विकासन्युज

कांग्रेसको प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रमुख सचेतक चयनका लागि बासना थापाको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले उक्त प्रस्ताव अघि सारेका हुन् । बैठकमा प्रमुख सचेतकमा थापालाई जिम्मेवारी दिने प्रस्तावसँगै सचेतकमा निश्कल राईको नाम पनि प्रस्तुत गरिएको छ ।  पार्टीभित्र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित यी नामहरू प्रस्ताव गरिएको नेताहरूले बताएका छन् । प्रस्तावित नामहरूलाई औपचारिक निर्णयका लागि संसदीय दलको बैठकबाट अनुमोदन गरिने बताइएको छ । कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

सुकुम्वासी बस्ती विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । मन्त्रीको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो । केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । खासगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालयनै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ। सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।  

बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्दै अरुण काबेली

काठमाडौं । विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।  आयोगको २०८३ वैशाख ३ गते बसेको ३०७ औं बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ । आयोगको स्वीकृतिसँगै कम्पनीले यसको ५० प्रतिशतले हुन आउने  १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । आयोगले हकप्रद सेयरबाट संकलन हुने रकम खर्च गर्नका लागि स्पष्ट सीमा र शर्तहरूसमेत तोकिदिएको छ । संकलित रकममध्ये १०० करोड रुपैयाँ काबेली बी(१ जलविद्युत् आयोजना निर्माणका क्रममा लिइएको बैंक ऋण चुक्ता गर्न प्रयोग गर्नुपर्ने आयोगले जनाएको छ । त्यस्तै, बाँकी ९४.७९ करोड रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी ‘काबेली इनर्जी लिमिटेड’ मा लगानी गर्नुपर्नेछ । आयोगले सेयर निष्कासनका लागि विशेष प्रक्रियासमेत निर्धारण गरेको छ । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूका लागि निश्चित समय तोकेर सेयर खुला गर्नुपर्नेछ । संस्थापकहरूले रकम बुझाए वा नबुझाएको विवरण सार्वजनिक गरेपछि मात्र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन प्रक्रिया अघि बढ्नेछ । सेयर निष्कासनबाट प्राप्त रकम तोकिएको क्षेत्रमा खर्च गरी १५ दिनभित्र त्यसको पुष्टि हुने कागजातसहित आयोगलाई जानकारी गराउनुपर्नेछ । अरुण काबेलीका सेयरधनीहरूमध्ये कोही नेप्सेमा सूचीकृत अन्य विद्युत् कम्पनी भएमा उनीहरूले यस हकप्रदमा लगानी गर्न आयोगको छुट्टै पूर्व–स्वीकृति लिनुपर्ने व्यवस्थासमेत गरिएको छ । 

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुने भएका छन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा आङ्देम्बेलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो । सिंहदरबारमा बस्न लागेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गर्नेछ । पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ ।      जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो । यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो ।      यस भूकम्पपछि कुनै सुनामी चेतावनी जारी नगरिएको भए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनसङ्ख्या कम रहेको क्षेत्र नजिक केन्द्रित भएकाले ठूलो जनधन क्षतिको सम्भावना न्यून रहेको आकलन गरेको छ । यद्यपि, जेएमएका अधिकारीहरूले शक्तिशाली कम्पन भएका स्थानहरूमा चट्टान खस्ने र भूस्खलनको जोखिम बढेको चेतावनी दिएका छन् ।      जेएमएले आगामी केही दिन तथा हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने उच्च सम्भावना रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यसअघि केही घण्टा अगाडि नै होक्काइडोभन्दा केही सय किलोमिटर दक्षिण समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसले क्षेत्रको भूकम्पीय सक्रियता निरन्तर बढिरहेको सङ्केत दिएको छ ।      यो घटनाक्रम गत हप्ता उत्तरी इवाटे प्रान्तमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको हो, जसले ठूलो क्षति नगरे पनि देशभर त्रास फैलाएको थियो । उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ ठूला भवनहरू हल्लिएका थिए र छ जना घाइते भएका थिए । साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू देखिएका थिए भने अन्य उत्तरी क्षेत्रमा साना छालहरू ठोक्किएका थिए । त्यसपछि जेएमएले ८.० वा सोभन्दा माथिको शक्तिशाली भूकम्प आउने सम्भावना सामान्य अवस्थाभन्दा बढी रहेको चेतावनी दिएको थियो । अहिलेको ६.२ म्याग्निच्युडको भूकम्पलाई पनि सोही शृङ्खलाको एक हिस्सा मानिएको छ ।      जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो । चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गममा रहेको यस देशमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्प आउने गरेका छन् । यो विश्वभरका कुल भूकम्पको झन्डै १८ प्रतिशत हो ।      सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो । त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठूलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् । रासस    

