विकासन्युज

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न नेपाल विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०÷१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए । घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तिब्रता दिन निर्देशन दिए । ‘मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने । ‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको शुख्खायामको विद्युत्को माग धान्नका लागि ठूलो सहयोग गर्छ,त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं ।’ बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ । १ वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।

राजस्वमा आयकरको योगदान दोब्बरले बढ्यो, जरिवानामा पर्नेहरू पनि बढ्दै

काठमाडौं । आन्तरिक राजस्व विभागले कुल राजश्वमा आयकर र मूल्यअभिवृद्धि कर (भ्याट)को योगदान बढेको छ । विभागले आर्थिक वर्ष २०७९/८० मा कुल राजश्वमा आयकरको योगदान दोब्बरले र भ्याटको केही अंशले योगदान बढेको बताएको हो । आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्वको शीर्षकगत असुलको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको ४४.५२ प्रतिशत छ भने त्यसपछि मूल्य अभिवृद्धि करको योगदान २४.५० प्रतिशत रहेको विभागको भनाइ छ । यस्तै, अन्तःशुल्कको आन्तरिक राजस्वमा योगदान २१.६७ प्रतिशत रहेको छ भने ब्याजकरको योगदान ६.८७ प्रतिशत र बहाल करको योगदान ०.६४ प्रतिशत रहेको छ । यस्तै, कुल करमा स्वास्थ्य सेवा शुल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शुल्कको अंश ०.४२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा कुल राजश्वमा आयकरको योगदान २६.४३ प्रतिशत, भ्याटको ३१.९३ प्रतिशत, अन्तशुल्क १६.९५ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/०८० मा कुल राजस्व ९ खर्च ५७ अर्ब रुपैयाँ असुल भएकोमा आन्तरिक राजस्व विभागको योगदान ४ खर्च ७९ अर्ब रहेको विभागको भनाइ छ । जुन कुल राजस्व असुलको करिब ५०.१२ प्रतिशत हो । आर्थिक वर्ष २०७९/०८० का लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ लक्ष्य तोकिएको थियो । विभागबाट सो आर्थिक वर्षमा ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको बताएको छ । लक्ष्यको तुलनामा ७६.५७ प्रतिशत प्रगति भएको विभागको भनाइ छ । आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्वको जम्मा राजस्व सङ्कलनको कार्यालयगत राजस्व सङ्कलन हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यम स्तरीय करदाता कार्यालयको ४ प्रतिशत, आन्तरिक राजस्व कार्यालयहरूको ५३ प्रतिशत र करदाता सेवा कार्यालयहरूको ४ प्रतिशत रहेको देखिन्छ । विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता (बि–पान न.) तर्फ १ लाख ४२ हजार ६९९ करदातालाई करको दायरामा ल्याई २०८० आषाढ मसान्त सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाता संख्या १८ लाख ७६ हजार २०५ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पि–पान.) तर्फ आर्थिक वर्ष २०७९/०८० मा ६ लाख १३ हजार ४८३ करदाता करको दायरामा आएर व्यक्तिगत स्थायी लेखा नम्बर तर्फ कुल करदाता संख्या ३६ लाख ४९ हजार ६१४ पुगेको विभागको भनाइ छ । यस्तै, २०८० आषाढ मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको कुल सङ्घख्या ४५ लाख २५ हजार ९१९ पुगेको छ । नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर प्रशासन गर्दै आयको छ । यस विभाग अन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय समेत गरी जम्मा ८४ वटा कार्यालय सञ्चालनमा छन् ।

मानुङकोटमा पर्यटकको चहलपहल, दैनिक एक हजार पर्यटक घुम्न आउने

तनहुँ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ । जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिए । बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गररेको उनले बताए । दमौली बजार आसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्दछन्। अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसको भीड लाग्ने गर्दछ । मानुङकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक तीन सयदेखि चारसयसम्म हुने गरे पनि मुस्किलले एक सयदेखि एक सय ५० जनासम्म व्यवस्थापन गर्न सकिएको होटल व्यवसायी दाहालले बताए । पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्न गरेको उनले भनाइ थियो । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । हाल उक्त क्षेत्रमा व्यावसायिक रुपमा करिब एक दर्जनको हाराहारीमा होटल सञ्चालन हुँदै आएका छन् । उक्त क्षेत्रमा जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको रहेको छ। मानुङकोटमा प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग राखेका छन् । पर्यटन प्रवद्र्धनका लागि मानुङकोट प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल भएको व्यास-५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । पानीको समस्यालाई समाधान गर्न सोही वडाको सिर्दिबाट पानी लिफ्ट गर्न दुई करोड विनियोजन भइसकेको व्यास नगरपालिकाले जनाएको छ । तिहारलगत्तै पानीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताए । “दैनिक सात सयदेखि एक हजारको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्”, उनले भने, “पर्यटकको सहजताका लागि आठ किमीमध्ये करिब पाँच किमी सडकमा कालोपत्र गरिसकिएको छ ।” बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उनले बताए। मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटलहरु खुुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। रासस

डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्नुभएको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी ९इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका० परीक्षण गरिएको थियो । त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष डा अनिलको नेतृत्वमा काठमाडौंबाट गएका डा अभिषेककुमार यादव, डा पूजासिंह, डा ओम मूर्ति निखिल, गौरवसिंह, पार्वती भगत, सत्यम्कुमार गुप्ता, राजनकुमार गुप्तालायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४० जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । शिविर सञ्चालनकै क्रममा डा अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो । चिकित्सा पेसामार्फत गरेको जनसेवा तथा आमनेपालीको स्वस्थ जीवनशैलीका निम्ति उनले सञ्चालन गर्दै आएका सचेतनामूलक अभियानले विश्व कीर्तिमान कायम गरेका सन्दर्भमा उनको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो । सो अवसरमा डा अनिलले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने र आफूले लेखेको पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत असहाय वृद्धवृद्धाका निम्ति खर्च गर्ने बताए । फाउन्डेसनमार्फत काठमाडौंको वसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब तीन सय जनाले निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् ।

छठका लागि जनकपुरमा चार करोडको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।” जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५र२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने । समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ । नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । रासस

आशा लघुवित्तको निमित्त सीईओमा दुलाल, लोहनीको राजीनामा स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । लघुवित्तको सीईओ जया लोहनीले स्वास्थ्यको कारण देखाई राजीनामा दिएपछि दुलालले निमित्त सीईओको जिम्मेवारी पाएको जनाएको छ । साथै, सीईओ लोहनीले दिएको राजीनामा सञ्चालक समितिले कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिइसकेको छ । निमित्त सीईओ दुलाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त लगायतका संस्थामा काम गरिसकेका दुलाल यसअघि आशा लघुवित्तको सीईओ समेत भएर काम गरिसकेका छन् ।

एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान

काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । त्यस्तै कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरिएको समितिले जनाएको छ । कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्र र टोकन अफ लभ प्रदान गरिएको छ । सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वक्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । समितिले जाजरकोट भूकम्पप्रभावितलाई सहयोग पनि गरेको छ । समितिले फाइबरको सिरक ८३५ थान र पि. फम मेट ९०० थान तथा दाल १ किलो र नुन १ किलो राखेर प्याक गरिएका ४०० वटा प्याकेट चामल हस्तान्तरण गरेको हो । मारवाही समुदायको धार्मिक र सामाजिक परम्पराअनुसार समाजका बन्धुवान्धव भेला भई एक आपसमा शुभकामना आदानप्रदान गरी भाइचाराको सम्वन्ध अभिवृद्धिका लागि हरेक बर्ष दीपावली स्ने समारोह आयोजना गर्ने गरिन्छ ।

पाकिस्तानमा राहदानीका लागि लेमिनेसन पेपर अभाव

एजेन्सी । आर्थिकरूपमा संकटग्रस्त देश पाकिस्तानमा राहदानीका लागि प्रयोग हुने ‘लेमिनेशन पेपर’ अभावले प्रमुख यात्रा कागजातहरू जारी गर्ने कार्यमा तीव्र गिरावट आएको छ । लेमिनेशन पेपर सामान्यतया फ्रान्सबाट आयात गरिन्छ। ‘द एक्सप्रेस ट्रिब्युन’ अखबारको समाचारअनुसार पढाइ, काम वा बिदाका लागि विदेश जान चाहिने राहदानी समस्या अन्त्य भएको छैन । पेसावरको राहदानी कार्यालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘अहिले कार्यालयमा दैनिक १२ देखि १३ वटामात्रै राहदानी तयार भइरहेको छ भने यसअघि ३ हजारदेखि ४ हजारसम्म राहदानी बन्ने गरेको थियो ।’ यो समस्या कहिले समाधान हुन्छ भन्न नसकिने विभिन्न क्षेत्रीय राहदानी कार्यालयका स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ । जनताले एक–दुई महिना कुर्नुपर्ने उनको भनाइ छ । तर, ‘पाकिस्तान अब्जर्भर’ पोर्टलले गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘पाकिस्तानले लेमिनेशन पेपरको अर्डर दिएको छ र एक साताभित्रै उनीहरूलाई उपलब्ध गराइने छ । देशमा ‘लेमिनेसन पेपर’ अभावका कारण क्षेत्रीय कार्यालयबाट दैनिक २५ हजारसम्म राहदानी नवीकरण वा जारी गर्नका लागि निवेदन आउने गरेको पनि समाचारमा उल्लेख छ । अब आवेदनको संख्या बढेर ५ लाख पुगेको छ।