पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने, 'गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन ।' पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले भने । साथै यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा ९१० को खण्ड ९क०मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ । अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ । यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो ।
कुरिलो किलोको ५०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली ज्यापू प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ७०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १८०, टाटे सिमी प्रतिकिलो रु ११०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३६०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ६०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनिया प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
याम्बालिङ्गको आईपीओ खुला, वैशाख २२ गतेसम्म आवेदन भर्न सकिने
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २१ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै हिमालयन बैंक
काठमाडौं । हिमालयन बैंकले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । साथै बैंकले १० वर्षदेखि चल्ती तथा हकदावी नपरेका निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई रकम दावी गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाताहरू बन्द गरिनेछ भने सोही अवधिदेखि चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम लिन बैंकमा सम्पर्क गर्न आग्रह गरिएको हो । बैंकले २० वर्षसम्म पनि कसैले दावी नगरेको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ ।
प्रभु महालक्ष्मीको साढे ३७ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ३७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो नाममा रहेको ३७ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार विद्यमान संस्थापक सेयरधनीहरूले क्रमशः १३ लाख ५६ हजार ६०० कित्ता, १८ लाख ९९ हजार २४१ कित्ता र ४ लाख ६९ हजार ३०२ कित्ता र २३ हजार ७६० कित्ता गरी ३७ लाख ४८ हजार ९०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र संस्थापक समूहबाट आवेदन नआएमा प्रचलित कानुन बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
१४ वटा सहकारी खारेज गर्दै महानगर
काठमाडौं । विराटनगर महानगरपालिकाले विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाले सहकारी ऐन, २०७५ (दोस्रो संशोधन २०८० सहित) अनुसार १४ वटा सहकारी संस्थालाई खारेज गर्नु अघि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो । महानगरपालिकाका अनुसार यसअघि गत चैत २७ गते १५ दिने सूचना प्रकाशित गरी सम्बन्धित संस्थासँग आधिकारिक धारणा माग गरिएको थियो । तर, उक्त अवधिमा पनि संस्थाहरू सम्पर्कमा नआएपछि थप प्रक्रिया अघि बढाइएको जनाइएको छ । महानगरका अनुसार गोर्खा, जुनतारा, ताजा तरकारी तथा फलफूल, नयाँजीवन, नागरिक, निलकमल, प्राइम, युनिक, रारा, शिवम्, सामूहिक, सिद्धार्थ बहुउद्देश्यीय, सिनिक तथा स्वागतम् बचत तथा ऋण सहकारी संस्था खारेजीको प्रक्रियामा परेका छन् । महानगरपालिकाले सम्बन्धित संस्था तथा सरोकारवालाहरूलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफ्नो स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआएमा कानुन बमोजिम खारेज प्रक्रिया अघि बढाइने महानगरका प्रमुख प्रशासकीय अधिकृतले जनाए ।
यूनाइटेड अजोडको हकप्रदमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।