको विषयलाई लिएर आन्दोलनको नेतृत्व गरेको नेपाल चिकित्सक संघ र सरकारबीच गत भदौ ३१ मा ६ बुँदे सम्झौता भयो । त्यसको लगत्तै फेरि देशका विभिन्न स्थानमा चिकित्सकहरुमाथि कुटपिट तथा हातपातका घटना नरोकिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ नै बनाएर आन्दोलन सुरु गरे । सोही पक्षसँग सरकारले शनिबार फेरि ६ बुँदे सहमति गर्याे । सरकार र आन्दोलनकारी बीच दुईपटक नै भएका सम्झौताहरु भने समस्याको कारण भन्दा बाहिर देखिएका छन् । चिकित्सकहरुले पनि समस्याको कारणलाई समाधान गर्न माग अगाडि नबढाउने र सरकारले पनि मुल समस्यालाई समाधान गर्न नचाहेको सम्झौताले प्रष्ट गर्छ । चिकित्सकहरुको आन्दोलनलाई सम्बोधन गर्न शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सहितका अधिकांश वक्ताहरुले जनसंख्याको अुनपातमा चिकित्सकको संख्या नहुँदा बिरामीका आफन्त तथा बिरामीहरु आवेगमा आएर प्रतिवादमा उत्रिने गरेको धारणा राखे । सो बैठकमा चिकित्सक कुटपिट हुनुको मुख्य कारण जनसंख्याको बढ्दो अनुपातमा जनशक्ति, अस्पताल र प्रविधिको व्यवस्था नभएको वक्ताहरुले बताएका थिए । बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरे । ‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको ८ वर्ष पुगिसक्दा समेत ४ सय ७ वटा स्थानीय तहमा चिकित्सक भएका स्वास्थ्य संस्था छैनन् । मन्त्री बस्नेतले अहिलेकै अवस्थामा भएको दरबन्दी अनुसारका चिकित्सकहरुपनि आवश्यक क्षेत्रमा खटिन नमान्ने र पहुँचको दुरुपयोग गरेर काजमा नै बस्ने कारणले स्वास्थ्य क्षेत्रमा समस्या देखिएको बताएका थिए । विशेषगरी राजधानीका निश्चित अस्पतालमा पहुँचवाला चिकित्सकहरु केन्द्रित हुने र ग्रामिण क्षेत्रका अस्पतालमा चिकित्सक नहुँदा सीमित अस्पतालहरुमा भिडभाडको स्थिति देखिएको बैठकमा सहभागी अन्य वक्ताहरुको समेत भनाइ थियो । नेपाल आवासीय डाक्टर एशोसिएसनका अध्यक्ष डा. कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नु परेको बताए । एक जना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नु परेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पस्डा व्यक्त गरे । विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिएक हजार जनसंख्या बराबर एक जना चिकित्सक हुनु पर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रतिडेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नु पर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नु पर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए । तर, संसदको समितिमा उठेको मूल विषय वा समस्याको कारण सम्बोधन गर्ने विषय शनिबार भएको सम्झौतामा उल्लेख नै भएको पाइँदैन । सम्झौतामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई भरपर्दो बनाउने, स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुविधाको विषयमा अध्ययन गर्ने, कुटपिटका घट्नाको कारक तत्व पहिचान गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने लगायतका विषयहरु उल्लेख छन् । तर, मन्त्री, सांसद र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको मूल कारणलाई भने सम्बोधन गर्ने प्रत्यक्ष वाक्यांश दुवै पटककाे सम्झौतामा उल्लेख गरिएन । जसकारणले समस्यालाई वास्तविक रुपमा सम्बोधन गर्न सरकार र चिकित्सक तथा स्वास्थ्यकर्मी दुवैले नचाहेका हुन कि भन्ने बुझ्न सकिन्छ ।

एक अर्बमा चन्द्रागिरिमा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुँदै

काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चन्द्रागिरि– ४ स्थित थानकोटमा एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरेको नगरप्रमुख गिरीले जानकारी दिए । सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारेमा प्रतिनिधिलाई जानकारी गराएका थिए । नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराएका थिए । सो अवसरमा उनले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताए । अस्पतालको भवन करिब १९ करोडको लागतमा बन्न लागेको हो । बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताए । बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । नगरप्रमुख गिरीले भने, ‘निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ । विशेषज्ञ अस्पताल बनेपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिनेछ ।’ विशेषज्ञ अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने लक्ष्य लिइएको छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवारनियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । रासस

पशुपति जलहरी प्रकरण : सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर, जनही एक करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकालसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । साथै, उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो माग दावी गरिएको छ ।

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए । ‘आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ’, उनले भने, ‘कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?’

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उनले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । ‘मेरो चीन भ्रमण चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । कोभिड–१९ महमामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई सुदृढ गरेको छ’, उनले भने। भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए । ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातयात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्ने मैले राखेको धारणाप्रति उहाँहरुले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो’, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटमा उत्तरी सीमा क्षेत्रमा प्रशारण लाइन निर्माण, सीमा क्षेत्रमा रहेको भूभागमा केन्द्रीय विद्युत प्रशारण प्रणालीबाट विद्युत् पुर्याउन नसकिने स्थानमा सौर्य प्रणालीबाट विद्युत् जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका तथा परम्परागत सीमा नाकाको पुनः सञ्चालन, सीमा नाकामा नेपालमा पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार निर्माणमा छलफल भएको सदनलाई जानकारी गराए ।