विकासन्युज

नेपाल क्लियरिङ्ग हाउसको ३० प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारणसभा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १७ गते होटल र्याडिसन काठमाडौंमा दिउँसो साढे १२ बजे १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । साथै, कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने प्रस्ताव गरेको छ । यस्तै, कुनै कम्पनी गाभ्ने वा मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ । मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युत्को व्यवस्थापनलगायतका कार्य पूरा गरेको उनले बताए । मेलाका लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर श्रृङ्गार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

ग्लोबल आइएमई बैंकले अब मर्जर नगर्ने, लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट ३ जना नयाँ सञ्चालकको चयन गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । विगतका वर्षहरुमा बैंकले मर्जरको एजेण्डा राख्ने गरेको भएपनि यस वर्ष भने सो एजेण्डा साधारणसभामा राखिएको छैन । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउछन् । ‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले  माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु’, अमिनले विगत सम्झिँदै भने । बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउछन् । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’ अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको अमिनले बताए । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए । अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउछन् । ‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’ अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएका छन्। कसगर  भाँडा बनाउन सासूबाट सिकेको बताउछन् । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै  दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाए । पुख्र्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा रु १३ हजारको व्यापार गरेकी सुफियाले रु १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा रु पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन् । ‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ’, उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’ सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन् । तर उनले सोचेजस्तो नाफा हुन सकेन । बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन्। पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छन्। एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघिसकेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहेका छन् । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गछृन् । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उनको भनाइ छ । पप्पुले भने, ‘फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।’ एक ट्रली माटोको मूल्य रु चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताए । उनीहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो । काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । ‘पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ’, सुफियाले भनिन्, ‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।’ एक क्विन्टल दाउरालाई रु एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । रु दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्छन् । रासस

संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

काठमाडौं । निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो । दलहरूबीच हार्दिकता हुन नसक्दा संसद्मा अन्तिम अवस्थामा पुगेका विधेयक पनि पारित हुन सकेनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तयारी अवस्थामा रहे पनि टुङ्गोमा पुगेनन् । कतिपय विश्लेषक यसलाई राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज मान्छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा सोशी चौधरी सदनमा थुप्रै विधेयक दर्ता भए पनि शीघ्र प्रक्रियामा अगाडि बढाउन नसक्नु कमजोरी भएको स्वीकार्छिन्। संसद् र सांसदले कानुन निर्माणलाई आफ्नो प्रमुख दायित्व बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक दल र शीर्षनेता पनि जिम्मेवार हुनुपर्ने बताइन् । “समितिका सभापति, सांसद, संसद् सचिवालय, कर्मचारी, दलका नेता, सम्बन्धित मन्त्रालय सबै आ–आफ्नो ठाउँमा क्रियाशील हुन सक्नुपर्छ”, सांसद चौधरीले भनिन्, “मुलुकलाई अगाडि बढाउन आवश्यक कानुन निर्माण हुन सकेन भने त संविधानमाथि नै प्रश्न उठ्न सक्छ, अहिलेको जस्तो घिसेपिटे तरिकाबाट हुँदैन ।” सरकारले संसद्लाई ‘बिजनेस’ दिएन भन्ने गरिए पनि सदनमा थुपै विधेयक छलफलका लागि तयार रहेको उल्लेख गर्दै उनले ‘मिनी संसद’का रूपमा रहेका संसदीय समितिले प्रभावकारीरूपमा काम गर्न नसक्दा पनि केही समस्या देखिएको बताइन् । “राजनीतिक दलहरूबीच सहमति भइसकेको विषयलाई छिटोछिटो समितिबाट टुङ्ग्याउँदै सदनमा पठाउने तथा पारित गर्नेतर्फ जानुपथ्र्यो”, सांसद चौधरीले भनिन्, “यतातर्फ ढिलाइ भइरहेको छ ।” संविधानको पालना गरेर तद्अनुसारको कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने सांसद चौधरीको मत छ । सदनलाई ‘बिजनेस’ दिने तथा जनजीविकाका सवाललाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ भन्दै उनले भनिन्, “संविधानले निर्दिष्ट गरेको मार्गमा सबै हिँड्नुपर्छ, कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनुहुँदैन, संसद्मा एकअर्काको आलोचनाभन्दा पनि विषयवस्तुलाई निष्कर्षमा लैजाने वहस हुनुपर्छ ।” संसदीय प्रक्रिया अत्यन्त औपचारिक रहेको उल्लेख गर्दै सांसद चौधरीले भनिन्, “संसदीय प्रक्रिया हेर्दा कहिलेकाहीँ त उकुसमुकुस नै लाग्छ, तर प्रक्रिया मान्दिन भन्न पाइँदैन ।” देश र जनताको पक्षमा अत्यावश्यक देखिएका कानुन ‘फास्ट ट्रयाक’बाट बने पनि हुन्थ्यो भन्ने आफूलाई लाग्दै आए पनि नेपालमा प्रचलनमा रहेको संसदीय प्रक्रिया झण्झटिलो रहेको उनले अनुभव सुनाइन् । “संसद् औपचारिक थलो त हो, तर कहिलेकाहीँ छिटोछिटो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, सचेतक चौधरीले भनिन् । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने विषय अहिलेको सार्वभौम संसद्को प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा तथा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन्। “अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक ऐन, कानुन निर्माणलाई प्राथमिकता दिनुपर्छ”, सांसद चौधरीले भनिन्, “शान्ति प्रक्रिया, सम्पत्ति शुद्धीकरणलगायत विषयसँग सम्बन्धित विधेयक कुनै दल र नेता विशेषको मात्र होइन, यो सिङ्गो नेपालसँग जोडिएको छ । राष्ट्रको सवाल आउँदा सबै जिम्मेवार भएर हल गर्नुपर्छ ।” विसं २०३५ मङ्सिर १२ गते कैलालीमा जन्मनुभएकी सांसद चौधरी २०५५ सालदेखि माओवादीमा आबद्ध भएकी थिइन् । जनयुद्धका क्रममा उनी २०५६ भदौदेखि २०५७ चैतसम्म जेल परिन् । चौधरी जनमुक्ति सेनाको बटालियन कमिस्नर तथा महिला विभाग प्रमुख रहेकी थियन् । उनी अन्तरिम व्यवस्थापिका सदस्यसमेत रहेकी थिइन् । सांसद चौधरीले लामो समयसम्म संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बन्न नसक्दा प्राप्त राजनीतिक उपलब्धि संस्थागत हुन नसकेको र संविधान नै अप्ठ्यारो अवस्थामा पुग्ने खतरा औँल्याउछिन् । “यो प्रमुख चुनौती नै हो, प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न दलीय स्वार्थभन्दा पनि संविधानअनुसारको कानुन निर्माण गरेर जानुको विकल्प छैन”, उनले भनिन् । कानुन निर्माणका क्रममा विषयवस्तु र प्रक्रियामा लैङ्गिक विभेद हुने गरेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै सांसद चौधरीले महिलाको राजनीतिक सहभागिताको पाटो भने कमजोर रहेको बताइन् । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको व्यवस्था बनाउन अहिले देखिएका कमी–कमजोरी सुधारेर जानुपर्नेमा जोड दिइन् । रासस

लोकसेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो । आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्ने भएको हो । आयोगका अनुसार उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १९ गतेभित्र आवेदन दिन आयोगले आह्वान गरेको हो । आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी बैंकले बढी ब्याज दिने

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज मंसिर १ गतेदेखि लागू भएको छ । मंसिर महिनाका लागि बैंकहरुले कात्तिक मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १३ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले भने ब्याजदर बढाएको छ । साथै, ६ वटा बैंकले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गर्ने भएका हुन् । मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको हो । बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, एनएमबि बैंकले मंसिरका लागि १.२४३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत तोकेको छ । यस्तै, कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.९१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, नबिल बैंकले ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, सानिमा बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यस्तै, प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, एभरेष्ट बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले २.०३५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत प्रदान गर्ने छ ।