सुकुम्बासी हटाएझैँ अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्

भक्तपुरमा चार वटा नगरपालिका छन्, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका । यी स्थानीय तहमा कांग्रेस, एमाले र नेपाल मजदुर किसान पाटी (नेमकिपा) का जनप्रतिनिधि छन् । भक्तपुरमा वि.सं. २०२१ सालमा जग्गा नापजाँच भएको थियो । व्यक्तिका जग्गा उसैलाई दिइयो । अर्थात् लालपूर्जा बाँडियो भने सरकारी, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी, तालतलैया, पोखरी, इनार, कुवा, राजकुलो, वन जंगल, राजपरिवार, खोलानाला लगायत जग्गा सरकारको नाममा राखियो । भक्तपुरमा लाखौं रोपनी सरकारी जग्गा थियो भन्ने रैथाने स्थानीयहरू अझै पनि छन् । तर, भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा कसरी गयो ? केही उदाहरण यहाँ उल्लेख छ । भक्तपुर नगरपालिका-१, सल्लाघारी आर्मी ब्यारेक, चंगा गणेश, खरिपाटी जाने सडकको दायाँबायाँ, दुवाकोटको टेम्पोपार्क, सिर्जना नगर, राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, ड्राइभिङ सेन्टर, हार्डवेयरलगायत सञ्चालित र निकोसेराको पनि अधिकांश जग्गा सरकारी, गुठी, ऐलानी भएको दाबी गरिन्छ ।  २०२९ सालसम्म यी ठाउँमा एउटै घर थिएनन् । घारीमात्र थियो । नेवारहरूले दाहसंस्कार गर्थे । २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले सल्लाघारीमा छाप्रो हाले, उनैले २०३५ सालमा ढुंगा-माटोको घर बनाए । माथि टायलको छानो हालेर । त्यसपछि यी ठाउँमा अतिक्रमण शुरु भएको हो । एउटा घरबाट अहिले हजारौंको संख्यामा यहाँ घर बनिसकेका छन् । सल्लाघारी स्थित तीनकुने चौर पनि राजपरिवारको जग्गा हो । तत्कालीन राजा महेन्द्रले प्रति रोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए । राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गयो । तर, ट्रष्टको बेवास्ताका कारण यो जग्गा व्यक्तिका नाममा गएको छ । वा हडपेर घरलगायत संरचना बनाइएको छ । अहिले बढीमा ६०-६५ रोपनी मात्र जग्गा छ । तीनकुने चौर नजिक यातायात कार्यालय छ, त्यसकै अगाडि ठूलो घर छ । जहाँ किरानादेखि चिया, फलफूल पसल र ब्यूटीपार्लरसम्म सञ्चालन भएको छ । विकुलाल खिउँजुको रहेको सो घर तीन वटा ढुंगेधारा पुरेर बनाइएको स्थानीयको आरोप छ । यद्यपि, नेमकिपाको कार्यकर्ता भएकोले उनले घर सम्पन्नता प्रमाणपत्र पाइरहेका छन् ।  यता, सूर्यविनायक नगरपालिकाको भवन रहेको आसपासको सबै जग्गा पनि सरकारी भएको बताइन्छ । नगरपालिकासँगै सडक डिभिजन, महालेखा परीक्षणलगायतका कार्यालय छन् । त्यस वरपरका सबै जग्गा सरकारी भएको दाबी गरिन्छ । यद्यपि, यहाँ घर बनिसकेको छ । पहिला नगरपालिका भाडामा बस्थ्यो । शुशिल भैरवथान मन्दिर नजिकै भाडामा बस्दाको घरसहित आसपासका जग्गा पनि सरकारी नै भएको बताइन्छ । दशकअघि त्यहाँ ठूलो चौर थियो, जहाँ आल, ढुंगेधारा र पिपलको रुख थियो, त्यहाँ मानिसहरू गाईवस्तु चराउँथे, घरायसी प्रयोगका लागि त्यहीबाट पानी लगिन्थ्यो । तर, अहिले चौर छैन, आल, ढुंगेधारा पनि छैन । पिपलको रुखसमेत आधा काटिएको छ  । चौर रहेको भनिएको ठाउँमा घरैघर बनिसकेको छ ।  स्थानीयका अनुसार त्यो चौर वडा नम्बर ५, का वडाध्यक्ष राजकुमार जोशीकै भाइ र नेमकिपाका कार्यकर्ताहरूले कब्जा गरेर घर बनाएका हुन् । यतिमात्र होइन, वडाध्यक्ष जोशीले शुशिल भैरवथान मन्दिर र बाटो जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाएका छन् । यसरी घर बनाउनेमा प्रेम जोशी र श्याम जोशी पनि छन् ।  भक्तपुरमा जतिपनि सरकारी, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल लगायतका सरकारी जग्गा व्यक्तिका नाममा गएका छन्, त्यसमा एमाले नेता महेश बस्नेत, पूर्वसांसद प्रेम सुवाल, नारायणमान बिजुक्छेको हात रहेको स्थानीयहरू खुलेर बताउँछन् । वर्तमान सरकारमा वालेन्द्र शाह (वालेन) प्रधानमन्त्री छन् । अब उनले भक्तपुरसहित देशभर कति सरकारी, गुठी, ऐलानी, मठमन्दिर, पाटीपौवा, चौतारा, ढुंगेधारा, कुवा, वनजंगल, हदबन्दी बढी, राजपरिवार, खोलानाला लगायतको घर कति थियो ? र, अहिले कति छ ? खोजतलास गर्न सिडिओ र मालपोत कार्यालयहरूलाई निर्देशन दिनुपर्छ । जनताले धेरै विश्वास गरेर वालेनलाई पदमा पुर्याएका छन् ।  