विकासन्युज

रामपुरमा व्यावसायिक कालिजपालन, प्रशस्त कमाइ गर्न सकिने

पाल्पा । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताए । गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए । ‘छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ’, लोकमायाले भने । उनको फार्ममा हाल एक सय ५० कालिज छन् । गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताए । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताए । एउटा चल्ला रु चार सयमा खरिद गरेर पाल्न थालेका हुन् । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिए । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ । रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ । करिब रु ३० लाखको लागतको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले रु तीन हजार, पोथी रु दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ । कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् । रासस

एनएमबि बैंकले स्थापना गर्याे आधा दर्जन शाखा कार्यालयमा र्याम्प

काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो । आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्ने बैंकले जनाएको छ ।

सिटिजन लाइफले २ रुपैयाँ बढायो बोनस दर, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ११५ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ७१७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३८१ वटा बीमालेख बिक्री गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३२७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार २०९ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ९ हजार ५४६ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ८२८ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ५२० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३८ हजार ३५३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको २० हजार ४१० वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४२४ वटा र ३० वा सोभन्दा माथि अवधिका १६१ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ७९१ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १६२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार १५७ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २०९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख) यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ३३४ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ११ हजार ७ सय वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ५ हजार १३८ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २० वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६२ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९०१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार ४६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ७ हजार २४४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २८२ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ६२ वटा बीमा लेख बिक्री गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

काठमाडौं मेडिकल कलेजले ८०% लाभांश बाँड्ने, स्वास्थ्य सेवा विश्वस्तरीय बनाउने

काठमाडौं । काठमाण्डौं मेडिकल कलेज (केएमसी)पब्लिक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मेडिकल कलेजको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मेडिकल कलेजले गत आर्थिक वर्ष २०७९/८०को नाफा ४ करोड ८५ लाख २० हजार ४८५ रुपैयाँ मध्येबाट २० प्रतिशत रकम संचित मुनाफामा राखी बाँकी ८० प्रतिशत अर्थात् ३ करोड ८८ लाख १६ हजार ३८८ रुपैयाँ (चुक्ता पुँजीको ६.४६ प्रतिशत करसहित)का दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मेडिकल कलेजले लाभांश पारित गर्न पुस १३ गते काठमाडौंमा बिहान ११ बजे १४औं वार्षिक साधारणसभा डाकेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, मेडिकल कलेजको सभाले कम्पनीको नियमावली संशोधन, अस्पताल स्तरवृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा संचालन गर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्ने पर्ने भए सोको लागि स्रोत जुटाउन विभिन्न बैंकहरूबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने, सातौं वार्षिक साधारणसभा पुस ९ गते

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

गण्डकीमा ६० अर्ब लगानीमा सडक स्तरोन्नति

काठमाडौं । गण्डकी प्रदेश सरकारले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर १ हजार ३ सय किलोमिटर सडक स्तरोन्नति गरेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म १ हजार ३०२ किलोमिटर सडक स्तरोन्नति भएको छ । मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा.महेन्द्र बानियाले ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए । सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि८३ अर्ब ५२ करोड ९ लाख ७१ हजार रुपैयाँ लगानी भएकामा सडक स्तरोन्नतिमा ६० अर्ब ५९ करोड ९ लाख रुपैयाँ खर्च भएको निर्देशक बानियाले बताए । “प्रतिवर्ष २१७ किलोमिटरका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्, सडक दुुर्घटनामा कमी आएको, प्रत्यक्ष रोजगारी सिर्जना भएको, बसाइँ सराईमा कमी आएको, सहरबाट गाउँ फर्काउने अभियान सुरु भएको तथा पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ,” बानियाले भने । चालुु आर्थिक वर्षमा मन्त्रालयका १ हजार ४६४ वटा योजना रहेका छन् । ११६ वटाको ठेक्का सम्झौता, २८१ वटाको बोलपत्र आह्वान, ४०८ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिए । सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । चालुु आर्थिक वर्ष २०८०/८१ का लागि १२ अर्ब ८ करोड ९९ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा मङ्सिर १५ गतेसम्म ८.११ प्रतिशत अथवा ९८ करोड ९ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप ३ सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारको कूल २० अर्ब रुपैयाँ पूँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न ११ वटै जिल्लाका पूूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको बताए । “यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ, जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन,” मन्त्रीले भने ।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा मङ्सिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पुर्याउन सक्ने विभिन्न ९ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ । उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिने छन् । सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्ने छन् भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । मंसिर ४ गतेदेखि निष्काशन गरेको क्यापिटलको म्युचुअल फण्डमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री खुला गरेको हो । ७ वर्ष अवधि रहेको फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिएको हो । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।