उनीसँग जनताको साथ छ, त्यसैले देश र जनताको हितमा हुने काम गर्न डगमगाउन हुन्न । प्रधानमन्त्री वालेनले त धमाधम निर्णय गर्ने हो, निर्देशन दिने हो । विगतमा कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश र जनताको हितमा हुने काम गर्नुको साटो आफ्ना कार्यकर्ता र आफन्त पोस्ने काम गरे । नतिजा आज हामी सामु छ । जनता उनीहरुलाई हेर्ने चाहँदैनन् । यदि वालेनले पनि पदमा हुँदा काम नगर्ने हो भने त्यही अवसर नआउला भन्न सकिन्न । त्यसैले, प्रधानमन्त्री वालेन तातिनुपर्यो । सुकुम्बासी हटाएसँगै अतिक्रमित सरकारी सम्पत्ति पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ । ठूला होस् या साना सबैलाई ऐन कानून लाग्छ भन्ने भाष्य अब वालेन सरकारले प्रमाणित गर्नुपर्छ । यदि उनी यो काममा सफल भए देशभर वाहवाही त हुने छ नै सँगै कानुनमाथि गुमेको सर्वसाधारणको विश्वास पुनः जागृत हुनेछ ।  प्रधानमन्त्री वालेनले अहिले गृह मन्त्रालय पनि सम्हालेका छन् । यसैले, उनले अतिक्रमित सरकारी जग्गा खोज्न चाँडो निर्देशन दिनुपर्छ । किनकि अवसर बारम्बार आउँदैन । अहिले प्रधानमन्त्री स्वयम् गृहमन्त्री रहेकोले उनलाई यो काम गर्न सजिलो छ । भोलि गृहमन्त्री आउने बित्तिकै प्रधानमन्त्रीले यो काम गर्न पाउँदैनन् । हस्तक्षेप गरिएको आरोप लाग्नसक्छ । त्यसकारण, अवसर र समयको कदर गरौं । प्रधानमन्त्रीले सरकारी सम्पत्ति खोजतलास र फिर्ता ल्याउनका निम्ति कडा निर्देशन दिन जरुरी छ । बहुमतको सरकारलाई सबैले टेर्ने नै छ । यसैले, अब प्रधानमन्त्रीले ढिलाई नगरौं । जसरी वालेनले मेयर हुँदा नसकेको सुकुम्बासी व्यवस्थापन कार्य प्रधानमन्त्री भएपछि गरे ।  त्यसरी नै मेयर रहँदा नसकेको अतिक्रमित सरकारी सम्पत्ति अब फिर्ता ल्याउनुपर्यो । सँगै छिमेक भारत र चीनले लगेको वा कब्जा गरेको नेपाली भूभाग पनि फिर्ता ल्याउन पहल गर्नुपर्यो । यदि वालेन सरकारले यी काम गरे दशकौंसम्म सत्ता उनकै हातमा जानेछ । किनकि देश र जनताको हितमा काम गर्नेलाई जनताले कहिले निराश बनाउँदैनन् । 

चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माण सुरु, राष्ट्रपति पौडेलले गरे शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो ।      गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई सप्तधामका रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।      स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।      उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले बताए । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ ।      उनले भने, 'गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधाहरू विकास गरिने अपेक्षा गरिएको छ ।'      सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, 'राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।'      साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।      भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।     

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।      सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।      विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा ‘डिजिटल’ प्रणालीलगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।      नेपाल सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए । उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाँडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए ।      चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका तर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए ।      सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।